व्यवहारिक प्रेत कल्प
भाग
- ३
व्यवहारिक प्रेत कल्प
व्यवहारिक
पक्ष : कर्मकाण्ड
गरुड़ पुराण हिन्दू धर्मका
प्रसिद्ध धार्मिक ग्रन्थहरूमध्ये एक हो। गरुड़ पुराण वेदव्यासजीद्वारा लिखिएको एक
पुराण हो। व्यासजीले १८ पुराणहरू लेख्नुभएको छ, जसमा गरुड़ पुराण पनि समावेश छ।
प्रेत कल्प गरुड़ पुराणको अन्तिम खण्ड हो।
यो पुराण वैष्णव सम्प्रदायका मुख्य
पुराणहरूमध्ये एक हो। १८ पुराणहरूमध्ये गरुड़ पुराणले विशेष स्थान राख्छ। गरुड़
पुराण मानव जीवनको कल्याणका लागि हो। भनिन्छ, गरुड़ पुराण पढ्नाले व्यक्तिले सुख भोग्छ। गरुड़ पुराणको अध्ययनले
व्यक्तिलाई मोक्षको अधिकारी बनाउँछ।
गरुड़ पुराण पढ्दा, तपाईंको चेतनाले थाहा पाउँछ कि तपाईंले कसरी कर्म
गर्नुपर्छ र कसरी कर्म गर्न हुँदैन। गरुड़ पुराण पढ्नेले यो कुरा सहज रूपमा बुझ्न
सक्दछ कि, जीवनमा
अनुशासित र नैतिक रहेर आफ्नो कर्ममा तल्लीन रहने हरेक कर्मशील व्यक्तिले मृत्यु पछि भौतारिनु पर्दैन । उसले सहज सद्गति प्राप्त गर्छ।
गरुड़ पुराणमा नराम्रा कर्म गरे बापत आत्माले मृत्यु पछि अनुभूति
गर्नु पर्ने सजायहरूको गहिरो वर्णन गरिएको छ। गरुड़ पुराणमा बताइए अनुसार यदि तपाईंले जीवित रहँदा र
मृत्यु पछि समेत कष्टहरू अनुभूति गर्न, भोग्न चाहनु हुन्न भने, तपाईंले राम्रो कर्म गर्नुपर्छ।
आफ्नो जीवनमा राम्रो कर्म गर्ने एक
इमान्दार व्यक्तिले आफ्नो नियतको इनर-इन्जिनियरिङ गर्न आवश्यक हुन्छ। तपाइँको
जीवनमा दुःख र सुखका क्षणहरू नियमितरूपमा दोहोरिन्छन्। तर, जब तपाइँ आफैँलाई अहिंसामैत्री, अनुशासित, नैतिक र मानवीय कर्म गर्ने
व्यक्तिमा रूपान्तरण गर्नुहुन्छ, तपाइँको त्यो रूपान्तरणले तपाइँलाई
आनन्दित बनाउनेछ र तपाइँको जीवनलाई सफल बनाउने महत्वपूर्ण भूमिका खेल्नेछ।
गरुड़ पुराणमा मृत्यु पछि जीवन
कस्तो हुन्छ? स्वर्ग
र नरक भनेको के हो र त्यो कस्तो हुन्छ? आदि इत्यादि विषयका केही विशेष कुराहरू बताइएको छ। जीवको जीवनको चोलाको चक्रको विस्तारपूर्वक वर्णन भएको गरुड़
पुराणमा मृत्यु पछि व्यक्तिले भोग्नु पर्ने सम्भावना रहेका ८४ कोटिका नरकहरूको
उल्लेख भएको छ। दुःख
र सुखले भरिएका ८४ लाख जुनीहरूलाइ गरुड़ पुराणले ८४ कोटिका नरकहरूको रूपमा सङ्केत
गरेको छ।
वैदिक परम्परा वैज्ञानिक परम्परा
हो। मानिसको मृत्यु अघि, मृत्युको समयमा र मृत्युपछि के-कसरी गर्ने भन्ने बारेको
वैदिक चलनको बारेमा निकै धेरै टिका टिप्पणी हुने गर्दछ। सनातन संस्कृति जीवनलाई निकै नजिक
वाट वैज्ञानिक रूपमा बुझेर प्रकृति मैत्री गर्ने आशय अनुरूप परम्परागत रूपमा
विकसित भएको परम्परा हो। त्यसमा अन्तर्निहित विज्ञानको गहिरो पक्षलाई भुलेर यसलाई
यान्त्रिक रूपमा हेर्दा यो कतिपय अवस्थामा हास्यास्पद हुने गरी समाजमा
प्रस्तुतीकरण हुन पुगेको देखिन्छ। त्यसको सिकार गरुड पुराणको प्रेत कल्प समेत हुन पुगेको छ।
त्यसैले प्रेत कल्पको चुरो वैज्ञानिक सार भक्तजनहरू सम्म पुर्याउन यहाँ कोसिस
गरिएको हो।
सनातन संस्कृतिको हिन्दु परम्परामा
धेरै स्थापित संस्कारहरू द्रुत गतिमा अघि बढेको सहरी जीवनशैलीका कारण त्यसको
वैज्ञानिक चुरो पक्ष लाई साथमा लिएर अगाडी बढ्न नसकेको यथार्थ बिच प्रेत कल्पमा
रहेको मृत्यु
सम्बन्धी परम्पराहरूमा रहेको विज्ञान (अविद्या), र आनन्द र अध्यात्मको पक्ष
(विद्या) उजागर गर्न यो ग्रन्थमा प्रयास गरिएको छ।
सनातनका १६ मुख्य संस्कारहरू मध्ये
अन्त्येष्टि संस्कार अन्तिम तर अति महत्त्वपूर्ण संस्कार हो। आफ्नो परिवारमा अचानक मृत्युको
घटनाको सामना गर्नुपर्दा सनातनमा विश्वास गर्नेहरुले के, किन गर्ने भन्ने जान्नको लागि यो
ग्रन्थ उपयोगी
हुने छ।
जब व्यक्ति स्वस्थ र युवा हुन्छन्, तब गौ-दानमा उसको जीवनको ऊर्जाको केही
अंश खर्च होस् भन्ने सनातन मान्यताको पहिलो सुझाव हुने गर्दछ। जसलाई गोदान पूजा
भनिन्छ। पूजा भनेको त्यो कुरालाई जीवनमा अपनाउनु हुन्छ। गोको अर्थ मूलतः पृथ्वी
(जमिन, पानी, हावा) हो। जमिनको प्रतिनिधिको रूपमा गाईलाई
लिने गरिन्छ। त्यसैले
गाईको दान समेतलाई गोदान भनिन्छ।
दानको अर्थ हो आफ्नो केही
महत्त्वपूर्ण ऊर्जा त्यसको उत्थानको लागि समर्पण गर्नु। गोदान मूलतः ब्राह्मणमा समर्पित हुन्छ। त्यसको अर्थ हो, आफ्नो जीविकाको लागि चाहिने पहिलो
जगको विकासमा गोदान कर्म गर्नु।
जसमा पर्दछ रहनको लागि चाहिने
स्थानको जो हो गर्नु। खेतीपातीको
लागि चाहिने जमिनको जो हो गर्नु। सिचाइको जोहो गर्नु। खेतीपातीको लागि जरुरी हुने
गोरु आदिको जन्म दिने गाई बस्तुको जोहो गर्ने। तागतको लागि दूध दिने गाइको संरक्षण
र पालन पोषणमा लाग्नु। मल, जल र पर्यावरण सुदृढ गर्ने गाई, भैँसी र अन्य पशु पन्छीको पालन
पोषण र संवर्द्धनमा आफ्नो ऊर्जा दान गर्नु।
समग्रमा आफ्नो ब्रह्म सन्तुष्टिको
लागि जरुरत हुने पहिलो पूर्वाधार निर्माण गरी ब्रह्मको रक्षा गर्ने ब्राह्मण
अर्थात् प्रकृतिको पूजक बन्नु।ब्राह्मण अर्थात् प्रकृतिको पूजक बन्नु लाई ब्राह्मण
दान भनिन्छ।
समाजमा यो अवधारणाको गहिरो गरी
सोसल इञ्जिनियरिङ्ग गर्न सकियोस् भन्ने नियतका खातिर प्रेत कल्पमा सङ्केतको रूपमा गोदान अन्तर्गत
गाईको उपहार दिने संस्कार स्थापित भएको छ। गाई एक जीवित शक्ति भएकोले यसको दान दिने र लिने हैसियत अर्को जीवित
शक्तिमा नरहने शास्त्रको मान्यता छ। त्यस्तै सनातन मान्यतामा व्यक्तिले आफ्नो श्रम
बापत त्यही बराबरको अर्को श्रम गर्दा प्राप्त हुने चलन चल्तीको पारिश्रमिक भन्दा
अधिक श्रम लिन नमिल्ने नैतिक र सामाजिक मान्यता तोकेको छ। कर्म काण्डमा वाचक
वा सहयोगीको रूपमा सहभागी हुने व्यक्तिले परिश्रमिक बाहेक अन्य दान ग्रहण गर्नु
पाप मात्र नभएर अपराध हुने सनातन मान्यता छ।
सनातन संस्कृतिको त्यो मान्यता लाई
गहिरो संग बुझ्दा हाम्रो परम्परामा गाई आदि लगायतको जीवको दान, खानपान र आवासको लागि हुने हिरा, पन्ना, सुन जस्ता किमती बस्तु, जमिन, घर जग्गा, खाट, कुर्ची, सजावटका सामग्री आदि निजी व्यक्तिको सम्पत्ति हुने गरी
दान दिनु, लिनु दुवै शास्त्र अनुरूप वर्जित कुरा हो।
त्यसको लागि शास्त्रले सार्वजनिक
मन्दिर, स्कुल, सामाजिक कल्याणमा काम गर्ने सनातन
सम्बन्धका सार्वजनिक सामाजिक निकायहरू आदि मात्र लाई दान दिन, लिन योग्य र नैतिक शास्त्र द्वारा
लक्षित निकाय मानेको छ। परिश्रमिक बाहेकका दानहरू निजी सम्पत्तिमा जानुलाई
प्रेत कल्प समेत अधर्म, सामाजिक मनोवैज्ञानिक शोषण र लुट ठान्दछ। जुन सांस्कृतिक अपराधीकरणको
नतिजाको रूपमा परम्परामा प्रेत कल्पको भावना विपरीत हाल हाम्रो समाजमा हाल स्थापना
भएको देखिन्छ।
सनातन संस्कृति अन्तर्गत व्यक्तिले
आफ्नो जीवनमा गर्ने हरेक कर्म-काण्ड, यज्ञ, दान तथा महत्त्वपूर्ण पूजाहरूमा हुने दान यही नीति अन्तर्गत
हुनु पर्ने वैदिक मान्यता छ। धेरै मानिसहरूले पूजा आज्ञा केवल मृत्युको नजिक
गरिन्छ भन्ने बुझाइ राखेको देखिन्छ। तर त्यो समेत समाजमा रहेको अर्को ठुलो भ्रम
हो।
पूजा, यज्ञ जस्ता सामाजिक कुराहरू
ब्रह्माण्ड र यसका चराचरहरूको स्थानीय र सर्वव्यापी उत्थानको लागि जब कुनै कर्म
गर्न पर्ने हुन्छ त्यो बेला योजना गरिनुपर्ने कुरा हो। पारिवारिक तहमा भने जब
व्यक्ति स्वस्थ र सु-स्पष्ट मानसिक अवस्थामा रहन्छ, समाजमा आफ्नो स्वामित्वको वा निजी
कमाइको हिस्सा वाट केही दान गर्न चाहन्छ त्यो बेलामा गर्ने कार्य हो। त्यस्तै
परिवारमा जब कुनै जन्म, विवाह आदिको अवसर हुन्छ वा बिछोड, मृत्यु जस्ता दुखको सामना गरिनु
पर्छ, त्यो
बेला कसैको सम्झनामा गरिने कर्म काण्डको रूपमा स्वस्थ र सु-स्पष्ट मानसिक अवस्थामा
आफ्नो स्व-इच्छा अनुरूप हरेक कर्म-काण्ड, यज्ञ, दान तथा महत्त्वपूर्ण पूजाहरू समाजको कल्याणका खातिर गरिनु पर्ने शास्त्रीय मान्यता
देखिन्छ।
उदाहरणको लागि गरुड पुराणको प्रेत
कल्पको ४७ औँ अध्यायमा वैतरणी गाईको दान गर्नु पर्ने कुरा छ। वैतरणी गाईको दान
गर्दा नदी पार गर्न सजिलो हुन्छ र त्यस्तो गाई दान दिने व्यक्तिले इच्छा गरेको सबै
चिज प्राप्त हुने उल्लेख छ। त्यसमा उल्लेख भए अनुसार आफ्नो पुण्य कर्मको
परिणामस्वरूप व्यक्तिले पृथ्वीमा जीवित रहँदा र परलोकमा समेत सुख प्राप्त गर्छ
भनिएको छ। गाई दानको परिणामको प्रभाव १००० गुणा अधिक रहने चर्चा भएको छ। तर यो दान
मानिसले स्वस्थ मानसिकता हुँदा सचेत रहेर स्व-इच्छाले गरेको हुनु पर्ने त्यहाँ उल्लेख भेटिन्छ।
अर्काको मनोवैज्ञानिक प्रभावमा
परेर गलत विश्वासको रूपमा भएको अर्थात् बिरामी मनोविज्ञानको कारण भएको त्यस्तो
दानको प्रभाव केवल १०० गुणा मात्र हुने भनिएको छ। आफ्नो सन्तानले (छोरो वा छोरी वा
सन्तानले) मृतकको तर्फबाट गर्ने त्यस्तो
दान लाई अप्रत्यक्ष दानको नाम करार गर्दै त्यसको सामान्य प्रभाव हुने उल्लेख
गरिएको छ।
यो कुरालाई तपाइले व्यवहारिक रूपमा
हेर्नुभयो भने आफ्नै भौतिक पूर्वाधार र ढुवानीको सुविधा भएको व्यवसायले आफ्नो
उद्देश्य प्राप्तिको लागि आफ्नो उच्च
लगानी दीर्घकालीन कार्यक्षमता र प्रतिस्पर्धात्मक फाइदाको क्षेत्रमा लगाउन पाउने
हुँदा भौतिक र लजिष्टिक संरचनामा खर्च गर्नु पर्ने व्यवसाय भन्दा द्रुत सफल हुने
सम्भावना रहन्छ। हाम्रो जीवन पनि एक प्रकारको दैनिक कर्मको व्यवसाय हो। जसले आफ्नो ऊर्जाशील समय आफ्नो
जीवनको उद्देश्य प्राप्तिको जग निर्माणमा लगाउने गर्दछ उसले जीवनको उद्देश्य
प्राप्त गर्ने सम्भावना त्यसो नगर्नेको भन्दा अत्यधिक उच्च हुने गर्दछ।
संस्कृतको "वि"
(छुट्टाउने) र "तर" (पार गर्ने) बाट बनेको वैतरणी शब्दले पार गर्नु
पर्ने काममा आउने बाधा रुपी मार्गलाई जनाउने गर्दछ। सनातन ब्रह्माण्ड विज्ञानमा वैतरणीले मृत्युपछि हुने
आत्माको शुद्धीकरणको यात्रामा देखिने प्रक्रियाको शाब्दिक र प्रतीकात्मक अर्थ
राख्दछ। मृतकको शरीर भित्र रहेको आत्मा मोक्ष (मुक्ति) प्राप्ति गर्ने वा
पुनर्जन्मको चक्र (संसार) बात गुज्रनु पर्ने निर्णयको बिन्दुमा पुग्नु अघि नियमित
नदी रूपको यात्राको प्रवाहमा अघि बढ्नु पर्दछ। यो क्रममा मृत्युको संसार (मृत लोक)
मा रहेको त्यो आत्मा लाई मृत लोक बात छुट्टाएर यमलोक (यमराजको क्षेत्र) मा लैजानु
पर्ने हुन्छ। मृत आत्माहरूका लागि त्यो
बिन्दु बात गुज्रने कार्य चुनौती पूर्ण हुन्छ। आत्माले त्यो बिन्दुको पार गर्नु
पर्ने चुनौतीलाई वैतरणी नदी पार गर्नु पर्ने भनी उल्लेख भएको छ।
जहाँ वैतरणी शब्द मृत्युपछिको
पहिलो सङ्क्रमण वा आत्माले सामना गर्ने कष्टहरूको प्रतीकको रूपमा लिन उपयोग भएको
छ। अध्यात्म बुझेको मानिसमा न त जीवनका प्रिय कुराहरू संग आशक्ति रहन्छ, न त जीवनका अप्रिय कुराहरूको घृणा
गर्नमा उनीहरूले आफ्नो समय बरबाद गर्दछन्। त्यसो हुँदा, जीवनका आशक्ति र घृणा भावका कारण
पैदा हुने वैतरणी नदी पारको विषय धर्मात्मा व्यक्तिको आत्माको यात्रामा सन्दर्भ
विहीन बनिदिन्छ। जीवनमा जसले गौदान जस्ता विशेष कर्म गरेर आफूलाई सुद्ध राखेका छन् धार्मिक र पवित्रतामा पुर्याएका
छन् तिनीहरूको लागि वैतरणी पारको विषय सहज हुने ज्ञान दिन यहाँ यो प्रसङ्ग आएको छ।
सनातन धर्ममा जब इच्छा हुन्छ
त्यहाँ उपाय हुने ठानिन्छ। जब इमानदार भएर कुनै प्रकृति
मैत्री कर्म आँटिन्छ त्यसलाई ईश्वरले पुरा हुने उपायको जोहो गरिदिने विश्वास
लिइन्छ। असल कर्म गर्ने धार्मिक मानिसको जीवनको उद्देश्य पूर्ति गर्न कल्प वृक्ष
रुपी प्रकृतिको (गाइको) काम गर्ने ठानिन्छ। सनातन मान्यता
बुझेको मानिसले तसर्थ यहाँ उल्लेखित गाई दानको परिणामको प्रभाव विषयको गुह्य कुरा
सहज बुझ्न र विश्वास गर्न सक्दछ।
यसरी प्रेत कल्पमा दान आफ्नैले
आफ्नो नै कमाइ वाट आफू जीवित हुँदा आफ्नै हातले गर्नुको मात्र प्रभाव रहेको
प्रस्ट गरिएको छ। मृत्यु पछि तपाइको नाममा अरू कोहीले यो दान गर्ला वा नगर्ला
भन्ने चिन्ता लिनु नै अधर्मको रूपमा, एक प्रकारको आशक्तिको रूपमा गरुड पुराणको प्रेत कल्पमा
चर्चा भएको छ। मानिसहरूले यो यथार्थ लाई शुभ सल्लाहको रूपमा बुझुन् र
जीवनमा समयमा नै आफूलाई सही मार्गमा लान सकुन् भनी पितृको लागि नभएर गरुड पुराण
सुन्नेको लागि नै गरुड पुराण समर्पित रहेको प्रस्ट गरिएको छ।
गरुड पुराण, प्रेत खण्ड, अध्याय ४, श्लोक ७-८, १४ मा दानको सवालमा भगवान्
विष्णुको नाममा प्रस्तुत भएको सुझावमा भनिएको छ "तिल, फलाम, सुन, कपास, नुन, सात प्रकारका अन्न, भूमि, र गाई आदिमा दान केन्द्रित हुनु
पर्दछ।
वैदिक संस्कृतिमा भौतिक दान गरिने
हरेक बस्तुले वस्तुले फरक फरक भौतिक, आध्यात्मिक, दार्शनिक र मनोवैज्ञानिक
जरुरत तर्फ सङ्केत गर्न उल्लेख गर्ने गरिन्छ। व्यक्ति लाई सत्कर्म गर्न
सक्षम गर्न जरुरत पर्ने स्वस्थ शरीर, मन र
जीवात्मा सँग सम्बन्धित पक्षलाई ब्रह्माण्डीय सन्तुलनमा ल्याउने विषयहरूलाई
समेट्ने गर्दछ।
विचारको शुद्धताको अन्तर्गत भौतिक
इच्छाहरू बाट अलग भई आध्यात्मिक विचारहरूमा मनलाई केन्द्रित गरी विनम्रता र भक्ति
भावको विकास गर्ने विषय पर्दछ। तिलले विचारमा
शुद्धता ल्याएर पाप मोचन गर्ने र शारीरिक अशुद्धि हटाएर शरीरलाई शुद्ध
गर्ने कार्यको सङ्केत गर्दछ। फलाम बल र सहनशीलताको प्रतीक हो। यसले हड्डी र
शारीरिक मजबूती लाई सङ्केत गर्दछ। व्यक्तिको आत्मबल र इच्छा शक्तिलाई प्रवर्धन
गर्न हड्डी र शारीरिक मजबूतीले भूमिका खेल्दछ।
सुन जीवन शक्ति (प्राण) र तेजको
(अग्नि) प्रतीक हो। सूर्यको जस्तै चमक भएको छालाको स्वास्थ्य सँग सुनलाई जोडेर
हेरिन्छ। ज्ञान, समृद्धि र आध्यात्मिक ज्ञानरूपी
भर्गो ज्योतिको प्रतीक मानिने सुनले उच्च चेतना र महान् कार्यहरूमा लाग्न
व्यक्तिलाई प्रोत्साहन गर्ने प्राण र सबै
प्रकारका ऊर्जाहरूको सङ्केत गर्दछ। भौतिक आरामका साथै छाला र नरम तन्तुहरूको
सुरक्षा लाई सङ्केत गर्ने कपासलाई शुद्धता, सरलता र ज्ञानलाई विनम्रताका साथ ग्रहण गर्ने क्षमताको
रूपमा लिइन्छ।
नुनले शरीरमा आवश्यक खनिजहरूको
पूर्ति गरी सन्तुलन र जीवन्तता कायम राख्न भूमिका खेल्ने सङ्केत गर्दछ। जीवनका
आधारभूत आवश्यकता प्रति कृतज्ञता अभिव्यक्त गर्ने प्रतीकका रूपमा नुनलाई लिइन्छ।
पाचन प्रणालीसँग सम्बन्धित शरीरको पोषण आवश्यकतालाई पूरा गर्न, सम्पन्नता, सन्तुलन र शारीरिक तथा मानसिक
कल्याणलाई प्रवर्धन गर्ने प्रतीक सात प्रकारका अन्नलाई लिइन्छ। जुन पाँच पन्च तत्व, मन, र बुद्धिको सङ्केत गर्न उपयोग हुने
गर्दछ। पाँच तत्व (पञ्च महाभूत) मध्ये पृथ्वी (भूमि) मुख्य तत्व भएकाले सात
प्रकारका अन्नहरू शरीरको पोषण, स्थिरता, धैर्य र मनको स्थिरता सँग सम्बन्धित मानिन्छ। यसले
जिम्मेवारी र संरक्षणको भावना बढाउँछ।
गाई पोषण र शरीरको क्षतिग्रस्त वा
पुरानो भागलाई पुनः निर्माण गरी नयाँ जीवन दिने क्षमताको प्रतीक हो। पोषण र दूध
उत्पादनसँग सम्बन्धित शुद्धता, करुणा, र धर्म पालन, साथै हेरचाह र निःस्वार्थ सेवा
भावलाई प्रवर्धन गर्ने गाई पृथ्वी र प्रकृतिसँग पनि सम्बन्धित छ। यसरी, उल्लेखित दान भौतिक दान
सँग सम्बन्धित नरहेर शरीरलाई स्वस्थ राख्न, त्रिदोष (वात, पित्त, कफ) सन्तुलनमा मद्दत गर्न; पोषण, जीवनशैली सुधार्न; मन, शरीर, र आत्माको शुद्धि गर्दै आध्यात्मिक
प्रगति र मोक्ष प्राप्तिको मार्ग सहज गर्ने विषय प्रति व्यक्तिलाई सचेत गर्ने सङ्केत रुपी उपमा मात्र रहेको वैदिक
शास्त्रहरूको बुझाइ छ।
यी ८ अनमोल वस्तुहरूको दान
ब्राह्मणको खातिर हुनु पर्दछ। जहाँ ब्राह्मणको खातिर भनेर ब्रह्म
ज्ञानको प्राप्तिको लागि भनिएको हो। ब्राह्मणको खातिर दान भनेर विशेष उदेश्य
