भाग २: पौराणिक तपस्या कुम्भक

आयुर्वेद (Ayurveda) संसारको एक मात्र चिकित्सा प्रणाली हो जसले केवल रोग–निवारण मात्र होइन, स्थायी खुशी (Lasting Happiness) प्राप्त गर्ने मार्ग र आत्म–बोध (Self-realization) को लक्ष्य पनि प्रदान गर्छ। यसैले प्राणायाम र कुम्भक अभ्यासलाई आध्यात्मिक मार्गको (Spiritual Path) आवश्यक पाटो मानिन्छ।

 

कुम्भक (Kumbhak) प्राणायाम (Pranayama) अभ्यासको एक महत्त्वपूर्ण अवस्था हो, जसलाई हठयोग प्रदीपिका (Hatha Yoga Pradipika) र घेरण्ड संहिता (Gheranda Samhita) जस्ता शास्त्रीय ग्रन्थहरूले विस्तारपूर्वक वर्णन गरेका छन्। हठयोग प्रदीपिका (2.71) मा भनिएको छ: “यावद्वायुः स्थितो देहे तावत्प्राणाः प्रतिष्ठिताः । वायुनिरोधेन यथा मृत्युर्न जैायते ॥” अर्थात् जबसम्म शरीरमा वायु (श्वास) रहन्छ तबसम्म प्राण पनि रहन्छ, र वायु नियन्त्रण (कुम्भक) द्वारा मृत्यु समान अवस्थालाई पनि जित्न सकिन्छ। यसरी कुम्भक अभ्यासलाई जीवन–ऊर्जा (Vital Energy) नियन्त्रणको उपायका रूपमा बुझिन्छ।

 

कुम्भकका तीन प्रमुख प्रकार उल्लेख गरिएका छन्— (१) अन्तःकुम्भक (Antah Kumbhak), जहाँ श्वास भित्र तानेर रोकिन्छ, (२) बाह्यकुम्भक (Bahya Kumbhak), जहाँ श्वास बाहिर फ्याँकेर रोकिन्छ, र (३) केवल कुम्भक (Keval Kumbhak), जहाँ अभ्यासले स्वाभाविक रूपमा श्वास रोकिन्छ। यी तीनै अभ्यासहरूले शरीरका नाडी (Nadis) शुद्ध गर्ने, प्राण–वायु (Prana Vayu) सन्तुलनमा ल्याउने र मन–बुद्धि शान्त गर्ने प्रभाव पार्दछन् (घेरण्ड संहिता 5.80–81 मा यसको लाभ विस्तारपूर्वक व्याख्या गरिएको छ)।

 

हाइपोक्सिया (Hypoxia) आधुनिक चिकित्साशास्त्र (Modern Medicine) अनुसार शरीर वा कोषहरूमा अक्सिजन (Oxygen) को आपूर्ति कम हुने अवस्था हो। सामान्यतया यो खतरनाक वा अस्वस्थ अवस्था मानिन्छ जसले मस्तिष्क, हृदय वा मांसपेशीलाई क्षति पुर्‍याउन सक्छ। तर, योग–आयुर्वेदमा अभ्यास–नियन्त्रित हाइपोक्सियालाई (Controlled Hypoxia) उपयोगी मानिन्छ। Controlled Hypoxia भन्नाले कुम्भक अभ्यासको क्रममा शरीरमा अस्थायी रूपमा अक्सिजन कमी हुन्छ, जसले शरीरलाई कार्बन डाइअक्साइड (Carbon Dioxide) सहनशक्ति बढाउन, श्वसन प्रणाली (Respiratory System) र रक्तसञ्चार प्रणाली (Circulatory System) लाई बलियो बनाउन, र मनलाई स्थिर बनाउन मद्दत गर्छ।

 

घेरण्ड संहिता (5.92) मा भनिएको छ: “प्राणायामो महाबन्धो देहानां जीवितं धनम् ।” प्राणायाम (जसमा कुम्भक पनि पर्छ) शरीरको जीवनधन हो, किनभने यसले आयुष्य बढाउने, रोग–प्रतिरोधात्मक शक्ति (Immunity) बढाउने र मानसिक–आध्यात्मिक उन्नति (Spiritual Elevation) गर्ने सामर्थ्य राख्छ।

 

यसरी हेर्दा वैज्ञानिक दृष्टिले (Scientific View) कुम्भक अभ्यासले शरीरलाई controlled hypoxia मा पुर्‍याउँछ, जसले शारीरिक सहनशीलता (Tolerance) र श्वसन प्रणालीलाई मजबुत बनाउँछ। आयुर्वेदिक दृष्टिले (Ayurvedic View) यो प्राणको नियन्त्रण हो, जसले मन, बुद्धि र चेतनामा शुद्धता ल्याउँदै आत्म–साक्षात्कार (Self-realization) तर्फ डोर्याउँछ।

 

तर, ध्यान दिनुपर्ने कुरा के हो भने अनियन्त्रित वा अत्यधिक समयसम्मको हाइपोक्सिया स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यसैले कुम्भक अभ्यास सधैं अनुभवी गुरु वा चिकित्सकको मार्गदर्शनमा गर्नु उपयुक्त हुन्छ।

 

सास (Breath) भन्नाले जीवनको यस्तो शक्ति बुझिन्छ जुन विगतमा रहँदैन र भविष्यमा पनि रहँदैन। सास केवल वर्तमान क्षणमै हुन्छ।  यही “वर्तमानतामा” आफुलाई केन्द्रित गर्न अयुर्वेदले योग (Yoga) र प्राणायाम (Pranayama) लाइ दैनिकीको मूल आधार बनाउने गरेको मानिन्छ। यही कारणले, शास्त्रहरूले सासलाई जीवन–ऊर्जाको (Vital Energy) प्रवेशद्वार समेत भनेको हुन्।

 

सामान्य रुपमा आयुर्वेदमा कुम्भक (Kumbhak) भन्नाले श्वासलाई केही समय नियन्त्रणपूर्वक रोक्ने प्रक्रिया नै हो। जब कुम्भक अभ्यास गरिन्छ, शरीरमा अस्थायी रुपमा अक्सिजनको कमी (हाइपोक्सिया - Hypoxia) हुन्छ। सामान्य अवस्थामा यो कमी हानिकारक मानिए पनि, नियन्त्रित अभ्यास मार्फत विकसित गर्न सकिने यो प्रकृतिको नियोजित अस्थायी अक्सिजनको कमीका कारण शरीरमा एक प्रकारको आन्तरिक स्व–उपचार (Self-healing mechanism) प्रक्रिया सक्रिय हुन्छ। जसको फलस्वरूप मुटुले बढी मात्रामा रगत खिच्छ। जसले रक्तसञ्चारलाई तीव्र पार्छ। जसले शरीरको भित्री अङ्गहरूमा नयाँ ताजगी ल्याउँन भूमिका खेल्दछ।

 

वैज्ञानिक दृष्टिले यसको पुनरावलोकन गर्दा कुम्भकले रीरमा अक्सिजन आपूर्ति अस्थायी रूपमा घटाउने काम गर्दछ। त्यसो हुदै गर्दा कोशिकामा एटीपी (ATP – Adenosine Triphosphate) उत्पादनमा केही समयका लागि कमि हुन जान्छ। एटीपीको उत्पादन घट्दा कोशिकाको बाहिरी झिल्लीमा (Outer Membrane) विद्युतीय चार्ज कम हुन पुग्दछ। यस अवस्थाले अक्सिजन आपूर्तिको सर्टेज हुन सक्ने र उर्जाको उपयोगमा पनि मितव्ययिता अपनौना पर्ने अबस्था आउन सक्ने संदेश संचार हुन जाने हुँदा कोशिकाहरु सजग हुन पुग्दछन। त्यहि समयमा जव पुनः अक्सिजन आपूर्ति सुचारु बन्छ तव कोशिकाहरू समुहमा सक्रिय रुपमा बाँधिएर अझै प्रभावकारी रुपमा कार्य गर्न थाल्छन्। जसलाई आधुनिक विज्ञानले controlled hypoxia adaptation भन्दछ।


सामान्य अवस्थामा कोशिकाहरुले निरन्तर अक्सिजन (Oxygen) आपूर्ति मा आफ्नो गतिविधिहरू सञ्चालन गरिरहेको हुन्छन। कुम्भक गर्दा हुने अस्थायी रुपमा  अक्सिजनको घटेको आपूर्तिले  कोशिकाहरुमा हल्का तनावको (Mild Stress) अवस्था बनेको हुन्छ। जब शरीरले कोशिकाहरुमा तनाव बढेको महसुस गर्छ, तब त्यसले आफ्ना सुरक्षा प्रणालीहरू (Protective Mechanisms) सक्रिय पार्दछ। त्यसले थप नयाँ एन्टिअक्सिडेन्ट (Antioxidant) उत्पादन गर्ने र कोषहरूको मर्मत प्रक्रिया (Repair Mechanism) समेत सुरु गरिदिन्छ। जसको कारण रोग–प्रतिरोधात्मक क्षमता (Immunity) बढ्न पुग्दछ। कुम्भक अभ्यासपछि यही कारणले शरीरलाई नयाँ उर्जा (Rejuvenation) प्राप्त भएको अनुभव हुन्छ। कुम्भक (Kumbhak) अभ्यासले शरीरका कोष (Cells) खुम्चिने (Shrinkage) वा चाँडै नष्ट हुने (Degeneration) प्रवृत्तिलाई समेत रोक्छ।

 

सरल भाषामा भन्नुपर्दा, सास (Breath) भनेको वर्तमान क्षणमा मात्रै अनुभव गर्न सकिने जीवन–शक्ति हो। त्यसैले सास नै वर्तमानमा रहने अभ्यासको प्रवेशद्वार हो। कुम्भक अभ्यासले यही सासलाई नियन्त्रणमा लिएर स्व–उपचार (Self-Healing) गर्ने प्राकृतिक क्षमतालाई सक्रिय गर्छ। आयुर्वेद (Ayurveda) को दृष्टिमा, यस्तो अभ्यास केवल शरीरलाई स्वस्थ राख्ने माध्यम मात्र होइन, बरु स्थायी सुख (Lasting Happiness) प्राप्त गर्ने र आत्म–साक्षात्कारको (Self-Realization) मार्गमा अघिबढ्ने साधन पनि हो।

 

कुम्भक (Kumbhak) अभ्यासको समयमा कतिपय व्यक्तिहरुले आयुर्वेदिक जडीबुटी (Herbs) वा औषधिहरू समेत लिने गर्दछन। त्यस्ता औषधिहरू विशेषगरी कलेजो (Liver) मा कठोर प्रभाव पार्न सक्ने हुन सक्दछन। तसर्थ कुम्भक अभ्यास वा औषधिको प्रयोग अनुभव प्राप्त व्यक्ति वा योग्य चिकित्सकको सल्लाह विना नगर्नु वा सेवन नगर्नु उपयुक्त हुन्छ। प्राणायाम, कुम्भक जस्ता कार्यमा जडीबुटीहरूको आधा–अधुरो ज्ञानका आधारमा गरिने गलत प्रयोगले लाभभन्दा हानि धेरै गरिदिने सम्भावना हुन्छ।


हाम्रो शरीरभित्र अद्भुत स्व–उपचार (Self-Healing Mechanism) छ। यो क्षमताले हरेक रोगलाई आफैं निको पार्ने शक्ति राख्छ, तर यसलाई सक्रिय बनाउन हामीले शरीरलाई सही वातावरण दिनुपर्छ। सही वातावरण भन्नाले स्वच्छ जीवनशैली (Clean Lifestyle)  शुद्ध आहार, स्वच्छ विचार, नियमित दिनचर्या र सन्तुलित व्यायाम हो। आजको व्यस्त जीवनशैलीमा यी सबै कुरा पालन गर्न कठिन हुन्छ, त्यसैले छोटो तर प्रभावकारी उपाय हो – सास नियन्त्रण (Breath Hold) अर्थात् कुम्भक (Kumbhak)। कुम्भकले स्व–उपचार संयन्त्रलाई सक्रिय गर्छ।

 

