विषय सुची
विषय सुची
अध्याय १: पापीहरूको वरत्र र परत्रको पीडा
अध्याय २: यम मार्ग
अध्याय ३: यम यातना
अध्याय ४: अपराध र दण्ड (नरक) तर्फ लैजाने पाप कर्महरू
अध्याय ५: पाप कर्महरूको लक्षण
अध्याय ६: पाप कर्महरू बाट उत्पन्न हुने दुःख
अध्याय ७: मृतकको बभ्रु वाहनको अनुष्ठान (संस्कार)
अध्याय ८: मरणको उपहारहरू
अध्याय ९: मृत्युको संस्कार
अध्याय १०: आगोबाट अस्थिको सङ्कलन
अध्याय ११: दस दिनको समारोह
अध्याय १२: एघारौँ दिनको अनुष्ठान
अध्याय १३: सबै पुर्खाहरू सम्झने समारोह
अध्याय १४: न्याय मैत्री समाज
अध्याय १५: असल मानिसहरूको जन्म
अध्याय १६: मुक्तिको सिद्धान्त
माहात्म्य फलश्रुति
गरुड पुराणको प्रेत कल्प विशेष गरी अन्त्येष्टि समारोह केन्द्रित रहेको छ। कतिपय
मानिसहरू यसलाई आफ्नो पारिवारिक र निजी जीवनमा
अपशकुन निम्तने भयका साथ यसलाई अन्त्येष्टि
समारोह बाहेकको समयमा वाचन गर्न, पढ्न र श्रवण गर्न डराउने गरेको समेत भेटिन्छ।
गरुड पुराणको अध्याय १ देखि ७ ले आपराधिक
कार्य गर्ने हद सम्म मानिसहरू लाई पुर्याउने नियमित दोहरिने पापहरूले दिने नियति बारेमा
कुरा गर्दछ। वैदिक अवधारणा अनुरूप व्यक्तिको
कुनै पनि प्राकृतिक नियम विरुद्धको कर्म वा अनैतिक कर्म, जसले अन्य पक्षलाई हानि गरिसकेको हुँदैन,
र अहिंसाकै अवस्था कायम रहेको हुन्छ, त्यसलाई पाप मान्दछ। जब मानिसले नियमित रूपमा पटक पटक पाप कर्म गर्दछ त्यसले
उसमा पाप कर्म सामान्य र स्वीकार्य कर्म रहेको मनोविज्ञान र नियति विकास गरिदिन्छ।
उसको अमानवीय मनोवृत्तिले उसलाई अपराध कर्म गर्ने हदमा पुर्याइ दिन्छ। व्यक्तिको हरेक
आपराधिक कार्य उसको जीवनको वरत्र र परत्र दुवै स्थानमा दण्डनीय हुन्छ। अपराधले विकास
गरेको व्यक्तिको त्यो दण्डनीय अवस्थालाई वैदिक
सनातन मान्यताले नरकमा पर्नु भनी परिभाषित गरेको छ।
अध्याय ८ देखि १३ ले मृतकहरूको सम्झनाहरूमा गरिने वैदिक समारोहहरू बारेमा चर्चा
गर्दछ। अध्याय १४ ले राम्रो कर्मको सकारात्मक पक्षहरू र त्यसले निम्त्याउने सहजता बारे
बोल्दछ। हरेक व्यक्तिको अहिंसा युक्त प्रकृति नियम मैत्री नैतिक कर्मले संसार र संसारका सम्पूर्ण चराचरहरू सह-अस्तित्वमा रहेर जीवन
यापन गर्नको लागि अत्यन्त सहज हुने वातावरण निर्माण गरिदिन्छ। यसले व्यक्तिको आफ्नो
जीविका मात्र सहज हुँदैन उसका कारण सम्पूर्ण जगतको नै कल्याण हुने गर्दछ। त्यसैले व्यक्तिको अहिंसा युक्त प्रकृति नियम मैत्री कर्मले
दिने सकारात्मक नतिजाको अवस्थालाई वैदिक सनातन अवधारणाले स्वर्गको रूपमा उल्लेख गरेको
छ। अध्याय १५ र १६ ले धार्मिक कर्म र आध्यात्मिक
ज्ञानको प्राप्तिको समग्र लाभ बारेमा चर्चा गर्दछ।
हरेक कर्म जुन नैतिक, अहिंसा युक्त र प्रकृति नियम मैत्री हुन्छ त्यसलाई धार्मिक