प्राप्तिको कारण अस्तित्वमा आएको सामाजिक उद्देश्य प्राप्तिमा जाने भनिएको हो।
तसर्थ वैदिक यज्ञ तथा अनुष्ठान कार्यहरूको दानहरू सामाजिक कार्यमा लगानी गर्ने
संस्थाहरू जस्तै मन्दिर, धर्म शाला, स्कुल आदि जस्ता सेवा गर्ने सार्वजनिक निकायहरूमा अनिवार्य
रूपमा जानु पर्ने वैदिक मान्यता हो।
जब व्यक्तिको मृत्यु घरमा हुन्छ वा
परिवारका सदस्यहरूको सान्निध्य वा पायकको स्थानमा हुन्छ त्यो बेला मृत र आफ्नो
परिवारको बारेमा परिचित रहेको पण्डित, पुजारी वा सहयोगी लाई पारिश्रमिक दिने गरी कर्मकाण्डको लागि
खबर गर्नु नियुक्त गर्ने सल्लाह दिएको छ।
जब व्यक्तिको मृत्यु हस्पिटल वा घर
भन्दा बाहिर परिवारका सदस्यहरूको सान्निध्य वा पायकको स्थानमा हुँदैन त्यो बेला
अन्तिम संस्कार बारे ज्ञान राख्ने समय परिस्थिति अनुरूप उपलब्ध योग्य र नैतिक
व्यक्तिलाई कर्मकाण्डको लागि पारिश्रमिक
दिने गरी नियुक्त गर्न भन्दछ। त्यस पछि नियुक्त पुजारीको जिम्मेवारी, निर्देशन र सञ्चालनमा अन्तिम
संस्कारको विधि पुरा गर्न भनिएको छ। त्यस क्रममा विष्णु सहस्र नाम स्तोत्रको पाठ
गर्ने र त्यो पाठ मृतकको चेतनाले समेत सुन्न सक्ने गरी बोलेर सुनाउन सल्लाह दिइएको
छ।
यदि विष्णु सहस्र नाम पाठ गर्न
सकिँदैन वा अनुकूल रहेन भने कुनै पनि भगवानको नाम जप्नु र आफूले जानेको वैदिक
जुनसुकै प्रार्थना वा भजन गाउन सल्लाह दिइएको छ। व्यक्तिले जब मृत्यु वरण गरेको वा
गर्दै गरेको लक्षण देखिन्छ तव गङ्गा जल, तुलसी जलको केही थोपा मृतकको मुखमा हालिदिन सल्लाह दिइएको
छ।
मृत्यु हुँदा हुँदैको समयमा गङ्गा
जल, तुलसी जल दिन सकिएन भने मृत्यु भए
लगत्तै भए पनि सो दिन सल्लाह दिइएको छ। मृत्युको क्रममा व्यक्ति खाली जमिनमा सुतेर
रहेको अवस्थामा मृत्यु हुनु अत्यन्त शुभ मानिन्छ। त्यसो हुँदा प्रकृतिको ऊर्जा
उसको शरीरको ऊर्जा मैत्री बन्दछ। तर त्यो सामान्यतया सम्भव हुँदैन। त्यसैले
मृतकलाई अन्तिम अवस्थामा तुलसीको मोठ आदि स्थानमा सारिन्छ। वरिपरि केही कालो तिल
छर्ने, ओछ्यान, गद्दा आदिमा अन्तिम अवस्थामा
व्यक्ति रहेको छ भने केही दुबोको घाँस आदि राख्ने गरिन्छ। तिलको तेलको दियो (एक
बत्ती मात्र भएको) र एक अगरबत्ती बालेर मृतकको टाउको नजिक राख्न सल्लाह दिइन्छ।
उपलब्ध भए मृतक र परिवारका प्रिय देवताको फोटो पनि टाउकोतिर राख्न सकिन्छ।
१३ दिन सम्मको दाहसंस्कार र और्ध्वदेहिक (शारीरिक
सीमा भन्दा परको आध्यात्मिक, मानसिक र
आत्मिक पक्ष समावेश भएको) कर्म:
मृत्यु हुन लागेको व्यक्ति नजिक चौबिसै घण्टा घ्यू
हालेको दियो बालेर राख्नु उत्तम हुन्छ। एकदमै सानो आवाजमा ॐ तत् सत मन्त्र (ॐ: ॐ; तत्: परम
सत्य ब्रह्म या आत्मा; सत्: को सत्य अस्तित्व) बजाउन बजाउनु राम्रो हुन्छ।
शव संस्कार क्रिया विधि
मृत्युको क्षण: जब जीवन शरीरबाट बिदा भएको
निश्चित हुन्छ, त्यसपछि ज्येष्ठ पुत्र वा
निर्दिष्ट व्यक्तिले स्नान गर्नु पर्दछ। मृतक व्यक्तिले मृत्यु अघि नै आफ्नो
छोरीहरू वा श्रीमती लाई समेत आफ्ना कर्महरू गर्नका लागि आफ्नो अन्य नातेदार वा
जोकोही लाई समेत नियुक्त गर्न सक्छन्। डाक्टरले व्यक्तिको मृत्यु घोषणा गरेको अवस्थामा
सम्बन्धित निकायबाट मृत्यु प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ।
त्यसपछि
उपलब्ध विषय विज्ञ वा परिवारको कर्म काण्ड गराउने पुरोहित सँग सम्पर्क गरी वा
आफैले मृत्यु शुभ समयमा भएको हो वा अशुभ समय परेको छ जस्तै पञ्चक, द्वि
पुष्कर वा त्रिपुष्कर आदि पत्ता लगाउनु होस्। सामान्यतया, आफ्नो
नियन्त्रण बाहिरको परिस्थितिहरूका कारण अधिकांश अन्त्येष्टिहरू मृत्यु भएको
भोलिपल्ट वा केही दिन पछि हुन पुग्दछ। जसलाई स्वाभाविक रूपमा लिनु पर्दछ।
मृत्युको
समयमा पञ्चक, द्वि पुष्कर र त्रि पुष्कर जस्ता
अवधिहरू परे नपरेको ज्योतिषी पञ्चाङ्गमा उल्लेख गरिएको हुन्छ। मृत्यु भएको दिनको
मिति, समय र स्थानमा पञ्चाङ्ग हेर्दा
पञ्चक (धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपदा, उत्तर
भाद्र पद र रेवती) नक्षत्रहरू परेको रहेछ भने मृत्यु लाई अशुभ मानिन्छ। द्वि पुष्कर / त्रि पुष्कर जस्ता
अवधिहरू पञ्चाङ्गमा ग्रह, वार र
तिथिको विशिष्ट संयोजनबाट पत्ता लगाइन्छ। यस अवधिमा भएको मृत्युले पुनः घटना
दोहरिने सङ्केत गर्दछ भन्ने मान्यता छ। आज भोलि विभिन्न अनलाइन पञ्चाङ्ग
वेबसाइटहरू वा एप्स मार्फत मृत्युको समय शुभ / अशुभ रहेको सहज पत्ता लगाउन सकिन्छ।
यदि मृत्यु पञ्चकमा भएको रहेछ भने "पञ्चक शान्ति पूजा" गर्न सल्लाह
दिइन्छ।
जसमा विशेष
मन्त्रोच्चारण गर्ने, आत्माको शान्तिको लागि यज्ञ वा हवन
गर्ने, पाँच वटा काठका पुतला बनाएर (पन्च
तत्वको सङ्केत गर्ने) मृत व्यक्तिसँगै जलाउने, सामाजिक
संस्थालाई गाई, अन्न, र कपडा आदि
दान गर्ने काम गरिन्छ। पञ्चकले चन्द्रमाका पाँच नक्षत्रहरूको विशेष संयोजनलाई
जनाउँछ।
ब्रह्माण्डको
सामंजस्य, समयको चक्र, र सृष्टिका
आपसी सम्बन्धहरूलाई झल्काउँछ। पञ्चक अवधिमा ज्वारभाटा (tides), जनावरको
व्यवहार र सर्केडियन रिदममा (circadian rhythms) चन्द्रमाको
प्रभाव देखिन्छ। जुन नियमित प्राकृतिक घटना हो। परिवारको सदस्य संग हुने बिछोडको
पीडाको क्रममा परेको पञ्चकको समयले दिन सक्ने पिडा लाई त्यो समय त्यस्तै समय हो
भनी बुझेर व्यक्तिले आफूलाई संयमित राख्नु भनेर यो कुरा बताइएको हो। नियमित
प्राकृतिक घटनालाई कुनै व्यक्तिले गर्ने दान आदिले रोक्न सम्भव हुन्न।
शव संस्कार
क्रियाको सन्दर्भमा मृत्युको समयमा द्वि
पुष्कर (मौसमी परिवर्तन दुई पटक दोहोरिने) / त्रि पुष्कर (मौसमी परिवर्तन तीन
पटकसम्म दोहोरिने) सम्भावना आदि रहनु नरहनुको खासै अर्थ राख्दैन। मात्र यो समयमा कृषि चक्र, मौसम
परिवर्तन वा ऋतुगत घटनाहरूको पुनरावृत्ति हुने खगोलीय सम्भावना हुने हुँदा क्रममा
मौसमी परिवर्तनको समयले शव दाह र कर्म काण्डमा हावा, हुरी आदि
कुराको प्रभावको अनुमान गर्न उपयोग गरिन्छ।
त्यसैले
त्यो समयमा मानिसहरूले बढ्दो भावनात्मक अवस्था अनुभव गर्न सक्छन्, जसलाई
आध्यात्मिक अनुशासनद्वारा सन्तुलनमा राख्न सुझाव दिइन्छ। वैदिक मान्यता अनुरूप यी
कार्य गर्नु नगर्नुले मृतकको मृत्यु पछिको यात्रा र परिवारको भविष्यमा कुनै असर
नहुने प्रस्ट गर्दछ। परम्परागत अविश्वास अन्तर्गत यी कुराहरू मानिँदै आएको
परिप्रेक्ष्य परिवारलाई भावनात्मक राहत दिन यस्ता कार्यहरूले मद्दत भने गरेको
भेटिन्छ। यसलाई आधार मानेर जजमानले दान लिनु मनोवैज्ञानिक शोषण रुपी अपराध वृति
हुने सङ्केत शास्त्रमा भेटिन्छ।
यो बारेमा
गरुड़ पुराण (२.४.१८०) मा प्रस्ट उल्लेख गरिएको छ कि वैदिक विधि अन्तरगत उल्लेख
भएका कर्म काण्डका निर्देशनहरूको चुरो भावना बुझेर गरिएका हरेक दाहसंस्कार जस्तो
सुकै मृत्युको अवधिमा भएको मृतकको भएता पनि तिनीहरूले समान प्रकृतिको फल दिने
गर्दछ। तिनीहरू समान रूपमा एक हानि रहित कर्म काण्ड हुने गर्दछन्।
दाहसंस्कार
अघि गरिने केही विधिहरू (जस्तै, शवलाई
स्नान गराउने, कपडा लगाउने र अन्तिम संस्कार)
छिटो दाहसंस्कार गर्दा पूरा गर्न सहज हुन्छ। साथै आत्मा मृत्यु पछि केही समय कारण
शरीरको रूपमा विकसित हुन सम्म शरीरसँग जोडिएको हुन्छ भन्ने मान्यता हुन्छ।
आत्मालाई सो समय उपलब्ध गराएर दाहसंस्कार गर्नु आत्माको मोक्ष मार्गको यात्रामा
मद्दत पुग्ने विश्वास गरिन्छ।
यी
कुराहरूलाई ध्यानमा राखेर कसैको स्वभाविक प्रकृतिको देहान्त (देहको अन्त्य) भयो
भने, चार देखि छ घण्टा भित्र शवलाई
जलाइसक्नु उत्तम ठानिन्छ। स्थानीय
नियम अनुसार दाहसंस्कारको लागि मृतकको
मृत्यु प्रमाणित भएको कानुनी प्रमाणको अनिवार्यता रहेमा आवश्यक औपचारिकता पुरा गरी
मृत्यु प्रमाण पत्र समेत लिनु जरुरी पर्ने छ। यदि परिस्थिति वा कानुनी कारणले
तत्काल दाहसंस्कार गर्न सम्भव छैन भने, जस्तै
मृत्युको कारण औपचारिक रूपमा पत्ता लगाउनुपर्ने अवस्था भएमा, शवलाई ३/४
वा ५/७ दिनसम्म सुरक्षित राखेर त्यसपछि मात्र दाहसंस्कार गर्ने व्यवस्था गर्न
सकिन्छ।
यस्तो
अवस्थामा, ९ दिन भित्र दाहसंस्कार गर्नु उचित
मानिन्छ। यदि कुनै कारणवश १० दिनपछि मात्र दाहसंस्कार सम्भव भयो वा मृत्यु भएको
दिन थाहा भएन भने, थाहा भएको दिनलाई पहिलो दिन मानेर
१३ दिनको क्रिया कर्म गर्न सल्लाह दिइन्छ।
यद्यपि, यदि ९ दिन
भित्र दाहसंस्कार गर्न सकिन्छ भने मृत्यु भएको दिनदेखि नै दिन गणना गरी क्रियाकर्म
पूरा गरिन्छ। जस्तै, यदि पाँचौं दिनमा दाहसंस्कार गरियो
भने, बाँकी आठ दिन क्रियाकर्म बस्नुपर्छ
ताकि १३ दिन भित्र क्रियाकर्म पूरा होस्। यो परम्परागत विधि र सामाजिक
मान्यताअनुसार उत्तम मानिन्छ।
लाशलाई
घाटमा लगेपछि शव लाई उत्तर पट्टी शिर र दक्षिण पट्टी खुट्टा गराई उत्तानो पारी
सुताउनु पर्दछ। घिउ र मह आदिले पूरै शरीरमा मालिस गरिदिने, सुन-पानी
खुवाइदिने, र चन्दन आदिले शरीर लाई सिँगार्नु
पर्दछ। शव दाहमा उपस्थित सबै जनाले फूल चढाई अन्तिम श्रद्धाञ्जली दिइसकेपछि आफ्नो
परम्परा अनुरूप कर्मकाण्डको विधि अनुरूप छ
वटा पिण्ड दान गर्नु पर्दछ।
धार्मिक
कर्म वा विधिको १६ प्रकारका संस्कार "षोडश" शब्द प्रयोग गरिन्छ। १६
प्रकारका संस्कार मध्येको एक मृत्यु संस्कारको कर्म काण्ड हो। मलिन षोडशी मृत्यु
पश्चात् गरिने अशुद्धता सँग सम्बन्धित कर्मकाण्डको एउटा विधि हो जसमा पिण्ड दान, श्राद्ध र
अन्य धार्मिक अनुष्ठान समावेश हुन्छ। यो विधिले मृत व्यक्तिको परिवार र आफन्तको
आत्मा सन्तुष्टि र मृतको मुक्तिको कामना गर्ने प्रयोजनमा सम्पन्न गरिन्छ। मलिन
षोडशी अन्तरगतका छ वटा पिण्ड (चामल + मह+ घिउ अथवा जौँ को पीठोको पिण्ड बनाई) दिएर
दागबत्ती दिनु पर्छ।
शवदाह अघि
पिण्डदान गर्नु प्रेतकल्पका अनुसार एक महत्वपूर्ण कर्म हो। वैदिक परम्परामा प्राय: छ पिण्ड दिने चलन देखिन्छ। जसले भौतिक
शरीर (पृथ्वी), जीवन ऊर्जा (प्राण), मन (मनोबल), ज्ञान
(बुद्धि), आत्मा (आध्यात्मिक अस्तित्व), र मुक्ति
(मोक्ष) को सांकेतिक प्रतिनिधित्व गर्दछ। पिण्डको परम्परा विशिष्ट सांस्कृतिक र
आध्यात्मिक मान्यतामा आधारित रहेको पाइन्छ।
भिन्न-भिन्न
क्षेत्रीय परम्परा र दर्शनअनुसार पिण्डहरूको संख्या फरक हुन सक्छ:
१ पिण्ड: यो अद्वैत दर्शनमा आधारित छ, जसले
एकात्मकता र मुक्ति (मोक्ष) को कामना गर्दछ। यसमा आत्मालाई ब्रह्मसँग एकत्व
प्राप्त गराउन एकमात्र पिण्ड अर्पण गरिन्छ।
३ पिण्ड: तीन पिण्डहरू शरीरका तीन
स्तरहरूका प्रतीक हुन्: स्थूल शरीर: भौतिक शरीर; सूक्ष्म
शरीर: मन, बुद्धि र चित्त; कारण शरीर:
आत्माको गहिरो स्तर, जसले पुनर्जन्मको आधार बनाउँछ। यी
तीन पिण्डहरूले मृत आत्मालाई यी स्तरहरूबाट मुक्त गराई परलोक यात्राका लागि सहयोग
पुर्याउँछन्।
५ पिण्ड: पाँच पिण्डहरूको परम्परा पाँच
महाभूतहरू (पृथ्वी, जल, अग्नि, वायु, आकाश) का
प्रतीक हो। यस विधिमा मृत आत्मालाई प्रकृतिका यी तत्वहरूसँग पुनः मिलाउन पिण्ड
अर्पण गरिन्छ। केही परम्परामा यसले मोक्षको पिण्ड अर्पण नगर्ने तर्कलाई प्रस्तुत
गर्दछ, किनभने यो प्रकृतिको पुनर्मिलनको
प्रतीक हो।
गरुड
पुराणको प्रेत खण्डमा मृत्यु पश्चात् गरिने संस्कारहरू, विशेष गरी
पिण्ड दान, प्रेत अवस्था, र
सपिण्डीकरण सम्बन्धी विषयहरूको वर्णन गरिएको छ। गरुड पुराण प्रेत कल्प अध्याय १०
श्लोक २१ मा उल्लेख भए अनुसार जव पहिले पिण्ड दाहिने हातमा लिएर शव नामक पिण्ड
अर्पण गरिन्छ, त्यहि समय देखि आत्माले
"प्रेत" को रूप धारण गर्दछ। प्रेत अवस्थालाई "अन्तरावस्थाको
समय" भनेर पनि बुझिन्छ। सपिण्डीकरण (१२/१३ औँ दिनको कर्म) सम्पन्न भएपछि
मात्र आत्माले प्रेत अवस्थाबाट मुक्ति पाउँछ। यो विधिले मृत व्यक्तिलाई पितृहरूको
श्रेणीमा समावेश गराउँछ र मोक्षको मार्ग प्रदान गर्दछ।
यही आधारमा
पिण्ड अर्पण गर्न १० दिनको गणना गर्दा मृत्युको दिन बाट नभएर अन्त्येष्टि गरिएको
दिनबाट गरिन्छ। कर्मकाण्डको प्रयोजनको दिनहरूको गणना गर्दा दाह संस्कारको समयमा
शवको दाहिने हातमा अन्तिम पिण्ड राख्ने समय लाई आधार मानिन्छ।
मुण्डन तथा यज्ञोपवीत फेरी (मण्डन र
यज्ञोपवीत फेरि गर्दा)
कर्ताऽऽचम्य (कर्ताले
आचमन गरी), अग्निसँस्कृत्य (अग्निको
संस्कार गरी)
क्रव्यादाग्नये नम: ("क्रव्यादाग्नये
नम:" भनी)
इति सम्पूज्य प्रार्थना (सम्पूजना
र प्रार्थना गर्नु पर्दछ)।
कपाल
खौरिने संस्कारलाई मुण्डन भनिन्छ। पुरानो जनै फेरि
नयाँ जनै लगाउने संस्कारलाई यज्ञोपवीत भनिन्छ। क्रिया गर्ने व्यक्तिहरूको
सन्दर्भमा भनिएको छ कि जब मुण्डन र नयाँ जनै (यज्ञोपवीत) लगाइन्छ, तब कर्ता
(जसले यो कर्म गर्दै छ) ले केही विधिहरू पालना गर्नुपर्छ। कर्ताले शुद्धि गर्नका
लागि पानीको तीन सिप लिनुपर्छ, जसलाई
"आचमन" भनिन्छ। यसले शारीरिक र मानसिक शुद्धि गर्दछ। त्यसपछि, आफ्नो
आन्तरिक ऊर्जा बलियो राख्न अग्निलाई पवित्र गर्ने संस्कारको रूपमा अग्निको पूजा
गर्नुपर्छ। त्यति वेला "क्रव्यादाग्नये नम:" भन्ने मन्त्र उच्चारण
गर्नुहोस्। जहाँ क्रव्याद: को अर्थ मृत शरीरलाई भस्म गर्ने अग्नि (अर्थात् शव दाह
गर्ने अग्नि) हो भने नमः: भनेको सम्मान र समर्पण भाव जनाउनु हो। यसरी
"क्रव्यादाग्नये नमः" भनेर "म शव दाह गर्ने अग्निलाई नमन
गर्दछु।" भनिएको हो।
सनातन
संस्कृतिमा मन्त्र र ऋचा आदिको बारेमा यदि तपाईँलाई संस्कृत आउँदैन भने तपाईँलाई
जुन भाषा आउँछ, त्यसैमा भनिएका मन्त्रले बताएको
सङ्कल्प लिनु भन्ने वैदिक अवधारणा रहेको भेटिन्छ। यदि तपाईँलाई सो बारेमा सहयोग
लिने इच्छा छ भने चलन चल्तीको दैनिक पारिश्रमिक दिएर पुरोहित राख्नुहोस्। कर्म
काण्डमा गरिने अन्य दान दक्षिणा भने तपाईँलाई त्यसको सदुपयोग हुने छ, तपाइको
इच्छा अनुरुपको सामाजिक गतिविधिमा जाने छ भन्ने
विश्वास रहेको सामाजिक संस्थालाई दिनुहोस् भनिएको छ। पारिश्रमिक बाहेक अमुक व्यक्ति र उसको
परिवारको हितमा जाने गरि अन्य दान दिने
परम्पराले सामाजिक शोषण र सामाजिक विकृति निम्त्याउने मात्र होइन त्यसले पाप, लोभ र धनको
आशक्ति जस्ता अपराधिक दुष्कर्मको घातक वीज
समाजमा रोप्ने हुँदा कर्म काण्ड गर्ने ज्ञानी
कर्ताको रुपमा कोहि पनि व्यक्तिले आफुलाई यस्तो अपराधरूपी
पाप कर्ममा सामेल नगरुन भन्ने शास्त्रको मुख्य सन्देश भेटिन्छ।
कृत्वा सुदुष्करं कर्म जानता वाप्य जनता।
मृत्युकालवशं प्राप्तं नरं पन्चत्वमागतम्।।
धर्माधर्मसमायुक्तं लोभमोह समावृतम्।
दहेयं सर्व गात्राणि दिव्यालोकान् स गच्छतु।।
चाहे
जानेरै होस् वा अन्जानमै किन नहोस्, धर्म र
अधर्म दुवैको प्रभावमा परेर लोभ र मोहले ढाकिएर (आच्छादित भएर) पाप र अपराध जस्ता
दुष्कर कर्म गरेकै रहेछ भने पनि, मृत्यु
कालको वशमा परेर पन्च तत्वमा विलीन बनेको व्यक्तिको शवलाई, उसका
सम्पूर्ण गात्र (शरीरका अङ्ग) अग्निद्वारा दहन गर्ने कार्यमा भद्र सहभागी
बन्नुहोस। मृतकको आत्माले दिव्य लोकको प्राप्ति गरोस् भन्ने कामना गर्नुहोस।
"अपसव्य"
संस्कृत शब्द हो, जसको अर्थ उल्टो वा दायाँबाट बायाँ
तर्फको स्थानान्तरण हुन्छ। वैदिक परम्परामा जनै (पवित्र धागो) लाई सामान्यतया सव्य
(बायाँ काँधमा) राखिन्छ, तर केही
विशेष परिस्थिति, जस्तै मृत्यु संस्कार, अपसव्य
बनाइन्छ (दायाँ काँधमा सारिन्छ)। मृत्यु संस्कार वा शोकका कर्महरूमा मात्र दाहिने
काँधमा (अपसव्य) जनै राख्ने गरिन्छ जसलाई अशुभ अवस्था सँग जोडेर हेरिन्छ। दाह
संस्कारको क्रममा अपसव्य भई ३ पटक शवको परिक्रमा (प्रदक्षिणा) गरी घिउ र समिधा
(तुलसी, श्रीखण्ड, अगरबत्ती.