क्रिया योग (Kriya Yoga) मा विभिन्न श्वास प्रविधिहरू छन्, जसको संख्या करिब ११४ मानिन्छ। यी अभ्यासहरूले शरीरमा गहिरो परिवर्तन ल्याउँछन्। जस्तै मानसिक स्पष्टता बढ्छ, स्मरणशक्ति (Photogenic Memory) तीक्ष्ण हुन्छ, मन–मस्तिष्क स्थिर हुन्छ। चाहे अलोम–विलोम होस्, नाडी शोधन होस्, गहिरो सास होस् वा कुम्भक, यी सबै अभ्यासहरूको शारीरिक प्रभाव के हो भन्ने कुरा आजको युगमा विज्ञानसँग जोडेर बुझ्न आवश्यक छ।

 

मानव शरीर करिब ३७ ट्रिलियन (37 trillion)  मतलब खरबौं (trillions) कोशिकाहरू बाट बनेको हुन्छ। हरेक कोशिकामा न्युक्लियस (Nucleus) र माइटोकन्ड्रिया (Mitochondria) हुन्छ। माइटोकन्ड्रियाको काम हो ऊर्जा - एटीपी (ATP – Adenosine Triphosphate) उत्पादन गर्ने। एटीपीकै कारण कोशिकाले सन्देश आदान–प्रदान गर्छ, आफ्नो काम गर्छ र छिमेकी कोशिकासँग सन्तुलनमा रहन्छ।

 

कोशिकाको बाहिरी झिल्लीमा (Outer Membrane) हुने विद्युत् चार्जलाई माइटोकन्ड्रियल मेम्ब्रेन पोटेन्सियल (Mitochondrial Membrane Potential – MMP) भनिन्छ। जसरी तपाईंले घरको कम्पाउन्डमा तार तानेर त्यसमा करेन्ट प्रवाह गरी घरलाई सुरक्षा गर्नुहुन्छ, त्यसैगरी कोशिकाको झिल्लीमा एटीपी (ATP) बाट उत्पन्न हुने चार्जले (MMP) कोशिकालाई सुरक्षा गर्छ र त्यसको कार्यक्षेत्र निर्धारण गर्छ। यो चार्जले कोशिकालाई विष (Toxins), ब्याक्टेरिया, फङ्गस वा हानिकारक स्वतन्त्र रेडिकल (Free Radicals) बाट जोगाउँछ। तर जब हामी अस्वस्थ जीवनशैली अपनाउँछौं – समयमा खाना नखाने, समयमा नसुत्ने, अत्यधिक बोसोयुक्त खाना खाने, मदिरा सेवन गर्ने  कार्यले माइटोकन्ड्रिया कमजोर हुन्छ। माइटोकन्ड्रिया कमजोर भएपछि एटीपी उत्पादन घट्छ, झिल्लीको चार्ज कम हुन्छ। यसरि कमजोर र सिथिल बनेको कोशिकाले विष वा रोगकारकलाई सजिलै कोशिका भित्र प्रवेश गर्न दिन्छ।

 

शरीरले काम नगर्ने खराब थोक (Bulky) माइटोकन्ड्रियालाई सफा गर्ने आफ्नै प्रणाली बनाएको हुन्छ। जसलाई माइटोफेजी (Mitophagy) भनिन्छ। यसमा पहिलो काम PINK1 प्रोटिनको हुन्छ। जसले बिग्रिएको माइटोकन्ड्रिया छान्छ र त्यसको बाहिरी भागमा टाँसिन्छ। त्यसपछि PINK1 ले अर्को सहायक Parkin प्रोटिन लाई बोलाउँछ। Parkin ले “यो माइटोकन्ड्रिया अब प्रयोगको लागि ठीक छैन, यसलाई हटाउनु पर्छ” सं भन्ने केत (Signal) जारि गर्दछ।

 

जसरी घरमा अनावश्यक फर्निचर वा रद्दी सामानलाई छुट्याएर प्रयोग योग्य र अनुपयोगी छुट्याउने गरिन्छ त्यसै गरि त्यसैगरी शरीरले पनि खराब माइटोकन्ड्रिया वरिपरि घेरा हाल्छ। त्यसपछि Autophagy (अटोफेजी) भन्ने प्रक्रिया सुरु हुन्छ, जसले खराब भागलाई तोड्छ, उपयोगी भागलाई पुनःप्रयोग (Recycle) गर्छ र अनुपयोगी भागलाई शरीर बाट छुट्याएर बाहिर फालिदिन्छ।

 

यसरी माइटोफेजी र अटोफेजी मिलेर शरीरले कोशिकाको सरसफाई गर्छ। यदि यो प्रक्रिया राम्ररी चलिरह्यो भने कोशिकाहरू स्वस्थ रहन्छन्, अंगहरू राम्रोसँग काम गर्छन् र रोगहरु लाग्नबाटबाट शरीर बच्छ। तर जीवनशैली बिग्रँदा वा दीर्घकालीन तनाव हुँदा यो प्रक्रिया ढिलो हुन्छ। ढिलो हुँदा यी थोक कोशिकाहरू बढ्दै जान्छन्, जसले अंगहरू (जस्तै कलेजो, मुटु, फोक्सो) कमजोर बनाउँछ। त्यही समयमा यदि यी कोशिकाहरू अझै उत्परिवर्तन (Mutation) भएर आफैं अधिक मात्रामा बढ्न सिके भने, तिनीहरूले क्यान्सरजस्ता गम्भीर रोग जन्माउँछन्। यसैले भन्न सकिन्छ – चाहे तीव्र रोग होस् वा दीर्घकालीन रोग, यसको मूल कारण माइटोकन्ड्रियाको कमजोरी नै मुख्य हुने गर्दछ।

 

हाम्रो शरीर कस्तो रोग लाग्छ भन्ने कुरा ठूलो मात्रामा आनुवंशिकता (Genetics) मा निर्भर गर्छ। जन्मिँदा हामीले केही जीनहरू आफ्ना पूर्वजहरूबाट पाउँछौं, तर जीवनशैली र सोचाइले पनि हाम्रो शरीरमा नयाँ छाप (Impression) बसाल्छ, जसलाई फिनोटाइप (Phenotype) भनिन्छ। त्यसैले, तपाईंका अटोइम्यून रोगहरू, आनुवंशिक समस्या, दीर्घकालीन जीवनशैलीका रोगहरू वा तीव्र संक्रमणहरू सबैमा एउटा कुरा हुन्छ—प्रतिरक्षा प्रणाली (Immune System) कमजोर हुनु। प्रतिरक्षा कमजोर भए पछि कुनै पनि भाइरस वा ब्याक्टेरिया सजिलै शरीरमा पस्छ। यही कारण धेरै रोगहरूको आधार बन्ने गर्दछ।

 

यदि शरीरमा माइटोफेजी (Mitophagy) प्रक्रिया समयमा ट्रिगर हुन्छ भने रोग लाग्ने सम्भावना निकै कम हुन्छ। क्यान्सर हुने सम्भावना घट्छ, तीव्र संक्रमण (Viral वा Bacterial) कम हुन्छ, मधुमेहजस्ता दीर्घकालीन रोगहरू हुने सम्भावना पनि घट्छ। त्यसैले प्रश्न उठ्छ कि यो माइटोफेजीलाई कसरी सक्रिय गर्नेयसको पहिलो बाटो हो स्वच्छ जीवनशैली (Clean Lifestyle) अपनाउने। समयमा सुत्ने, समयमा उठ्ने, ताजा घरमै पकाएको खाना खाने, पुरानो वा प्रोसेस्ड (Processed) खाना नखाने  र सकारात्मक सोच राख्ने।

 

हामी जुन कुरा बारम्बार सोच्छौं, त्यसैअनुसार हाम्रो शरीरले हाम्रो मुड संग सम्बन्धित रहने रसायनहरु (Chemicals) बनाउँ ने गर्दछ। तनाव लिँदा कोर्टिसोल (Cortisol) निस्कन्छ। खुशी हुँदा एन्डोर्फिन (Endorphins) निस्कन्छ। यदि हामी नकारात्मक सोचमा अड्किरह्यौं भने कोर्टिसोल बढ्दै जान्छ जसले शरीरमा निरन्तर सूजन (Inflammation) ल्याउँछ। आसक्ति, लत (Addiction) बनाउँछ। मेटाबोलिजम (Metabolism) बिगार्छ।

 

हाम्रो शरीरमा डीएनए (DNA) भनेको आमाबाबुबाट पाएको आनुवंशिक नक्सा हो, जसले शरीरको बनावट, स्वभाव, र रोगप्रवृत्ति निर्धारण गर्छ। परम्परागत रूपमा मानिसले विश्वास गर्ने गरेको देखिन्छ कि “जन्मिँदा जुन जीन (Gene) पायो, त्यही जीवनभर रहन्छ।” तर विज्ञानले देखाएको छ कि जीनहरू स्थिर मात्र हुँदैनन्, तिनको अभिव्यक्ति (Expression) जीवनशैली, वातावरण, र सोचाइले पनि बदल्न सक्छ। यो प्रक्रिया लाई एपिजेनेटिक्स (Epigenetics) भनिन्छ। यसको अर्थ, हाम्रो सोच, बानी, खानपान, तनाव, खुशी, वा जीवनशैलीले जीनको ‘स्विच’ जस्तै चालु (On) वा बन्द (Off) गर्न सक्छ।

 

उदाहरणका लागि यदि मानिस निरन्तर तनावमा बस्छ भने शरीरले बारम्बार कोर्टिसोल (Cortisol) हर्मोन बनाउँछ। यसले प्रतिरक्षा प्रणाली (Immune System) कमजोर बनाउँछ र शरीरमा रोग छिटो बढ्छ। यदि मानिस सकारात्मक सोचमा रहन्छ, खुशी हुन्छ भने शरीरले एन्डोर्फिन (Endorphins) र अन्य लाभदायी रसायन बनाउँछ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र रोग घटाउँछ।

 

यसरी हाम्रो सोचाइले सीधा शरीरको रसायनमा (Hormones) असर गर्छ। ती रसायनहरूले जीनहरूको गतिविधि परिवर्तन गरिदिने गर्छन्। जीनमा देखिने यो परिवर्तन स्थायी नहुने भएता पनि यसले प्रभावकारी छाप (Impression) छोड्ने हुँदा यसलाई DNA Impression भनिन्छ। यसरी एपिजेनेटिक्सको (Epigenetics) कारण हाम्रो सोचाइ नै डीएनएमा छाप (DNA Impression) जस्तै बस्ने हुँदा मन शुद्ध राख्नु र सकारात्मक सोच राख्नु जस्ता कुरा रोग घटाउने वा बढाउने दुवैमा निर्णायक हुन्छ।

 

जीन (DNA) जन्मसिद्ध हो, तर त्यसको उपयोग गर्ने तरिका (Expression) हाम्रो सोच र जीवनशैलीले निर्धारण गर्छ। मन (Mind) को भूमिका यहाँ अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि सोचाइ नकारात्मक छ भने रोग बढ्छ। यदि सोचाइ सकारात्मक र मन शुद्ध छ भने रोग घट्छ। त्यसैले मनको अवस्था नै स्वास्थ्य र रोग दुवैमा निर्णायक हुन्छ।

 

त्यसो हुदै गर्दा समेत व्यक्तिको जीवनशैली जरुरत परेको बेला जरुरत अनुरूप उल्लिखित विधिहरुवाट परिवर्तन गर्न सजिलो हुँदैन। त्यसैले त्यसको लागि उपयोगी हुने अर्को छोटो र प्रभावकारी बाटो कुम्भक (Kumbhak) हुने आयुर्वेदको मान्यता छ। जुन वैज्ञानिक उपाय रहेको परिक्षण मार्फत विज्ञानले समेत पुष्टि गरेको छ। जब हामी सचेत रूपमा सास रोक्छौं र दैनिक अभ्यास गर्छौं, शरीरभित्र एक प्रकारको हाइपोक्सिक अवस्था (Hypoxic State) पैदा हुन्छ। जसले शरीरलाई कम अक्सिजन भएको वातावरणमा लैजान्छ । जसलाई वैज्ञानिक अनुसन्धानहरूले स्वास्थ्यका लागि लाभदायी हुने वातावरण भनी पुष्टि गरेको देखिन्छ।

 

कुम्भक अभ्यासलाई १२ स्तरमा विभाजन गरिएको छ, र हरेक स्तरमा १२ सासको अभ्यास हुन्छ। यस सम्पूर्ण अभ्यासलाई पूर्ण रूपमा सम्पन्न गर्न कम्तीमा एक वर्ष लाग्छ। यसको संरचना १२ स्तर × १२ सास × १२ चरण मिलेर १४४ सासको पूरा सेट बन्छ। यसलाई बिस्तारै र क्रमशः गर्दै जानुपर्छ।

