समर्पण


प्रकाशक: क्यानेडियन वैदिक हेरिटेज। कपिराइट © २०२५ ।



तपस्या: वैज्ञानिक जीवनयात्रा


मेरा पूज्य पिताजीले एक ब्रह्मज्ञानी, डा. क्षितीशचन्द्र चक्रवर्तीलाई आफ्नो गुरु मान्नुहुन्थ्यो। त्रिचन्द्र कलेजमा अङ्ग्रेजीका प्राध्यापक रहेका बङ्गाली मूलका डा.  चक्रवर्ती गहन विद्वान् हुनुहुन्थ्यो। 


पिताजी सधैँ मलाई भन्नुहुन्थ्यो –


“तेरो चरित्र र स्वभाव थानेदारजस्तो छ। जीवनमा सफल हुन चाहन्छौ भने, तिमी जेलको थानेदार बन्नु।”

तर समयको चक्रले मलाई अर्कै बाटोमा मोडिदियो। म थानेदार बन्ने परीक्षामा असफल भएँ, तर नियतिले मलाई प्रवासमा खाद्य तथा औषधि विज्ञानको क्षेत्रमा ल्याइपुर्‍यायो।


सन् २०१९ को सुरुमा मैले पिताजीलाई सोधेँ:

“बुबा, तपाईंको छोराले तपाईंको लागि के गर्न सके हुन्थ्यो भन्ने चाहना छ?”

जवाफ दिन उहाँलाई करिब २५ मिनेट लाग्यो। उहाँले डा. चक्रवर्तीको ‘वेदान्त सर्वस्व’ को पृष्ठ ५७ देखाउँदै त्यहाँका प्रत्येक शब्दको अर्थ विस्तारसँग बुझाउनुभयो। 

अनि भन्नुभयो:

“हाम्रा गुरु भन्नुहुन्थ्यो – हामीले शास्त्रका कुराहरूलाई केवल निर्देशन मात्र दिइरहेका छौँ। तर कुनै दिन हाम्रा सन्तान वा शिष्यहरूले यिनै कुराहरूको वैज्ञानिक सत्यता खोजेर संसारलाई बुझाउनेछन्।”


म क्यानडामा काम गरिरहेको बेला कसैले मेरो काम  पिताजीलाई फुसफुसाए छन्। त्यसपछि उहाँले भन्नुभयो,

“यदि सक्छौ भने, यस विषयमा पनि केही समय दिनू।”


थानेदारजस्तो स्वभाव छ भन्नुहुने पिताजीको विचार अचानक बदलिनु मेरो लागि सातौँ आश्चर्य सरह थियो।


उहाँको आग्रहलाई शिरोधार्य गर्दै मैले ‘वेदमा विज्ञान’ लगायत करिब दस पुस्तिका लेखें, ‘वैदिक भेला’ जस्ता पोर्टलहरू निर्माण गरें, र ‘TalkVeda.com’ नामक प्लेटफर्म मार्फत वैदिक ज्ञानको वैज्ञानिक पक्ष खोज्ने प्रयास प्रारम्भ गरें। रोबोटिक गुरुकुलका लागि Canadian Vedic Heritage स्थापना गरें। त्यस क्रममा बुझेका र पाएका अनुभवहरू मैले Canadian Reporter नामक ब्लगमा लेख्न थालेँ र पाठकहरूको प्रतिक्रियाबाट थप सत्यता खोज्ने प्रयास गरिरहेँ। 


यो क्रम आजसम्म पनि निरन्तर चलिरहेको छ।


आफ्नो 'थानेदार चेतना'लाई परिष्कृत गर्दै आवश्यक चेतनाको स्तर प्राप्त गर्ने प्रयासमै थिएँ, यसबीच मेरा पूज्य पिताजी केही वर्ष अघि ब्रह्मलीन हुनुभयो। त्यो क्षणमा, मलाइ हाम्रो शास्त्रको गहिरो स्वरूप बोकेको गरुड पुराण समाजमा प्रायः अनर्थका रूपमा पुगेको देख्दा हृदय चिरचिरिएको अनुभूति भयो । 