कपुर, धूप आदि) तलको मन्त्र पढी राखिदिने
गरिन्छ।
अस्मात्त्वमधिजातोऽसि त्वदयं जायतां पुन:।
असौ स्वर्गाय लोकाय स्वाहा ज्वलतु पावक:।। यजुर्वेद ३५ .२२ ।।
तिम्रा
शरीरका जुन जुन तत्व जहान वाट आए (उत्पन्न भए) तिनीहरू त्यही नै फर्कने छन्।
तिम्रो यो देहमा रहेको (आत्मा) स्वर्ग लोकको मार्गमा लागोस्। तिम्रो शव पावक
(अग्नि) ज्वलित होस्। स्वाहा॥ यजुर्वेद ३५.२२॥
सम्भव या
व्यवहारिक रहे सम्म चितामा आगो सल्काई सके पछि मात्र पिण्ड दान गर्ने गरिन्छ। क्रिमेसनको
परिस्थिति अनुसार सो सम्भव नरहे चितामा आगो सल्काउन अघि नै दियो जलाई चितामै पिण्ड
दिएर त्यसपछि चितामा आगो सल्काई लाशलाई
जलाउन सकिन्छ।
अन्त्येष्टि संस्कार
अन्त्येष्टि
को अर्थ हुन्छ "अन्तिम यज्ञ”। यो यज्ञ
मृत व्यक्तिको शरीरका लागि गरिन्छ। सनातन हिन्दु संस्कृतिमा अन्त्येष्टि लाई
अन्तिम संस्कार भनिन्छ। धार्मिक शास्त्रका अनुसार, मृत शरीरको
विधिपूर्वक अन्तिम संस्कार गर्दा मृतक आत्माको अपूरा इच्छाहरू शान्त हुन्छन्। यस
प्रक्रियाले आत्मालाई मोह-माया र बन्धनबाट मुक्त गराई पृथ्वी लोकबाट परलोकतर्फ गमन
गर्न सहयोग पुर्याउँछ। यसै कारणले मृत शरीरको विधिपूर्वक अन्त्येष्टि गरिन्छ। अन्त्येष्टि
संस्कार केवल एक धार्मिक प्रक्रिया होइन; यो आत्मा र
परिवारका लागि शान्ति र छुटकाराको प्रतीक हो। यो विधिले मृतकलाई परलोकतर्फ यात्रा
गर्न मद्दत गर्दछ र परिवारलाई पवित्रता तथा मानसिक सान्त्वना प्रदान गर्दछ।
बौधायन
पितृमेधसूत्रमाभनिएको छ:
जातसंस्कारैणेमं लोकमभिजयति मृतसंस्कारैणामुं लोकम्।
जन्म
संस्कार र अन्य कर्महरूले मानिसले यस लोक (पृथ्वी लोक) मा विजय प्राप्त गर्छ। अन्त्येष्टि
संस्कारले परलोकमा विजय प्राप्त गराउँछ।
तस्यान्मातरं पितरमाचार्य
पत्नीं पुत्रं शि यमन्तेवासिनं पितृव्यं मातुलं
सगोत्रमसगोत्रं
वा दायमुपयच्छेद्दहनं संस्कारेण संस्कृर्वन्ति।।
मृत्यु
भएको खण्डमा माता, पिता, गुरु, पत्नी, पुत्र, शिष्य, काका, मामा, सगोत्र वा
असगोत्र आफन्तहरूले दायित्व स्वीकार गरी मृत शरीरलाई विधिपूर्वक दाह संस्कार
गर्नुपर्छ।
अन्त्येष्टि
अघि मृतकको परिवारले मृतकका लागि नयाँ वस्त्र, मृतक शय्या
(बिछ्याउने ठाउँ) का लागि कुश र वस्त्र, शय्या
सजाउनका लागि फूल आदिको व्यवस्था गर्नु पर्दछ।पिण्ड दानको लागि आधा किलो जति जौ को
पिठो जौ, तिल, र चामल
मिसाएर तयार गर्नुपर्छ। जौको पिठो उपलब्ध नभए गहुँको पिठोमा जौ मिसाएर पिण्ड
निर्माण गर्न सकिन्छ। कतिपय ठाउँमा संस्कारका लागि घरबाटै आगो लैजाने परम्परा
हुन्छ। यदि यस्तो चलन छ भने आगोको व्यवस्था गर्नु पर्छ। अन्यथा श्मशान घाटमा
मन्त्र सहित सलाई आदिले अग्नि प्रज्वलन गर्न सकिन्छ।
पूजाको
लागि आरतीको थाल, पूजाको रङ्ग केशरको बट्टा, अक्षता, अगरबत्ती, सलाई, चन्दन, हवन
सामग्री, सुक्खा तुलसी आदिको व्यवस्था
गर्नुपर्छ। बर्सातको मौसम हो भने आगो बाल्न सुक्खा घाँस, पिसेको
पराल वा काठको ढुटो आदि जस्ता सामग्री जरुरी हुन सक्दछ।
पूर्णाहुतिका
लागि नरिवलको खोलमा घ्यू हालेर तयारी गर्न सकिन्छ। वसोर्धाराका लागि लामो बाँसमा
पात्र बाँधेर घ्यू चढाउने व्यवस्था गर्न सकिन्छ। यस प्रकारका आवश्यक सामग्रीहरू
तयार गरी घर भित्र मृतक लाई नुहाइ धुवाइ गरेर नयाँ वस्त्र लगाइदिएर तयार गर्ने र
बाहिर बाँसको शव राख्ने खाट बनाउने कार्य एकसाथ गर्न सकिन्छ। शवको संस्कार गरेर
संकल्प र पिण्ड दान पछि बाहिर शवको
शय्यामा राखिन्छ। त्यसपछि फूल अर्पण गरी शवको श्मशान यात्रा सुरु गरिन्छ।
शव संस्कार
अघि घर सफा गरी गोबरले लिप्नु पर्दछ। त्यसपछि मृतकको शरीरलाई गङ्गा जलले स्नान
गराउनु पर्दछ। यस क्रममा "ॐ आपोहिष्ठा" मन्त्र जप्नु उपयुक्त मानिन्छ। जसको अर्थ
हो ॐ, हे पवित्र जल तिमी सर्व श्रेष्ठ
पवित्र छौ। तिम्रो शक्ति अपार छ।
मृतकलाई
नयाँ वस्त्र लगाएर चन्दन र फूलले सजाउने र “ॐ यमाय सोमं नुनुत, यामाय
जुहुता हविः। यमं ह यज्ढो गच्छति, अग्निदूतो
अरंकृतः।।” मन्त्र जप्दै सम्मान व्यक्त गरिन्छ। यममा
(मृत्युदेव) समर्पित यो मन्त्रको अर्थ हो ॐ यमलाई म सोम रस अर्पण गर्दछु। यमलाई हविष
(हवनको होम गर्ने समान जस्तै गहुँ, जौ, तिल, दूध, घ्यू, चामल, फलफूल, अन्य शुद्ध
खाद्य वस्तुहरू) अर्पण गर्दछु। यज्ञद्वारा अर्पण गरिएका यी वस्तुहरू यम सम्म
पुग्छन्। अग्नि दूतले शुद्ध र सुन्दर ढङ्गले तिनीहरू लाई यम सम्म पुर्याउने छन्।
अन्त्येष्टि
संस्कार गर्ने व्यक्ति दक्षिण दिशातर्फ मुख गरेर बस्नुपर्छ। पवित्र वस्त्र (पवित्रा)
धारण गरी हातमा अक्षता, फूल, र जल लिएर
संस्कारका लागि निम्न सङ्कल्प गर्नु पर्छ: “………(मृतकको नाम) प्रेतस्य प्रेतत्त्व –
निवृत्त्या उत्तम लोक प्राप्त्यर्थं औधर्वदेहिकं करिष्ये।” जसको अर्थ
हो प्रेतको प्रेतत्व समाप्त गरी उत्तम
लोक प्राप्त होस् भन्ने कामना सहित म यो और्ध्वदैहिक
कर्म गरिरहेको छु। जहाँ
और्ध्व शब्दले परलोकतर्फको र दैहिक भन्नाले शरीर सम्बन्धी भन्ने अर्थ दिन्छ।
और्ध्वदैहिक (Aurdhvadehik) शब्दले शरीर त्याग पछिको आत्माको उद्धारका लागि गरिने
मृत्यु पछिको कर्म वा अन्त्येष्टि संस्कार सम्बन्धी कार्य भन्ने जनाउने गर्दछ। यसपछि, मृतकलाई
फूल र चन्दनले सजाएर परिवार र आफन्तहरूको साथमा श्मशान यात्राको तयारी गर्नुपर्छ। सङ्कल्प गरेपछि पहिलो पिण्ड दान गर्नु पर्दछ। त्यसपछि
शव उठाएर शय्यासम्म लैजाने गरिन्छ। पहिले नै शव शय्यालाई फूल आदि सामग्रीले सजाएर
तयार राख्नु पर्दछ। त्यसपछि शवमाथि फूल अर्पण गरी श्मशान यात्रा सुरु गरिन्छ।
पिण्ड दान विधि
जीव चेतना
शरीरसँग मात्र बाँधिएको हुँदैन। त्यसैले आत्मालाई सन्तुष्ट पार्न शरीर सँगको
सङ्कीर्ण मोह भन्दा माथि उठ्न आवश्यक ठानिन्छ। मृतात्माको चेतन शरीरको शान्तिका
लागि र व्यापक जीवनको चेतनालाई सन्तुष्ट पार्न मृतकका हिस्साका साधनहरू साङ्केतिक
रूपमा अर्पण गर्न पिण्ड दानको परम्पराको स्थापित छ।
मृतस्थाने तथा द्वारे चत्वरे तार्क्ष्य कारणात्।
विश्रामे काष्ठचयने तथा सञ्चयने चषट्।
पिण्ड दान
गर्ने छ स्थानमा हुन् मृतकको मृत्यु भएको स्थान, घरको मुख्य
द्वारको आसपासको स्थान, चत्वर
स्थान अर्थात् चौबाटोमा, विश्राम
स्थलमा, शव दाह (दाह संस्कार) गर्न ठिक्क
परिएको काठको काष्ठ सञ्चयन स्थानमा र मृतकको शव
दाह पछि बचेको अस्थिहरू (हाड) राख्ने वा सङ्कलन गर्ने स्थान अस्थि सञ्चयन स्थानमा।
मृतकको
परिवारको मनको शान्तिका लागि मृत आत्माको मुक्तिको कामना गर्दै उसको कारण शरीरमा
रहेको चेतना लाई धन्य अनुभूति गर्ने उद्देश्यका लागि पिण्ड दान गर्ने प्रावधान
रहेको छ:
सबै भन्दा
पहिले पिण्ड दाहिने हातमा लिएर त्यसमा पुष्प, कुश, जल, यव (जौ), र तिलाक्षत
(तिल र नटुटेको चामलको अक्षता) राखेर मन्त्र जपिन्छ। मन्त्र समाप्त भएपछि पिण्ड
लाई औँलाको सहायताले तोकिएको स्थानमा चढाइने गरिन्छ।
१. शव (मृत शरीर) नामक पहिलो पिण्डदान: प्रथम
पिण्ड घरभित्र शव संस्कार सम्पन्न गरी संकल्प गरेपछि गर्नुपर्छ। पहिले मृत स्थानमा
जलले छर्केर भूमि शुद्ध गरी त्यहाँ तीन वटा कुश बिछाएर त्यस स्थानमा पहिलो पिण्ड
राख्नुपर्छ। त्यसपछि जल लिएर त्यही स्थानमा संकल्प गरी जल अर्पण गरेपछि पिण्डलाई
मृतकको कम्मरमा राख्नुपर्छ।
मन्त्र: अद्येह ..... गोत्र ........ नाम
(मृतकको नाम) प्रेत मृत्युस्थाने शव नामैष पिण्डस्ते मया दीयते
तवोपतिष्ठताम्।
आज यहाँ
..... गोत्र (मृतकको गोत्र)...... नाम (मृतकको नाम) प्रेतको मृत्यु स्थानमा, यो पिण्ड
मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्।
प्रत्येक
पिण्डमा तलको मन्त्र प्रयोग गरी कुश, तिल र जल
अर्पण गरिन्छ:
“आज यहाँ
.... गोत्र ....... नाम (मृतकको नाम) प्रेतका लागि यो पहिलो पिण्ड प्रत्यवनेजन
मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्।”
(यसरी नै
दोस्रो, तेस्रो, चौथो, पाँचौँ, र छैटौँ
पिण्ड प्रत्यवनेजन पनि गर्नुपर्छ।)
२. पांथ (यात्रा गर्ने व्यक्ति वा पथिक) नामक दोस्रो
पिण्डदान: शव शैय्यामा शव स्थापना गरेपछि बाहिर दोस्रो पिण्ड
चढाउनुपर्छ। पिण्डलाई मृतकको छातीको संधि (बीच भाग) मा राख्नुपर्छ।
मन्त्र: अद्येह . ... गोत्र ..........
नाम (मृतकको नाम ) प्रेत द्वारस्थाने पान्थ नामैष पिण्डस्ते मया दीयते
तवोपतिष्ठताम्।
आज यहाँ
.... गोत्र ....... नाम (मृतकको नाम) प्रेतको द्वारस्थानमा, पन्थ नामको
यो पिण्ड मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्।
३. खेचर (आकाशमार्गको यात्रा) नामक तेस्रो पिण्डदान: खेचर
पिण्डदान यात्रा मार्गमा गर्नुपर्छ। पिण्डलाई मृतकको पेटमा राख्नुपर्छ।
मन्त्र: अद्येह .... गोत्र ..........
नाम (मृतकको नाम) प्रेत चत्वरस्थाने खेचर नामैष पिण्डस्ते मया दीयते
तवोपतिष्ठताम्।
आज यहाँ
.... गोत्र ....... नाम (मृतकको नाम) प्रेतको चत्वरस्थानमा, खेचर नामको
यो पिण्ड मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्। (उदरस्थान पेटमा राखिदिने)
४. भूत (अतीत आत्मा) नामक चौथो
पिण्डदान: यो पिण्डदान श्मशानमा दिनुपर्छ। पिण्डलाई मृतकको छातीमा अर्पण
गर्नुपर्छ।
मन्त्र: अद्येह..... गोत्र...... नाम
(मृतकको नाम) प्रेत श्मशानस्थाने भूत नामैष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम्।
आज यहाँ
.... गोत्र ....... नाम (मृतकको नाम) प्रेतको श्मशानस्थानमा, भूत नामको
यो पिण्ड मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्।(वक्षस्थलमा राखिदिने)
५. प्रेत (प्रेत आत्मा) नामक पाँचौँ पिण्डदान: यो
पिण्डदान काष्ठसञ्चयन स्थानमा (शव दाहका लागि चाहिने काठहरू सञ्चय गर्ने ठाउँ) गरिन्छ।
पिण्डलाई मृतकको शिरमा राख्नुपर्छ।
मन्त्र: अद्येह ..... गोत्र.......... नाम
(मृतकको नाम) प्रेत काष्ठसन्चयनस्थाने प्रेत नामैष पिण्डस्ते मया दीयते
तवोपतिष्ठताम्।
आज यहाँ
.... गोत्र ....... नाम (मृतकको नाम) प्रेतको काष्ठसञ्चयन स्थानमा, प्रेत
नामको यो पिण्ड मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्। (शिरमा राखिदिने)
६. साधक (परलोक यात्रामा मार्गदर्शन गर्ने) नामक छैटौँ
पिण्डदान: यो पिण्डदान मृतक लाइ चितामा राखेपछि गर्नुपर्छ।
पिण्डलाई मृतकको टाउकोमा राख्नु पर्छ।
मन्त्र: अद्येह..... गोत्र ..... नाम
(मृतकको नाम) प्रेत चितास्थाने साधक नामैष पिण्डस्ते मया दीयते
तवोपतिष्ठताम्।
आज यहाँ
.... गोत्र ....... नाम (मृतकको नाम) प्रेतको चितास्थानमा, साधक नामको यो
पिण्ड मैले तिमीलाई अर्पण गरेको छु, यो तिमीलाई
प्राप्त होस्।
त्यसपछि जल
चडाउनु होस्।
यति
गरिसकेपछि अब प्रत्येक पिण्डमा तलका मन्त्रले कुश तिल जल दिने-
अद्येह
.... गोत्र ....... नाम (चिनाको नाम) प्रेत इदं प्रथम पिण्डप्रयवनेजनं के मया
दीयते तवोपतिष्ठताम्। एवमेष इदं द्वितीय तृतीय चतुर्थ पन्चम षष्ठ पिण्ड
प्रत्यवनेजनं ते नयाँ दीयते तवोपतिष्ठताम् ।
यति गरी
सके पछि सव्य भई आचमन गरी कर्ता सहित सबैले भन्ने राम नाम सत्य होस्। ....... नाम
(चिनाको नाम) लाई स्वर्गलोक मिलोस् भन्दै शंख बजाउँदै दागबत्ती दिने ।
अहरहर्नीयमानो गामश्वं पुरुषं पशुम् ।
वैवस्वतो न तृप्येत सुराया ईव दुर्मतिः ।।
वैवस्वत
यमले समय आएपछि सबै प्राणीहरूलाई आफ्नो अधीनमा लिन्छ। मानिस मात्र होइन गाई, घोडा र
अन्य जीव र पशुहरू सबै
लाई मृत्युले एक दिन लैजान्छ। यो कहिल्यै कसैको लागि रोकिने प्रक्रिया होइन। जीवन -
मृत्युको चक्र अनवरत चलिरहन्छ। सबै जीवित प्राणीहरूले मृत्युको सामना गर्नु पर्दछ।
जसरी दुष्ट बुद्धि भएको अनियन्त्रित लालची व्यक्तिलाई नसाको प्यासले कहिल्यै
तृप्ति दिँदैन, सन्तोष दिन सक्दैन त्यस्तै मृत्यु
पनि कहिल्यै पूर्ण हुन् सक्दैन।
मानिसले
समयमा नै आफ्नो समयको मूल्य, आत्म-अनुशासन
र जीवनको सार्थकताको महत्त्व बुझ्न
जरुरी हुन्छ। जीवन निकै छोटो हुन्छ तर अनियन्त्रित इच्छाहरू र नसा युक्त विविध
लालचहरुले जीवनलाई अत्यन्त कष्ट पूर्ण तथा सन्तोष बिहिन बनाउने गर्दछ। त्यही
यथार्थ स्वीकार गरेर त्यसलाई अर्थपूर्ण रूपमा आफ्नो जीवनमा लागु गरेर आफ्नो जीवन
जिउन जरुरी भएको चेतना दिन हरेक मानिसको जीवनमा उसका परिवार वा आफन्तको मृत्युको
शाश्वत सत्य संग ठोकिनु पर्ने र मनोवैज्ञानिक दर्दको अनुभूति गर्नु पर्ने व्यवस्था
प्रकृतिले गरेको छ ।
त्यसपछि
स्वमशानमा रहेकाहरू लाई मासको बलि चढाउँदै (मासको गेडा छरेर) नारीहरूलाई अघि लगाई
घर पुगेपछि सबै मलामीले पुनः तिल, कुश र जलले
स्नान गर्ने गरिन्छ।
स्नानको
लागि अपसव्य भई कुश, तिल, जल लिँदै
गर्दा पुरोहितले दक्षिणाभिमुख भई यो मन्त्र भन्ने चलन छ।
अद्येह (अद्य+इह) ..... नाम
(चिनाको नाम) एष तिलतोयान्जलिस्ते मया दीयते तवोपतिष्ठताम् । एवं दशदिन प्रयन्तम्
दद्यात् । आज यहाँ ..... नाम (चिनाको नाम) तपाईंलाई यो तिल र जलको अञ्जलि म द्वारा
अर्पण गरिएको छ, यसले तपाईंलाई प्राप्त होस्। यसरी
दश दिनसम्म प्रदान गर्नुपर्छ।
यो कार्य
१० दिनसम्म निरन्तर गर्ने गरिन्छ। समय, स्थान र
परिस्थिति अनुसार क्रियापुत्रीले १० दिनसम्म एकै स्थानमा बस्नु पर्ने मान्यता छ।
सेतो कपडा लगाएर त्यही कपडामा सुत्ने गरिन्छ। प्रत्येक दिन वैदिक विधि अनुसार
विज्ञ वा जजमानको निर्देशनमा १० पिण्ड दान गर्ने गरिन्छ। १० दिन सम्म कुनै पनि
व्यक्ति सँग शारीरिक रूपमा नछोइने गरी स्वयंले पकाएको नुनरहित शुद्ध खाना दिनमा एक
छाक खाने चलन छ। खाना ग्रहण गर्नु अघि अपसव्य भई कागलाई चढाएर मात्र भोजन गर्ने
चलन छ।
कागलाई
भोजन चढाउँदा यो मन्त्र वाचन गरिन्छ।
काकोऽसि यमदूतोऽसि गृहाण बलिमुत्तमम् ।
यमद्वारे महाघोरे त्वमाप्यायितुमर्हसि ।।
यमाय धर्मराजाय मृत्यवे चान्तकाय च
दक्षिणां दिशमाश्रित्य प्रेतान्नं बलिमाहर ।।
तिमी यमदूत हौ कि? यो उत्तम
बलि (भोजन) ग्रहण गर।
भयानक यमद्वारमा तिमीलाई तृप्त गर्न यो उपयोगी हुन
सक्दछ।
यो बलि यम, धर्मराज, मृत्युलाई
र अन्तकलाई चढाउँदछु।
दक्षिण दिशामा रहेका प्रेतहरूका लागि पनि मा यो बलि
अर्पण गर्दछु।
क्रियापुत्रीले
भोजनको समयमा सेवन गर्न मिल्ने वस्तुहरूमा घिउ, शक्खर, अदुवा, कागती, आँप आदि
पर्दछन्। पहिलो दिन केरा भुटेर खाने वा फलफूल मात्र ग्रहण गर्ने परम्परा छ। सुत्ने
स्थान नजिकै सप्त धान्यको (सात प्रकारका अन्न: धान-चामल, गहुँ, जौ, मकै, कोदो, फापर, तिल)
थुप्रोमाथि जलले भरिएको घडा राखी, साँझको
समयमा त्यसैमा तिल वा घिउको बत्ती बाल्ने चलन छ। यो प्रक्रिया मृत्युपछिको पहिलो
दिनदेखि १० दिनसम्म जारी रहन्छ। यस क्रममा वचन गरिने मन्त्र यसप्रकार छ:
अन्धकारं महाघोरं रविर्यत्र न भासते ।
तस्य सन्तरणार्थाय दीपं दद्यात्दशाह्निकम् ।।
अन्धकारले भरिएको (अज्ञानता युक्त) भयानक स्थान
(दुर्भाग्य पूर्ण अज्ञानी चेतना), जहाँ
सूर्यको प्रकाश (ज्ञान दिने भर्गो ज्योति) पुग्न सकिरहेको छैन, त्यहाँ
जरुरत अनुरूप उद्धारका लागि (अज्ञानीलाई ज्ञान दिन) दस दिनको दीप {दश
प्रकारको ज्ञान: श्रुति (Shruti) जस्तै वेद
र उपनिषद; स्मृति (Smriti) जस्तै
धर्मशास्त्र, पुराण र इतिहासहरू; अविद्या वा
शिक्षा (Shiksha) जस्तै विज्ञान, समाज
शास्त्र; कर्म काण्ड वा कल्प (Kalpa) जस्तै यज्ञ
र अनुष्ठानहरूको ज्ञान; व्याकरण (Vyakarana)
जस्तै
भाषिक विश्लेषणको ज्ञान; निर्णय (Nirukta) जस्तै
शब्दहरूको व्युत्पत्ति र अर्थको ज्ञान; छन्द: (Chandas) जस्तै
स्तोत्र, छन्द र लयको ज्ञान; ज्योतिष (Jyotisha) जस्तै खगोल शास्त्र र ज्योतिषको ज्ञान; अर्थ
विद्या (Artha Vidya) जस्तै भौतिक समृद्धि, धन
व्यवस्थापन र अर्थतन्त्रको ज्ञान;
विद्या वा आत्म विद्या (Atma
Vidya) जस्तै आत्माको शाश्वत प्रकृति र ब्रह्मसँगको एकत्व
केन्द्रित ज्ञान} दानको (समग्र ज्ञान दिने वैदिक
ज्ञानको दान) व्यवस्था गर्न गर्न जरुरी छ।
पिण्ड दान
समाप्त भएपछि १० दिनको कर्म पूरा गरी भोजन गरे पछि पुन: मण्डन
गर्ने, जनै फेर्ने, ढिकुरो
फुटाई जौ, तिल छर्ने र दुबो रोप्ने परम्परा
छ। यसपछि नुन, तेल आदि छुने र आफ्नो नाताको १०
दिने दाजुभाइका लागि नुन भएको खाना खान हुने ठानिन्छ। १० दिनसम्म प्रयोग गरिएको
पुराना कपडाहरू फालेर नयाँ कपडा लगाउने, क्रिया
पुत्रीले बस्ने र सुत्ने स्थान परिवर्तन गर्ने गरिन्छ। एघारौँ र बाह्रौँ दिन वैदिक
विधिअनुसार विज्ञ वा पुरेतको सल्लाह अनुरूप कर्म काण्ड गरिन्छ। तेह्रौँ दिन सबै
आफन्त र परिवारजनलाई बोलाई, दीप, कलश, र गणेशको
पूजा गरी हवन यज्ञ गर्ने गरिन्छ। पुरेत लाई भोजन गराई आफैँले पनि भोजन गर्ने,त्यसपछि
पितृको नाममा सामाजिक सेवा गर्ने संस्थालाई आफ्नो गच्छे अनुसार इच्छाएको दान दिन
मन भए दिने, पुरेत लाई र अन्य सहयोगी लाई
पारिश्रमिक दिने, आफन्त सहयोगीहरू लाई धन्यवाद
ज्ञापन गर्ने तथा साना नानी बाबुहरू थोरै दक्षिणा दान दिने गरिन्छ।
एक
वर्षसम्म तामसी भोजन (मासु, रक्सी आदि)
छोड्ने गरिन्छ। मासिक श्राद्धहरू नियमित रूपमा गर्ने तथा वर्ष दिन पुगेपछि वार्षिक
श्राद्ध गरी तर्पण दिने गरिन्छ। त्यसको भोलिपल्ट घर शुद्धिका लागि रुद्री, सत्यनारायण
आदि पूजा पनि गर्ने चलन छ। सकेमा श्रीमद्भागवत कथा पूरा सुन्ने, नसके गीता
पाठ गर्ने श्रवण गर्ने गरिन्छ।
श्राद्ध तिथि: वैदिक
परम्परा अनुसार धार्मिक कर्मलाई व्यवस्थित र शुद्ध बनाउन श्राद्ध कर्मको लागि
श्राद्धको तिथि छनौट गर्ने नियम बनाइएको छ। जसमा कुनै व्यक्तिको जन्म उत्सव मनाउन
होस् मृत्युको श्राद्ध गर्नका लागि, उक्त दिन
सूर्य उदाउँदा जुन तिथि "प्रभावित" हुन्छ, त्यही तिथि
उपयुक्त मानिन्छ। जब सूर्य उदाउँछ (प्रभात हुन्छ), त्यस समयमा
चन्द्रमाको स्थिति अनुसार गणना गरिएको जुन तिथि पर्दछ त्यसलाई नै श्राद्धको लागि
उपयुक्त तिथि मानिन्छ।व्यक्तिको जन्म वा मृत्युको समयमा परेको तिथिलाई आधार बनाएर
त्यसै दिन श्राद्ध कर्म गरिन्छ। प्रभावित तिथिको अर्थ के हो भने तिथिको छनौट
गर्नको लागि सूर्य उदाउँदा जुन सुकै तिथि रहेको भए पनि व्यक्ति जन्मिँदा वा
मर्दाको समयलाई जुन तिथिले छोएको छ, त्यहीँ
तिथि लिनु पर्ने हुन्छ |
श्राद्ध
मञ्जरीमा श्राद्ध तथा देव कार्य (धार्मिक कार्य) गर्दा तिथिको निर्धारण गर्ने
तरिका स्पष्ट गरिएको छ:
देव कार्ये तिथि ज्ञेया यथाऽभ्यूदितो रवि ।
पितृ कार्ये तिथि ज्ञेया यदामस्तिततो रवि॥
देव
कार्यका लागि तिथि निर्धारण गर्नको लागि “देव कार्ये तिथि ज्ञेया यथाऽभ्यूदितो