 

पहिलो तीन महिनामा केवल तीन स्तर (स्तर १, २ र ३) मात्र गर्ने सिफारिस गरिन्छ। स्तर १ मा नाकबाट गहिरो सास लिनुपर्छ, पेट फैलाउनुपर्छ, त्यसपछि तीन सेकेन्डसम्म रोक्नुपर्छ, अनि फेरि नाकबाट निसास निकाल्दै पेट भित्र तान्नुपर्छ। यसरी १२ सास पूरा हुन्छ। स्तर २ मा फेरि १२ सास लिनुपर्छ, तर यस पटक रोक्ने समय ६ सेकेन्ड हुन्छ। स्तर ३ मा अर्को १२ सास लिनुपर्छ, जहाँ रोक्ने समय ९ सेकेन्ड हुन्छ। यसरी मिलाएर पहिलो ३६ सास (३-६-९) को अभ्यास सम्पन्न हुन्छ। धेरैलाई ९ सेकेन्ड रोक्न कठिन लाग्छ भने सुरुमा ७ सेकेन्ड, त्यसपछि ८ सेकेन्ड गर्दै बिस्तारै ९ सेकेन्डमा पुग्नुपर्छ। यस अभ्यासमा शरीरलाई कहिल्यै दबाब दिनु हुँदैन। जसरी सजिलो लाग्छ त्यहीँ रोकिनुपर्छ।

 

अभ्यास गर्ने तरिका पनि सरल छ। बिहान खाली पेट, साँझ र राति सुत्ने बेलामा एक-एक पटक गर्न सकिन्छ। यसरी दिनमा ३६ सास × ३ पटक = १०८ सास अभ्यास हुन्छ। यसका लागि कुनै विशेष आसन आवश्यक पर्दैन। कुर्सीमा बस्दा वा ओछ्यानमा शवासनमै पनि गर्न सकिन्छ। तर अभ्यास गर्दा शरीर स्थिर हुनुपर्छ।

 

चौथो महिनादेखि चौथो सेट थप्नुपर्छ, जसमा १२ सेकेन्डसम्म सास रोक्नुपर्छ। पाँचौं महिनामा यो अवधि १५ सेकेन्ड हुन्छ। यसरी बढाउँदै लग्दा १२ महिनामा ३६ सेकेन्डसम्म सास रोक्ने क्षमतामा पुगिन्छ। एक वर्षपछि अभ्यासकर्ता ३६ सेकेन्ड सास रोक्न सक्षम हुन्छ।

 

यो अभ्यास आन्तरिक कुम्भक (Antar Kumbhak) हो। जसमा सास भित्र तानेर रोकिन्छ। यसपछि बाह्य कुम्भक (Bahya Kumbhak) आउँछ। जसमा निसास बाहिर फ्याँकेर रोकिन्छ। बाह्य कुम्भक अझ कठिन हुन्छ, त्यसैले पहिलो वर्ष आन्तरिक कुम्भकमै अभ्यास गर्नुपर्छ।

 

सरल रूपमा भन्नुपर्दा, पहिलो तीन महिनामा ३–६–९ सेकेन्ड रोक्ने अभ्यास हुन्छ। त्यसपछि बिस्तारै हरेक महिनामा ३ सेकेन्ड थप्दै १२ महिनामा ३६ सेकेन्डसम्म पुगिन्छ। सुरुमा आन्तरिक कुम्भक मात्र गर्नुपर्छ र पछि बाह्य कुम्भक अभ्यास गर्नुपर्छ। यस अभ्यासका फाइदाहरू गहिरा छन्। पहिलो तीन स्तर (३–६–९ सेकेन्ड) अभ्यास गर्दा नै शरीरमा ठूलो परिवर्तन आउँछ। रक्तसञ्चार सुधारिन्छ, मन स्थिर हुन्छ, र शरीरको स्व–उपचार संयन्त्र सक्रिय हुन्छ। दीर्घ अभ्यासले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ र रोग प्रतिरोध क्षमता बढाउँछ।

 

कुम्भक अभ्यास शरीर र मन दुवैमा तहगत रूपमा प्रभाव पार्ने गहिरो साधना हो। यसलाई १२ स्तरमा विभाजन गरिएको छ र प्रत्येक स्तरमा फरक–फरक अङ्ग, धातु र तत्वमा असर गर्छ।

 

 

पहिलो चरण (स्तर १–३ : ३–६–९ सेकेन्ड)

मुख्य प्रभाव फोक्सो, रक्त धातु (तन्तु) हरुमा र पृथ्वी तत्वमा हुन्छ। यसले श्वासप्रश्वास प्रणाली बलियो बनाउँछ, रक्तसञ्चार सुधार्छ र मानिसलाई स्थिर (grounded) बनाउँछ। आत्मविश्वास, इच्छाशक्ति र धैर्यता बढ्छ।

 

दोस्रो चरण (स्तर ४–६ : १२–१५–१८ सेकेन्ड)

मुटु र मांसपेशी तन्तुहरुमा असर गर्छ। मायोकार्डियल मांसपेशी बलियो हुन्छ, पम्पिङ क्षमता बढ्छ, फोक्सो–मुटुको समन्वय सुध्रिन्छ। जल तत्व सक्रिय हुँदा शरीर बढी लचिलो हुन्छ।

 

तेस्रो चरण (स्तर ७–९ : २१–२४–२७ सेकेन्ड)

कलेजो, मिर्गौला र बोसो ऊतकमा असर गर्छ। अग्नि तत्व सन्तुलित हुन्छ, प्रतिरक्षा प्रणाली बलियो बन्छ, मेटाबोलिजम (metabolism) छिटो हुन्छ, र शरीरको रूपान्तरण (transformation) तीव्र हुन्छ।

 

चौथो चरण (स्तर १०–१२ : ३०–३३–३६ सेकेन्ड)

स्नायु प्रणाली र हड्डी– मासी (मज्जा), तन्तुहरुमा असर गर्छ। वायु र आकाश तत्व सक्रिय हुन्छन्। मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पर्छ, न्यूरोट्रान्समिटरहरू (serotonin dopamine GABA) सन्तुलित हुन्छन्। मानिस वर्तमान क्षणमा बाँच्न थाल्छ, सकारात्मक सोच, समाधान–केन्द्रित दृष्टिकोण र निस्वार्थ आनन्दको अनुभव बढ्छ।

 

यसरी स्तर १ देखि १२ सम्मको सम्पूर्ण अभ्यासले शरीरका पाँच तत्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश) र सातै धातुहरूलाई सन्तुलित गर्छ। वात, पित्त र कफ स्वतः सन्तुलनमा आउँछन्। कोशिकीय विषहरण (Cellular Detox) हुँदै शरीरको स्व–उपचार क्षमता सक्रिय हुन्छ। प्रतिरक्षा प्रणाली, मेटाबोलिजम र अंगहरूको कार्यक्षमता बलियो हुन्छ। हर्मोनहरूको सन्तुलन हुँदै मानिस मानसिक र भावनात्मक रूपमा स्थिर हुन्छ, अन्तर्ज्ञान बढ्छ र आध्यात्मिक उन्नति अनुभव हुन्छ।

 

कुल मिलाएर, कुम्भक अभ्यास केवल शारीरिक स्वास्थ्यको लागि मात्र होइन, मानसिक स्पष्टता, भावनात्मक स्थिरता र आध्यात्मिक रूपान्तरणको पनि श्रोत मानिन्छ।

 

कुम्भक केवल श्वास रोक्ने प्राणायामिक अभ्यास मात्र होइन, जीवनको हरेक तहमा लागू गर्न सकिने एक व्यापक दर्शन हो। यसको वास्तविक सार भनेको “क्षणभर रोक्ने कला” हो। विचारलाई बुझेर मात्र प्रतिक्रिया दिने, तुरुन्त उत्तर दिन नहोड्ने स्वभाव पनि कुम्भककै अभ्यास हो। जब जीवनका सबै व्यवहारमा रोकिने अभ्यास अपनाइन्छ, शरीर, मन र आत्मा एकैसाथ सन्तुलित हुन्छन्। आयुर्वेदले शरीरलाई केवल मांसपेशी वा हड्डीको संरचना होइन, ऊर्जा र चेतनाले चल्ने सूक्ष्म प्रणाली मानेको छ। जब इन्द्रियहरूलाई नियन्त्रण गरिन्छ—नेत्र कुम्भक अर्थात् आँखा बन्द गर्नु, श्रवण कुम्भक अर्थात् कान बन्द गर्नु, र आहार कुम्भक अर्थात् उपवास गर्नु—तब ऊर्जा बाहिर निस्कन रोकिन्छ र शरीरको स्व–उपचार क्षमता बलियो बन्छ।

 

आयुर्वेदमा “कुटि प्रवेश उपचार” उल्लेख गरिएको छ, जसमा रोगीलाई अन्धकार कोठामा बसालिन्छ। यसरी बाहिरी उत्तेजनाबाट इन्द्रियलाई टाढा राखिँदा शरीर आफैंलाई उपचार गर्न थाल्छ। त्यसैगरी, आहार कुम्भक अर्थात् उपवासलाई आयुर्वेदले पाचन अग्नि सन्तुलन गर्ने विधि मानेको छ। समय–समयमा उपवास गर्दा शरीरमा संचित विष अर्थात् “आम” नष्ट हुन्छ। मौनव्रत वा वाक् कुम्भकको अभ्यासले अनावश्यक बोलाइलाई रोक्छ, जसले मानसिक शान्ति र आत्म–निरीक्षणलाई बढाउँछ।

 

मानव जीवनको पहिलो चरण गर्भावस्थाकै नौ महिना वास्तवमा प्राकृतिक कुम्भक अवस्था हो। गर्भमा रहेको शिशु अन्धकारमा बस्छ, प्रकाश देख्दैन, आवाज सुन्दैन, बोल्दैन, तर निरन्तर वृद्धि र परिपक्वता गर्छ। यसलाई पञ्चेन्द्रिय कुम्भकको अवस्था पनि भनिन्छ। त्यसैले गर्भ संस्कारमा पनि कुम्भक अभ्यासलाई जीवनदायी मानिन्छ। उदाहरणका लागि, आँखा कुम्भक अभ्यास गर्दा अर्थात् केही मिनेट आँखा बन्द गरेर अन्धकारमा बस्दा नेत्र स्नायु आराम पाउँछ, दृष्टि स्पष्ट हुन्छ र मन शान्त हुन्छ। श्रवण कुम्भकमा कान बन्द गरेर बाहिरी आवाजबाट टाढा बस्दा शरीरको भित्री धड्कन सुन्न सकिन्छ, जसले आत्म–जागरुकता बढाउँछ। आहार कुम्भकमा हप्तामा एक दिन हल्का तरल आहार लिनु शरीरलाई सफा गर्ने शक्तिशाली विधि हो, जसलाई आयुर्वेदले “लघु आहार” वा “एकाहार” भनेको छ। विचार कुम्भक भनेको कसैले कठोर शब्द बोले पनि तुरुन्त प्रतिक्रिया नदिई भित्रै बुझेर मात्र उत्तर दिने अभ्यास हो, जसले पारिवारिक र सामाजिक सम्बन्धलाई मधुर बनाउँछ।

 

कुम्भक अभ्यासलाई अझ गहिरो बनाउन अन्धकार कोठामा बसेर श्वास रोक्ने परम्परा पनि छ। केही समयसम्म यस्तो अभ्यास गरेपछि जब बाहिर निस्किन्छ, संसारका रंगहरू जीवन्त लाग्छन्, विचारहरूमा गहिराइ आउँछ र धार्मिक वा दार्शनिक श्लोकहरूको अर्थ अझ स्पष्ट हुन्छ। यही कारण प्राचीन गुरुकुलमा स्वास्थ्य र रोकथामलाई पहिलो स्थान दिइन्थ्यो। बिहानै उठेर हवन, योग, प्राणायाम, शुद्ध आहार र मन्त्रजप गर्ने परम्परा स्थापित हुनुको कारण पनि यही थियो। आयुर्वेदले जल र अन्नमा स्मृति हुन्छ भन्छ। त्यसैले नकारात्मक विचार वा वचनसहित तयार भएको भोजनले शरीरलाई हानि पुर्याउँछ भने सकारात्मक भावनासहित तयार भएको भोजनले पोषण दिन्छ। यही कारण भोजन तयार गर्दा मन्त्रजप वा साधनाको महत्त्व दिइन्थ्यो।