कर्म मानिएको छ। आफूमा धार्मिक कर्मको मनोवृत्ति
र नियत विकास गर्ने अभ्यास र साधना मार्फत आध्यात्मिक विद्याको प्राप्ति गर्दै सत्कर्म
तर्फ आफूलाई लैजाने हरेक प्रयास लाई वैदिक अवधारणामा योग तथा यज्ञ भन्ने गरिन्छ। सनातन
वैदिक मान्यताको योग तथा यज्ञले व्यक्तिलाई आफ्नो जीवनको मुख्य उद्देश्य मुक्ति प्राप्त
गर्न सक्ने गरी परम फलदायी सत् , चित् र आनन्दको अवस्था प्राप्त हुने परिणामहरू दिने
गर्दछ।
गरुड पुराणमा जीवनको चक्रको एक विन्दुमा आध्यात्मिक मुक्तिको अवस्था समावेश हुने
भन्दै त्यो अवस्थाको अप्राप्तिको समय कालमा मानव आत्माले (सोल जस्तै) मानव कर्म अनुसार
मृत्यु पश्चात् पुनर्जन्म लिने दाबी गर्दछ। केही मानिसहरू नरक र स्वर्गको अवधारणा तथा
मृत्यु पश्चात् पुनर्जन्म हुने विषय मन्दिरका पुजारीहरूले निकै चतुरता पूर्ण रूपमा बनाएको फगत कथा मात्र रहेको भन्ने तर्क र विश्वास गर्छन्। गैर-वैदिक अविद्याको शैक्षिक पृष्ठभूमि
भएका निकै धेरै मानिसहरू मृत्युपछिको जीवन र पुनर्जन्ममा प्राय: विश्वास गरिरहेको भेटिँदैन।
यद्यपि, संसारका अधिक व्यक्तिहरू भने विभिन्न रूपमा त्यसमा विश्वास
गरिरहेको भेटिने गर्दछ। गरुड पुराण जस्ता सनातन हिन्दु ग्रन्थहरूमा, स्वर्ग र नर्कको बारेमा स्पष्ट कुरा बोलिएको छ। स्वर्गको अवधारणामा राम्रो कर्मको
प्रतिफलको रूपमा प्राप्त सुखद क्षण पर्दछ भने नर्कको रूपमा नियमित विकास हुने पाप मनोवृत्तिले
पैदा गरेको अपराधको परिणामले निम्त्याएको दण्डको अवस्थालाई जनाउने गर्दछ।
यथार्थमा विज्ञानले मानव भावना, नैतिक चरित्र,
चेतना र त्यसको समग्र ब्रह्माण्डमा
दिने असर सँग खासै सरोकार राख्दैन। जसका कारण गरुड पुराणको प्रेत कल्पमा चर्चामा आउने
धेरैजसो विषय र क्षेत्रहरू वर्तमान विज्ञानको आफ्नो मापन क्षमताको दायरा बाहिरको विषय
बस्तुहरू रहेका छन्। वैज्ञानिक मापन क्षमता भन्दा बाहिर रहेका विषयहरूलाई सही भनी प्रमाणित
गर्ने वा गलत साबित गर्न सक्ने अवस्था विज्ञानको हुँदैन। आफ्नै सीमितताका कारण, गरुड पुराणमा चर्चा हुने गरेका कतिपय पौराणिक पक्षहरू समेतलाई सही वा गलत भनेर
विज्ञानले हाल सम्म प्रमाणित गर्न सकेको समेत छैन। जसले गर्दा गरुड पुराणले चर्चा गरेका
धेरै विवरणहरूलाई विज्ञानले स्वीकार वा अस्वीकार गर्ने गर्दैन।
कतिपय व्यक्तिहरू यो विषय विज्ञानको क्षेत्र भित्रको विषय नै नरहेको समेत भन्ने
गर्दछन्। जे भनिएता पनि क्वान्टम मेकानिक्सको नयाँ खोज पश्चात् भेटिएका वैज्ञानिक रूपमा
प्रमाणित विविध आश्चर्यजनक पाटाहरूले निकै
धेरै वैदिक सनातनका मान्यताका विषय बस्तुहरू सत्यको नजिक रहेको र त्यसका कतिपय असत्य
लाग्ने विषय बस्तुहरू समेत कालान्तरमा सत्य रहेको प्रमाणित हुन सक्ने अवस्था आउन सक्ने
तर्फ सङ्केत गरिरहेको भेटिन्छ।