रवि"। देव कार्य (जस्तै पूजा, हवन, व्रत आदि)
गर्दा सूर्य उदाएको समयलाई आधार बनाएर सूर्य त्यो दिन जुन तिथिमा उदाएको हुन्छ, त्यसैलाई
देव कार्यको तिथि मान्नु। यसबाट धार्मिक कार्यका लागि दिनको सुरुवातको समय महत्त्व
पूर्ण हुने भन्ने बुझिन्छ।
पितृ
कार्यका लागि तिथि निर्धारण गर्नको लागि “पितृ कार्ये तिथि ज्ञेया यदामस्तिततो
रवि॥” पितृ कार्य (जस्तै श्राद्ध, तर्पण आदि)
गर्नको लागि सूर्य अस्ताएको समयमा जुन तिथि चलिरहेको हुन्छ, त्यसलाई
पितृ कार्यको तिथि मान्नु। यसबाट पितृ कार्यका लागि साँझको समय महत्त्व पूर्ण हुने
भन्ने बुझिन्छ।
त्यसैले
देव कार्य गर्दा सूर्य उदाउँदा भएको तिथि लिने गरिन्छ भने पितृ कार्य गर्दा सूर्य
अस्ताउँदा भएको तिथि लिने गरिन्छ। तर यदि बिहान
सूर्योदय हुँदा प्रतिपदा तिथि छ र सूर्यास्त हुँदा द्वितीया तिथि लाग्छ भने, भोलिपल्ट
सूर्योदय पछिको द्वितीया तिथि धेरै कम (१३ घडीभन्दा पनि कम) छ भने, द्वितीया
तिथिको श्राद्ध अघिल्लो दिन नै गर्न उत्तम
मानिन्छ।
अस्थि सङ्कलन र विसर्जन विधि
अन्त्येष्टि
सम्पन्न भएपछि अस्थिलाई दूध मिसिएको पानीले धोएर शुद्ध बनाइ सङ्कलन गरिन्छ। शुद्ध
गरिएको अस्थिलाई कलश (तामाको भाँडो) वा माटोको बन्द भाँडोमा राखेर तेस्रो दिन
तीर्थ, नदी, वा
समुद्रमा लैजानुपर्छ।
मेसिनले
क्रिमेसन गर्दा होस् वा शवलाई परम्परागत
रूपमा जलाउने कार्यमा मलामीले लागेको
घरबाट ल्याइएका कुनै पनि वस्तुहरूलाई फिर्ता लगिँदैन। तिनीहरूलाई त्याग्नु
पर्छ र कर्म काण्ड गरिएका स्थानहरूलाई सफा राख्नुपर्छ। लास जलाएको एक मुट्ठी जति
खरानी सङ्कलन गर्ने गरिन्छ। क्रिमेसन गर्दै गर्दा खरानी सामान्यतया दुई घण्टा
भित्र तयार हुन्छ। त्यहाँ वाट खरानी सङ्कलन गर्न
२ मिटर जतिको सेतो कपडा दुईपट्टि मोडेर भुईँमा राखी त्यसको बिचमा माटोको
भाँडो बिचमा राखिन्छ। त्यो माटोको भाँडोमा खरानी हालिन्छ। त्यसपछि खरानीलाई
चिस्याउन दूध र पानी छर्किने गरिन्छ। एक कपुर बालेर माटोको भाँडाको ढक्कनमा
राखिन्छ। त्यसपछि मृतकको सदगत गर्ने मुख्य व्यक्ति वा उनको परिवार, आफन्तले
माटोको भाँडो वरिपरि तीन पटक परिक्रमा गर्दछन्। पण्डितजीले त्यो बेला मन्त्र जप्ने
कार्य गर्दछन्। त्यो बन्द गरी पोको परिएको
अस्तुलाई घर नजिक लिएर आइन्छ।
अस्थि
सङ्कलन गर्दा शरीरको पृथ्वी र जलको पवित्रता सँग मिलन होस् र आत्मा पवित्र मन, वाणी र वैदिक
ज्ञानको प्रभावमा शान्ति प्राप्त गरोस् भन्ने कामना गर्न निम्न मन्त्र जप्नुपर्छ:
ॐ आ त्वा मनसाऽनार्तेन, वाचा
ब्रह्मणा त्रय्या विद्यया
पृथिव्यामक्षिकायामपा रसेन निवपाम्यसौ।
पवित्र मन, वाणी, र वैदिक
ज्ञानका तीन भाग (ऋग्वेद, यजुर्वेद, सामवेद) को
प्रभावमा हे आत्मा, म तिमीलाई पृथ्वीको
पवित्रता र जलको रस अर्पण गर्दछु।
तेस्रो दिन
अस्ति लिएर तीर्थस्थलमा पुगेपछि, स्थानलाई
तीन पटक परिक्रमा गरिन्छ। यस क्रममा हातमा जौँ, अक्षता, र फूल लिएर
मृतात्माको शान्तिको प्रार्थनाको लागि तलको मन्त्र जपेर आत्माको शान्तिका लागि
देवताहरूलाई आह्वान गरिन्छ:
ॐ यमग्ने कव्यवाहन, त्वं
चिन्मन्यसे रविम्।
तन्नो गीर्भिः श्रवाय्यं, देवत्रा
पनया युजम्।
ॐ यमाय नमः।
आवाह्यामि, स्थापयामि, ध्यायामि।
हे यमदेव, तपाईँ
पवित्र हवन सामग्रीका वाहक हुनुहुन्छ। सूर्यको भर्गो ज्योति लाई चिन्नु हुन्छ।
तपाइको देवतासँगको सम्बन्ध मार्फत यस आत्मालाई शान्ति मिलोस्। म यमलाई प्रणाम
गर्दै आह्वान गर्छु, स्थापना गर्छु र ध्यान गर्दछु।
जलमा
विसर्जन गर्दा, अञ्जलीमा अस्थि लिएर अस्थिलाई जल र
पृथ्वीको अंश बनाउँदै आत्माको मोक्षको कामना गर्न तलको मन्त्र जप्नु पर्छ।
ॐ अस्थि कृत्वा समिधं तदष्टापो, असादयन
शरीरं ब्रह्म प्राविशत।
ॐ सूर्यं चक्षुर्गच्छतु वामात्मा, द्यां च
गच्छ पृथिवीं च धर्मणा।
अपो व गच्छ यदि तत्र ते, हितमोषधीषु
प्रति तिष्ठा शरीरैः स्वाहा।
जलद्वारा
शुद्ध गरिएको शरीर ब्रह्ममा विलीन भएको अस्थिहरूको आत्मा सूर्य, आकाश, पृथ्वी, र धर्म
मार्गमा गमन गरून्। शरीरले जल, औषधिहरू र
पृथ्वीमा रहेर शान्ति प्राप्त गरून्।
अस्थि
विसर्जन पछि, मृत आत्मालाई सत्य र धर्मको
मार्गमा उन्नति गर्दै परलोकको यात्रा सहज बनोस् भन्ने कामना गर्दै तलको मन्त्र
जप्नुपर्छ:
ॐ ये चित्पूर्व ऋतसाता ऋतजाता ऋतावृधः।
ऋषीन्तपस्वतो यम तपोजाँ अपि गच्छतात।।
ॐ आयुर्विश्वायुः परिपातु त्वा, पूषा त्वा
पातु प्रपथे पुरस्तात्।
यत्रासते सुकृतो यत्र तऽईयुः, तत्र त्वा
देवः सविता दधातु।
अतीतमा
सत्यमा आधारित ऋषिहरूको मार्गमा गएका तपस्वीहरूको मार्गमा मृत आत्मा जान सकोस्।
तिम्रो आयु विश्वव्यापी चेतनाले रक्षा गरून्। जहाँ सुकृतीहरू छन्, त्यहाँ
देवताले तिमीलाई स्थापना गरून्।
यदि
मृत्युपछि १ वर्ष पूरा भइसकेको अवस्थामा भने, घाटमै
तर्पण गर्न सकिन्छ। यस क्रममा तीर्थ देवताहरूको आह्वान गरी मृत आत्माको उद्धार र
मोक्षको कामना गर्न तलको मन्त्र जप्ने गरिन्छ:
ॐ ये तीर्थानि प्रचरन्ति, सृकाहस्ता
निषंगिणः।
तेषाः सहस्रयोजने व धन्वानि तन्मसि।
तीर्थस्थानहरूमा
विचरण गर्ने र यज्ञ सामग्रीको प्रबन्ध गर्ने देवताहरूले, हामीलाई
सहस्र योजन पर सम्मको रक्षा प्रदान गरून्।
प्रमुख
पितृ अर्यमा : अर्यमा सूर्यका एक रूप हुन्।
चन्द्रमास अनुसार सूर्यको नाम पनि अर्यमा हो। अर्यमा श्रेष्ठ देवत्व र पितृ हुन्।
वैदिक वाङ्मय अनुसार, प्रत्येक महिनामा सूर्यका विभिन्न
नाम छन्, जसले उनीहरूको महत्त्व र स्वरूपलाई
जनाउँछन्।
चैत्र
महिनामा: धाता
वैशाख महिनामा:
अर्यमा
ज्येष्ठ
महिनामा: मित्र
आषाढ
महिनामा: वरुण
श्रावण
महिनामा: इन्द्र
भाद्रपद
महिनामा: विवस्वान
आश्विन
महिनामा: पूषा
कार्तिक
महिनामा: पर्जन्य
मार्गशीर्ष
महिनामा: अंशु
पौष
महिनामा: भग
माघ
महिनामा: त्वष्टा
फाल्गुन
महिनामा: विष्णु
यी नामहरूले
वैदिक परम्परामा सूर्यलाई अर्घ्य दिने विधानको महत्त्व झल्काउँछ। सूर्यको प्रकाश, जो भूतलमा
आइपुग्छ, त्यसलाई नै अर्यमा भनिन्छ। अर्यमा
यस भूमण्डलमा सर्वव्यापी भएका कारण, वैदिक
कालदेखि नै दिव्य पितृका रूपमा पूजित छन्। अर्यमाले इन्द्रादि देवताहरूको
साथमा यज्ञ तथा धार्मिक कार्यहरूमा हवि ग्रहण गर्ने मान्यता रहेको छ। यसरी अर्यमा
सूर्यका एक पितृ रूप हुन्, जो परलोक
तथा यस लोकका बीचको सम्बन्धको प्रतीक मानिन्छन्।
सपिंडीकरण श्राद्ध:
सपिंडीकरण
श्राद्ध हिन्दू परम्परामा मृतक आत्मालाई पितृलोकमा स्थान दिलाउन गरिने एक
महत्त्वपूर्ण विधि हो। सपिंडीकरण शब्दको अर्थ हो प्रेत पिण्डलाई पितृहरूको
श्रेणीमा समाहित गर्ने प्रक्रिया। यो श्राद्ध प्रायः मृत्युको बाह्रौँ दिनमा
गरिन्छ। यस दिन मृतकको आत्मालाई प्रेत अवस्थाबाट मुक्त गरी पितृको स्थानमा पुर्याउन
विशेष विधि सम्पन्न गरिन्छ। प्रेत पिण्डलाई मृतकका पिताजी, पितामह
(हजुरबा), र प्रपितामह (पुर्खा) का
पिण्डहरूसँग मिलाइन्छ। यस प्रक्रियाले मृतकलाई पितृहरूको श्रेणीमा प्रवेश गराएर
धार्मिक दृष्टिले पितृको मान्यता प्रदान गर्दछ।
सपिंडीकरण
श्राद्धको मुख्य उद्देश्य भनेको मृत आत्मालाई संसारिक बन्धनबाट मुक्त गराई
पितृलोकमा सम्मानित स्थान दिलाउनु हो। यसले पितृहरूको सन्तुष्टि र परिवारको
आध्यात्मिक कल्याण दुवै सुनिश्चित गर्दछ।
बाह्रौँ
दिनमा सपिंडीकरण श्राद्ध गर्ने परम्पराको कारण धार्मिक र सांस्कृतिक रूपमा
महत्त्वपूर्ण छ। मृत्युपछि प्रेत आत्मा आफ्नो अवस्थाबाट पितृलोकमा प्रवेश गर्न
प्रतीक्षारत रहन्छ। बाह्रौँ दिनमा सम्पन्न गरिने यो विधिले मृत आत्माको
मोक्षप्राप्ति सुनिश्चित गर्दै परलोकमा उसका पुर्खाहरूसँग पुनर्मिलन गराउँछ। यस
प्रक्रियामा वैदिक मन्त्रहरूको प्रयोग र विशेष विधि सम्पन्न गरिन्छ, जसले
पितृहरूको प्रसन्नता र परिवारको समृद्धि ल्याउने विश्वास गरिन्छ। सपिंडीकरण
श्राद्ध परम्परागत रूपमा पितृ तर्पणको एक अनिवार्य अंश हो, जसले धार्मिक
र सामाजिक दुवै महत्त्व बोकेको छ।
श्राद्ध कर्म गर्दा आवश्यक सामग्री र यसको महत्त्व
श्राद्ध र
अन्य धार्मिक कर्म सम्पन्न गर्न गङ्गाजल, दूध, दही, घ्यू, मह (मधु), सुती कपडा, भानिज
(नुन), कुश, तिल, र तुलसी
पत्र आवश्यक सामग्री हुन्। यी सामग्रीहरूले वैदिक विधि अनुसार श्राद्ध कर्मलाई
पवित्रता प्रदान गर्छन्। इक्षित पितृको श्राद्ध मुख्य रूपमा छोराले गर्ने परम्परा
रहेको भएता पनि शास्त्रले परिस्थिति अनुरुप आमा, भाई, छोरी, नाती, पनाती, भतिजा, वा दत्तक
सन्तानले श्राद्ध गर्न सक्छन् भनेको छ।
यसले पितृहरूको आत्माको शान्ति र परिवारको धार्मिक कर्तव्य पूरा गर्न मद्दत पुर्याउँछ।
श्राद्ध
प्रायः पितृ पक्ष (महालय) मा गरिन्छ। यस समयमा पितृहरूको सम्मान र मोक्ष
प्राप्तिका लागि विशेष विधिहरू सम्पन्न गरिन्छ। यदि श्राद्ध एकोद्दिष्ट
(मृत्युपक्ष र तिथिमा) गर्नुपरेको छ भने पनि वैदिक विधि अनुसार गरिन्छ। श्राद्धको
दिन काग, कुकुर, गाई, बिरालो
जस्ता पशुपक्षीलाई भोजन गराउनु शुभ मानिन्छ। पौराणिक मान्यता अनुसार, कागलाई
भोजन गराउँदा १००० गाईलाई भोजन गराएको जत्तिकै पुण्य प्राप्त हुने विश्वास छ। श्राद्ध
कर्मले पितृहरूको शान्ति मात्र होइन, परिवारको
कल्याण र आध्यात्मिक उत्तरदायित्वलाई पनि सुनिश्चित गर्दछ। यसले परम्परागत
मूल्यहरूलाई जीवन्त राख्दै पारिवारिक संस्कार र आध्यात्मिक चेतनालाई सुदृढ बनाउँछ।
दाहसंस्कारमा सहभागी हुने मलामीहरूले
पालना गर्नुपर्ने अशौचका नियमहरू:
दाहसंस्कारमा
सहभागी हुने वा शवलाई छोएका सबैलाई स्नान गरी दाहसंस्कारमा लगाएको लुगा फेरेर
नधुँदा सम्म अशुद्ध मानिन्छ। त्यसैले सम्पूर्ण मलामीहरूले कसैले श्मशान स्थल
नजिकको सोही उद्देश्यका लागि राखिएको नदी वा पानीमा स्नान गर्नु पर्दछ। त्यो
व्यवस्था नरहे घर फर्केर स्नान गर्नु पर्छ। शोकाकुल परिवारको सदस्यहरूले घर प्रवेश
गर्नु अघि आफूमा पानी र बेसार मिसाएर छर्किएर स्नान गर्नुपर्छ। त्यस पछि सुन
पानीले चर्केर शुद्ध बन्नु पर्दछ।
अशौच
अवस्थामा मन्दिर प्रवेश गर्नु वा मूर्तिलाई पूजा गर्नु, नमस्कार
गर्नु हुँदैन। जब परिवारका सदस्यहरूले खरानी नदी, समुद्र वा
घाटमा विसर्जन गरेर फर्कन्छन् उनीहरू घरको आँगनको ढोकामा उभिएर सफा हुने, त्यस पछि
पहिले हात धुने, त्यसपछि पानी, आगो, फलाम (वा
कुनै धातु), बकाइनोको पात छोएर तीन पटक पानी
आफू माथि छर्किने गरिन्छ। त्यस पछि घरभित्र प्रवेश गरेर स्नान गरी सफा कपडा लगाएर
सुन पानी चर्किएर शुद्ध हुने गर्दछन्।
वायुरनिलममृतमथेदं भस्मान्तं शरीरम्।
ॐ क्रतो स्मर कृतं स्मर
क्रतो स्मर कृतं स्मर।। ईशोपनिषद् श्लोक १७।।
जीवित
शरीरको प्राण वायु हो। त्यो अमर जीवन तत्त्व हो। शरीरको अन्त भस्ममा (खरानीको
रूपमा) हुन्छ। त्यसैले (ॐ) हे दिव्य सङ्कल्प शक्ति (तपाइको आत्मबल रुपी विश्वास र
अनुभूति) यो स्मरण गर कि जीवनमा जुन कर्म गरियो त्यो मात्र अन्तिम स्मरणको सारमा
रहने छ। हे दिव्य सङ्कल्प शक्ति, यो स्मरण
गर कि गरिएका हरेक कर्महरूको गुण, दोष
शरीरको मृत्यु पश्चात् समेत स्मरणमा सुरक्षित रहने छ।
मृत व्यक्तिलाई अग्नि दिएपछि १३औं दिनसम्म गरिने
मृत्युपछिको संस्कार धार्मिक संस्कार।
प्रथम दिन:
प्रथम दिन
बिहानै परिवारका सबै सदस्य स्नान गर्न घाटमा जान्छन्। त्यसपछि खाना बाहिरबाट
सामग्री किनेर वा नजिकका आफन्तबाट प्राप्त गरेर अब्रह्मचर्य नियमहरूको पालना गर्दै
नुनरहित खाना पकाइन्छ। सूर्यास्तअघि एक पटक मात्र माटोको भाँडो वा पातमा खाना
खानुपर्छ। कसैलाई नछुने, भुईँमा
सुत्ने र मृत आत्माको निम्ति घरबाहिर भोजन राखेर मात्र भोजन गर्ने परम्परा छ। यस
दिन कसैलाई नमस्कार गर्ने, आशीर्वाद
लिने वा देवताहरूको पूजा गर्ने गरिँदैन।
दोस्रो दिन:
पहिलो
दिनझैँ दोस्रो दिन पनि बिहान सबै सदस्य सोही घाटमा स्नान गर्न जान्छन्। स्नानपछि
तिल र जौसहित पाँच पटक पानी चढाइन्छ। घर फर्केपछि, जहाँ
मृतकलाई अन्तिम समयमा राखिएको थियो, त्यहाँ दीप
प्रज्वलन गरेर मृतकको तस्बिर राखी शोक मनाइन्छ। मृतकको असल गुणहरूको चर्चा गरिन्छ
र उसलाई मन पर्ने तरकारी बनाएर खाने चलन छ।
तेस्रो दिन:
तेस्रो दिन
बिहान मृतकको दाहसंस्कार गरिएको स्थानमा पूजा गरेर अस्थि सङ्कलन गरिन्छ। सङ्कलित
अस्थिहरूलाई सफा माटोको भाँडोमा राखी सेतो कपडाले छोपेर घाटमा ल्याइन्छ। त्यसपछि
अस्थिलाई रातो माटोको सानो घैँटोमा राखी ढाकिन्छ। दाहसंस्कारकै दिन अस्थि सङ्कलन
गरेको भए त्यसैलाई प्रयोग गरिन्छ। दाहसंस्कारकै दिन अस्थि सङ्कलन गरेको भए अस्थि
लाई सोही दिन घाटमा पाँच दिनको दैनिक २६५ पटक पानी चढाइने गरिन्छ। उक्त अस्थि रुखमा बाँधेर सुरक्षित गरिन्छ। स्नान घाटमा
पीपलको रुख वा अन्य उपलब्ध रुख मुनि राखेर
३६५ पटक पानी चढाउनुपर्छ। यो प्रक्रिया तेस्रो दिन देखि सातौँ दिनसम्म चल्छ। त्यस
दिन सादा भात र ठुला तरकारी बनाएर सबैलाई एउटा ठुला टुक्रा दिने चलन छ।
चौथो दिन:
तेस्रो
दिनझैँ चौथो दिन बिहान पनि स्नान गर्न सोही घाटमा जानुपर्छ। स्नानपछि तिल र जौसहित
पाँच पटक पानी चढाइन्छ। घर फर्केपछि परिवारका सबै सदस्य र आफन्तजनहरूले गरुड पुराण
सुन्छन्। मृतकलाई मन पर्ने तरकारी बनाएर खाइन्छ।
पाँचौँ दिन:
चौथो
दिनझैँ पाँचौँ दिन पनि बिहान स्नान गर्न सोही घाटमा जानुपर्छ। स्नानपछि तिल र
जौसहित पाँच पटक पानी चढाइन्छ। त्यसपछि घर फर्केर गरुड पुराण सुन्ने चलन छ।
मृतकलाई मन पर्ने तरकारी बनाएर खाइन्छ।
छैटौँ दिन:
पाँचौँ
दिनझैँ छैटौँ दिन बिहान पनि स्नान गर्न सोही घाटमा जानुपर्छ। स्नानपछि तिल र
जौसहित पाँच पटक पानी चढाइन्छ। घर फर्केपछि गरुड पुराण सुन्ने र मृतकलाई मन पर्ने
तरकारी बनाएर खाने चलन छ।
सातौँ दिन:
छैटौँ
दिनझैँ सातौँ दिन बिहान पनि स्नान गर्न सोही घाटमा जानुपर्छ। स्नानपछि तिल र
जौसहित पाँच पटक पानी चढाइन्छ। त्यसपछि घर फर्केर गरुड पुराण सुन्छन्। सातौँ दिन
सादा भात र ठुला तरकारी बनाएर सबैलाई दुई वटा ठुला टुक्रा दिने चलन छ।
सातौँ
दिनमा अस्थि गाईको दूधले अवसिञ्चित गरी, सुन, मह, र घ्यू
चढाई, सुगन्धित पानीले सिञ्चित गरेर
माटोको भाँडामा राखी १० दिनभित्र कुनै तीर्थमा विसर्जन गर्ने गरी तैयार गरिन्छ। गरुड
पुराणका विधिहरू अनुसार, मृत्युपछि
यम मार्गमा यात्रा गर्न अति बाहिक शरीर प्राप्त हुन्छ। यस शरीरका १० अङ्गहरूको
निर्माण दश गात्रमा गरिने १० पिण्ड दानबाट हुन्छ। दश गात्रका १० पिण्ड दान नगरी
आत्माले कारण शरीर प्राप्त गर्दैन र वायु रूपमा रहन्छ भन्ने विश्वास गरिन्छ।
आठौं दिन:
सातौँ
दिनझैं आठौं दिन पनि बिहान परिवारका सबै सदस्य स्नानका लागि सोही घाटमा जान्छन्।
स्नानपछि तील र जौसहित पाँच पटक पानी चढाइन्छ। त्यसपछि सबै घर फर्कन्छन्। घरमा सबै
परिवारका सदस्य र साथीहरूले गरुड पुराण सुन्ने चलन छ। खाना बनाउन मृत आत्मालाई
मनपर्ने तरकारीको उपयोग गरिन्छ।
नवौं दिन:
आठौं
दिनझैं नवौं दिन बिहान पनि सबै सदस्य स्नानका लागि सोही घाटमा जान्छन्। स्नानपछि
तील र जौसहित पाँच पटक पानी चढाइन्छ। घर फर्केपछि परिवार र साथीहरूले गरुड पुराण
सुन्छन्। खाना बनाउन मृत आत्मालाई मनपर्ने तरकारी उपयोग गरिन्छ।
दसौं दिन:
दसौं दिन
घरको शुद्धीकरण गरिन्छ। परिवारका पुरुष सदस्यहरूले आफ्नो कपाल मुण्डन गर्ने चलन छ।
त्यसपछि दीप प्रज्वलन गरेर हवन र गरुड पुराणको पाठ गरिन्छ। यो दिनसम्म परिवारका
सदस्यहरूले कुनै पनि सामाजिक कार्यक्रम, मन्दिर
भ्रमण, वा खुसीका गतिविधिहरूमा भाग
लिँदैनन्। खाना पनि सादा र सात्त्विक ग्रहण गरिन्छ। यस दिन अस्थिहरूलाई गङ्गा वा
कुनै तीर्थमा विसर्जन गरिन्छ। दशगात्रका क्रममा १० पिण्डदान गर्नु अनिवार्य
मानिन्छ। प्रत्येक पिण्ड मृतकको विभिन्न अंगहरूको प्रतीक हो। समयको अभाव भए दशौं
दिन नै १० पिण्डदान गर्ने परम्परा छ। पिण्डदान गर्नु अघि तर्पण र श्राद्धका लागि
शास्त्रोक्त विधिहरू पालना गरिन्छ।
एघारौं दिन:
एकादशाह
श्राद्धको दिन शालिग्रामको पूजा गरिन्छ। यस दिन सत्यनारायणका अष्ट रानीहरू (शान्ति, प्रीति, कीर्ति, श्री, धृति, तुष्टि, पुष्टि, कान्ति) को
समेत पूजा गरिन्छ। यो पूजन श्राद्धकर्ता तथा परिवारका सदस्यहरूले आफ्नो पापहरूको
प्रायश्चितका लागि गरिन्छ। हेमाद्रि (श्राद्ध, तर्पण, र पिण्डदान
जस्ता कर्मकाण्डको विवरण, विधि र
महत्व उल्लेख गरिएको प्राचीन धार्मिक ग्रन्थ) श्रवण गरी, जन्मदेखि
अहिलेसम्म भएका कर्महरूका पाप र पुण्यको समीक्षा गरिन्छ। जसमा कर्मको समीक्षा, प्रायश्चित, धर्म पालन, र
अभ्यासबारे जानकारी लिइन्छ।
पाप र
पुण्यको पहिचान, चार महापाप (ब्रह्महत्या, सुरापान, सुनचोरी, परस्त्री
गमन) तथा दश विधि स्नानको चर्चा गरिन्छ। पाँच ब्राह्मणहरूद्वारा वेदका पाँच प्रमुख
सूक्त (पञ्चसूक्त) पाठ गराई, विभिन्न
भगवानका नामहरूको उच्चारण गर्दै गरिने तर्पण वा विष्णु तर्पण गरिन्छ। ब्रह्महत्या, सुरापान, स्वर्णचोरी, र
परस्त्रीगमन जस्ता चार प्रमुख पापहरूको प्रायश्चितका उपायहरू उल्लेख गरिन्छ।
गोमूत्र, गोबर, माटो, पंचामृत, र
तीर्थजलबाट स्नान गरी आत्मशुद्धि गरिन्छ। कर्मकाण्डका क्रममा विभिन्न वस्तुहरूको
दान र देवताहरूको पूजा गरिन्छ।
मृत
आत्माको अधूरा इच्छाहरू पूरा होस् भन्ने कामनाका साथ वृषोत्सर्ग (गाई दान) गर्ने
चलन छ। यस अन्तर्गत विभिन्न वस्तुहरूको दान गरिन्छ, जसमा छाता, कमण्डल, थाल, गिलास, कलश, शय्या दान, गाई, घर, रथ, अश्व, भैंसी, भूमि, तिल, सुन आदि
समावेश छन्। यस्तो दान व्यक्ति होइन, सामाजिक
कार्यका लागि जानु अनिवार्य ठानिन्छ। यदि दान गर्न आर्थिक क्षमता छैन वा दानको
सदुपयोग हुने यकिन नभए तुलसी पत्ता, कुशको
टुक्रा, र सांकेतिक सामग्रीहरू सामाजिक दान
लिने संस्थालाई ब्राह्मणको रूपमा मानी दिनुपर्ने शास्त्रीय मान्यता छ।
यो विधि
सम्पन्न गरेपछि मृत आत्माको यात्रा सुगम हुने विश्वास गरिए तापनि शास्त्रले
त्यस्तो भन्दैन। शास्त्रअनुसार, यस्तो
दानले मृत आत्माको कारण शरीरको चेतना धन्य बनाउँछ र दानकर्तालाई सन्तोष मिल्छ।
दशगात्रको अन्त्य आत्माको सद्गतिको समय हो। यो समयमा मृतकका परिवारका सदस्यहरूले
सन्तोष र प्रक्रियाको ज्ञान प्राप्त गर्न सांकेतिक पिण्डदान, तर्पण, र अन्य
धार्मिक क्रियाकलाप गर्छन्।
१६
महिनासम्म प्रत्येक महिना पिण्डदान गर्ने वा एकैपटक १६ पिण्डदान गर्ने विधान छ।
यसले मृत आत्माको शान्ति र सद्गति स्मरण गर्ने माध्यमको रूपमा मान्यता पाएको छ।
बाह्रौँ दिन