 

ऊर्जात्मक दृष्टिले पनि कुम्भकलाई गहिरो साधना मानिन्छ। श्वास भित्र तान्दा ऊर्जा मूलाधार चक्रदेखि माथि चढ्छ, बाहिर निकाल्दा माथिबाट तल झर्छ, र श्वास रोकिँदा ऊर्जा स्थिर भएर कुण्डलिनी शक्ति सक्रिय हुन्छ। यसले शरीरलाई मात्र होइन, आध्यात्मिक चेतनालाई पनि उच्च स्तरमा पुर्याउँछ। यसरी हेर्दा, कुम्भक केवल प्राणायामिक अभ्यास नभई जीवनलाई स्वस्थ, शान्त र उन्नत बनाउन सकिने आयुर्वेदिक–आध्यात्मिक दर्शन हो। शरीरलाई रोगमुक्त बनाउने, मनलाई स्थिर राख्ने, इन्द्रियलाई नियन्त्रण गर्ने र आत्मालाई आध्यात्मिक रूपमा उन्नत गर्ने यसको चार प्रमुख फल हुन्। यही कारण कुम्भकलाई जीवनको हरेक क्षणमा लागू गर्न सकिने सर्वोत्तम साधना मानिन्छ।

 

वैज्ञानिक प्रमाणहरूले देखाएका छन् कि प्राचीन योग र आयुर्वेदमा वर्णन गरिएको कुम्भक र प्राणायाम अभ्यास केवल आध्यात्मिक वा दार्शनिक अभ्यास मात्र होइन, शरीर–मस्तिष्कको स्वास्थ्य सुधार गर्ने वैज्ञानिक रूपमा सिद्ध विधि हो। MRI अध्ययनले श्वाससँगै CSF प्रवाह हुन्छ भनेर प्रमाणित गरेको छ। ANS अध्ययनले गहिरो श्वासले तनाव घटाउने देखाएको छ। Hypoxia अध्ययनले स्टेम कोशिका बढ्ने र स्व–उपचार क्षमता सक्रिय हुने देखाएको छ। VEGF, EPO, Nitric Oxide सम्बन्धी अनुसन्धानहरूले कुम्भकले रक्तसञ्चार, अक्सिजन वहन र इम्युनिटी सुधार्ने प्रमाणित गरेका छन्। यसरी, प्राचीन योग–सिद्धान्त र आधुनिक विज्ञानबीच सीधा सम्बन्ध स्थापित भएको छ।

 

हार्वर्ड र अन्य विश्वविद्यालयका अनुसन्धानहरूले MRI (Magnetic Resonance Imaging) मार्फत देखाएका छन् कि श्वासप्रश्वासको तालसँगै मस्तिष्कभित्रको तरल पदार्थ सेरेब्रोस्पाइनल फ्लुइड (CSF) पनि नियमित रूपमा माथि–तल चलिरहेको हुन्छ। इनहेलेसन (सास भित्र तान्दा) CSF माथि चढ्छ, एक्सहेलेसन (सास बाहिर निकाल्दा) CSF तल झर्छ। गहिरो र लामो श्वास लिँदा यसको ओसिलेसन (oscillation) अझ प्रबल हुन्छ। यो ओसिलेसनले मस्तिष्कमा नसोसिएका विषाक्त पदार्थ (metabolic waste) हटाउन र मस्तिष्कलाई पोषण दिन मद्दत गर्छ।  अनुसन्धान अनुसार, वयस्क शरीरले दैनिक करिब ४०० मिलिलिटर CSF उत्पादन गर्छ र यो तरल पदार्थ दिनमा बारम्बार प्रतिस्थापन हुन्छ। गहिरो सास वा प्राणायाम गर्दा CSF को प्रवाह तीव्र भई मस्तिष्कको डिटोक्सिफिकेशन प्रक्रिया गति लिन्छ। यो नै कारण हो कि नियमित गहिरो श्वास अभ्यासले मानसिक स्पष्टता, स्मरणशक्ति सुधार र स्नायु प्रणालीमा स्थिरता ल्याउँछ।

 

अर्को अनुसन्धानमा प्रमाणित गरिएको छ कि श्वासप्रश्वासको लयले Autonomic Nervous System (ANS) लाई सन्तुलनमा ल्याउँछ। गहिरो श्वासले Parasympathetic System सक्रिय पार्छ, जसले तनाव (Stress) घटाउँछ, हृदयको धड्कन शान्त गर्छ र रक्तचाप नियन्त्रण गर्छ। यो कुरा आयुर्वेदमा वर्णन गरिएको “मन शान्त पार्ने प्राणायाम” सिद्धान्तसँग मेल खान्छ।  जर्मनीमा गरिएको अनुसन्धानले देखाएको छ कि जब शरीरलाई अस्थायी रूपमा Hypoxia (कम अक्सिजन अवस्था) मा राखिन्छ, जसरी कुम्भक अभ्यासमा हुन्छ, तब शरीर आफैंलाई बचाउन सक्रिय हुन्छ। यस अवस्थामा Stem Cells (नवीन कोशिकाको बीउ) बढ्छन्। स्टेम कोशिकाले क्षतिग्रस्त अंगलाई पुनःनिर्माण गर्न सक्छन्। यही कारण कुम्भक अभ्यासलाई “स्व–उपचार (Self-Healing) ट्रिगर गर्ने संयन्त्र” भनिन्छ।

 

गहिरो सास रोक्दा शरीरमा VEGF बढ्ने प्रमाण भेटिएको छ। VEGF ले शरीरमा नयाँ रक्त–धमनी (collateral circulation) निर्माण गर्छ। यसले मुटु वा मस्तिष्कमा रक्तप्रवाहका अवरोध भए पनि वैकल्पिक बाटो बनाएर अंगलाई सुरक्षित राख्छ। Hypoxia को समयमा शरीरले EPO (Erythropoietin) उत्पादन बढाउँछ। यसले रातो रगतको कोशिका (RBCs) बढाउँछ, जसले अक्सिजन बोक्ने क्षमता सुधार्छ। परिणामस्वरूप, शरीरको सहनशीलता, शारीरिक क्षमता र प्रतिरोधात्मक शक्ति बढ्छ। नाकमार्फत गहिरो श्वास लिँदा शरीरमा Nitric Oxide उत्पादन हुन्छ, जसले रगतका नलीहरूलाई फैलाउँछ। यसले रक्तसञ्चार सुधार्छ, रक्तचाप नियन्त्रण गर्छ र रोग–प्रतिरोधात्मक प्रणालीलाई सक्रिय गर्छ।

श्वास रोक्ने योगिक अभ्यास कुम्भक केवल शरीरलाई नियन्त्रण गर्ने प्रक्रिया मात्र होइन, चेतनालाई भित्रतिर फर्काउने, आत्मशक्तिलाई संचित गर्ने, र उच्च आध्यात्मिक अनुभूति प्राप्त गर्ने माध्यम हो। यही कारण पौराणिक ग्रन्थहरूमा वर्णन गरिएका तपस्यासँग कुम्भकको गहिरो सम्बन्ध देखिन्छ।

 

पौराणिक कथाहरूमा ऋषिहरू, योगीहरू वा देवताहरूले कठोर तपस्या गर्ने प्रसङ्ग बारम्बार भेटिन्छ। हजारौं वर्षसम्म अरण्यमा बसेर मौन धारण गर्ने, आहार त्याग्ने वा केवल जल वा वायुमा निर्भर रहने अभ्यासलाई तपस्या भनिएको छ। यी सबै अभ्यासहरूको मूलमा इन्द्रिय नियन्त्रण र प्राण नियन्त्रणको सिद्धान्त छ, जुन कुम्भककै दर्शनसँग मेल खान्छ। उदाहरणका लागि, भगवान् शिवलाई अर्धनारीश्वर रूपमा ध्यान गर्ने साधकहरूले प्रायः लामो समयसम्म श्वास रोक्दै ध्यान गरेको वर्णन पाइन्छ। यसरी श्वास स्थिर भएसँगै मन पनि स्थिर हुन्छ, र साधक गहिरो समाधि अवस्थामा पुग्छ।

 

ऋषि विश्वामित्र, वशिष्ठ, भृगु, अगस्त्यजस्ता पौराणिक ऋषिहरूले गरेका तपस्यामा पनि कुम्भकको गहिरो अभ्यास समावेश भएको देखिन्छ। उपनिषद्हरूमा प्राणायामलाई तपस्याको अनिवार्य अङ्ग मानिएको छ। कुम्भकले प्राणशक्तिलाई रोक्छ, प्राणशक्ति रोकिने वित्तिकै विचार र इन्द्रियहरूको बाहिरी गतिविधि कम हुन्छ। यही अवस्थामा तपस्वीको चेतना भौतिक संसारभन्दा माथि उठेर दैवीय संसारसँग जोडिन्छ। त्यसैले प्राचीन ऋषिहरूले कुम्भकलाई केवल योगिक अभ्यास होइन, तपस्याको मूल आधार ठानेका थिए।

 

पौराणिक तपस्याको अर्को महत्त्वपूर्ण पक्ष मौनव्रत हो। वाक् कुम्भक अर्थात् बोलाइलाई नियन्त्रण गर्ने अभ्यासलाई ऋषि–मुनीहरूले तपस्या मानेका छन्। मौनमा बसेर साधकले वाणीको ऊर्जा भित्रै संचित गर्छ, जसले मन्त्रजप वा ध्यानलाई अझ प्रभावकारी बनाउँछ। यस्तै, आहार कुम्भक अर्थात् उपवासलाई पनि पौराणिक तपस्यामा महत्त्व दिइएको छ। कठोर उपवास गरेर शरीरलाई हल्का बनाइन्छ, इन्द्रियहरू दुर्बल हुन्छन्, र चेतना भित्री यात्रातर्फ मोडिन्छ।

 

कुम्भक अभ्यासले तपस्यामा आवश्यक धैर्य र आत्मसंयमलाई सम्भव बनाउँछ। लामो समयसम्म श्वास नियन्त्रण गर्न सक्ने साधकले बाहिरी कठिनाइ र भोक–तिर्खालाई पनि सहजै सहन सक्छ। यही कारण तपस्वीहरू हिमालय वा निर्जन अरण्यमा लामो समयसम्म ध्यानमा बस्न सक्षम हुन्थे। कुम्भक अभ्यासले शरीरलाई विष्णुग्राही बनाउन, मनलाई स्थिर राख्न, र आत्मालाई परमात्मासँग जोड्न मद्दत गर्थ्यो।

 

यसरी हेर्दा, कुम्भक र पौराणिक तपस्या बीच गहिरो अन्तर्सम्बन्ध छ। कुम्भकले प्राणलाई नियन्त्रण गरेर तपस्यालाई सफल बनाउँछ, र तपस्याले कुम्भकलाई उच्चतम आध्यात्मिक स्तरसम्म पुर्याउँछ। दुवैको साझा उद्देश्य शरीर, मन र आत्मालाई एकैसाथ परिष्कृत गरेर मानवलाई दैवीय चेतनामा उठाउनु हो।

 

शरीरको केन्द्रिय संरक्षककलेजो

 

कलेजो मानव शरीरको सबैभन्दा अद्भुत अङ्ग हो जसले आफूलाई पुनरुत्पादन (regeneration) गर्न सक्छ। चोटपटक वा केही भाग हटाइए पनि कलेजो पुनः नयाँ ऊतक बनाउँछ। यसैले आयुर्वेद र आधुनिक चिकित्सामा कलेजोलाई शरीरको “मुख्य प्रशोधन गृह” वा “केन्द्रिय संरक्षक” मानिन्छ। यदि कलेजो स्वस्थ छ भने मिर्गौला, मुटु, फोक्सो, आन्द्रा, मस्तिष्क जस्ता सबै अङ्गहरू पनि सामान्य रहन्छन्। तर कलेजो अस्वस्थ भयो भने यसको असर शरीरका प्रत्येक अङ्गमा देखिन्छ। कलेजो स्वस्थ रहेमा शरीरका प्रायः सबै प्रणालीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहारा मिल्छ; त्यसैले “कलेजोको हेरचाह = शरीरको समग्र हेरचाह” मानिन्छ।

 

कलेजोका प्रमुख कार्यहरू

१. डिटोक्सिफिकेसन (विष नष्ट गर्ने काम):

