तनहुँ बन्दीपुरको यम्पा फाँटमा जन्मेका विद्यावारिधि अथर्ववेदाचार्य नारायण घिमिरे दुई दशकदेखि प्रवासी नेपालीको रूपमा क्यानडामा बरिष्ठ खाद्य तथा औषधि वैज्ञानिकको रूपमा कार्यरत छन्। ब्रह्माण्डीय चेतनाबाट उत्पन्न मानव चेतना र भौतिक देह ब्रह्माण्ड चेतनामा नै फर्कने वैदिक दर्शनभित्र रहेका जीवन निर्माण, जीवनयापन र जीवनको समाधिसँग सम्बन्धित हरेक तहका गतिविधिहरूको सूक्ष्म वैदिक र वैज्ञानिक विश्लेषणमा उनी लागिपरेका छन्।
विद्यावारिधि अथर्ववेदाचार्य घिमिरे आयुर्वेदिक औषधीको अन्य–असर (साइड–इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन् । वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ्ग फुड निर्माणमा उनले विज्ञता हासिल गरेका छन्।