आत्माले
मृत्युपछिको पहिलो दिनदेखि बाह्रौँ दिनसम्म विभिन्न लोकहरूको यात्रा गर्छ। यस
क्रममा आत्माले आफ्नो पूर्व कर्मको फलको अनुभव गर्न थाल्छ। बाह्र दिनसम्म परिवारले
मृत आत्माको शान्ति र सद्गतिका लागि विभिन्न धार्मिक विधिहरू (श्राद्ध, पिण्ड दान, हवन आदि)
गर्छन्।
यी कर्मकाण्डहरूले
आत्माको यात्रा सहज बनाउन मद्दत गर्छ भन्ने विश्वास छ। बाह्र दिनको यात्रा पूरा
गर्दा, आत्मा प्रभु धाम (मुक्ति) मा पुग्न
सफल भएमा यो संसारको चक्रबाट मुक्त हुन्छ। अन्यथा, आत्माले
पुनर्जन्मको चक्रमा प्रवेश गरेर आफ्नो अधुरा कर्म पूरा गर्न अर्को जीवन प्राप्त
गर्छ।
तेह्रौँ दिन
तेह्रौँ
दिन (त्रय दशाह) प्रेतले पितृ योनि प्राप्त गर्ने दिन मानिन्छ। त्रय दशाह श्राद्ध
अघिका दिनहरूमा गरिएको सबै श्राद्धहरूमा भएका त्रुटि र कमी कमजोरीहरू पुरा गर्ने
उद्देश्यमा गरिन्छ। कतिपय अवस्थामा समय अभाव वा अन्य कारणले तेह्रौँ दिनको श्राद्ध
तेस्रो वा बाह्रौँ दिनमा नै गर्ने गरिन्छ। यसमा मृतकलाई मन पर्ने खाद्य सामग्री
बनाएर ब्रह्म भोजको आयोजना गरिन्छ। ब्राह्मणहरूलाई दान र दक्षिणा दिइन्छ। मृत
आत्माको शान्तिका लागि प्रार्थना गरिन्छ। गरिबहरूलाई वस्त्र आदि दान दिने गरिन्छ।
यस श्राद्धमा अनन्तादि (असीमित र शाश्वत अस्तित्व भएका) चौध देवताहरूको (पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य आदि
प्राकृतिक शक्तिहरू) पूजा गरिन्छ। त्यसपछि ललितादि (श्री विद्यामा प्रमुख
ब्रह्माण्डकी आदि शक्ति, सौन्दर्य, शक्ति, र कृपाको
प्रतीक ललिता त्रिपुर सुन्दरी) को साथमा १३ देवताहरू (गणेश, कार्तिकेय, सूर्य, चन्द्र, इन्द्र, वरुण, अग्नि, वायु, कुबेर, यमराज, विष्णु, शिव, ब्रह्मा)
को पूजा ताम्र कलशमा जलसहित गरिन्छ। कलशलाई धागोले बाँधिन्छ र कलशको चारैतिर १३
वटा रातो वा पहेँलो रङ्गको तिलक लगाइन्छ। यी सबै क्रियापछि अपसव्य भएर पितृहरूको
नाममा पूजा गरिन्छ।
व्यवहारिक पक्ष ज्ञान:
जब शवको
दाहसंस्कार भइरहेको हुन्छ त्यो बेला घरमा रहेका परिवारका सदस्यहरूले अन्त्येष्टि
सम्पन्न भएको घर सफा गर्नु पर्छ। यसका लागि जमिन पुछ्ने, चून पानी, गुलाब जल
वा साधारण पानीमा केही थोपा गङ्गा जल मिसाएर सफा गर्ने गरिन्छ। माटो र ढुङ्गाको घर
जसको भुईँ माटोको छ भने गाइको गोबरले लिप्न सकिन्छ। दाहसंस्कार गर्ने व्यक्ति र
अन्य सदस्यहरू चिता स्थलबाट घर फर्किनु अघि यो कार्य पुरा गर्नु जरुरी हुन्छ। जब
परिवारका सदस्यहरू खरानी नदी / समुद्र / घाटमा विसर्जन गरेर फर्किन्छन् तव
उनीहरूले आँगनको प्रवेशद्वारमा उभिएर आफूलाई शुद्ध पार्न निम्न प्रक्रिया पुरा
गर्ने गर्दछन्। जसमा पहिले हात धुनुहोस्। त्यसपछि शुद्धीकरणका लागि निम्न
वस्तुहरूलाई छुनुहोस्: पानी, आगो, फलाम (वा
कुनै धातु) र सिरिस वा बकाइनाको पात। यी वस्तुहरूलाई छोए पछि तीन पटक सुन पानी
छर्किनुहोस्। त्यसपछि थोरै सुनपानी पानी आफू माथि पनि छर्किनुहोस्। यस विधि पूरा
गरेपछि घरभित्र प्रवेश गरेर स्नान गरेर सफा कपडा लगाउने र पुन सुन पानी छर्केर
सुद्ध हुनुहोस्।
कर्मकाण्ड
सुरु गर्नु अघि पिण्ड दानको लागि तपाई संग दुई विकल्पहरू उपलब्ध छन्। प्रत्येक दिन
एक पिण्ड दिने गरी १० दिनसम्म एक एक पिण्ड दिने। वा दशौँ दिनमा नदीको किनार, समुद्रको
तट वा घाटमा दश पिण्ड एकै पटक अर्पण गर्ने। यो निर्णय परिवारले आपसी सहमतिमा लिनु
उत्तम हुन्छ। १० दिनको अवधिमा अनिवार्य रूपमा गर्नुपर्ने भनेको अन्त्येष्टिको
दिनदेखि सुरु गरेर लगातार तीन रात पानीको एउटा गिलास वा लोटा, दूधको एउटा
गिलास वा लोटा र माटोको दियो जलाउनु हो। दोस्रो, अन्त्येष्टिको
दिनबाट गणना गरी तेस्रो दिनमा पकाएको
मासको कालो दाल, पकाएको सेतो भात, गिलास वा
लोटामा रहेको पानी, गिलास वा लोटामा रहेको दूध धूप
बालेर माटोको दियो बालेर अर्पण गरिन्छ।
हरेक दिन
क्रिया पुत्रीले स्नान गरेर सफा नयाँ कपडा लगाइ सके पछि निम्न कार्यहरू गर्नु
होस्। घरको निश्चित स्थानमा दुई बाई दुई मिटर क्षेत्र सफा गर्नुहोस्। उक्त
क्षेत्रलाई राम्ररी धुनुहोस् वा पुछ्नुहोस् वा सफा गर्नुहोस्। त्यस पछि बेसार पानी
छर्कनुहोस्। दक्षिणतर्फ फर्केर भुईँमा सेतो कपडा (आधा मिटर बाई एक मिटर)
राख्नुहोस्। सेतो कपडाको माथि ठुलो ट्रे/थाली राख्नुहोस्। थालीको माथि माटो वा
धातुको लोटा राख्नुहोस्। त्यसको माथि ठुलो माटोको दियो राख्नु होस्। दियोमा घ्यू
वा तेल राखेर बत्ती तयार गर्नुहोस्। धूप राख्न इच्छा भए लोटाको छेउमा तीन वटा धूप
राख्नका लागि धूप दानी राख्न सक्नु हुन्छ। त्यसको नजिक फूल वा फूलदानी राख्न पनि
सकिन्छ। अन्तमा, मृत व्यक्तिको फोटो लोटाको पछाडि
राख्नुहोस्। क्रिया पुत्रीले तीन वटा धूप लिएर मृत व्यक्तिको फोटोको वरिपरि धूप
घुमाउने पनि गर्दछन्। त्यसपछि दियो बाल्छन्। जसमा परिवारका अन्य सदस्य पनि उपस्थित
हुन सक्छन्। त्यस पछि क्रिया पुत्रीले मृत्युका देवता यमराज र भगवान् कृष्ण (परम
पुरुषोत्तम भगवान्) लाई प्रार्थना गरी दिवङ्गत व्यक्ति माथि (दिवङ्गत व्यक्तिको
नाम उल्लेख गर्दै) कृपा र दया गर्नुहोस् भनी कामना गर्दछन्। त्यस्तै १२/१३ दिनको
अवधिमा आफूले गर्न लागेको सबै प्रार्थना र कर्मकाण्ड स्वीकार गर्नुहोस्। कुनै
त्रुटि वा कमी रहेमा त्यसमा आफूलाई क्षमा गरी मृतकको मुक्तिको कामना गर्नुहोस्।
प्रार्थनाहरू:
ॐ यमदेवाय नमः – तीन पटक
श्रीकृष्ण
शरणं ममः – तीन पटक
ॐ पितृदेवाय नमः – तीन पटक
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
ॐ श्रीमते नारायणाय नमः
प्रेत
कल्पमा वर्णित सङ्क्रमणकालीन अवस्थाहरू लाई शान्ति पूर्वक पार गर्न मृतकको
आत्मालाई मद्दत मिलोस् भन्ने कामनामा प्रार्थनाहरू गर्ने गरिन्छ। जहाँ आत्मालाई
भौतिक सम्बन्धहरूबाट मुक्त गराउनका लागि ईश्वरीय कृपा प्राप्त होस् भन्ने समेत
प्रार्थनाहरूको उद्देश्य रहन्छ। यसले शोकमा रहेका परिवारलाई भावनात्मक सान्त्वना र
आध्यात्मिक एकाग्रता प्रदान गर्दछ।
क्रिया
पुत्रीले बाह्र दिनसम्म लगातार दियो
बाल्नुपर्छ। बाह्रौँ दिनमा दियो आफैँ निभ्ने गरी तेलको व्यवस्था गरिन्छ। दशौँ दिन
नदी, समुद्र किनार, वा घाटमा
यो दियो लैजान हुँदैन। यदि बाह्र दिनभित्र दियो कुनै कारणले निभ्यो भने त्यसलाई
पुनः बाल्नु होस्। यदि दिनभरि घरमा कोही उपस्थित हुँदैन भने, दियोलाई
सलाई को सहायताले बत्तीलाई थोरै भित्र तानेर पाँच मिनेटभित्र आफैँ निभ्न दिन
सकिन्छ। घर फर्केपछि दियो पुनः बाल्नु पर्छ। साथै, दिनमा एक
पटक बिहान वा साँझ तीन वटा धूप बाल्नु पर्छ। फूलहरू हरेक दिन परिवर्तन गर्नुपर्छ।
यसरी दियोको र धार्मिक विधिको निरन्तरता कायम राख्न सकिन्छ।
क्रिया
पुत्रीले पहिलो रातदेखि तेह्रौँ दिनको प्रार्थनासम्म हनुमानजीका मन्त्रहरू जस्तै
हनुमान चालिसा र अन्य देवी-देवताका मन्त्रहरू बजाउनु र सुन्नु उत्तम मानिन्छ। जुन
अत्यन्त सानो ध्वनिमा सुनिने मात्र हुने गरी बजाउनु उत्तम मानिन्छ। धार्मिक
कार्यहरूमा शुद्धीकरणको लागि धूप बालेर धुवाँ निकालिने लवण / लोभान बाल्न
(lighting of Lobhaan) बाल्ने
कार्य दशौँ दिनको बिहानको प्रार्थना सम्पन्न नहुँदा सम्म गरिँदैन। घरभित्र क्रिया
पुत्री रहने कोठामा माटोको दियो बालिसकेपछि घरको अगाडिको ढोका बाहिरका
कर्मकाण्डहरू जारी राख्नुहोस्।
पिण्ड कसरी तयार गर्ने: एउटा
मुठी चामलको पिठो, अलिकति दूध, अलिकति
गुलाब जल, कालो तिल, केही थोपा
मह, केही थोपा रातो सुगन्धित पानी, अलिकति
चिनी, जौ (यव), र एक थोपा
घ्यू लिनुहोस्। सबै सामग्रीलाई राम्रोसँग मिसाउनुहोस्। अब त्यसलाई गोलो आकारको
(पिण्ड) बनाउनुहोस्।
पहिलो दिनको साँझ (रात)
अन्त्येष्टिको
दिन देखि घरको अगाडिको मुख्य ढोका बाहिर बेन्च वा स्टुलमा एउटा थाली माथि केराको
पात राखी दुई इन्च लामो कुश घाँसको टुक्रा राख्नुहोस्। कुश घाँस माथि एक पिण्ड, त्यसको
छेउमा अर्को सानो कचौरामा अलिकति पानीमा आधा चम्चा तिलको दाना (कालो तिल) मिसाएर
राख्नुहोस्।
क्रियापुत्रीले
दक्षिणतर्फ बेन्च वा स्टुल राख्नुहोस्। एउटा गिलास वा लोटामा दूध, अर्को
गिलास वा लोटामा पानी, एउटा तिलको तेलमा थोरै कालो तिल हाली बनाएको माटोको
दियोमा बत्ती राखेर तैयार गर्नुहोस्। सबै कुरा तयार भए पछि दियो बाल्नुहोस्। यदि
हावा चलेको छ भने, दियो निभ्न नदिन सालको दुना कुनै
ढक्कन जस्ता वस्तुले दियो लाई जोगाउनु होस्। यो केवल तीन रात गर्नु पर्दछ।
अन्त्येष्टि पछि पहिलो
पिण्ड अन्त्येष्टिको दिन नै दिनु पर्ने भए पहिलो दिनको साँझ पहिलो पिण्ड दिनुपर्ने
हुन्छ। त्यसको लागि पिण्ड तयार गरेर पिण्ड स्टुल माथिको टपरामा पिण्ड समेत
राख्नुहोस। अब त्यसमा क्रिया पुत्री र चाहेमा अन्य
व्यक्तिहरु समेतले भगवान् सँग मृतकको कल्याण र संरक्षणका लागि प्रार्थना
गर्नुपर्छ। त्यहि समयमा क्रिया पुत्री
पहिलो पिण्ड समेत अर्पण गर्दै प्रार्थना गर्नुहोस्।
प्रार्थनाको विधि: ॐ, आज पहिलो
रात, (मिति, महिना, वर्ष) म (आफू भएको स्थान) मा (आफू रहेको
देश) म यो श्राद्ध पिण्ड अर्पण गर्न चाहन्छु, जसले
(मृतकको गोत्रको नाम र थर}) लाई तृप्त
पारोस्। अज्ञात कुल गोत्रको अवस्थामा हे (मृतकको नाम थर) म अहिले तपाईँलाई यो
पिण्ड अर्पण गर्दछु। यसले यम राजका चार दूतहरू लाई पनि तृप्त गरोस्।
आजको दिनमा
कारण शरीरको (पिण्डबाट निर्मित शरीर) शिर पूर्ण रूपमा निर्माण होस्। त्यसपछि
पिण्डको वरिपरि तीन वटा धूप सात पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। माटोको
दियोमा कपुरको टुक्रा हालेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार)
पिण्डको वरिपरि घुमाउनुहोस्।
अन्त्यमा, एउटा
सिङ्गो फूललाई सात पटक (घडीको दिशा अनुसार) पिण्डको वरिपरि घुमाउनुहोस्। अन्त्यमा, प्रणाम गरी
विदा लिनुहोस्। थालीलाई रातभर त्यहीँ छोड्नुहोस्। यदि दियो निभ्यो भने पनि कुनै
समस्या छैन।
दोस्रो दिन
दोस्रो दिन
बिहान लोटामा राखेको पानी, दूध पानी
लाई पानी हालेको तिल सहितको एउटा बटुको जस्तो भाँडामा (पन्च पात्रो) हाली रूख, बिरुवा वा आँगनको
सफा ठाउँमा अर्पण गर्ने चाँजो पाँजो मिलाउनु होस्। यस क्रममा कुनै मन्त्र जप
गर्नुपर्दैन। पिण्ड र कुश घाँसलाई प्लास्टिकको झोलामा राखेर घरबाहिर सुरक्षित
ठाउँमा राख्नुहोस्। यसलाई दशौँ दिनसम्म त्यहाँ सुरक्षित राख्नुपर्छ। त्यसपछि थाली, पन्च
पात्रो, गिलास, लोटा र
माटोको दियो राम्ररी धुनुहोस्। थाली माथि राख्ने केराको पात, पिण्ड
राख्ने केराको पात वा अन्य सग्लो पात समेत व्यवस्था गर्नु उचित हुन्छ। सुरक्षित
राखेको पिण्ड हरायो वा कुनै जनावर (चरा, बिरालो, कुकुर, बाँदर) ले
खायो भने चिन्ता गर्नु पर्दैन। त्यसरी अन्य जनवारले खाएको वा हराएको पिण्ड मृतक
लाइ प्राप्त हुन्छ भनी खुसी व्यक्त गरिन्छ। आत्माहरूको भौतिक शरीर हुँदैन। त्यसैले
तिनीहरू कुनै जनावरको शरीरमा प्रवेश गरेर पिण्ड खान सक्छन् भन्ने मान्यता हुन्छ।
यदि पिण्ड हरायो वा जनावरले खाएको बेला आत्माले उक्त जनावरको शरीरमा प्रवेश गरेर
आफ्नो हिस्सा खायो भन्ने मान्यता लिइन्छ। गरुड पुराण, प्रेत खण्ड, अध्याय १३, श्लोक
२०–२१ अनुसार १० दिनको अवधिमा आशीर्वाद दिने (blessings),
देवताको
पूजा, जन सामान्य सँग प्रत्यक्ष सम्पर्क
गर्ने, दान (चन्दा / उपहार) दिने, हवन, तर्पण
(पानी अर्पण), व्रत (जस्तै एकादशी, शिवरात्रि
आदि) र ब्राह्मण भोजन आदि निषेधित रहेको मानिन्छ।
दैनिक
पिण्ड दिनुको सट्टा १० औं दिनमा १० पिण्ड एकैचोटि दिने चलन पनि छ। तर, शास्त्रले
गरुड़ पुराणमा हरेक दिन एक पिण्ड अर्पण गरेर १० दिनमा १० पिण्ड अर्पण गर्न सिफारिस
गरेको छ। मृत्यु पश्चात स्थूल शरीर त्यागेर यात्रा गर्ने आत्माले नयाँ शरीर धारण
गर्नुपर्छ, जसलाई शास्त्रमा सूक्ष्म शरीर, कारण शरीर, वा पिण्ड
शरीर भनिन्छ। हरेक दिनको पिण्ड अर्पणले कारण शरीरको एक-एक अंग निर्माण गर्ने
भएकाले, यो प्रक्रिया हरेक दिन सही रूपमा
गर्ने सिफारिस गरिएको छ।
१० दिनसम्म
अर्पण गरिने पिण्डबाट आत्माको वायू शरीर (हावाको शरीर) र पिण्ड शरीर (पिण्डबाट
जन्मिएको शरीर) एकीकृत हुन्छ। दशौँ दिनसम्म यी दुईको संयोजनले यम यातना शरीर (दुःख
भोग गर्ने कारण शरीर अर्थात् शुक्ष्म शरीर) निर्माण गर्छ। यो सूक्ष्म शरीर आत्माको
मृत्युपछिको अनुभवको माध्यम बन्छ। यसरी दिनदिनै पिण्ड अर्पण गरेर आत्माको लागि
नयाँ शरीर निर्माण गरिन्छ।
गरुड़
पुराण प्रेत खण्ड, अध्याय ५, श्लोक
३१-३७ अनुसार, पिण्ड अर्पणले कारण शरीर निर्माणका
निम्न चरणहरूको संकेत गर्दछ (यहाँ चार
हप्ताको एक महिना हुने हिसाबले एक दिनलाई एक महिनाको अर्थात् चार हप्ताको समयको
सङ्केत गर्न प्रयोग गरिन्छ):
· पहिलो दिन: शिर
(मस्तिष्क) निर्माण हुन्छ।
· दोस्रो दिन: कान, आँखा, र नाक
निर्माण हुन्छ।
· तेस्रो दिन: घाँटी, काँध, हात, र छाती
निर्माण हुन्छ।
· चौथो दिन: नाभि र
गोप्य अंगहरू निर्माण हुन्छ।
· पाँचौँ दिन: जाँघ, पिंडुला, खुट्टा, र पैताला
निर्माण हुन्छ।
· छैटौँ दिन: मुटु, कलेजो, मिर्गौला
जस्ता महत्त्वपूर्ण अंगहरू निर्माण हुन्छ।
· सातौँ दिन: स्नायु
प्रणाली, नशा, तन्तुहरू र
चेतना निर्माण हुन्छ।
· आठौँ दिन: दाँत र
कपाल निर्माण हुन्छ।
· नवौँ दिन: रगत, तरल पदार्थ, र वीर्य
निर्माण हुन्छ।
· दशौँ दिन: शरीर
पूर्णरूपमा तयार हुन्छ र आत्माको भोक तृप्त (कारण शरीर
निर्माण कार्य पुरा हुने) हुन्छ।
नोट: प्रायः महिनावारीको पहिलो दिनपछि
करिब २ हप्तामा गर्भाधान हुने हुँदा गर्भावस्थाको अवधि सामान्यतया ४० हप्ता
मानिन्छ। तर, गर्भाधान भएको दिनलाई आधार मान्दा
भ्रूणको विकास अवधि लगभग ३८ हप्ताको हुन्छ। गर्भाधान प्रक्रिया सामान्यतया महिलाको
मासिक चक्रको १४औँ दिन (अण्डोत्सर्जनको समय) मा हुन्छ, जब
शुक्राणुले अण्डलाई निषेचित गर्छ। यसपछि भ्रूणको विकास सुरु हुन्छ।
गर्भाधान (fertilization)
को दिनदेखि
औसतमा ९ महिना (लगभग ३८ हप्ता) पछि शिशुको जन्म हुन्छ। यो अवधिमा भ्रूण विभिन्न
चरणमा विकास गर्छ। पहिलो तीन महिनामा भ्रूणका अंगहरूको प्रारम्भिक विकास हुन्छ।
चौथोदेखि छैटौँ महिनासम्म भ्रूणका अंगहरू विकसित भई सक्रिय बन्छन्। सातौँदेखि नवौँ
महिनासम्म भ्रूणको शरीर पूर्ण रूपमा विकसित भई, ४० हप्ताको
समयभित्र बच्चा जन्मनका लागि तयार हुन्छ।
गर्भाधानको
दिनदेखि औसतमा ३८ हप्तामा शिशुको जन्म हुने गर्छ। यो समय केही हप्ता अगाडि वा
पछाडि हुन सक्ने भएकाले, ४० हप्ताको
अवधिलाई शरीर पूर्णरूपमा तयार हुन र कारण शरीर बन्ने प्रक्रियाका लागि आवश्यक समय
मानिन्छ। यस अवधिमा आत्माको भोक तृप्त हुनु (कारण शरीर निर्माणको कार्य पूरा हुनु)
र मानव भ्रूणको शारीरिक विकास एकै प्रकृतिको हुने मानिन्छ।
पिण्ड अर्पणको विभाजन:
गरुड़
पुराणका अनुसार, यमराजका चार सेवकहरू १२/१३ दिनसम्म
मृतकको घरमा उपस्थित रहन्छन्। अर्पण गरिएका हरेक पिण्ड चार भागमा विभाजन हुन्छ: पहिलो
चौथाइ यमदूतहरूलाई जान्छ। दोस्रो चौथाइ मृतक आत्माले ग्रहण गर्छ। तेस्रो र चौथो
चौथाइ आत्माको नयाँ शरीर, अर्थात्
कारण शरीरको निर्माणमा प्रयोग हुन्छ।
यसरी आत्मा
र पिण्ड शरीरको संयोजनबाट सूक्ष्म शरीर निर्माण हुन्छ। मृत्युपछि गरिने
कर्मकाण्डले आत्माको अवस्थालाई संकेत गर्दै समाजमा यसको महत्त्व उल्लेख गर्न सहयोग
पुर्याउँछ। यो प्रक्रिया आत्माको शान्ति र मृत्युपछिको यात्राका लागि अति
महत्त्वपूर्ण मानिन्छ।
नोट: वैदिक ज्ञानअनुसार, मानव
शरीरलाई चार प्रमुख ऊर्जाहरूले पूर्ण बनाउँछ। पहिलो, प्राण
ऊर्जा (Prana Shakti) हो, जसलाई
जीवनशक्ति भनिन्छ। यो श्वासप्रश्वास, रक्तसञ्चार, पाचन, र शरीरका
अन्य महत्त्वपूर्ण कार्यप्रणाली सञ्चालन गर्ने ऊर्जा हो, जसलाई
सूर्य, वायु, र पानीबाट
प्राप्त गर्न सकिन्छ। दोस्रो, तेज ऊर्जा
(Tejas Shakti) हो, जो अग्नि
तत्वसँग सम्बन्धित छ। यसले शरीरको तापमान, पाचन, र मानसिक
स्पष्टतालाई नियन्त्रण गर्छ। तेज ऊर्जा पाचन अग्निबाट उत्पन्न हुन्छ र आहारको
शुद्धता तथा अग्निहोत्रद्वारा सन्तुलनमा राख्न सकिन्छ। तेस्रो, ओज ऊर्जा (Ojas
Shakti) हो, जसले
शरीरको प्रतिरक्षा प्रणाली, मानसिक
स्थिरता, र आध्यात्मिक शक्तिलाई सशक्त
बनाउँछ। ओज ऊर्जा सन्तुलित आहार, ध्यान, र
सकारात्मक भावनाबाट प्राप्त हुन्छ। अन्तिम र सबैभन्दा महत्त्वपूर्ण, आत्म ऊर्जा
(Atma Shakti) हो, जसलाई
आध्यात्मिक ऊर्जा वा आत्मिक चेतनाको आधार मानिन्छ। यो ऊर्जा जीवनको उद्देश्य, चेतना, र
आध्यात्मिक मार्गदर्शन प्रदान गर्छ, जुन
आत्मज्ञान र वैदिक साधनाबाट सशक्त हुन्छ। यी चार ऊर्जाहरूले मानव शरीरलाई शारीरिक, मानसिक, र
आध्यात्मिक रूपमा पूर्ण र सन्तुलित बनाउँछन्।
वैदिक
ज्ञानअनुसार, कारण शरीरको
निर्माणमा पनि त्यही प्रकारका ऊर्जाको आवश्यकता हुन्छ। मृतकको आत्मालाई अर्पण
गरिने पिण्ड नयाँ शरीर निर्माणका लागि आवश्यक ऊर्जाको प्रकृतिबारे समाजलाई ज्ञान
दिने एक सांकेतिक कार्य हो।
गरुड़
पुराणका अनुसार, पिण्ड अर्पणको कार्य मार्फत मार्फत
मानवको रूपमा पुनर्जन्म हुने क्रममा आत्माले जीवनशक्ति (प्राण ऊर्जा), तेज ऊर्जा, ओज ऊर्जा, र आत्म
ऊर्जा प्राप्त गरी कारण शरीर निर्माण गर्दछ भन्ने समाजमा व्यवहारिक व्याख्या गरि सन्देश
दिने कार्य पुरा गरिने सन्दर्भको चर्चा गरिएको छ। पिण्डमा समावेश प्राकृतिक
तत्त्वहरू—जस्तै चामल, तिल, घ्यू, मह — आत्मालाई
पोषण दिने र नयाँ शरीरको निर्माण प्रक्रियामा सहायता पुर्याउने तत्वको संकेत हो।
यो
यथार्थमा ब्रह्माण्ड चेतना मार्फत प्राप्त हुने जीवनको ऊर्जा र चेतनाको प्रवाहलाई
निरन्तरता दिन सहयोग गर्ने शिव नादब्रह्म (प्रजापति वा वाचस्पति, सरस्वती), मरुत, अग्नि, र वरुणको
संकेत गर्ने चार प्राकृतिक ऊर्जा “वायु, अग्नि, जल र ध्वनि” को स्रोत
(यमराजका चार वाहन) हो। जसले ओज ऊर्जा (Ojas
Shakti) निर्माण गर्दछ। हरेक दिन पिण्ड
अर्पण गर्दा आत्माको नयाँ शरीर (पिण्ड शरीर) का अंगहरू क्रमशः निर्माण हुने
विश्वास गरिन्छ।
पिण्डका
चार भागमध्ये पहिलो भाग यमदूतहरूलाई जाने (यमराजका चार वाहन) कुराको संकेत गर्दछ।
दोस्रो भाग मृतकको आत्माले ग्रहण गर्ने भनिन्छ, जसले
ब्रह्माण्ड चेतना अर्थात् आत्म ऊर्जा (Atma Shakti) लाई
जनाउँछ। तेस्रो र चौथो भाग आत्माको नयाँ शरीर निर्माणमा आवश्यक प्राण ऊर्जा (Prana
Shakti) र तेज ऊर्जा (Tejas
Shakti) लाई जनाउँछ।
यसरी, पिण्ड