कलेजो शरीरको प्राकृतिक डिटोक्सिफिकेशन केन्द्र हो। हामीले दैनिक जीवनमा सेवन गर्ने खाना, औषधि, मदिरा, धुलो–धुवाँ, प्रदूषण, वा शरीरमा पस्ने रोगजनकहरूले धेरै प्रकारका विषाक्त पदार्थ (toxins) उत्पादन गर्छन्। यी विषाक्त पदार्थहरू यदि शरीरमा जम्मा भए भने ती तन्तुका कोशिकाहरूलाई क्षति पुर्याउँछन्, अंगहरू असन्तुलित हुन्छन् र गम्भीर रोग निम्त्याउँछन्। त्यसैले कलेजोले यी सबैलाई निष्क्रिय बनाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्छ।

 

कलेजोमा हुने विभिन्न एन्जाइम प्रणालीहरू (विशेषगरी Cytochrome P450 enzymes) यस्ता विषाक्त पदार्थलाई तोड्छन्। उदाहरणका लागि, तपाईंले मदिरा (alcohol) सेवन गर्नुभयो भने त्यो पदार्थ शरीरमा सिधै घुल्ने खालको छैन र अत्यन्तै विषाक्त हुन्छ। कलेजोमा रहेको alcohol dehydrogenase नामक एन्जाइमले यसलाई पहिले acetaldehyde मा रूपान्तरण गर्छ, अनि अर्को चरणमा acetate मा बदल्छ। acetate भने शरीरले सजिलै ऊर्जा उत्पादन गर्न प्रयोग गर्न सक्छ। यसरी विषाक्त मदिरालाई क्रमशः कम हानिकारक पदार्थमा बदलिन्छ र अन्ततः मूत्र वा पसिनामार्फत शरीरबाट बाहिर निकालिन्छ।

 

यदि कलेजोले यो प्रक्रिया नगरेको भए, अल्कोहल जस्तै विषाक्त पदार्थ सीधै रगतमार्फत दिमाग र स्नायु प्रणालीमा पुग्थ्यो। यस्तो अवस्थामा व्यक्तिलाई तुरुन्तै टाउको दुख्ने, चक्कर आउने, मानसिक भ्रम, स्मृति गुम्ने र गम्भीर अवस्थामा कोमासम्म पुग्ने जोखिम हुन्छ। नियमित रूपमा कलेजोले यी विषाक्त पदार्थ हटाइरहेकाले मात्र हामी असंख्य प्रदूषण, औषधि वा अन्य रसायनहरूको प्रभावबाट बाँचिरहेका हुन्छौं।

 

यसरी हेर्दा, कलेजो केवल पाचनसँग सम्बन्धित अङ्ग मात्र नभई शरीरको मुख्य सुरक्षा पर्खाल हो। यदि कलेजो स्वस्थ रह्यो भने हामीले दैनिक जीवनमा भोग्ने सयौँ विषाक्त पदार्थ निष्क्रिय भएर बाहिर निस्कन्छन्। तर कलेजोमा क्षति भयो भने ती विषाक्त पदार्थले सीधै शरीरका तन्तुका कोशिकाहरू र अंगहरूलाई आक्रमण गर्छन्। यही कारण, कलेजोलाई बलियो राख्न अनुशासित जीवनशैली, सन्तुलित आहार, र मदिरा वा अत्यधिक औषधि सेवनबाट टाढा रहनु अत्यावश्यक हुन्छ

 

२. मेटाबोलिजम (Metabolism):

कलेजो शरीरको ऊर्जा नियन्त्रण केन्द्र हो, जसले विभिन्न पोषक तत्त्वलाई आवश्यकतानुसार रूपान्तरण र प्रयोग गर्छ। खाना खाएपछि शरीरले कार्बोहाइड्रेटलाई पचाएर ग्लुकोज बनाउँछ, त्यो ग्लुकोज तत्काल ऊर्जा उत्पादनमा प्रयोग हुन्छ। तर अतिरिक्त ग्लुकोजलाई कलेजोले भण्डारण गरेर ग्लाइकोजनको रूपमा राख्छ। जब शरीरले केही घण्टापछि खाना नखाई उपवास गर्न थाल्छ, कलेजोले यही भण्डारित ग्लाइकोजनलाई फेरि ग्लुकोजमा परिणत गर्छ र रगतमा पठाउँछ। यसरी रगतमा सुगरको स्तर स्थिर रहन्छ र दिमाग, स्नायु र मांसपेशीलाई आवश्यक ऊर्जा लगातार उपलब्ध हुन्छ।

 

कलेजोले केवल कार्बोहाइड्रेट मात्र होइन, बोसो र प्रोटिनमा पनि समान भूमिका खेल्छ। बोसोबाट ऊर्जा निकालेर शरीरलाई लामो समयका लागि इन्धन उपलब्ध गराउँछ, र प्रोटिनलाई तोडेर आवश्यक एमिनो–एसिड संश्लेषण गर्छ, जसले तन्तुका कोशिकाहरू, हर्मोन र इन्जाइम निर्माणमा सहयोग गर्छ।

 

तर यदि यो प्रणालीमा समस्या आयो भने गम्भीर असर देखिन्छ। उदाहरणका लागि, कलेजोले ग्लाइकोजनलाई सही समयमा रिलिज गर्न सकेन भने रगतमा ग्लुकोजको स्तर असामान्य हुन्छ। अत्यधिक भए मधुमेह (Diabetes) हुन्छ, कम भए हाइपो–ग्लाइसेमिया (Hypoglycemia) हुन्छ। मधुमेहमा रगतमा चिनी लगातार उच्च रहन्छ जसले मुटु, आँखा, मिर्गौला र स्नायु प्रणालीलाई क्षति पुर्याउँछ, जबकि हाइपो–ग्लाइसेमियामा अचानक चिनी घट्दा बेहोस हुने, शरीर काँप्ने वा कोमासम्म पुग्ने खतरा हुन्छ।

 

यसरी कलेजोले कार्बोहाइड्रेट, बोसो र प्रोटिनको मेटाबोलिजम (metabolism) नियन्त्रण गरेर शरीरलाई आवश्यक ऊर्जा सन्तुलनमा राख्छ। यदि कलेजो स्वस्थ रह्यो भने ऊर्जा प्रणाली स्थिर रहन्छ। तर कलेजोमा समस्या आयो भने शरीरको सम्पूर्ण ऊर्जा चक्र असन्तुलित भई गम्भीर रोगको खतरा बढ्छ।

 

३. भण्डारण:

कलेजो केवल डिटोक्सिफिकेसन र पाचनमा संलग्न अङ्ग मात्र होइन, यो शरीरको मुख्य भण्डारण केन्द्र पनि हो। कलेजोले अतिरिक्त ग्लुकोजलाई ग्लाइकोजनका रूपमा भण्डारण गर्छ र जब शरीरलाई ऊर्जा आवश्यक पर्छ, त्यो ग्लाइकोजन फेरि ग्लुकोजमा परिणत गरेर रगतमा पठाउँछ। यसका अतिरिक्त कलेजोले शरीरका लागि अत्यावश्यक भिटामिनहरू—विशेषगरी A, D, E B12—लाई पनि लामो समयका लागि संचित गर्छ। यी सबै भिटामिन बोसोमा घुल्ने भएकाले सजिलै शरीरमा जम्मा हुन्छन् र आवश्यक पर्दा प्रयोग हुन्छन्।

 

उदाहरणका लागि, भिटामिन B12 को कुरा गर्दा, कलेजोमा यसको भण्डारण क्षमताले मानिसलाई करिब छ महिनादेखि एक वर्षसम्म आवश्यक आपूर्ति दिन सक्छ। त्यसैले कसैले लामो समयसम्म राम्रो भोजन नपाए पनि वा भिटामिन B12 को सेवन तत्काल घटे पनि शरीरमा तुरुन्तै यसको कमी देखिँदैन। तर यदि कलेजोमा भण्डारण सकियो भने मात्र रक्तअल्पता (anemia), स्नायु समस्या, वा थकानका लक्षण देखिन थाल्छन्।

 

यसैगरी, कलेजोले फलाम (iron) र कपर (copper) जस्ता खनिजलाई पनि संचित गर्छ। फलामको भण्डारण शरीरलाई रगत बनाउन आवश्यक छ, किनकि हीमोग्लोबिन निर्माणमा फलाम मुख्य तत्व हो। यदि कलेजोमा फलाम पर्याप्त मात्रामा भण्डारण छ भने, केही महिना कम फलाम सेवन हुँदा पनि शरीरलाई तत्काल समस्या हुँदैन। तर भण्डारण घट्दै गएपछि थकान, रगतअल्पता र रोगप्रतिरोधात्मक क्षमता घट्ने लक्षण प्रकट हुन्छन्।

 

यसरी कलेजोले ग्लाइकोजन, भिटामिन र खनिजहरूको भण्डारण गरेर शरीरलाई कठिन अवस्थामा पनि आवश्यक पोषण उपलब्ध गराउँछ। यो कलेजोलाई केवल पाचन वा विष फाल्ने अङ्ग नभई, शरीरलाई दीर्घकालीन रूपमा “ऊर्जा र पोषण बैंक” को रूपमा चिनाउने अर्को कारण हो।

 

४. पित्त उत्पादन:

कलेजोले उत्पादन गर्ने अर्को महत्वपूर्ण पदार्थ हो पित्त (bile)। कलेजोमा बनेको पित्त पहिले पित्तथैली (gallbladder) मा जम्मा हुन्छ र जब हामी खाना खान्छौँ, विशेषगरी बोसोयुक्त खाना, त्यसबेला पित्त आन्द्रामा मिसिन (Release) जान्छ। पित्तमा हुने पित्त नुनहरूले (bile salts) बोसोलाई साना कणमा टुक्र्याएर इमल्सिफाइ (emulsify) गर्छन्, जसले गर्दा बोसो सजिलै पच्न र साना आन्द्राबाट अवशोषित हुन मद्दत हुन्छ। यो प्रक्रिया बिना बोसो पच्न सक्दैन। पित्तले केवल बोसो पचाउने मात्र होइन, बोसोमा घुल्ने भिटामिनहरू—जस्तै भिटामिन A, D, E, K—लाई पनि सजिलै शरीरमा अवशोषित हुन सहयोग पुर्याउँछ।

 

यदि पित्त उत्पादनमा समस्या आयो वा पित्त आन्द्रामा पुग्न सकेन भने गम्भीर पाचन समस्या देखिन्छ। यस्तो अवस्थामा बोसो राम्रोसँग पच्दैन र व्यक्तिमा पेट फुल्ने, ग्यास, कब्जियत जस्ता लक्षण देखिन्छन्। साथै, बोसोमा घुल्ने भिटामिनहरू अवशोषित नहुँदा भिटामिन A को कमीले रातमा नदेख्ने (night blindness), भिटामिन D को कमीले हड्डी कमजोर हुने, भिटामिन E को कमीले स्नायु क्षति हुने, र भिटामिन K को कमीले रगत जम्ने समस्या देखिन सक्छ। त्यसैले पित्तलाई सामान्यतया केवल पाचन सहायक मात्र नभई शरीरको समग्र पोषण सन्तुलन कायम राख्ने “कुञ्जी पदार्थ” मानिन्छ।

 

५. हार्मोन मेटाबोलिजम:

 

कलेजो केवल खाना पचाउने वा विष फाल्ने अङ्ग मात्र होइन, यो शरीरको “हर्मोन सन्तुलन” गर्ने केन्द्र पनि हो। हाम्रो शरीरमा हरेक दिन विभिन्न हार्मोनहरू (जस्तै एस्ट्रोजन, टेस्टोस्टेरोन, थाइराइड, इन्सुलिन, कोर्टिसोल, डोपामिन आदि) उत्पादन हुन्छन्। यी हार्मोनहरू आवश्यक मात्रामा भए शरीर सन्तुलित रहन्छ, तर यदि अतिरिक्त मात्रामा बने भने समस्या ल्याउँछ।

 

महिलामा यदि एस्ट्रोजन धेरै भयो भने PCOS (Polycystic Ovary Syndrome), मासिक धर्म अनियमित, अत्यधिक रगत बग्ने, वा गर्भधारणमा समस्या देखिन सक्छ। पुरुषमा यदि एस्ट्रोजन अत्यधिक भयो भने गाइनोकोमास्टिया (स्तन बढ्ने) वा प्रजननसम्बन्धी समस्या आउन सक्छ।  टेस्टोस्टेरोन, कोर्टिसोल वा थाइराइड पनि बढी भए शरीरमा मेटाबोलिजम असन्तुलन, चिडचिडापन, निद्राको समस्या वा मोटोपनसम्म ल्याउँछ।