मन्दिरहरूको स्थापनाको औचित्य हाम्रो शरीरको एनाटोमीसँग सम्बन्धित छ भन्ने गहन सत्य समाजमा पु¥याउन नसकिएको देख्दा मलाई निकै औडाहा भयो।


हाम्रो शरीरभित्र जे जति  प्रकारका रोग हुन्छन्, तिनको उपचार शक्ति त्यत्तिकै प्रकारका सारतत्वहरूमा हुन्छन्। यिनै तत्व ज्ञानलाई ऋषि–मुनीहरूले भगवानका अनेक नाम मार्फत समाज सम्म पुर्‍याउने महान् अभ्यास गरेका थिए। तर त्यो ज्ञान र गायन समाजमा राम्रो सँग नपुगेको कठोर यथार्थ समेत मैले  देखें। आफैले भोगे ।  यसले मलाई निराशा हैन  हैरानी दियो ।


सीमित स्रोत र अज्ञानको भारी बोकेको मेरो लागि तत्काल मैले यसमा के गर्न सक्छु भन्ने प्रश्नमा  कुनै ठोस उपाय सुझेन। 

उपाय  खोज्दै जाँदा एक महत्त्वपूर्ण अनुभूति भयो – परम्परागत तपस्या नै हाम्रो जीवन यात्राको मूल मार्गदर्शन रहेछ । 

आजसम्म भएका सबैनै वैज्ञानिक सत्य अन्वेषणको उपाय पनि  तपस्या नै रहेछ। 


किन हो ! त्यसलाई पहिला  बाहिर ल्याउनु उचित हुने मैले महसुस गरेँ, र यही बोधको उपज स्वरूप यो एघारौँ पुस्तक तयार भयो। 

यो ई-पुस्तक पनि इच्छुक पाठकसमक्ष निशुल्क उपलब्ध हुनेछ।


यस कृतिले मेरो पिताजीले भन्नुभएको “तिमी तिम्रो स्वभाव र बुद्धिमा नेपालको  थानेदार बन्न लायक छौ” भन्ने विचारलाई कुनै अर्थमा पुष्टि गरेको छ। किन कि यो जुन उचाइमा र  पूर्ण गहिराईमा पुग्न सक्दथ्यो त्यहाँ पुग्न सकेन । 


तर तिमी तिम्रो आफ्नो जीवनको थानेदार हौ भन्ने संकेत भने गर्न सकेको छ।


यसले यथार्थको  गहिराइ जरूरत अनुरूप छुन नसकेको आत्मस्वीकृति सहित  मैले यो पुस्तक पिताजीलाई नै समर्पण गरेर प्रकाशन गर्ने निर्णय गरेको हुँ।


मलाई लाग्छ – पिताजी आफ्नो जीवनको उद्देश्यमा सफल हुनुभयो। यस्तो सौभाग्य अति कम मानिसलाई मात्र उपलब्ध हुन्छ। 

जीवनमा चाहना सानो राख्दा नै ठूलो लक्ष्य सहज पुग्न सकिन्छ भन्ने सत्य उहाँको सफल र सरल जीवनको रहस्य रह्यो।


मेरो आफ्नो पुस्तक लेखन यात्राबारे कुरा गर्दा, म  संग तमाम साधन श्रोतको अभाव वीच अझै पनि आफुलाई अनुभूति भएका केहि लेखनै पर्ने  विषयहरूमा लेख्ने जाँगर  र चाहना बाँचिरहेकै छ । 


त्यसको लागि ईश्वरप्रति कृतज्ञ छु। पिताजीको आशीर्वाद, तपाईँहरुको माया र ईश्वरको इच्छा भए, आवश्यक उपाय अवश्य जुट्नेछन्। 


ॐ तत् सत्॥