अर्पणले आत्माको कारण शरीर निर्माण, शारीरिक र
आध्यात्मिक सशक्तिकरण, र मृत्यु पछिको यात्रालाई सहज
बनाउन मद्दत गर्दछ। यो प्रक्रिया आत्माको शान्ति र पुनर्जन्मको तयारी कसरी हुन्छ
भन्ने सांकेतिक रूपमा व्याख्या गर्दै परम्परागत संस्कृतिको कर्मकाण्डीय रूपमा
मानिदै आएको छ।
दोस्रो दिन
– बिहान:
बिहान
सूर्योदयपछिको समय (करिब ८ बजे) र मध्यान्हभन्दा अघि पिण्डदान विधि सुरु
गर्नुपर्छ। मुख्य ढोका बाहिर बेन्च वा स्टुलमा एउटा थाली माथि केराको पात राखी दुई इन्च लामो कुश घाँसको टुक्रा राख्नुहोस्।
त्यस माथि एक केराको पात
वा अन्य सग्लो पातमा पिण्ड राख्नुहोस्। कालो तिलसहितको पानी पञ्च पात्रोमा राखेर
थालीमा सजाउनुहोस्। यो सामग्री घरको मुख्य (अगाडिको) ढोकाबाहिर, उचाइ भएको
स्थान (जस्तै, बेन्च वा स्टूल) मा राख्नुहोस्।
क्रिया
पुत्री दक्षिणतर्फ फर्केर प्रार्थना सुरु गर्नुहोस्। परिवारका अन्य सदस्यहरूले पनि
यसमा सहभागी हुन सक्छन्।
प्रार्थना: ॐ, आज दोस्रो
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले
तपाईँलाई यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त गरोस्।
साथै, पिण्ड शरीरको कान, आँखा, र नाकको
निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्।
दोस्रो दिनको रात: मुख्य
ढोका बाहिर बेन्च वा स्टुलमा एउटा थाली माथि केराको पात राखी दुई इन्च लामो कुश घाँसको टुक्रा
राख्नुहोस्। कुश घाँस माथि एक पिण्ड, त्यसको
छेउमा अर्को सानो कचौरामा अलिकति पानीमा आधा चम्चा तिलको दाना (कालो तिल) मिसाएर
राख्नुहोस्। क्रियापुत्रीले दक्षिणतर्फ बेन्च वा स्टुल राख्नुहोस्। एउटा गिलास वा
लोटामा दूध, अर्को गिलास वा लोटामा पानी, एउटा तिलको तेलमा थोरै कालो तिल हाली बनाएको माटोको
दियोमा बत्ती राखेर तैयार गर्नुहोस्। सबै कुरा तयार भए पछि दियो बाल्नुहोस्। यदि
हावा चलेको छ भने, दियो निभ्न नदिन सालको दुना कुनै
ढक्कन जस्ता वस्तुले दियो लाई जोगाउनु होस्। अब त्यसमा क्रिया पुत्री र चाहेमा
अन्य व्यक्तिहरु समेतले भगवान् सँग मृतकको कल्याण र संरक्षणका लागि प्रार्थना
गर्नुपर्छ। अन्त्यमा, प्रणाम गरी विदा लिनुहोस्। थालीलाई
रातभर त्यहीँ छोड्नुहोस्। यदि दियो निभ्यो भने पनि कुनै समस्या छैन।
तेस्रो दिन
बिहान: तेस्रो दिनको बिहान दोस्रो दिनको
बिहानको प्रक्रिया अनुसरण गर्नुहोस्। दोस्रो दिनको बिहानको प्रक्रिया अनुरूप नै
तेस्रो पिण्ड र कालो तिल मिसिएको पानी अर्पण गर्नुहोस्। तेस्रो दिनको प्रार्थना निम्न प्रकारको हुने छ
:
ॐ, आज तेस्रो
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले
तपाईँलाई यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त
गरोस्। साथै, पिण्ड
शरीरको घाँटी, काँध, हात, र छातीको
निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
विदा लिनुहोस्।
तेस्रो दिनको मध्यान्ह अघि: तेस्रो
दिनको बिहान, करिब १० बजे मध्यान्ह अघि, क्रियापुत्रीले
आँगन वा उपयुक्त स्थानको सानो भाग सफा गरी जमिनमा केराको पात राख्नु होस्। पातमा
वा सानो भाँडोमा नुन नभएको कालो मासको दाल र पाकेको सेतो भात राख्नुहोस्। पात वा
थालीमा तिलको तेलमा कालो तिल मिसाइएको माटोको दियो वा बत्ती राख्नुहोस्। तीन वटा
धूप, एक गिलास/लोटा पानी, एक
गिलास/लोटा दूध पनि राख्नु होस्। त्यसपछि क्रिया पुत्रीले दक्षिणतर्फ फर्केर
मृतकलाई सम्झँदै यो खाना अर्पण गर्नुहोस्। अर्पण गर्दा पिण्ड र अन्य सामग्रीको
वरिपरि तीन पटक घडीको दिशा अनुसार पानी छर्किएर घुम्नु होस्। अन्त्यमा, प्रणाम गरी
विदा लिनुहोस्। थालीलाई रातभर त्यहीँ छोड्नुहोस्। यदि दियो निभ्यो भने पनि कुनै
समस्या छैन। यसरी तेस्रो दिनको श्राद्ध विधि पूरा हुन्छ।
तेस्रो दिनको रात: तेस्रो
रातमा मुख्य ढोका बाहिर बेन्च वा स्टुलमा एउटा थाली माथि केराको पात राखी दुई इन्च लामो कुश घाँसको टुक्रा
राख्नुहोस्। कुश घाँस माथि एक पिण्ड, त्यसको
छेउमा अर्को सानो कचौरामा अलिकति पानीमा आधा चम्चा तिलको दाना (कालो तिल) मिसाएर
राख्नुहोस्। क्रियापुत्रीले दक्षिणतर्फ बेन्च वा स्टुल राख्नुहोस्। एउटा गिलास वा
लोटामा दूध, अर्को गिलास वा लोटामा पानी, एउटा तिलको तेलमा थोरै कालो तिल हाली बनाएको माटोको
दियोमा बत्ती राखेर तैयार गर्नुहोस्।
मध्यान्ह
अघि अर्पण गरिएको थालीको छेउमा यो थाली राख्नु होस्। सबै कुरा तयार भए पछि क्रिया
पुत्रीले दियो बाल्नुहोस्। यदि हावा चलेको छ भने, दियो निभ्न
नदिन सालको पात वा दुना वा कुनै ढक्कन जस्ता वस्तुले दियो लाई जोगाउनु होस्।
क्रिया पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि
भगवान् संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्। थालीलाई रातभर त्यहीँ छोड्नुहोस्। यदि दियो निभ्यो भने पनि कुनै
समस्या छैन। यो प्रार्थना पछि रात्रिकालीन अर्पणको कार्यक्रम समाप्त हुन्छ।
चौथो / पाँचौँ / छैटौँ / सातौँ / आठौँ / नवौँ दिनको
बिहानमा:
दोस्रो
दिनको बिहानको प्रक्रिया अनुसरण गर्नुहोस्। चौथो देखि नवौँ दिन सम्मको बिहानको
प्रक्रिया सबै एकै प्रकारले दोस्रो दिनको प्रक्रिया
अनुसरण गरि पुरा गर्नु होस।
चौथो दिन बिहान:
चौथो दिनको
बिहान दोस्रो दिनको बिहानको प्रक्रिया अनुसरण गरिसके पछि चौथो पिण्ड र कालो तिल
मिसिएको पानी अर्पण गर्नुहोस्। चौथो दिनको प्रार्थना निम्न प्रकारको हुने छ :
ॐ, आज चौथो
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले
तपाईँलाई यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त
गरोस्। साथै, पिण्ड
शरीरको नाभि र गोप्य अंगहरूको निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
पाँचौँ दिन बिहान:
पाँचौँ
दिनको बिहान दोस्रो दिनको बिहानको प्रक्रिया अनुसरण गरिसके पछि पाँचौँ पिण्ड र
कालो तिल मिसिएको पानी अर्पण गर्नुहोस्। पाँचौँ दिनको प्रार्थना निम्न प्रकारको
हुने छ :
ॐ, आज पाँचौँ
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले तपाईँलाई
यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त गरोस्। साथै, पिण्ड
शरीरको जाँघ, पिंडुला, खुट्टा, र
पैतालाहरूको निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
छैटौँ दिन बिहान:
छैटौँ
दिनको बिहान दोस्रो दिनको बिहानको प्रक्रिया अनुसरण गरिसके पछि छैटौँ पिण्ड र कालो
तिल मिसिएको पानी अर्पण गर्नुहोस्। छैटौँ दिनको प्रार्थना निम्न प्रकारको हुने छ :
ॐ, आज छैटौँ
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले
तिमीलाई यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त गरोस्। साथै, पिण्ड
शरीरको महत्त्वपूर्ण अंगहरू जस्तै मुटु, कलेजो र
मिर्गौला आदिको निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
सातौँ दिन बिहान:
सातौँ
दिनको बिहान दोस्रो दिनको बिहानको प्रक्रिया अनुसरण गरिसके पछि सातौँ पिण्ड र कालो
तिल मिसिएको पानी अर्पण गर्नुहोस्। सातौँ दिनको प्रार्थना निम्न प्रकारको हुने छ :
ॐ, आज सातौँ
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले
तपाईँलाई यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त गरोस्। साथै, पिण्ड
शरीरको स्नायु, नशा, र
स्नायुप्रणाली आदिको निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
आठौँ दिन
बिहान:
आठौँ दिनको बिहान दोस्रो दिनको बिहानको प्रक्रिया
अनुसरण गरिसके पछि आठौँ पिण्ड र कालो तिल मिसिएको पानी अर्पण गर्नुहोस्। आठौँ दिनको प्रार्थना निम्न प्रकारको हुने छ :
ॐ, आज
आठौँ दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म
अहिले तपाईँलाई यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार
दूतहरूलाई पनि तृप्त गरोस्। साथै, पिण्ड
शरीरको दाँत र कपाल आदिको निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
नवौँ दिन बिहान:
नवौँ दिनको
बिहान दोस्रो दिनको बिहानको प्रक्रिया अनुसरण गरिसके पछि नवौँ पिण्ड र कालो तिल
मिसिएको पानी अर्पण गर्नुहोस्। नवौँ दिनको प्रार्थना निम्न प्रकारको हुने छ:
ॐ, आज नवौँ
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले तपाईँलाई
यो पिण्ड अर्पण गर्दछु। यसले यमराजका चार दूतहरूलाई पनि तृप्त गरोस्। साथै, पिण्ड
शरीरको रगत, तरल पदार्थ र शुक्राणु / डिम्बाणु
आदिको निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
यो सँगै
चौथो दिन देखि नवौँ दिनको क्रिया कर्मको समाप्ति हुन्छ।
दशौँ दिन बिहान:
यदि
तपाईँले दशौँ पिण्ड घरमै अर्पण गर्न चाहनुहुन्छ भने, दशौँ दिनको बिहान दोस्रो दिनको जस्तै बिहानको
प्रक्रिया अनुसरण गरिसके पछि दशौँ पिण्ड र
कालो तिल मिसिएको पानी अर्पण गर्नुहोस्। दशौँ दिनको प्रार्थना निम्न प्रकारको हुने
छ:
ॐ, आज दशौँ
दिन (मिति, महिना, वर्ष) मा, (आफ्नो
स्थान), (आफ्नो देश) मा म यो श्राद्ध पिण्ड
अर्पण गर्न चाहन्छु, जसले (मृतकको गोत्र र राशिसहितको
पूरा नाम र थर) लाई तृप्त पारोस्। हे (मृतकको पूरा नाम र थर), म अहिले
तपाईँलाई यो पिण्ड अर्पण गर्दछु। यसले
यमराजका चार दूतहरूलाई पनि तृप्त गरोस्। साथै, पूर्ण
रूपमा निर्माण भएको पिण्ड शरीरको मनोवैज्ञानिक तिर्खा, भोक र
आध्यात्मिक पूर्णताको जग निर्माण कार्य सहज होस्।
प्रार्थना
पश्चात्, पिण्डको वरिपरि तीन वटा धूप सात
पटक (घडीको दिशा अनुसार) घुमाउनुहोस्। त्यसपछि, माटोको
दियोमा कपुर राखेर बाल्नुहोस् र त्यसलाई पनि सात पटक (घडीको दिशा अनुसार) पिण्डको
वरिपरि घुमाउनुहोस्। यसरी पिण्ड दान विधि पूरा गर्नुहोस्। अन्त्यमा, क्रिया
पुत्रीको उपस्थितिमा अन्य व्यक्तिहरूले पनि मृतकको कल्याण र संरक्षणका लागि भगवान्
संग प्रार्थना गर्नुहोस्। अन्त्यमा, प्रणाम गरी
बिदा लिनुहोस्।
चौथो देखि नवौँ दिन सम्मको विकल्प:
चौथो देखि
नवौँ दिन सम्म दिनको समयमा आफूले भोजन ग्रहण अघि
मृतकलाई केही भोजन अर्पण गर्ने चलन देखिन्छ। यसरी भोजन अर्पण गर्ने विकल्प उत्तम
हो। यसको लागि घर बाहिर, आँगनमा वा
अग्लो भोजन ग्रहण गर्ने स्थानमा दक्षिण तर्फ फर्केर एउटा थाली वा केराको पातमा
सेतो भात एक कचौरा बराबर, त्यस माथि
चिनी र कालो तिल छर्किनुहोस्। त्यसमा घ्यु, चिनी वा मह
र थोरै पानी मिसाएर अर्पण गरिन्छ। त्यहाँ एक धूप पनि बाल्ने गरिन्छ।
दस दिनको
अवधिमा, यदि तपाईँ दीप वा पूजा स्थानमा
पकाएको भोजन अर्पण गर्न लाग्नु भएको छ भने, उक्त भोजन
सात्त्विक (शुद्ध र उत्तम) हुनुपर्छ। प्याज, लसुन र
च्याउ जस्ता वस्तुहरू समेत भोजन तयार गर्दा समावेश गर्न मिल्दैन। प्याज, लसुन, र च्याउ
मिसाएर पकाएको खाना यी दिनहरूका वैकल्पिक खाना हुन सक्दछ तर तिनीहरू भगवान्
लक्ष्मी-नारायणको शुद्ध भोजन सूचीमा नपरेको हुँदा तिनीहरू दीप पूजा र प्रसादको
रूपमा पितृ लाई अर्पण गर्न उपयुक्त मानिदैनन।
दीप पूजा र
प्रसाद अर्पणको समयमा निम्न मन्त्र जप गर्ने चलन छ:
ॐ सर्व पितृ देवाय नमः (सबै पितृ देवताहरूप्रति
नमस्कार छ।) – तीन पटक
मृतकको कल्याण र संरक्षणका लागि भगवान् संग प्रार्थना
गर्नुहोस्।
सात्त्विक (शुद्ध) भोजन
श्राद्धको
दस दिनसम्म दीप वा पूजा स्थानमा अर्पण गरिने भोजन र क्रिया पुत्रीले ग्रहण गर्ने
भोजन सात्त्विक (शुद्ध) हुनुपर्छ। सनातन मान्यतामा भगवान् लक्ष्मी-नारायणलाई अर्पण
हुने भोजनलाई शुद्ध, पवित्र र
सात्त्विक मानिन्छ। भगवान् लक्ष्मी-नारायणको शुद्ध भोजन सूचीमा १. अन्नमा (Grains) चामल (सादा
वा खीरका रूपमा), गहुँ (रोटी, हलुवा, पूरी), जौ, मकै पर्दछ।
२. दलहन (Pulses) मा नुनबिनाको मूँग दाल, चना दाल, रहरको दाल, कालो दाल
पर्दछ। ३. तरकारी र कन्दमूलमा (Vegetables and Roots) आलु, सकर खण्ड, गाजर, मूला, चुकन्दर, लौका, तोरी, लौका, फर्सि र
अरू जडीबुटीयुक्त तरकारीहरु समेत पर्दछ। ४. फलफूल (Fruits) मा आँप, अङ्गुर, अनार, केरा, स्याउ, शत्रु, नासपती
लगायतका सिजन अनुसारका अन्य फलहरू पर्दछ। ५. मेवा र सुकुटी (Nuts and
Dry Fruits) मा बदाम, काजु, किसमिस, छोकडा, सुख्खा
नरिवल, ओखर आदि पर्दछ। ६. दुग्धजन्य
पदार्थ (Dairy) मा दूध, घ्यू, दही, मक्खन आदि
७. मिठाइ (Sweets) हरूमा खीर, लड्डु
(बेसन वा नरिवल), पेडा, हलुवा आदि।
८. अन्य विशेष सामग्रीमा मह (Honey), सख्खर (Jaggery), तुलसीका
पात, पञ्चामृत (दूध, दही, मह, घ्यू, र चिनीको
मिश्रण) हरू रहेका छन्। त्यस्तै प्रतिबन्धित वस्तुहरूमा प्याज, लसुन, च्याउ, नुनसहितका
भोजन, मांसाहारी वस्तुहरू, प्रोसेस वा
फास्ट फुड आदि पर्दछ। खाना सात्त्विक खाना हुनको लागि खाना निर्माणको विशेष तरिका
अवलम्बन भएको हुनु पर्दछ। जसमा भोजन स्वच्छ र भक्ति भावले प्रसादको रूपमा तयार
गरेको हुनु पर्दछ।
चुल्होमा
बनाइएको (जसमा दाउराको चुलो, ग्यास वा
स्टोभमा तयार भएको) भोजनलाई प्राथमिकता दिने गरिन्छ। भगवान् लाई अर्पण गरिएको भोजन
लाई प्रसादको रूपमा आफन्त र परिवारमा बाँडेर ग्रहण गर्नुपर्छ। वैदिक परम्परामा
सात्त्विक भोजन सेवनले व्यक्तिमा भक्ति भाव निर्माण गर्ने र मनोवैज्ञानिक आत्मा बल
निर्माण गर्ने (भगवान् प्रसन्न हुने) विश्वास गरिन्छ।
त्यस्तै
प्रसादको रूपमा प्रसाद अर्पण गर्नका लागि चामल, गहुँ, जौ, र मकै
जस्ता अन्न महत्त्वपूर्ण मानिन्छन्। यसै गरी मूँग दाल, चना दाल, कालो दाल
जस्ता नुन बिनाका दलहन बालीका गेडागुडी
प्रयोग हुन्छ। तरकारीहरू मध्ये आलु, सकर खण्ड, गाजर, मूला, चुकन्दर, लौका, तोरी, र फर्सीका
तरकारीहरू लौका जस्ता मूल र जडीबुटी युक्त तरकारीहरू विशेष रूपमा उपयुक्त
मानिन्छन्। फलफूलहरूमध्ये आँप, अङ्गुर, अनार, केरा, स्याउ, र सिजन
अनुसारका अन्य फलहरू भगवान् लाई अर्पण गर्ने गरिन्छ। बदाम, काजु, किसमिस, छोकडा, र ओखर तथा मेवा र सुख्खा फलफूलहरू पनि प्रसादमा चढ्ने
बस्तु हुन्। दुग्धजन्य पदार्थहरू मध्ये दूध, घ्यू, दही, र मक्खन
पवित्र मानिन्छन्। मिठाइहरू मध्ये खीर, लड्डु, पेडा, र हलुवा
अर्पण गर्न सकिन्छ। मह, गुड, तुलसीका
पात, र पञ्चामृत (दूध, दही, मह, घ्यू, र चिनीको
मिश्रण) पनि भगवान् लाई अर्पण गर्न उपयुक्त सामग्रीहरू मानिन्छ।
महाभारत, अनुशासन
पर्व, अध्याय ८८, श्लोक ५ मा
श्राद्ध कर्मका लागि अर्पण गर्नुपर्ने भोजन र पितृहरूको तृप्तिको महत्त्व बारे
चुरो कुरो उल्लेख भएको छ।
तस्मान्मैथुनजं हिंस्रं परित्यज्य विधानतः।
श्राद्धेषु शुद्धमश्नीयात् पितॄणां च प्रियां च यत्॥
(महाभारत, अनुशासन
पर्व, अध्याय ८८, श्लोक ५)
अर्थ: त्यसैले श्राद्धमा मैथुनजन्य
(मांसाहारी) र हिंसात्मक भोजन त्यागेर शुद्ध सात्त्विक भोजन पितृहरूको तृप्तिका
लागि अर्पण गर्नुपर्छ। पितृहरूले शुद्ध र प्रिय भोजनलाई स्वीकार गर्छन्।
चर्चा: यो श्लोक श्राद्धमा सात्त्विक
भोजन ग्रहण गर्नु पर्ने कुरो उल्लेख गर्दछ। र भन्दछ कि सात्त्विक भोजनले पितृहरू
लाई प्रसन्न गर्दछ। श्राद्ध गर्ने व्यक्तिले सात्त्विक भोजन ग्रहण गर्दा पितृहरूको
आशीर्वाद प्राप्त गर्दछन्।
व्याख्या: महाभारत – अनुशासन पर्व (पुस्तक
१३, अध्याय ८८) मा श्राद्ध कर्म र पितृ
पूजाका विषयहरू गहिराइ पूर्वक वर्णन गरिएको छ। यस अध्यायले पितृहरूको तृप्तिका
लागि आवश्यक भोजन र विधिहरूको महत्त्व प्रस्ट पार्छ। पितृहरूलाई प्रिय भोजनहरू
मध्ये चामल (व्रीहि Vrihi) विशेष स्थानमा पर्दछ। त्यसमा
खीरजस्ता मिष्टान्न परिकारलाई पितृले अत्यन्तै मन पराउने भोजन हो। पकाइएको कालो
मासको दाल र फर्सीजस्ता तरकारी, साथै गहुँ
र जौबाट बनेका परिकार पनि पितृहरूका लागि सन्तोष दिने खाना मानिन्छ। फलफूलहरू
मध्ये आँप, अनार र अङ्गुर पितृहरूको तृप्तिका
लागि उत्तम मानिन्छन्।
जडीबुटी र
कन्दमूल तरकारीहरू मध्ये आलु, सकर खण्ड, गाजर, मूला, बेसार र
अदुवा जस्ता सामग्री पितृहरूको प्रिय वस्तु हुन्। मिठाई युक्त परिकारहरू मध्ये मह
(Honey) र सख्खर (Jaggery) पितृहरू
प्रसन्न राख्ने विशेष सामग्री मानिन्छन्। श्राद्ध कर्ममार्फत पितृहरूको तृप्ति
गराउँदा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने
विश्वास गरिन्छ। पितृहरू प्रसन्न भएपछि आफ्नो वंशजहरूलाई आशीर्वाद दिने र परिवारका
सदस्य हरूमा समेत आफूले आफ्नो तर्फ वाट गर्नु पर्ने औपचारिकता पुरा गरेको भाव
विकास भएर आत्मा सन्तुष्टि प्राप्त गर्ने विश्वास गरिन्छ।सनातन संस्कृतिमा
पितृहरूको तृप्ति र परिवारको कल्याण परम्परागत मान्यताको रूपमा मात्र नभई धर्म, कर्तव्य र
परम्पराको अभिन्न अंशको रूपमा समेत लिने गरिन्छ।
दशौँ दिन
बिहान: दशौँ दिनलाई
सामान्यतया कपाल मुण्डन गर्ने दिनको रूपमा चिनिन्छ। १० औँ दिनमा पुरुष वा महिला
मृतकको आत्माको शान्ति कामना गर्दै नदी किनार, समुद्र
किनार, वा घाटमा क्रिया पुत्रीले कपाल खौरने गर्दछन्। यदि आफ्नो क्षेत्र वरपर
नदी, समुद्र किनार, वा घाट
उपलब्ध छैन भने आफ्नै विवेक प्रयोग गरी कुनै पानीको श्रोत नजिकको स्थान चुन्न
सकिन्छ। १०औँ दिनको बिहान महिलाहरूले आफ्ना नङ काट्छन् र ती नङहरू (प्लास्टिकको
थैलोमा राखेर) पुरुषहरू लाई दिन्छन् जसले त्यसलाई नदी वा उपयुक्त स्थानमा सेलाउने
गर्दछन्। महिलाहरूले स्नान गरी सफा कपडा लगाउँछन्। घर र आँगनमा हलेदो वाट
निकालिएको बेसार र गङ्गा जल छर्केर शुद्ध गर्छन्। त्यसपछि, गाईको
गोबरले लिप्ने, सुक्खा गोबर प्रयोग भएको धूप बत्ती
बाल्ने समेत गर्ने चलन समेत छ । त्यसपछि सामान्य तरिकाले खाना पकाउने काम गरिन्छ जसमा मसला, बेसार, तेल आदि
प्रयोग हुन्छ। तर, अझै पनि मासु आदि पकाउन भने अनुमति
हुँदैन। पिण्डहरू (जसको सङ्ख्या कुल नौ वा १०
हुन्छ) र अन्य सामग्रीहरू नदीमा विसर्जन गर्न लैजाने व्यवस्था गरिन्छ।
त्यस्तै दशौँ दिनको श्राद्ध पूजा सामग्री
नदी, समुद्र किनार, वा घाटमा
लगिन्छ र पुरेतको (ब्राह्मण) सहयोगमा दशौँ
दिनको श्राद्ध सम्पन्न गरिन्छ।
नदी वा
घाटमा कपाल मुण्डन गर्ने (खौरने) र पुरेत हुनु अनिवार्य हुन्छ। क्रिया पुत्रीले
कपाल मुण्डन गरे पछि स्नान गरेर नयाँ सफा कपडा लगाउँछन्। त्यसपछि पुरेत (महापात्र)
द्वारा गरिने पूजामा सहभागी हुन्छन्। पूजा सम्पन्न हुँदै गर्दा घरमा तयार पारिएको
भोजन नदी, समुद्र किनार, वा घाटमा
पुर्याइन्छ। पुरेतलाई पारिश्रमिक र सिधा दिएपछि पुरेतले तयार पारेको वा परिवारले
तयार गरेको भोजन ग्रहण गरिन्छ। त्यसपछि दशौँ दिनको पूजा सम्पन्न हुन्छ र क्रिया
पुत्रीको साथै सबै जना घर फर्कन्छन्।
तर्पण के हो?