 

कलेजोले यस्ता अतिरिक्त हार्मोनलाई metabolism (मेटाबोलिजम प्रक्रिया) मार्फत तोड्छ। यसले हार्मोनलाई निष्क्रिय बनाउँछ, अनि पानीमा घुलनशील (water soluble) रूपान्तरण गर्छ। पानीमा घुल्ने भएपछि ती पदार्थहरू मूत्र वा पित्तमार्फत शरीरबाहिर निस्किन्छन्। कलेजोले “फिल्टर” मात्र होइन, “हर्मोन नियन्त्रक” को भूमिका पनि खेल्छ। यसले हार्मोनलाई उचित मात्रामा राख्छ, अतिरिक्तलाई निष्कासन गर्छ। त्यसैले, यदि कलेजो स्वस्थ छैन भने शरीरमा हर्मोन सम्बन्धी रोग (जस्तै PCOS, थाइराइड असन्तुलन, गाइनोकोमास्टिया, चिडचिडापन) बढी देखिन्छ।

 

६. प्रोटिन संश्लेषण:

कलेजोले बनाउने सबैभन्दा महत्त्वपूर्ण प्रोटिनमध्ये एक हो एल्बुमिन। एल्बुमिन रगतमा पाइने मुख्य प्रोटिन हो जसको काम रगतको आयतन (blood volume) र अस्मोटिक दबाब (oncotic pressure) कायम राख्नु हो। यसलाई सरल भाषामा भन्नुपर्दा, एल्बुमिनले रगतमा पानीलाई बाँधेर राख्छ र त्यसलाई बाहिरी समान प्रकारका कोषहरूको समूहमा फर्किन दिंदैन। यदि एल्बुमिन पर्याप्त मात्रामा छ भने रगतको तरल भाग स्थिर रहन्छ र अंगहरूलाई आवश्यक पोषण र अक्सिजन आपूर्ति सहज रूपमा पुग्छ।

 

विशेष गरी सिरोसिस (liver cirrhosis) वा गम्भीर हेपाटाइटिस जस्ता रोगग्रस्त कलेजोको अवस्थामा कलेजोले पर्याप्त एल्बुमिन उत्पादन गर्न सक्दैन। यसका कारण रगतको अस्मोटिक दबाब घट्छ, रगतमा पानी बाँधिन सक्दैन, अनि त्यो तरल बाहिर निस्केर पेटमा जम्मा हुन्छ। यस अवस्थालाई ascites (पेटमा पानी जम्मा हुने) भनिन्छ। केवल पेट मात्र होइन, कहिलेकाहीँ खुट्टामा सुजन (edema) पनि देखिन्छ।

 

एल्बुमिनको अर्को महत्त्वपूर्ण भूमिका औषधि, हर्मोन र विभिन्न खनिज / मोलिक्युललाई बाँधेर रगतमा बोक्ने हो। यसले औषधिहरूलाई शरीरका आवश्यक भागमा पुर्याउँछ र आवश्यक नभएको अंशलाई क्रमशः शरीरबाट बाहिर निकाल्छ। त्यसैले एल्बुमिन घट्दा औषधिको असर पनि अनियमित हुन सक्छ।

 

संक्षेपमा, कलेजोले उत्पादन गर्ने एल्बुमिन शरीरको तरल सन्तुलन, पोषण आपूर्ति र औषधि–हर्मोन परिवहनमा अनिवार्य छ। यदि कलेजो बिग्रेर एल्बुमिन उत्पादन घट्यो भने पेटमा पानी जम्मा हुने (ascites), खुट्टा सुन्निने, वा शरीरमा कमजोरी आउने समस्या तुरुन्त देखापर्छ। त्यसैले कलेजोको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु भनेको शरीरको समग्र सन्तुलन सुरक्षित गर्नु हो।

 

७. अमोनिया–युरिया चक्र:

कलेजोको अर्को अत्यन्त महत्त्वपूर्ण काम प्रोटिन मेटाबोलिजम (protein metabolism) को क्रममा बनेको विषाक्त पदार्थलाई निष्क्रिय बनाउने हो। जब हामी प्रोटिनयुक्त खाना खान्छौँ, त्यसको पाचनपछि शरीरमा अमिनो–एसिडहरू प्रयोग हुन्छन् तर त्यसको उपउत्पादनका रूपमा अमोनिया (NH) बन्ने गर्छ। अमोनिया शरीरका लागि अत्यन्त विषाक्त हुन्छ, विशेष गरी मस्तिष्क र स्नायु प्रणालीका लागि। यसलाई निष्क्रिय बनाउन कलेजोमा रहेको युरिया चक्र (urea cycle) सक्रिय हुन्छ। यस चक्रमार्फत अमोनियालाई युरियामा रूपान्तरण गरिन्छ, जुन पानीमा घुलनशील हुन्छ र अन्ततः मिर्गौलामार्फत मूत्रको रूपमा बाहिर निस्कन्छ।

 

यदि कलेजोले अमोनियालाई युरियामा बदल्न सकेन भने रगतमा अमोनियाको मात्रा बढ्छ, जसलाई हाइपरअमोनिमिया (Hyperammonemia) भनिन्छ। यस्तो अवस्थामा बिरामीलाई थकान, वाकवाकी, स्मृति कमजोर हुने, सोच्ने क्षमता घट्ने वा छारेरोग (seizure) जस्ता गम्भीर लक्षण देखिन सक्छन्। अझ बढी भएमा बिरामी बेहोस हुने वा हेपाटिक इन्सेफालोप्याथी (Hepatic encephalopathy) मार्फत कोमासम्म जान सक्छ। त्यसैले प्रोटिन मेटाबोलिजम पछि बन्ने विषाक्त अमोनियालाई निष्क्रिय पार्ने कलेजोको क्षमता शरीरको स्नायु–मस्तिष्क स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

 

कलेजो र अन्य अङ्गबीचको सम्बन्ध

कलेजो शरीरको “सन्तुलनकर्ता” हो, जसले विभिन्न अङ्गहरूको कामलाई सहज बनाउन ठूलो भूमिका खेल्छ। सबैभन्दा पहिले, कलेजोले रगतबाट विषाक्त पदार्थ हटाउँछ, जसले गर्दा मिर्गौलाले मूत्रमार्फत ती पदार्थ बाहिर निकाल्दा अनावश्यक बोझ पर्दैन। यसरी कलेजोले मिर्गौलालाई अप्रत्यक्ष रूपमा सुरक्षा दिन्छ। दोस्रो, कलेजोले उत्पादन गर्ने पित्त आन्द्रामा पुगेपछि बोसो फुटाएर साना अणु बनाउँछ, जसले बोसोमा घुल्ने भिटामिन (A, D, E, K) र अन्य पोषक तत्त्वहरूको अवशोषण सजिलो हुन्छ।

 

त्यसैगरी, कलेजोले ग्लाइकोजन भण्डारण गर्छ र आवश्यक पर्दा रिलिज गर्छ। यसले रगतमा सुगरको मात्रा स्थिर राख्छ, जसले प्यान्क्रियाजलाई लगातार इन्सुलिन वा ग्लुकागन उत्पादन गर्नुपर्ने दबाबबाट जोगाउँछ। प्रोटिन र बोसोको उचित मेटाबोलिजम गरेर कलेजोले पेटमा अम्लता, ग्यास वा फुल्ने समस्या पनि घटाउँछ। यसले पेट र आन्द्राको झिल्लीलाई क्षतिबाट बचाउँछ, जसले दीर्घकालीन पाचन स्वास्थ्यलाई सहयोग गर्छ।

 

कलेजोले रगतलाई निरन्तर शुद्ध राख्ने भएकाले सफा रगत फोक्सोसम्म पुग्छ। यसले फोक्सोमा ग्यास आदान–प्रदान (oxygen in, carbon dioxide out) लाई अझ प्रभावकारी बनाउँछ। अर्कोतर्फ, कलेजोले लिपिड र कोलेस्टेरोलको सन्तुलन कायम राख्छ। अतिरिक्त कोलेस्टेरोललाई पित्तमा रूपान्तरण गरेर आन्द्राबाट बाहिर निकाल्छ, जसले मुटु र धमनीलाई प्लाक बन्ने खतराबाट जोगाउँछ।

 

तर जब कलेजोमा समस्या आउँछ, यसको प्रभाव शरीरका धेरै भागमा देखिन थाल्छ। उदाहरणका लागि, छाला फिका हुनु वा आँखामा पहेँलो देखिनु जण्डिसको संकेत हो, जसले कलेजोले बिलिरुबिन राम्रोसँग निष्कासन गर्न सकेन भन्ने देखाउँछ। अनुहारमा सुजन हुनु वा नङमा कमजोरी देखिनु पनि कलेजो कार्य कमजोर भएको प्रत्यक्ष लक्षण हुन्। त्यसैले, कलेजोलाई स्वस्थ राख्नु भनेको केवल एक अङ्गको हेरचाह मात्र नभई सम्पूर्ण शरीरलाई दीर्घकालीन सुरक्षा दिनु हो।

 

फ्याट्टी लिभर - कलेजोमा बोसो जम्नु (Fatty Liver)

आजको जीवनशैलीका कारण लगभग ९०% मानिसमा बोसो जमेको कलेजो (fatty liver) देखिने गरेको छ। यसको मुख्य कारण अनुशासनहीन खानपान र अस्वस्थ बानीहरू हुन्। धेरैजसो मानिस राति ढिलो र भारी खाना खान्छन्, दिनभरि बारम्बार स्न्याकिङ गर्छन्, चिनी धेरै भएका कार्बोनेटेड पेयपदार्थ पिउँछन्, र प्रोटिन, बोसो र कार्बोहाइड्रेटको सन्तुलित प्रयोग नगरी असन्तुलित आहार ग्रहण गर्छन्। साथै, आयुर्वेदले बताएअनुसार, बिहान १० देखि दिउँसो २ बजेसम्मको समय पित्त–अग्नि (digestive fire) सबभन्दा सक्रिय हुने समय हो, जसमा मुख्य भोजन लिनु उत्तम हुन्छ। तर धेरै मानिसले यो समयमा भोजन नगरी बेलुकी ढिलो वा राति मात्र भारी खाना खान्छन्, जसले कलेजोमाथि सीधा असर पार्छ।

 

उदाहरणका लागि, कसैले राति १० बजे पिज्जा, बर्गर वा रोटि खायो भने त्यो खाना शरीरमा राम्रोसँग पच्दैन। किनभने राति पाचन प्रणालीको सक्रियता घटिसकेको हुन्छ। त्यसबेला खाएको अतिरिक्त कार्बोहाइड्रेट र बोसो कलेजोमा जम्मा हुन थाल्छ। कलेजोले ती कार्ब्सलाई बोसोमा रूपान्तरण गर्छ र लगातारको यस्तो अभ्यास कलेजो भित्र बोसो तह–तहमा जम्मा भई fatty liver बन्न सहयोगी हुने व्यवहार बनिदिन्छ। सुरुवाती अवस्थामा यसले ठूला लक्षण देखाउँदैन, तर दीर्घकालमा यसले सुजन (Inflammation), थकान, पाचन समस्या, मधुमेह, उच्च कोलेस्टेरोल, अनि गम्भीर अवस्थामा सिरोसिस सम्मको समस्या ल्याउन सक्छ।

 

यसरी हेर्दा, फ्याट्टी लिभर केवल एक रोग मात्र नभई आधुनिक जीवनशैलीको संकेत हो। अनुशासनबिना खानपान, असन्तुलित पोषण र गलत समयमा भोजन गर्ने बानीलाई सुधार नगरेसम्म यसको जोखिम बढ्दै जान्छ। त्यसैले नियमित समयमा खाना खाने, सन्तुलित आहार ग्रहण गर्ने, चिनी र कार्बोनेटेड पेय घटाउने, र राति हल्का खाना खाने अभ्यास अपनाउनु कलेजोलाई बचाउने प्रमुख उपाय हो।

 