तर्पण
भनेको जल अर्पण गर्नु हो। सनातन धर्मावलम्बीहरूले आफ्ना पितृहरूलाई सम्झँदै
कृतज्ञता र भक्ति व्यक्त गर्न जल अर्पण (तर्पण) गर्दछन्। मानिसले जन्मँदा तीन
प्रकारका ऋणहरू बोकेर आएको हुन्छ। जहाँ ऋण भनेको जिम्मेवारी हो। पहिलो देवताहरूको
ऋण अर्थात् शक्ति (भौतिक, मानसिक र
आध्यात्मिक) प्राप्ति गरे बापतको ऋण। दोस्रो ऋषिहरूको ऋण अर्थात् ज्ञान प्राप्ति
बापतको ऋण। अन्तमा आफ्ना दिवङ्गत पितृहरूको ऋण अर्थात् जीवन प्राप्तिमा आफ्ना
पुर्खाहरूले पुस्तौँ पुस्ता सम्म छोरो-छोरी वा उत्तराधिकारी लाई छोडेको सम्पत्ति, मूल्य वा
सोच तथा शरीरमा रहेको सूचना जस्तै डिएनएको ऋण। ‘तृप’ शब्द केही प्राप्ति बापत
व्यक्त गरिने धन्यताले त्यो कुरा उपलब्ध हुन सहयोग गर्ने पक्षले अनुभूति गर्ने
सन्तुष्टि लाई जनाउँछ। मूल शब्द ‘तृप’ बाट बनेको ‘तर्पण’ शब्द देवताहरू, भगवान् /
ऋषिहरू र पितृहरूलाई उनीहरूको आफ्नो जीवन अस्तित्वमा आउन र चल्नुमा रहेको सम्पूर्ण
सहयोग बापत धन्यता व्यक्त गर्नु हो। जसको सबै भन्दा उत्तम तरिका जल अर्पण गर्नु
हुने गर्दछ। जल अर्पण गर्ने कार्यलाई तर्पण भनिन्छ। सनातन संस्कृतिको चुरो मर्म अनुसार
भित्र मनै देखि अनुग्रहित रहेर गरिने तर्पण मात्र आफ्नो पितृ सम्म पुग्दछ। अन्य सबै
प्रकारको कर्म र दान मात्र क्रिया पुत्री र मृतकको परिवारको सन्तुष्टि तथा सामाजिक
दान गर्नेको मान सम्मान वृद्धिमा सहयोगी हुन्छ। पितृको मृत्यु पछिको यात्रामा
मुक्ति दिन वा आफ्ना ऋणी हरुको ऋण चुक्ता गर्ने प्रयोजनमा तर्पण बाहेकका अन्य कुनै
पनि दान आदिको कुनै भूमिका हुने गर्दैन। तर्पण गर्ने समयमा तसर्थ देवताहरू, भगवान् /
ऋषिहरू र पितृहरूको नाम उच्चारण गर्दै तिनीहरूको कृपा प्राप्त बापत धन्यता व्यक्त
गरिन्छ। उनीहरूको आनन्द प्राप्ति र मुक्तिको कामना गरिन्छ। त्यसो गर्दा सो कर्म
गर्ने व्यक्ति आफै पनि आनन्दित बन्दछ। त्यसैले क्रिया पुत्री हरुले सम्पूर्ण १०
दिनसम्म जमिनमा रोपिएको गाँठो परेको कुश घाँसमा दैनिक जल अर्पण गर्ने प्रचलन छ।
दैनिक भजन, कीर्तन र प्रवचन समेत जारी
राखिन्छ।
पुरेत (महापात्र) लाई दिने पारिश्रमिक र अन्य सामाजिक दान /उपहार:
नदीमा पूजा
सम्पन्न भएपछि महापात्रलाई पारिश्रमिक बराबर हुने गरी दान उपहार प्रदान गरिन्छ।
त्यस्तै सामाजिक "पाद दान" समेत गर्न सकिन्छ। पाद दानको अर्थ परम्परागत
रूपमा मृतक आत्माको यात्रामा सहयोग पुर्याउनका लागि आधार (support) दिने
उद्देश्यले गरिने दान हो। यसमा प्रायः आधारका लागि उपयोगी सामग्रीहरू जस्तै छाता, चप्पल, कुर्सी/चटाई, अन्न, कपडा, पानीको
भाँडो, र सुनको टुक्रा आदि समावेश गरिन्छ।
यस्ता उपहारहरू मृत आत्मा लाई यमलोकको एक वर्षको यात्रामा रहेको मृतकको आत्मालाई
सन्तोष मिलोस्। त्यस्तै घर परिवार लाई समेत सामाजिक उत्तर दायित्व बहन गरी मानसिक
सन्तोष मिलोस् भन्ने अवधारणा लुकेको हुन्छ। यो कर्मले मृतकप्रतिको सम्मान, कर्तव्य र
श्रद्धा व्यक्त गर्दछ।
सामाजिक
दान दिने पाद दान अन्तर्गत सामाजिक कल्याणको लागि आफ्नो दानको सदुपयोग हुने
विश्वास भएको सामाजिक संस्था वा मठ मन्दिर आदिमा जाने गरी ८ प्रकारका वस्तुहरू दिन
सकिने शास्त्रमा उल्लेख छ: छाता, जोडी
चप्पल/जुत्ता, रोजाइको लत्ता कपडा, सुनको
टुक्रा, पानीको भाँडो (जस्तै, माटोको
भाँडो), स्टुल/कुर्सी/गुन्द्री आदि, सानो
माटोको वा अन्य भाँडोमा कालो तिल, ५ वा ७
प्रकारका अन्न र नुन आदि समावेश गरिएको अन्न वा खाना, नगद पैसा, जग्गा, गाई, घोडा आदि।
१२औँ / १३औँ दिनको क्रिया कार्य भएको बेला दैनिक भजन, कीर्तन र
प्रवचनहरू पनि गर्न सकिन्छ।
सपिण्डी पूजा:
सारांशमा, दिवङ्गत
व्यक्तिको अन्त्येष्टि भएको १२औँ वा १३औँ दिनमा गरिने सपिण्डी पूजा दिवङ्गत
आत्मालाई आफ्ना अघिल्लो तीन पुस्ताका पितृहरूको आत्मासँग प्रतीकात्मक रूपमा एकाकार
गर्ने विधि हो। यो अत्यन्तै महत्त्वपूर्ण र अनिवार्य पूजा मानिन्छ। यदि दिवङ्गत
व्यक्तिमा जीवित रहँदा पर्याप्त आध्यात्मिक चेत रहेको विश्वास भएमा सपिण्डी श्राद्ध पूजा १२औँ दिनमा गरिन्छ। यदि
दिवङ्गत व्यक्तिमा जीवित रहँदा उनमा पर्याप्त आध्यात्मिक चेत विकाश नरहेको लागेमा
सपिण्डी श्राद्ध पूजा १३औँ दिनमा गरिन्छ। व्यक्ति ब्रह्म: ज्ञानी रहेको विश्वास
रहेमा उसको कुनै पनि श्राद्ध र क्रिया कर्म जरुरी हुँदैन। मात्र उसको नाममा तर्पण
दिनु पर्याप्त हुन्छ।
गरुड
पुराणको प्रेत कल्पको मान्यता अनुरूप सपिण्डी पूजा १२औँ दिनमा गरे पनि वा १३औँ
दिनमा गरे पनि आत्माले १३औँ दिनमा मात्रै आफ्नो जीवित रहँदाको निवास छोडेर यमलोक
तर्फको ३४८ दिनको यात्रामा लाग्दछ। त्यसैले सपिण्डी पूजा १२औँ दिनमा गरे पनि वा
१३औँ दिनमा मृतकको जीवित हुँदाको कर्म अनुरूप मृतकको यात्रा तय हुने हुँदा जुन
सुकै दिनमा सपिण्डी पूजा गर्दा हुने देखिन्छ। गरुड पुराण, प्रेत खण्ड, अध्याय २६, श्लोक
११-१३ अनुसार जबसम्म पिण्डहरू (पितृहरूको प्रतीक) एकाकार गरिँदैनन्, तबसम्म
अशुद्ध रहन्छ। पिण्डहरू एकाकार भएपछि मृत व्यक्तिले नयाँ नाम (पहिचान) पाउँछ।
अन्त्येष्टि पछिको १२औँ वा १३औँ दिन सपिण्डी पूजाका लागि उपयुक्त मानिन्छ। घर
मुलीको मृत्यु भएको अवस्थामा सपिण्डी पूजा नगरुन्जेल कुनै पनि खुसीका समारोह, जस्तै
विवाह, व्रतबन्ध आदि गर्न सकिँदैन।
प्रेत खण्ड
अध्याय ५, श्लोक ७८–८९ अनुसार जब सपिण्डी पूजा सम्पन्न हुन्छ, प्रेत
अवस्थाको अन्त्य हुन्छ। १३औँ दिनमा यमका दूतहरूले आत्मा लाई उसको गन्तव्य देखाउँदै
३४८ दिनमा आत्मालाई यमको नगरीमा पुर्याई सक्दछन्। प्रेत खण्ड, अध्याय १५, श्लोक
७४–७६ अनुरूप मृतकको आत्मा आफ्नो लागि
अर्पित दीप, भोजन, जल आदिले
धन्य बन्दछ। १३औँ दिनमा आत्माले कारण शरीर प्राप्त गर्ने हुँदा पिण्ड बाट उत्पन्न
शरीर ग्रहण गरी आफ्नो लगाव र अतृप्तिको वासनाहरूको महसुस गर्ने बन्दछ।
सपिण्डी
करण मार्फत हामी मृतकको आत्मा लाई आफ्नो पितृहरूको आत्माको हैसियत दिने गर्दछौ।
मृतकको आत्मालाई पितृहरूको आत्मा सँग
मिलोस् भन्ने कामना सहितको प्रार्थना पश्चात् मात्र मृतकको कुलको अति महत्त्वपूर्ण
वैदिक पूजाहरू र विवाह आदि गर्ने गरिन्छ। सपिण्डीकरण कर्म अर्थात् "प्रेतलाई
पितृहरू सँग मिलाउने पूजा" अन्त्येष्टि पछिको १२औँ वा १३औँ दिनमा, वा तीन
पक्षको समाप्ति (१५+१५+१५) वा ४५ दिनमा वा एक वर्ष पूरा भएपछि गरिन्छ।
प्रेत कल्प
अनुसार मृतकको आत्मा तुरुन्तै पितृहरूको लोकमा पुग्दैन। आत्मा केही समय प्रेत
(भूत/आत्मा) रूपमा छुट्टै रहन्छ। यस अवधिमा मृतकलाई विशेष अर्पण गरिन्छ।
सपिण्डीकरण मृतकले पितृ लोकमा प्रवेश गरेको सङ्केत रहेकोले त्यो मृतकको
स्वर्गारोहण भएको एक वर्ष अर्थात् ३४८ दिन
पुरा भए पछि गर्नु उपयुक्त हुने छ। सपिण्डीकरण श्राद्धको अर्पण गरेर, पुत्र
पुत्रीले आफ्नो पितालाई पितृहरूसँग खुसीपूर्वक बस्नुहोस् भन्ने कामना गर्दछन्।
सपिण्डी पूजा
सपिण्डी
पूजा सम्पन्न गर्न एल "L" आकारको
मण्डप वा स्थान तयार गरिन्छ। जुन लगभग ११५ सेमी लम्बाइ र २३ सेमी चौडाइको हुनु
पर्दछ जसमा पूजाको सामग्रीहरू राखिन्छ। सपिण्डी पूजाको क्रममा १+१६+४ = २१
पिण्डहरू अर्पण गरिन्छ। जसमा पहिलो पिण्ड लाई विकार पिण्ड भनिन्छ। त्यो
दक्षिण-पूर्व दिशामा छुट्टै अर्पण गरिन्छ। यो पिण्ड अशुभ परिस्थितिमा दिवङ्गत भएका
वा विधि सही ढङ्गले अन्त्येष्टि सम्पन्न हुन् नसकेको परिवारका मृतकको आत्माको लागि
समर्पित हुन्छ। एक प्रकारको अस्वाभाविक दिवङ्गत परिस्थिति जसको स्मरणले परिवारको सदस्यमा नरमाइलो र दुखद
अनुभूति हुन्छ त्यसलाई अशुभ परिस्थितिमा भएको दिवङ्गत भनिन्छ। विकार पिण्ड अर्पण
गरेर परिवारको सदस्यले जे भयो त्यसलाई स्विकारेर एक प्रकारको सन्तोषको अनुभूति लिन
सक्दछन्।
विकार
पिण्डको अर्पण पश्चात् १६ पिण्डहरू अर्पण गरिन्छ। जसमा पहिलो ११ पिण्डहरू हुन् १)
विष्णु पिण्ड २) शिव पिण्ड ३) यमराज पिण्ड ४) सोमराज पिण्ड ५) हव्यवाहन पिण्ड ६)
कव्यवाहन पिण्ड ७) मृत्यु पिण्ड ८) रुद्र पिण्ड ९) पुरुष पिण्ड १०) प्रेत पिण्ड
११) विष्णु पिण्ड।
"प्रेत" अवस्थामा रहेको मृतकको
विनाशकारी गुण हटाउनका लागि ११ पिण्डहरू चढाउने पूजा गर्ने गरिन्छ। यस अवस्था वा
स्थितिबाट मुक्ति प्राप्ति पछि मात्र आत्माको आफ्ना पूर्वजहरू सँग मिलन गर्न सम्भव
हुने ठानिन्छ। पिण्डहरू चढाउन र पूजा गर्न पिण्ड दान गर्ने व्यक्तिले पिण्डहरूमा
पानी, धागो, चन्दन, नपकाएको
चामल, फूलको पत्ती, धूप, बत्ती, नैवेद्य, पानी, पान, सुपारी र
सिक्का र पुनः दियो चढाउने गरिन्छ।
त्यसपछि
अर्का ५ पिण्डहरू चढाइन्छ। १२) ब्रह्मा पिण्ड १३) विष्णु पिण्ड १४) रुद्र पिण्ड
१५) यमराज पिण्ड १६) तत्पुरुष पिण्ड। यी ५ पिण्डहरूले मृत्युको नकारात्मक प्रभाव
हटाउने विश्वास गरिन्छ। आफ्नो जीवनकालमा गर्नु पर्ने अनिवार्य संस्कारहरू
(शुद्धीकरण प्रक्रिया) नगरिएको दोषका कारण हुन् सक्ने अपशकुन पूर्ण परिस्थिति वाट
मुक्त भएर शान्ति प्राप्तिको लागि यो पाँच पिण्ड सहयोगी हुने मानिन्छ।
सपिण्डी
पूजाको लागि १६+१ गोलो पिण्डहरू भन्दा फरक अलि लामो र अण्डाकार हुने गरी बनाइएको
चार अतिरिक्त पिण्डहरू चढाइन्छ। यदि मृत व्यक्ति पुरुष भए पिण्डहरू निम्न नामहरूले
चढाइन्छ। १) प्रेत पिण्ड - मृतकको (सामान्यतया) बुबाको लागि पिण्ड, २) पितामह
पिण्ड - हजुरबुबाको पिण्ड, ३)
प्रपितामह पिण्ड - प्रपितामहको पिण्ड, ४)
वृद्ध-प्रपितामह पिण्ड - महाप्रपितामहको पिण्ड। यदि मृत व्यक्ति महिला भए पिण्डहरू
निम्न नामहरूले चढाइन्छ। १) प्रेत पिण्ड - मृतकको (सामान्यतया) आमाको पिण्ड, २) पितामही
पिण्ड - हजुरआमाको पिण्ड, ३)
प्रपितामही पिण्ड - प्रपितामहीको पिण्ड, ४)
वृद्ध-प्रपितामही पिण्ड - महाप्रपितामहीको पिण्ड।
प्रेत
पिण्डलाई थालीमा राखेर कुश घाँसले तीन भागमा काटिन्छ। त्यसलाई त्यसै थालीमा
राखिएको आफ्ना पूर्वजहरूको तीन पिण्डहरू सँग मिलाइन्छ। अर्थात् बुबा / आमा, हजुरबुबा /
हजुरआमा र प्रपितामह / प्रपितामही। यो रित पूरा भए पछि प्रेत (भूत) रूपको मृतकको
आत्मा पितृ बनेको सङ्केतको रूपमा लिने गरिन्छ। पितृ-लोकमा आफ्ना बुबा / आमाहरूको
समूहमा सम्मिलित भएको मानिन्छ। प्रेतको पिण्डलाई मृतकको पूर्वजको पङ्क्तिका
पहिलेका तीन पुस्ताहरूको पिण्डहरू सँग मिलाउने कार्य लाई निकै महत्त्वपूर्ण रूपमा
लिने गरिन्छ।
त्यसपछि
तर्पण दिने कार्य हुन्छ। तर्पण पूरा भएपछि हवन सुरु हुन्छ। हवन पूरा भएपछि पूजा
समाप्त हुन्छ। त्यस पछि सबै पिण्डहरूलाई एक गोला बनाएर पानीको भाँडामा राखिन्छ।
दक्षिणतर्फ फर्किएर सबै पूजा सामग्रीहरू स्थानीय नदीमा फ्याँक्नु पर्छ। त्यस पछि
दान दक्षिणा दिने कार्य गरिन्छ।
सनातनमा सपिण्डी पूजामा उपयोग गरिने
१ + १६ + ४ = २१ पिण्डहरूको महत्त्व
सपिण्डी
पूजामा प्रयोग हुने २१ पिण्डहरू देवताहरू लाई सम्मान, अशान्त
आत्माहरूको शान्ति कामना, मृतको
आत्मालाई पितृहरू सँग जोडिने कुराको सङ्केत र मृतकका परिवारको आत्मा शान्ति संग
सम्बन्धित देखिन्छ। दिवङ्गत आत्माको मुक्तिको कामना र परिवारमा आध्यात्मिक ज्ञान
ग्रहण गर्नुपर्ने जिम्मेवारी पुरा गरी मृतक र पुर्खा प्रति धन्य बन्ने वैदिक
परम्पराको रूपमा सपिण्डी पूजा हाम्रो
बलियो परम्पराको रूपमा स्थापित छ। यसले
हाम्रो समाजको निकै भित्री तह सम्म ब्रह्माण्डीय सन्तुलन प्रक्रिया, पुस्तौँ
पुस्ता हुने सूचनाको प्रवाह (DNA) र कुलको
कर्म चक्र, व्यक्तिको कर्म चक्र र जीवनमा
जरुरत रहने शुद्धता वारेको ज्ञान दिने गर्दछ।
त्यही कारण सपिण्डी पूजा सनातन
संस्कृतिको एक महत्त्वपूर्ण अनुष्ठान हुन गएको हो।
सनातन
परम्परामा सपिण्डी पूजामा प्रयोग हुने २१ पिण्डहरूले निकै गहिरो आध्यात्मिक र प्रतीकात्मक महत्त्व राख्ने
गरेको छ। यी पिण्डहरू हरेकले मृतकको मृत्यु पछाडि आत्माको यात्रा र पितृहरू सँग
त्यसको सम्बन्धको विषयको प्रतिनिधित्व गर्ने गर्दछ। जुन त्यो प्राकृतिक विधि र
प्रक्रिया तथा त्यस संग जोडिएका विभिन्न चरणहरूको
यथार्थ समाजलाई व्यवहारिक रूपमा बताउने प्रयोजनको लाई सामाजिक ज्ञानको ईनर
सोसल इञ्जिनियरिङ्ग गर्न उद्धत रहेको भेटिन्छ।
प्रेत कल्पमा भएको व्याख्या अनुरूप २१ पिण्डहरूको विवरणहरू यस प्रकार
देखिन्छ।
प्रेत कल्प
पहिले एउटा विकार पिण्ड दानको कुरा गर्दछ। विकार पिण्डलाई मुख्य पिण्डहरूबाट अलग राखेर पहिले अर्पण
गरिन्छ। जसलाई अशुभ परिस्थितिमा मृत्यु भएका वा जसको अन्तिम संस्कार विधिवत्
सम्पन्न नभएका आत्माहरू लाई समर्पित गरिने पिण्डको रूपमा चर्चा गरिन्छ। यस्ता
अशान्त वा भौँतारिएका आत्माहरूलाई सन्तुष्ट पार्न र मुख्य पूजा प्रक्रियामा त्यसले
कुनै बाधा नगरोस् भन्ने हेतुले पूजा वातावरण शुद्ध बनाउनु नै यो पिण्ड
अर्पणको उद्देश्य रहेको व्याख्या छ।
त्यस पछि
१६ पिण्डहरू अर्पण गर्ने कुरा आउँछ। यी पिण्डहरू मोटा मोटी दुई भागमा विभाजित
गरिन्छ।
अघिल्लो
देवता (शक्तिको श्रोत) र प्रेतका लागि ११ पिण्ड। जुन विष्णु, शिव, यमराज, सोमराज, हव्यवाहन, कव्यवाहन, मृत्यु, रुद्र, पुरुष, प्रेत, र विष्णु
लाई समर्पित भनिन्छ। यसको उद्देश्य जीवन, मृत्यु, र आत्माको
सङ्क्रमण सँग सम्बन्धित देवताहरू लाई पहिचान गरी तिनीहरू संग धन्य बन्नु र
उनीहरूलाई उनीहरूको कृपा बापत हार्दिक धन्यवाद ज्ञापन गर्नु।
त्यसपछि ५
अतिरिक्त पिण्ड ब्रह्मा, विष्णु, रुद्र, यमराज र
तत्पुरुषको नाममा चढाउने गरिन्छ। जसको उद्देश्य मृत्युका कारक बन्ने नकारात्मक
प्रभावहरूको प्रभावकारिता लाई कम गर्नु र मृतक व्यक्तिको जीवनकालमा बाँकी रहेका
परिवार र समाजको हित गर्ने अधुरा धर्म कर्महरूको समाधान तर्फ लाग्न उसको आफन्त र
परिवार लाई उत्प्रेरित गर्नु भनिएको छ। त्यसपछिको अन्तिम ४ पिण्ड लाई पितृ पिण्ड
भनिएको छ। जुन अरू पिण्ड भन्दा आली लामो
अण्डाकारको लम्बेतान आकारमा निर्माण गरिन्छ। यी पिण्डहरू मृत आत्माका नजिकका
पुर्खाहरूमा समर्पित गरिन्छ।
जसमा प्रेत
पिण्ड मृतक व्यक्तिको नाममा दिइने पिण्ड हो। पितामह पिण्ड पिण्ड दिने व्यक्तिको
हजुर बुबाको लाई दिइने पिण्ड हो। प्रपितामह पिण्ड पितामह (महान् हजुरबुबा) को
पिण्ड हो भने वृद्ध प्रपितामह पिण्ड वृद्ध प्रपितामहको नाममा दिइने पिण्ड हो। जसको
उद्देश्य मृतकको आत्मा वा चेतना लाई पितृहरू सँग जोड्दै उनको आत्माको यात्रा सफलता
पूर्वक उद्देश्य प्राप्ति सहित सम्पन्न
होस् भनी कामना गर्नु हो।
अथर्व
वेदको वैदिक कालिन विज्ञान र त्यसलाई अन्य वेदमा गरिएको व्याख्या अनुरूप यसरी
अर्पण गरिने २१ पिण्डहरूको निकै चाख लाग्दो साङ्केतिक अर्थ रहेको देखिन्छ। जसमा
पहिलो सङ्केत हो सामाजिक र आध्यात्मिक सन्तुलनको जरुरत। २१ सङ्ख्या पूर्णता र
सन्तुलनको प्रतीक हो। २+१ = ३ हुन्छ। ब्रह्मा (निर्माण कर्ता), विष्णु
(सञ्चालन कर्ता) र महेश्वर (पुनः सुधारिएको निर्माणको उद्देश्यले पुरानोको नष्ट
गर्ने शक्ति)। यसले प्रेत (मृतकको आत्मा) लाई पितृहरू सँग जोडने तथा सम्पूर्ण जीवन
चक्रको नियमितताको चक्र लाई सङ्केत गर्दछ।
दोस्रो
सङ्केत जीवनका तीन तहको प्रतिनिधित्व गर्नु। जहाँ १ पिण्डले नकारात्मक ऊर्जालाई
शुद्ध गर्नु पर्ने पक्षको प्रतिनिधित्व गर्दछ। १६ पिण्डले ३३ देवताहरू लाई सम्मान
गर्दै आत्माको मुक्ति मार्गको यात्राको सकारात्मक पक्षको प्रतिनिधित्व गर्दछ। ४
पिण्डले मृतकको आत्मालाई पितृहरूसँग एकीकृत गर्ने निजी चेतना ब्रह्माण्ड चेतना
बन्नु अघिको सामूहिक वंशजको चेतना वा सूचनाको पक्षको प्रतिनिधित्व गर्दछ।
तेस्रो
सङ्केत हो सङ्क्रमणकालीन बिचको अवस्थाको सङ्केत। जसमा आत्मा अशान्त (प्रेत) अवस्था
बाट शान्त अवस्थामा रूपान्तरित हुन पितृ लोकमा पुगेर स्थिर स्थान प्राप्त गर्न
चाहने प्रवृत्तिको सङ्केत प्रस्ट गर्नु।
जस
अन्तर्गत, मानिसले वियोगको समयमा अत्यधिक
आत्मा समीक्षा गर्ने यथार्थ लाई सदुपयोग गर्न परिवारका सदस्यले समेत उल्लेखित
सङ्केत कुराहरू जीवनको यथार्थ र गन्तव्य वाट ज्ञान लिएर समयमै आफ्नो आध्यात्मिक
जिम्मेवारी पूरा गर्न र आफ्नो मनलाई शान्ति दिन सकुन् भन्ने उद्देश्य राखिएको छ।
त्यसो त
अथर्व वैदिक मान्यता अनुरूप सनातन संस्कृतिमा २१ को महत्त्व निकै ठुलो हुने गर्दछ।
२१ सङ्ख्या शुभता र पूर्णताको प्रतीक हो। यसले निम्न कुराहरू लाई समेट्ने
गर्दछ। १) पञ्च महाभूत (५ तत्व): पृथ्वी, जल, अग्नि, वायु, आकाश। २)
त्रिगुण (३ गुण): सत्त्व, रजस्, तमस्। ३)
चार पितृ (४ पुस्ता) ४) नवग्रह (९ ग्रह)। यी सबै नै ब्रह्माण्डको समग्रता र आपसी
परस्पर सम्बन्धलाई प्रतिनिधित्व गर्ने विषयहरू हुन्।
मृतकमको समयमा दोस्रो मृत्यु भएमा के गर्ने?
१. यदि
पहिलो मृतकमको समयमा दोस्रो मृत्यु पनि मृत्यु भयो भने परिवारले पहिलो १० दिन
मात्र नियम पालना गर्ने। त्यसलाई विस्तार गर्नु पर्दैन।
२. यदि
दोस्रो मृत्यु पहिलो मृतकमको अवधिको एक रात बाँकी रहँदा भयो भने आफन्तहरूले अर्को
२ रात र २ दिन पालना गर्ने गरिन्छ।
३. यदि
दोस्रो मृत्यु पहिलो अवधि पूरा भएको भोलिपल्ट बिहान भयो भने उनीहरूले अर्को ३ दिन
र ३ रात पालना गर्नुपर्छ।
४. यदि
त्यसपछि अर्को मृत्यु भयो भने पूर्ण अवधि छुट्टै बिधिको पालना गर्नुपर्छ।
सनातन पद्धतिमा गरिने ८४ पूजाको अन्तर्नयन:
तपाइले जे
खानु हुन्छ त्यो नै तपाइको शरीर बन्दछ।
तपाइले जस्तो विचारधारा अवलम्बन गर्नु हुन्छ त्यसैले तपाइको व्यक्तित्व र
आध्यात्मिक सुख दुखको पाटो निर्माण गर्दछ। जरुरत भन्दा अधिक खाना मात्र मल हुनेछ।
थोरै र ठिक्क खाए त्यही खाना बल हुन्छ। जीवनको वास्तविकताको सीमा भन्दा बाहिर
पुगेर गरिने अपेक्षा (आशा र भरोसा) आदिले जीवन लाई बेचैन बनाउने गर्दछ।
अपेक्षाहीनता र जीवनको वास्तविकताको सम्पूर्ण स्वीकृतिले जीवन आनन्दित बनाउने
गर्दछ।अपेक्षा र वास्तविकता बिचको दुरी जति धरै हुन्छ व्यक्तिको जीवन त्यति नारकीय
र चिन्ता तथा दर्द पूर्ण बन्दछ।अपेक्षा र वास्तविकता बिचको दुरी जति कम रह्यो
व्यक्ति त्यति आनन्दित र सुखी तथा खुसी रहन्छ।
तपाइले जे
खानु हुन्छ त्यसैको सार तत्व बाट तपाइको शरीरको शुक्राणु वा अण्डाणु समेत निर्माण
हुने गर्दछ। शुक्राणु र अण्डाणुको मिलनले
जीवनको अस्तित्वको वीज निर्माण गर्दछ। यसरी तपाइको खाना संग तपाइको जीवन मात्र
होइन जीवनको अस्तित्व समेत जोडिएको हुन्छ। त्यही जीवनको नियमित सम्भार र सञ्चालनको
लागि फेरी खानको नै भूमिका हुने गर्दछ।
आधुनिक
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, शुक्राणु र
अण्डाणु निर्माण लगायतका शरीरका विभिन्न कार्यहरू पूरा गर्न खानाबाट प्राप्त
पोषणहरूले मूल ऊर्जा र कच्चा पदार्थको भूमिका खेल्दछ। खाना शुक्राणु निर्माणमा
बदलिने वैज्ञानिक दृष्टिकोणको जैविक
प्रक्रिया अनुसार खानको पाचन र अवशोषणको लागि शरीर ले केही घण्टा देखि १ वा २ दिन
सम्मको समय लिन्छ। खाना पेट र आन्द्रामा ती खाना हरू पचाइन्छ र पोषण तत्वमा
(कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज
आदिमा) विभाजित गरिन्छ। यी पोषण तत्त्वहरू सानो आन्द्राबाट रगतमा अवशोषित बन्छन्।रगतमा
अवशोषित पोषण तत्व कलेजो (लिभर) र अन्य अंहरूको कोशिकाको ऊर्जा उत्पादन संयन्त्र
माइक्रोकोनड्रियामा हुने मेटाबोलिजम मार्फत ऊर्जा (ATP) मा
रूपान्तरित हुन्छ। जुन ग्लाइकोजन वा बोसोको रूपमा सञ्चय हुन्छ। खान बाट हामीलाई
उपलब्ध हुने प्रोटिन बाट प्राप्त हुने एमिनो एसिड हरू बाट शरीरले इन्जाइम, हर्मोन र
शरीरका संरचनाहरू बनाउन प्रयोग गर्दछ। जस वाट शुक्राणु समेत बन्दछ। हामीले नियमित
खाने खानाले शरीरको कोशिकाको मर्मत, प्रतिस्थापन, हर्मोन र
इन्जाइम उत्पादन जस्ता प्रक्रिया लगातार चलिरहने प्रक्रियाको रूपमा सञ्चालन गरिदिन्छ।
पोषणले कोशिकाहरू र विशेष गरी शुक्राणु उत्पादन हुने अण्ड कोषका (testes) कोशिकाहरू
स्वास्थ्य कायम राख्न मद्दत गर्छ। हर्मोन, विशेष गरी
टेस्टोस्टेरोन, शुक्राणु उत्पादनका लागि सहजीकरण
गर्दछ। जुन हामीले खाने चिल्लोमा पाइने कोलेस्ट्रोल बाट निर्माण हुन्छ।
नारीले
दिने अण्डा निर्माण गर्ने अण्डाणु भने उनी गर्भमै रहँदा उनको आमाले उनको गर्भाशयमा
जरुरत अनुरूपको सङ्ख्यामा राखी दिएकी हुन्छिन्। जसको कारणले गर्दा उनलाई जीवनभर
प्रजनन क्षमता प्राप्त हुन्छ। जन्मन भन्दा पहिले नै जब महिला गर्भमा रहन्छिन्, त्यस समयमा
नै नारीको अण्डाशयमा जीवनभर प्रयोग हुने अण्डाणु (oocytes) तयार
भइरहेका हुन्छन्। गर्भावस्थाको करिब २० हप्ताको समयमा उनमा अण्डाणुको सङ्ख्या करिब
६० लाख पुग्छ। उनको जन्म हुने समय सम्ममा यो घटेर करिब १० लाख मात्र रहन्छ।
किशोरावस्थाको सुरुवातसम्म यो सङ्ख्या झरेर करिब ३–४ लाखमा पुग्दछ। वयस्क नारीले
आफ्नो प्रजनन क्षमता रहे सम्म हरेक
महिनावारी चक्रमा १ अण्डा लाई परिपक्व बनाएर प्रजननका लागि तयार गर्दछिन्। जसको
स्वास्थ्य, संरक्षण र सुरक्षित विकासको पक्ष
खानाबाट प्राप्त पोषण, हर्मोनल सन्तुलन र शरीरको स्याहार
आदिमा निर्भर गर्दछ।
पुरुषको
अण्ड कोषको (testes) सेमिनिफेरस ट्युब्युल्समा शुक्राणु
(spermatogenesis) निर्माण हुने क्रममा पहिला
त्यहाँको स्टेम सेल (स्पर्माटोगोनिया) विभाजन भएर एक निश्चित आकार लिन्छ। यसरी बनेको प्राइमरी स्पर्माटोसाइट्स (Primary
Spermatocytes) मियोसिस (meiosis ) प्रक्रिया
मार्फत मार्फत शुक्राणुको हेप्लोइड (haploid spermatids) निर्माण
गर्दछ। जुन स्पर्मियोजेनेसिसको (Spermiogenesis) माध्यमबाट
पूर्ण रूपमा परिपक्व बनेको शुक्राणुमा रूपान्तरित हुन्छ। यसरी वयस्क उमेरको
व्यक्तिले खाएको खाना वाट शरीरले अण्ड कोषमा शुक्राणु निर्माण गर्न लगभग ७० दिन
लगाउने गर्दछ। शुक्राणु पुरुषको अण्डकोषमा नियमित रूपमा निर्माण हुने गर्दछ।
नियमित
रूपमा पुरुषमा निर्माण हुने शुक्राणु
निर्माण पछि अण्डकोष बाट शुक्राणु एपिडिडिमिसमा (Epididymis)
जान्छ जहाँ
शुक्राणुले गतिशील हुने शक्ति र डिम्बलाई गर्भधारण गर्ने क्षमताको विकास गर्छ।
आधुनिक विज्ञानले एपिडिडिमल परिपक्वता (Epididymal Maturation) भन्ने यो
चरण पुरा गर्न शुक्राणु लाई अधिकतम १४ दिन जति लाग्दछ।
समग्रमा
खानाको योगदानबाट शुक्राणु उत्पादन लागि खानको सर तत्व लाई ७० दिन लाग्दछ। त्यस्तै
खानको सार तत्वलाइ डिम्बलाई गर्भधारण गर्न जरुरी हुने शुक्राणुको गतिशीलता शक्ति
उपलब्ध गराउन र डिम्बलाई गर्भधारण गर्ने क्षमता प्रदान गर्न थप दिनको समय लाग्ने
गर्दछ। जुन जम्मा जम्मी ८४ दिनको हुने गर्दछ।
खान वाट
शरीरको निर्माण हुने सनातन वैदिक मान्यता अथर्ववेद अन्तर्गतको आयुर्वेदमा भेटिन्छ।
खानाको सार तत्वलाइ आयुर्वेदले रस भन्दछ भने शरीरको तन्तुहरूलाई धातु भन्दछ। जसलाई
मूलतः सात चरणमा विभक्त गरेर व्याख्या गरिन्छ। खानको सार कसरी सात वटा धातुहरू
जस्तै रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र
मार्फत परिष्कृत बन्दै अन्ततः शुक्र धातुमा (प्रजनन धातु) परिणत हुन्छ भन्ने
व्याख्या त्यहाँ भेटिन्छ। आयुर्वेदको अनुसार खानाको सार तत्व खानाको सार तत्व वाट
प्रजनन धातु निर्माण हुने प्रक्रिया करिब ३५ दिनमा पुरा हुने गर्दछ। जस अनुसार
खानाको सार तत्व खाना वाट पोषक रस अर्थात् रस धातु (प्लाज्मा) बन्न ५ दिन लाग्ने
गर्दछ। थप ५ दिनमा पोषक रस वाट रक्त धातु
(रगत) बन्दछ। रक्त धातु (रगत) वाट ५ दिनमा मांस धातु (मांसपेशी) बन्दछ। मांस धातु
वाट ५ दिनमा मेद धातु (बोसो) बन्दछ। मेद धातु वाट ५ दिनमा अस्थि धातु (हड्डी)
बन्दछ। अस्थि धातु वाट ५ दिनमा हड्डीको मासी
वा मज्जा धातु (हड्डीको मजा) बन्दछ। मज्जा धातु वाट ५ दिनमा शुक्र धातु
(प्रजनन धातु) बन्दछ। पोषण तत्व वाट शरीरको सबैभन्दा महत्त्वपूर्ण जीवन शक्ति
निर्माण गर्न भूमिका खेल्ने शुक्रकीट बन्न कम्तीमा ३५ दिन लाग्ने गर्दछ।
यसमा बिचको
परिपक्वता अवधि संलग्न छैन। जस्तै खाना
वाट खानको सारतत्व पोषण तत्व सार तत्व
पोषक रस बन्न ५ दिन लाग्दछ। तर त्यो पोषक रस वयस्क भएर रक्त धातु (रगत) निर्माण
गर्ने प्रक्रियामा जान कम्तीमा अर्को ५ दिन लाग्दछ। यसरी वयस्क बनेको पोषक रस (प्लाज्मा) रक्त धातुमा रूपान्तरण हुन अर्को ५ दिन लाग्दछ।
यसरी समग्रमा खाना वाट सारतत्व निर्माण भएर वयस्क शुक्र धातु बन्न ७० दिन लाग्ने
गर्दछ। आयुर्वेदको अनुसार समेत त्यसरी निर्माण भएको शुक्रकीट लाई सम्भोगको समयमा
डिम्ब सम्म पुगेर त्यसलाई लाई गर्भधारण गर्न चाहिने शुक्राणुको गतिशीलता शक्ति तथा
डिम्बलाई गर्भधारण गर्ने क्षमता विकास गर्न थप १४ दिनको समय लाग्ने गर्दछ। यसरी
जम्मा जम्मी ८४ दिनको समयमा खानको सार तत्वले एक जीवनको बिचको गर्भधारण गर्न
भूमिका खेल्ने गर्दछ। भ्रूण अवस्थाको हरेक दिन लाई जीवनको हरेक वर्ष बरावर हुने
ठानिन्छ। जस वाट व्यक्तिको पूर्ण आयु ८४ वर्ष हुने मानिन्छ। त्यसै बाट वैदिक
संस्कारमा ८४ पूजाको अवधारणा विकास भएको देखिन्छ। वैदिक संस्कारमा ८४ पूजाको
अवसरमा आफ्नो ८४ वर्ष जीवनको उत्सव समारोह गरी मनाउने गरिन्छ। जुन वैज्ञानिक
दृष्टिकोण तथा वैदिक आयुर्वेदिक दृष्टिकोण बाट समेत पुष्टि हुने गर्दछ।
८४ पुजा र १००८ पूर्णिमा
वैदिक
संस्कृतिमा ८४ वर्षको मानव उमेरलाई पूर्ण जीवन मानिन्छ। हाम्रो परम्परामा अबोध
बालक तथा ८४ वर्ष काटेका वृद्ध व्यक्तिलाई ईश्वरको प्रतिमूर्ति मान्ने चलन छ। अबोध
बालकले जीवनमा असीमित सम्भावना र उर्जाको प्रतीक दिन्छन् भने ८४ वर्ष पार गरेका
व्यक्तिहरूको आशीर्वादले जीवनमा नचाहिँदो र अवरोधपूर्ण अवस्थाहरू हटाउँदै
सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
हरेक
मानिसले अबोध बाल्यकाल त पूरा गरेकै हुन्छ। वैदिक परम्परामा कम्तिमा ८४ वर्षको
उमेर बाँच्ने जीवनलाई पूर्णता प्राप्तिको अवसर मानिन्छ। यो विचारधारा मानव जीवनको
आध्यात्मिक, खगोलीय, र
सांस्कृतिक सम्बन्धहरूको गहन अध्ययनमा आधारित छ। चन्द्रमाको चरणहरू र ब्रह्माण्डीय
चक्रहरूलाई मानव अस्तित्वको उद्देश्यसँग जोड्दै वैदिक परम्पराले १००८ चन्द्रमाको
अवधारणालाई अघि सारेको देखिन्छ। यो वैदिक दृष्टिकोणले ब्रह्माण्डीय सन्तुलन र
जीवनको परिपूर्णता बुझाउन सरल तरिकाले जटिल सम्बन्धहरू व्याख्या गर्दछ।
चन्द्रमालाई
पृथ्वीको पूर्ण चक्र पूरा हुन करिब २९.५३ दिन लाग्छ, जसलाई गणना
निम्ति ३० दिन मानिन्छ, जसले
हाम्रो महिना बनेको छ। प्रत्येक वर्ष १२ महिना हुने हुँदा त्यो १२ चन्द्र मासिक
चक्र हुने भयो, जसमा १२ पूर्णिमा हुन्छन्। मानिस
८४ वर्षसम्म जीवित रहँदा उसले ८४ × १२ = १००८
पूर्णिमाको अनुभूति गर्दछ। सूर्यको प्रत्यक्ष किरणले व्यक्तिको भौतिक उर्जा
निर्माण गर्दछ भने चन्द्रमा बाट परावर्तन भएर प्राप्त किरणले मानसिक र
मनोवैज्ञानिक उर्जा व्यक्तिमा उपलब्ध हुन्छ, जुन
अध्यात्मिक ज्ञानको मुख्य आधार हो। ८४ वर्षको मानव जीवनमा मानिसले १००८ पूर्णिमाको
यात्रा गर्ने हुँदा ८४ पूजाको उत्सव मनाउँदै गर्दा १००८ पूर्णिमाको समेत उत्सव
मनाइने गरिन्छ।
१००८
अंकलाई वैदिक परम्परामा प्रतीकात्मक रूपमा पवित्र मानिन्छ, जसले
पूर्णता र ब्रह्माण्डीय सन्तुलनको प्रतिनिधित्व गर्दछ। यो अंकलाई वैदिक दर्शनमा
दिव्यता र ब्रह्माण्डीय उर्जाको प्रतीकका रूपमा हेर्ने गरिन्छ।
८४ वर्षको
जीवनकालमा १००८ पूर्णिमा र १००८ अमावस्या हुन्छन्। यी चन्द्र चक्रका दुई विपरीत
अवस्थाहरू हुन्, जसले मानव जीवनलाई ब्रह्माण्डीय
सन्तुलनसँग हार्मोनिमा राख्न महत्वपूर्ण भूमिका खेल्छन्। पूर्णिमाले प्रकाश, उत्साह र
उर्जाको प्रतीक गर्दछ भने अमावस्याले विश्राम, आत्मचिन्तन
र नवीकरणको।
वैदिक
सनातन परम्परामा भगवान विष्णुका १००८ नामहरू र शिवका १००८ लिंगहरूको उल्लेख यी
चन्द्र चक्रहरूको पवित्रता र दिव्यता झल्काउन गरिएको छ। यसले मानव जीवनलाई
प्रकृतिको चक्रसँग सन्तुलित राख्न पूर्णिमा र अमावस्याको शक्तिको उपयोग गर्ने
प्रेरणा प्रदान गर्दछ। यसरी, व्यक्तिले
आफ्नो जीवनलाई ब्रह्माण्डीय चक्रको शुद्धता र सन्तुलनसँग जोड्न सक्दछ।
सनातन भनेको के हो?
संस्कृत शब्द "सनातन" (Sanātana) को अर्थ "अनादि" वा
"शाश्वत" हुन्छ। यसको व्यवहारिक चुरो कुरालाई यसरी बताउन सकिन्छ:
·
धर्म भनेको प्राकृतिक नियमको पालना गर्नु हो।
·
आफ्नो जिम्मेवारीको कर्म प्राकृतिक नियमको सिद्धान्तलाई
मानेर पूरा गर्नु भने सनातन धर्म हो।
·
पाप भनेको प्राकृतिक नियमको विरुद्धमा लाग्नु हो, जुन अज्ञानताबाट हुन्छ।
·
खराब नियतले गरिने पाप चाहिँ अपराध हो, जसले आफ्नै वा अर्को पक्षको हानि-नोक्सानी
गर्दछ।
·
पापबाट ज्ञान प्राप्त गरी मुक्त हुन सकिन्छ। अपराधको प्रतिफल
जुन जीवनमा त्यो गरियो, त्यही जीवनमा भोग्नुपर्छ।
·
यही कुरा बुझ्नु सनातन हो।
सनातन भन्नाले अनादि, शाश्वत र अविनाशी धर्मको पालना
गर्ने चित्त वृत्ति हो। सनातन दर्शनभित्र जीवन, ब्रह्माण्ड, धर्म, नैतिकता, कर्म, मोक्ष आदि विषयहरूको मिश्रण भेटिन्छ।
जुन दर्शन ज्ञान, भक्ति, कर्म, योग र तन्त्र जस्ता विभिन्न मार्गहरूबाट आत्म-साक्षात्कार
गरी आफ्नो जीवनको उच्च लक्ष्य प्राप्त गर्ने दिशामा आफूलाई लान सहायक बन्दछ।
सनातन परम्परामा ती विश्वासहरूलाई आफ्नो रीति-रिवाज, पर्वहरू र सामाजिक व्यवस्थाहरू
मार्फत समाजको जीवन निर्देशित गर्ने उद्देश्यले इनर इञ्जिनियरिङ गरिएको हुन्छ, जसअन्तर्गत विवाह, जनन, मृत्यु, पूजा-अर्चना, उत्सव र महोत्सवहरू समेतको परम्परा
स्थापित गरिएको हुन्छ।
सनातन आध्यात्मिकताको समाजमा इनर इञ्जिनियरिङ गर्न मानव
जीवनको उद्देश्य प्राप्तिलाई उसको कर्मको फलसँग जोडेर समाजलाई आफूले जीवनमा कुन बाटो
लिने, कस्तो परिस्थितिमा के गर्ने भन्ने
स्व-निश्चय गर्न सक्ने क्षमता विकास गरिने गरिन्छ। जसअन्तर्गत आत्म-ज्ञान, मोक्ष प्राप्ति र कर्मयोग जस्ता
अवधारणाहरू सिकाइने गरिन्छ। तर निर्णय गर्न भने व्यक्तिलाई नै स्वतन्त्र रूपमा छोडिन्छ।
व्यक्तिको जीवन अनुशासित बनोस् (यम-नियम) भनेर उसलाई सनातनमा जीवन र मृत्युको चक्र
उसको कर्मको फलको रूपमा पूरा हुने सामाजिक अभिमुखीकरण गरिन्छ।
यसरी सनातन भनेर हरेक व्यक्तिले स्वतन्त्र तर आनन्दित
रहेर आफ्नो जीवन जिउने कला प्राप्त गर्न आर्ट अफ लिभिङ सिकाउने उत्तम अवधारणा हो, जुन प्रकृति मैत्री जीवन अनुसरण
गर्ने हुन्छ। आफ्नो इमान्दार कमाइको धन, साधन र स्रोतबाट आफ्नो जीवनको आवश्यकता पूर्ति गर्ने नियत
लिएको हुन्छ। आफुमा अहिंसा युक्त विकल्प चुन्ने, नैतिक र मानवीयताले ओतप्रोत चित्त
वृत्तिको विकास गर्ने प्रवृत्ति हुन्छ। सम्पूर्ण प्रकृतिको समयको सीमाबाट पर पुगेर
सबैको लागि कल्याण हुने सत्य, शाश्वत र सार्वभौमिक मूल्य स्थापित गर्ने ज्ञानको खोजमा
आफुलाई समर्पण गर्दछ। आफ्नो जीवनका सहज पक्षलाई जीवनको उत्तम रसको रूपमा ग्रहण गर्दछ।
जीवनका असहज र दर्द युक्त क्षणलाई जीवनका सिक्नुपर्ने अवसरको रूपमा लिएर सबै प्रति
जीवनमा धन्य रहन्छ।
त्यसैले सनातन भनेको अर्काको अस्तित्वलाई पूर्ण रूपमा
स्वीकारेर, अर्काको विचारलाई समेत सम्मान
गरेर सहज प्रकृति मैत्री जीवन जिउने जीवन पद्धति हो, जुन सम्पूर्ण रूपमा आफ्नो विवेकको
आधारमा चल्ने गर्दछ। जहाँ आफ्नो विवेकको निर्माणको लागि सनातन ज्ञानबारे आफूलाई अभ्यस्त
गरिन्छ।
गरुडका उपयोग र काम अनुसारका
विभिन्न नाम:
ब्रह्माण्ड चेतना विभिन्न प्रकृतिका प्राकृतिक सूचनाहरू
निर्मित भेटिन्छन्। ती सूचनाहरू जुन सृष्टिको सृजनात्मक पक्षको निर्माण संग सम्बन्धित
छन्, त्यसलाई ब्रह्म चेतना वा ब्रह्मा
भनिएको छ। सृष्टिलाई चलायमान राख्ने र सन्तुलन बनाउने सूचनाहरूलाई विष्णु चेतना भनिएको
छ, जसलाई पालनकर्ता शक्ति विष्णु
भनिन्छ।
स्व-चलायमान रहेको सृष्टिमा उत्पन्न विकृति हटाउन वा नियमित
संचालनको अनुभवले विकास गरेको नयाँ ज्ञानको समेत संयोजन गरी त्यसलाई सच्चाउन वा झन्
उत्कृष्टता थप्ने आदि कारणले नयाँ सृष्टिको निर्माणको प्रयोजनमा पुरानो अस्तित्वलाई
नष्ट गर्ने चेतनालाई महेश चेतना भनिन्छ। महेशलाई विनाशकर्ता शिवको रूपमा बुझिन्छ। जसरी
तपाइलाई यात्रा गर्न कि तपाइको शरीर वा मन वा बुद्धि वा कुनै यन्त्रको सहयोगको जरुरत
पर्दछ, त्यसरी नै प्रकृतिमा जहाँ जरुरी
पर्दछ त्यहाँ विष्णु चेतनाको उपलब्धता गर्न कुनै रूपको यात्राको बाहन र कार्य सम्पादन
गर्ने उपाय, उपकरण आदिको जरुरी हुन्छ।
विष्णु चेतनाले उपयोग गर्ने ती शक्ति मूलतः वायुको गतिमा
रहने प्रकृतिको हुन्छ, जसलाई गरुड भनिएको छ। जसरी फरक
फरक भूमिकाका कारण एकै नारीलाई कसैले छोरी भन्छ, कसैले पत्नी भन्छ, कसैले आमा भन्छ, त्यस्तै सृष्टिलाई चलायमान राख्ने र सन्तुलन बनाउन जरुरी
हुने विष्णु चेतनाको फरक फरक भूमिकालाई सहयोग पुग्ने गरी विष्णु चेतनाको बाहनको फरक
फरक प्रकृतिको गुण र सामर्थ्यको उपयोग हुने गर्दछ।
यसरी फरक फरक सन्दर्भमा उपयोग हुने गरुडको क्षमता अनुसार
विष्णु चेतनाको बाहन गरुडलाई फरक फरक नामले सम्बोधन गरिन्छ।
गरुड (Garuda) - संसारको संचालनको विविध पक्ष
अवलोकन गर्ने क्रममा रहेका विष्णु चेतनाको यात्रा गर्ने साधन वा बाहन।
सुपर्ण (Suparna) - सुन्दर प्वाँख - जुन सूचनाको
सम्प्रेषण गर्दा त्यसको सुरक्षा, उत्तम डिजाइन
र कार्यको प्रभावकारिता संग सम्बन्धित हुन्छ।
गरुत्मान् (Garutman) - जसको प्वाँख छ - जुन सूचनाको
संप्रेषण गर्ने क्षमता संग सम्बन्धित हुन्छ।
वैनतेय (Vainateya) - विनता पुत्र - जसले सूचना प्रस्तुतिको
शालीनता र भद्रताको पक्ष संग सम्बन्धित हुन्छ।
नागान्तक (Nagantaka) - विषालु सर्प रूपी विषको दुष्टताको
नाश गर्ने - प्राकृतिक नियम विपरीतका गतिविधिहरू सच्याएर नियम अनुकूल गर्ने क्षमता
संग सम्बन्धित।
नागभीषण (Nagabhishana) - विषालु सर्प रूपी विषको दुष्टता
निर्माण गर्ने पक्षलाई त्रसित पार्ने - प्राकृतिक नियम विपरीतका गतिविधिहरू संचालन
गर्ने वृत्ति आदिलाई सो कार्य सुरु गर्नु अघि नै निस्तेज गरिदिने क्षमता संग सम्बन्धित
(कन्ट्रोल बाइ डिजाइन)।
जितान्तक (Jitantaka) - मृत्युको विजेता - प्राकृतिक
नियम अनुकूलका गतिविधिहरू विभिन्न कारणले रोकिन जानबाट रोक्ने क्षमता सम्बन्धित (कन्ट्रोल
बाइ एसुरेन्स)।
विषारि (Vishari) - विषाक्तता निस्क्रिय गर्नु -
संचालनमा रहेका प्राकृतिक नियम विपरीतका गतिविधिहरू निस्क्रिय गर्नु संग सम्बन्धित।
अजित (Ajit) - अपराजित ज्ञानको क्षमता - प्राकृतिक
नियमको परिपालन गराउने अपराजित क्षमता सम्बन्धको।
विश्वरूपी (Vishwarupi) - विश्वव्यापी रूपमा उपलब्धता
- जरुरतको हरेक स्थानमा उपलब्धता रहने क्षमता सम्बन्धको।
खगश्रेष्ठ (Khagashreshtha) - चराहरू मध्ये सबैभन्दा उत्तम
- सबैभन्दा इनोभेटिव र उत्कृष्ट उपयोगिताको गुण संग सम्बन्धित।
तार्क्ष्य (Tarkshya) - जरुरत अनुसार तीब्र र प्रभावकारी
गति युक्त - सही समयमा पुगेर अनपेक्षित प्राकृतिक प्रलय हुन दिने गरी प्राकृतिक नियमहरूको
उल्लंघन हुनबाट रोक्ने क्षमता सन्दर्भको।
कश्यपनन्दन (Kashyapanandana) - कश्यप पुत्र - सृष्टिको संचालनको
लागि असंख्य सजीव र निर्जीव पक्षको अस्तित्व जन्म, पुनर्जन्म, टुक्राउने, जोड्ने जस्ता असीमित सृष्टिको
नियमितता कायम गर्ने शक्ति संग सम्बन्ध।
गरुडका यी बाहेक अत्यन्त धेरै नामहरू भेटिन्छन्। कारण
एकै बाहन रहेता पनि फरक फरक भूमिका पूरा गर्न त्यसको फरक फरक क्षमताको र भूमिकाको उपयोग
गर्न जरुरी पर्दछ। ती कुराहरू सहज रूपमा व्यक्त गर्ने पौराणिक कथा हरुमा हरेक प्रकृतिको
शक्तिलाई फरक फरक नाममा पुकारिने गरिन्छ, जुन पुस्तौं
पुस्ता सूचना प्रवाहको अत्यन्त वैज्ञानिक तरिका हो।
तसर्थ, जब हामी गरुड
शब्द सुन्दछौं, तब त्यसलाई यान्त्रिक बनेर कुनै चराको भूमिका वा विष्णु
चढेर हिँड्ने बाहनको भूमिकामा सीमित गरिएको मनोविज्ञानले हाम्रा सनातन संस्कृतिका कथा आदिको सूचना सही रूपमा
ग्रहण गर्न सम्भव रहँदैन भन्ने कुरा जान्न जरुरी छ।