कलेजो–मैत्री जीवनशैली र आयुर्वेदिक दृष्टि



आयुर्वेदले कलेजोलाई स्वस्थ राख्न “अनुशासन” लाई पहिलो आधार मानेको छ। कलेजोलाई स्वस्थ राख्न सबैभन्दा महत्त्वपूर्ण कुरा अनुशासन नै हो हाम्रो दैनिक खानपानमा निश्चित समय कायम गर्न सक्नु कलेजोको स्वास्थ्यका लागि अत्यन्त उपयोगी हुन्छ। सामान्यतया बिहान करिब ८:०० बजे हल्का भोजन गर्नुपर्छ। दिउँसो १२:०० बजे मुख्य वा भारी भोजन लिनुपर्छ। बेलुकी ६:०० बजे हल्का भोजन लिनुपर्छ। बिहानको भोजन केवल ऊर्जा बढाउन पर्याप्त हुनुपर्छ। दिउँसोको भोजन पाचन अग्नि सबभन्दा प्रबल हुने समयमा लिनु उत्तम हुन्छ। रातको भोजन हल्का हुनुपर्छ ताकि शरीरमा बोझ नपरोस्। यी समयहरूलाई स्थिर राख्नुपर्ने हुन्छ। अधिकतम १०–१५ मिनेटको तलमाथि गर्न सकिन्छ तर एक–दुई घण्टाको हेरफेर कलेजोले मन पराउँदैन।

 

कम्तीमा एक महिना नियमित रूपमा यस्तो अनुशासन पालना गरेमा कलेजोमा स्पष्ट सुधार देखिन्छ। किनकि कलेजोमा ५०० भन्दा बढी कार्यहरू हुन्छन्। डिटोक्सिफिकेसनदेखि लिएर मेटाबोलिजम, भण्डारण, हार्मोन सन्तुलन र अन्य अङ्गलाई सहयोग गर्नेसम्म। कलेजोले आफ्नै पुनरुत्पादन समेत गर्नुका साथै मिर्गौला, मुटु, फोक्सो, आन्द्रा जस्ता अङ्गलाई प्रत्यक्ष समर्थन गर्छ।

 

शरीरमा रगत आपूर्ति गर्ने प्रणालीमा पनि कलेजो विशेष स्थानमा राखिएको छआन्द्राबाट आउने सबै फोहोर रगत पोर्टल नसामार्फत पहिलोपटक कलेजोमा पुग्छ । त्यहाँबाट शुद्धीकरण भई उपयोगी भाग अलग गरिन्छ । अनि मात्र बाँकी रगत मुटुतर्फ पठाइन्छ प्रकृतिले कलेजोलाई यस्तो “अपवाद” अङ्गका रूपमा सिर्जना गर्नुको कारण पनि यही हो। यसलाई ठीक राख्न सकियो भने सम्पूर्ण शरीर स्वतः संतुलनमा रहन्छ।

 

दिनमा तीन पटक निश्चित समयमा खाना खाने: बिहान हल्का, दिउँसो भारी (१०–२ बीच), साँझ हल्का। पेट २/३ मात्र भरिने, १/३ भाग पाचनको लागि खाली राख्ने। रातमा २००–३०० क्यालोरीजस्तै हल्का भोजन (उमालेको वा भुटेको तरकारी) लिनु उपयुक्त हुन्छ।

 

कलेजोको अवस्था बुझ्नका लागि विभिन्न रक्त परीक्षण र इमेजिङ परीक्षणहरू गरिन्छ। सबैभन्दा सामान्य परीक्षण Liver Function Test (LFT) हो, जसमा SGPT (ALT), SGOT (AST), ALP, Bilirubin, Albumin Total Protein जस्ता सूचकहरू नापिन्छन्। यीले कलेजोले विष हटाउने, प्रोटिन बनाउने र पित्त उत्पादन गर्ने क्षमता कस्तो छ भन्ने देखाउँछन्। ALT AST बढी देखिएमा कलेजोमा सूजन (Inflammation) वा क्षति भएको संकेत मानिन्छ। Bilirubin बढेमा जण्डिस हुने सम्भावना हुन्छ। Albumin कम भएमा शरीरमा सुजन (ascites, edema) देखिन सक्छ। LFT सँगै लिपिड प्रोफाइल (कोलेस्टेरोल, ट्राइग्लिसराइड, HDL, LDL) पनि कलेजोको मेटाबोलिजम अवस्थाबारे जानकारी दिन्छ।

 

यस्तै, HbA1c र फास्टिङ ब्लड सुगर परीक्षणले कलेजो र प्यान्क्रियाज मिलेर रगतमा चिनी कत्तिको सन्तुलित रहेको छ भन्ने बुझ्न मद्दत गर्छ। यदि कलेजोले ग्लाइकोजन रिलिज गरेर रगतमा सुगर स्थिर राख्न सकेन भने यी सूचकहरू असामान्य देखिन्छन्। साथै, कलेजोमा बोसो जम्मा भएको छ वा छैन भन्ने जाँच गर्न अल्ट्रासाउन्ड (Ultrasound of Liver) प्रयोग गरिन्छ। यसले fatty liver को grade (Grade I, II, III) देखाउँछ।

 

यदि कुनै व्यक्तिमा कलेजो रोगको शंका बलियो छ भने चिकित्सकले थप परीक्षणहरू पनि गर्न सक्छन्, जस्तै CT Scan, MRI वा FibroScan, जसले कलेजोको संरचना, बोसोको मात्रा र फाइब्रोसिस/सिरोसिसको स्तर स्पष्ट देखाउँछ। कहिलेकाहीँ रक्त परीक्षणमार्फत Hepatitis B वा C जस्ता भाइरस संक्रमणको पनि जाँच गरिन्छ।

 

अनुशासनपछि कलेजोलाई मन पर्ने दोस्रो कुरा “तीतो स्वाद” हो। तीतो स्वादले पित्त र एन्जाइमहरूको गतिविधि सन्तुलनमा राख्छ। ALT, AST, SGPT, SGOT जस्ता कलेजो–संबन्धी सूचकहरूलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। पुराना समयमा मानिसहरूले बिहान–बिहान नीमको डाँठले दाँत माझ्ने गर्थे। नीमका काँचा पात चपाउँथे। करेलाको तरकारी खाँथे। यी सबै अभ्यासले कलेजो बलियो राख्थ्यो। करेला, नीम, हरिया पातदार तरकारी जस्ता प्राकृतिक स्रोतहरू तीतोका उत्कृष्ट उदाहरण हुन्। आफ्नो आहारमा तीतो स्वादलाई समावेश गर्न सकिए कलेजोको स्वास्थ्य दिगो रूपमा बलियो हुन्छ।

 

डिटोक्सिफिकेसनदेखि हार्मोन सन्तुलनसम्म, पाचन–पोषणदेखि रोगप्रतिरोधात्मक कार्यसम्म गर्ने कलेजोको स्वास्थ्य नै शरीरको स्वास्थ्य हो। अनुशासित खानपान, निश्चित समयमा भोजन, राति हल्का खाना, तीतो–मैत्री आहार, व्यायाम, पर्याप्त निद्रा, मदिरा / चिनी–पेयबाट टाढा र चिकित्सकीय निगरानीमा सुरक्षित जडीबुटी प्रयोग गरे कलेजो बलियो रहन्छ। कलेजो बलियो भएमा मिर्गौला, मुटु, फोक्सो, मस्तिष्कदेखि छाला–नङसम्म सम्पूर्ण शरीर स्वतः सन्तुलित हुन्छ।

 

आयुर्वेदले “तीतो” स्वादलाई कलेजोको प्रमुख मित्र मानेको छ। करेला, निम, हरिया पातदार तरकारीहरूले पित्त र एन्जाइम सन्तुलनमा सहयोग गर्छन्। जडीबुटीमा चिरायता () र भूँई आँवला कलेजोका लागि लाभदायक मानिन्छ। चिरायताले (Swertia) विष र अतिरिक्त बोसो हटाउँछ भने भूँई आँवलाले (Phyllanthus niruri/amarus) पित्त नियन्त्रण र जण्डिसमा सहयोग गर्छ। हरेक जडीबुटीहरू शोधन (purification) गरि ठिक मात्रामा आयुर्वेदले तोकेको तरिका अनुसार मात्रै प्रयोग गर्नुपर्छ। गलत प्रजाति (जस्तै गलत गिलोय) वा अशोधित धतुरा, भलायो (Semecarpus anacardium), सर्पगन्धा (Rauvolfia serpentina) प्रयोगले कलेजोलाई गम्भीर क्षति पुर्याउन सक्छ। त्यसैले आयुर्वेदिक औषधि प्रयोग गर्दा प्रमाणित वैद्य वा आयुर्वेद चिकित्सकसँग सल्लाह लिनु अनिवार्य हुनेछ।

 

 

 

 चिरायता (कालमेग) र भुइँ अमला



पुरानो समयमा घरघरमै चिरायताको काढा ज्वरो लागेको व्यक्तिलाई पिउन दिने गरिन्थ्यो। चिरायता निकै तीतो हुन्छ । तर यही तीतोपन कलेजो र रगत सफा गर्ने प्रमुख गुण हो। ज्वरोमा शरीरले विषाक्त पदार्थ र संक्रमणसँग लड्नुपर्छ। त्यतिबेला चिरायताले दुई काम गर्छ। शरीरलाई ऊर्जा दिन्छ र विषाक्त तथा रोगजनक तत्त्वहरूको उन्मूलन (elimination) गर्छ। यही कारण यसलाई “प्राकृतिक एन्टिबायोटिक” जस्तै मानिन्छ। आधुनिक अध्ययनले पनि चिरायतामा Andrographolide नामक तत्त्व पाइने देखाएको छ। जसले सूजन कम गर्ने (anti-inflammatory), रोगप्रतिरोधात्मक क्षमता बढाउने (immune booster) र कलेजोलाई पुनरुत्पादन गर्ने क्षमता प्रदान गर्ने देखाएको छ।

 

भुइँ अमला (Phyllanthus) अर्को महत्वपूर्ण जडीबुटी हो जसलाई परम्परागत रूपमा “जण्डिसको शत्रु” भनिन्छ। यो मुख्यतया पित्त प्रणालीमा काम गर्छ कलेजोमा हुने सूजन (hepatitis, fatty liver) कम गर्छ। साथै, यसमा फलाम प्रशस्त हुन्छ जसले रगतलाई सबल बनाउँछ। यसको अर्को गुण मूत्रवर्धक (diuretic) हो जसले मिर्गौलालाई सहयोग पुर्याउँछ। चिरायता र भुइँ आँवलाको मिश्रणले अङ्ग डिटोक्सिफाइङ गर्न र रगत शुद्ध गरि मूत्रमार्फत विष निकास गर्ने कलेजो र मिर्गौलाको काममा सहयोग गर्दछ। दुवैको संयोजनले “हेप्टोबिलियरी स्वास्थ्य” (कलेजो–मिर्गौला–पित्त प्रणाली) लाई बलियो बनाउँछ।

 

व्यावहारिक रूपमा ५०० मिलिग्रामको २५० मिलिग्राम चिरायता (कालमेग) र २५० मिलिग्राम भुइँ अमलाको मिश्रणको  क्याप्सुल बजारमा उपलब्ध हुन जरुरि देखिन्छ। त्यसलाई दिनमा दुई पटक (बिहान–साँझ) सेवन गर्दा यसको प्रभाव केही दिनमै देखिन्छ। पेट फुल्ने समस्या घट्छ, पाचन सुधार हुन्छ, शौच अर्ध–ठोस हुन थाल्छ, र शरीर हल्का महसुस हुन्छ। चिरायता र भुइँ अमलाका जैव–सक्रिय तत्त्वहरूले कलेजोको पित्त प्रवाह र बोसोको पाचन (मेटाबोलिजम) दरमा सुधार ल्याउँछ। यसका कारण कलेजोका पित्त नुनहरू (bile salts) राम्रोसँग काम गर्ने गरी प्रभावकारी बन्दछन्।

 

हाल बजारमा चिरायता (कालमेग) र भुइँ अमलाको ठ्याक्कै २५०–२५० मिलिग्राम संयोजन भएको ५०० मिलिग्रामको एकल क्याप्सुल उपलब्ध छैन। तर यससँग नजिकका केही उत्पादनहरू पाइन्छन्। उदाहरणका लागि, Adliv Forte Capsule मा Andrographis paniculata (२५० mg) Phyllanthus niruri (२५० mg) दुवै समावेश छन्। तर यसमा bhringaraj (२५० mg) kutki (८० mg) जस्ता अन्य जडीबुटीहरू पनि थपिएका हुन्छन्। यो उत्पादन HealthyHey Nutrition, Amazon, eBay, TrueMeds, Lindberg Nutrition Products जस्ता विभिन्न प्लेटफर्महरूमा पाइन्छ।

 

एकल–घटक उत्पादनहरूको कुरा गर्दा, Chanca Piedra Capsules मा Phyllanthus niruri मात्र ५०० mg हुन्छ । यसमा अरू कुनै जडीबुटी मिसाइएको हुँदैन। यो Amazon, Lindberg Nutrition Products Piping Rock जस्ता साइटहरूमा उपलब्ध छ। त्यसैगरी, Chirayta Capsule (५०० mg) भने केवल Swertia chirata अर्कबाट बनेको हुन्छ। यसमा अन्य कुनै जडीबुटी हुँदैन। यो HealthyHey Nutrition, medireveshop.com, Amazon मा पाइन्छ।

 

चिरायता (कालमेग) र भुइँ अमलाको संयोजनको थप मूल्य यो हो कि भुइँ अमलाले रगतमा फलाम आपूर्ति गर्छ, जसले एनीमिया वा थकानमा मद्दत पुर्याउँछ। चिरायताले कलेजोलाई पुनःनिर्माण (regeneration) गर्ने क्षमतामा सहयोग गर्छ। यसरी, दुवै जडीबुटी एकअर्काको गुणलाई सुदृढ बनाउँछन्। एकले डिटोक्सिफाइ गर्छ, अर्कोले पोषण दिन्छ।

 

आयुर्वेदमा जडीबुटी

 

प्राकृतिक रूपमा पाइने खानामा प्रकृतिले कुनै विशेष सुरक्षात्मक तत्वहरू राख्दैन, त्यसैले ती पदार्थहरू मानिसका लागि सिधै खान मिल्ने वा सामान्य प्रसोधनपछि सुरक्षित रूपमा सेवन गर्न सकिने हुन्छ। तर आयुर्वेदमा प्रयोग हुने जडीबुटीहरू अलि फरक हुन्छन्। यस्ता जडीबुटीमा प्रकृतिले आफ्नै सुरक्षात्मक तत्वहरू—जस्तै अल्कलॉइड—राखेको हुन्छ, जसले ती बोटबिरुवामा रहेको औषधीय सारतत्व र पोषणलाई कीट वा रोगाणुबाट जोगाउने काम गर्छ।

 

यही कारणले एउटै जडीबुटी विभिन्न प्रकारको प्रसोधन (processing) पछि फरक–फरक प्रकृतिको औषधि बन्न सक्छ। तर ब्रह्माण्डको यो गहिरो नियम नबुझेर, कतिपय मानिसले केवल नाम सुनेको आधारमा कुनै जडीबुटीलाई शुद्धीकरण नगरी सिधै प्रयोग गर्दा त्यसले उल्टै हानि पुर्‍याएको पाइन्छ। कारण, ती सुरक्षात्मक तत्वहरू नै मानिसको शरीरमा अशुद्ध रूपमा प्रवेश गर्दा विषाक्त बन्न सक्छन्। त्यसैले, जडीबुटीलाई सुरक्षित र प्रभावकारी बनाउन प्रयोग गर्नु अघि विशेष विधिबाट शुद्धीकरण (शोधन) गर्नु अत्यावश्यक हुन्छ।

 

उदाहरणका लागि भलायो (भल्लातक) जडीबुटी प्राकृतिक रूपमा मुटु–विषाक्त हुन्छ । तर शुद्धीकरणपछि यसैबाट क्यान्सर विरोधी औषधि बनाउन सकिन्छ। यसले ट्युमर घटाउने र कीमोथेरेपीपछि रिकभरीमा मद्दत गर्ने देखिन्छ। त्यस्तै, धतुरा प्राकृतिक रूपमा न्यूरोटोक्सिक हुन्छ ।  तर शुद्धीकरणपछि यसबाट कनकासव (Kankasava) नामक औषधि तयार हुन्छ, जसले ब्रोंकोडाइलेटरको काम गर्छ। एलर्जी वा साइनोसाइटिसमा उपयोगी हुन्छ।

 

यस्तै, आधुनिक चिकित्सामा प्रयोग हुने शक्तिशाली औषधिहरू पनि प्राकृतिक स्रोतबाट आएका छन्। जस्तै  ट्याक्सस बकाटा (Taxus baccata) रूखको बोक्राबाट विश्वप्रसिद्ध क्यान्सर औषधि Paclitaxel (Taxol) बनाइन्छ। सर्पगन्धा (Rauwolfia serpentina) बाट मानसिक रोग र उच्च रक्तचापमा प्रयोग हुने Reserpine औषधि तयार भएको हो। यी उदाहरणहरूले देखाउँछन् कि विषाक्त लाग्ने जडीबुटी पनि जब योग्य विधिबाट शुद्ध र प्रशोधन गरिन्छन् तब जीवनरक्षक औषधिमा परिणत हुन्छन्।

 

आयुर्वेदको औषधि (ओखति) कहिलेकाहीँ कसैमा प्रभावकारी नहुनुको कारण अधुरो वा गलत प्रयोग हो। जब मूल सिद्धान्त नबुझी कच्चा रूपमा प्रयोग गरिन्छ, तब हानिकारक नतिजा आउन सक्छ। खेतीबारी वा जमिनमा अनावश्यक रूपमा उम्रिने झार/घाँसलाई सामान्यतया “पात पतिङ्गर” भनिन्छ, तर ती सबै सधैं नोक्सान गर्ने हुँदैनन्। कतिपय हानिकारक हुन्छन्, कतिपय सामान्य खानाका रूपमा प्रयोग गर्न सकिन्छन्, र धेरैजसो औषधीय रूपमा अत्यन्त लाभदायक हुन्छन्। हाम्रो गाउँघरमा सहजै पाइने भुइँ अमला, चिराइतो, गोखुरु, धतुरो (Datura), लट्टे – लुँडे झार, दुधे झार (Dandelion), दुबो, कुश, पाती, गन्दे जस्ता बोटबिरुवाहरू पात पतिङ्गरकै रूपमा देखिए पनि औषधीय दृष्टिले अमूल्य खजाना हुन्।

 

भुइँ अमला (Phyllanthus niruri)  जण्डिस र कलेजो रोगको शत्रु मानिन्छ। यसको पात वा जरा उमालेर खाने गरे कलेजो सफा हुन्छ र पित्त प्रणाली सुदृढ हुन्छ। चिराइतो (Swertia chirata) अत्यन्त तीतो भए पनि ज्वरो घटाउने प्राकृतिक औषधि हो। गाउँमा ज्वरो आउँदा चिरायताको काढा पिउने चलन अझै छ। गोखुरु (Tribulus terrestris) मूत्र प्रणालीका रोगमा लाभदायक हुन्छ। पेशाबमा जलन वा पथरी भएको अवस्थामा गोखुरुको सेवनले आराम मिल्छ। धतुरो (Datura) कच्चा रूपमा विषाक्त हुन्छ, तर शुद्धीकरणपछि यसैबाट बनेको कनकासव औषधि श्वासप्रश्वास समस्या (Asthma, Bronchitis) र साइनोसाइटिसमा प्रयोग हुन्छ। भिँडी वा तरकारीसँगै उम्रने लट्टे - लुँडे   झारको (Amaranthus sp.) पातलाई तरकारीको रूपमा खान सकिन्छ, जसले रगत शुद्ध गर्छ र शरीरलाई बल दिन्छ। दुधे झारको (Dandelion) जराबाट बनेको चिया कलेजो र मिर्गौलाको डिटोक्समा प्रयोग हुन्छ। आयुर्वेदमा दुधे झार पाचनशक्ति बढाउने औषधि मानिन्छ।

 

हिन्दू संस्कृतिमा पूजा–पाठमा प्रयोग हुने  घाँस दुबो (Bermuda Grass)  रक्तस्राव रोक्ने र मुखको फेसको छालामा हुने रोगमा प्रभावकारी हुन्छ। वैदिक संस्कृतिमा पवित्र मानिने कुश (Desmostachya bipinnata) आयुर्वेदमा पाचन सुधार र रक्तचाप नियन्त्रणमा प्रयोग हुन्छ।

 

तिते पाती (Mugwort - Artemisia vulgaris) झार पेट दुखाइ वा सामान्य संक्रमणमा उपयोगी हुन्छन्। दक्षिण कोरियामा तिते पाती लाई "स्सुक () “ भनिन्छ। यसलाई विभिन्न परिकारहरूमा जस्तै पिउने सुप (स्सुकगुक), चामलका परिकार वा ढक–ढक (ट्टोक), चिया, र प्यानकेक (जोन) मा प्रयोग गरिन्छ।

 

यसमा स्वादमा अलिकति तीतोपन भएको माटोको गन्ध सहितको जडीबुटीजन्य सुगन्ध हुन्छ। शरीरलाई विषमुक्त बनाउन मद्दत गर्ने र जीवनशक्ति बढाउने औषधीय गुणका कारण यसलाई खानामा राखेर खानको लागि अधिक महत्व दिइन्छ।

 

गन्धे झार (Ageratum conyzoides)  लाई परम्परागत रूपमा घाउ निको पार्न, छालासम्बन्धी रोगमा, ज्वरो घटाउन, टाउको दुखाइ कम गर्न, श्वासप्रश्वासका समस्या तथा पाचनसम्बन्धी गडबडीमा प्रयोग गरिन्छ।

 

यी सबै उदाहरणहरूले देखाउँछन् कि खेतीबारी वा जमिनमा अनावश्यक रूपमा उम्रिने भनिएका झारहरूको आफ्नै ओखतिय मूल्य छ।

 

योग्य व्यक्ति, वैद्यहरु सँग सल्लाह गरेर, सही पहिचान गरेर र शुद्धीकरण विधि अपनाएर प्रयोग गरियो भने यी बोटबिरुवाले जीवनलाई स्वस्थ, सन्तुलित र चेतनशील बनाउन ठूलो भूमिका खेल्छन्।

 

आयुर्वेद लाई यसरि यसरी उपयोग गर्न सक्दा यो केवल रोग निको पार्ने प्रणाली मात्र नभई समग्र जीवन विज्ञान (science of life) को कडीको रूपमा स्थापित गराउन सकिन्छ।

 

मस्कुलर डिस्ट्रोफी, म्याग्नेसियम र कुम्भक

 

मस्कुलर डिस्ट्रोफी जन्मजात / आनुवंशिक रोगहरूको समूह हो जसमा मांसपेशी क्रमशः कमजोर र क्षीण हुँदै जान्छन्। धेरै प्रकार छन्—जस्तै Duchenne, Becker, Limb-Girdle—तर मूल मेकानिज्म एउटैतर्फ पुग्छ: मांसपेशी तन्तुका कोशिकाहरूको सतह (sarcolemma) लाई स्थिर राख्ने डिस्ट्रोफिन नामको प्रोटिन जीनमा त्रुटि हुँदा पर्याप्त मात्रामा बन्ँदैन। डिस्ट्रोफिन कमजोर हुदाँ हरेक हिँडडुल/संकुचनमा कोशिका–झिल्ली च्यातिन्छ, झिल्लीमार्फत क्याल्सियम (Ca²) असन्तुलित रूपमा भित्र पस्छ, माइटोकन्ड्रिया बिग्रन्छ, Reactive Oxygen Species (ROS) बढ्छ, र अन्ततः कोशिका मर्छ; मृत कोशिकाको ठाउँ फाइब्रोसिस / चिल्लो तन्तु भर्ने भएकाले शक्ति झन् घट्दै जान्छ। यही कारण MD मा समयसँगै चालढाल, सन्तुलन, श्वास र कहिलेकाहीँ मुटु कार्यसमेत प्रभावित हुन्छ।


म्याग्नेसियम शरीरका सयौँ एन्जाइमहरूको सह–कारक हो र ऊर्जा अणु ATP वास्तवमा Mg-ATP को रूपमै काम गर्छ। यसले तीन तहमा मद्दत गर्न सक्छ: (१) क्याल्सियम नियमन—म्याग्नेसियमले क्याल्सियम च्यानलहरू (भोल्टेज–गेटेड/रिसेप्टर–सम्बद्ध)को अति सक्रियता थामेर कोशिकाभित्र अनियन्त्रित Ca² पस्ने प्रवृत्ति घटाउँछ, जसले क्याल्सियम–ओभरलोडबाट हुने झिल्ली क्षति, प्रोटेस/लिपेस सक्रियता र नेक्रोसिस कम गर्छ। (२) माइटोकन्ड्रियल सुरक्षा—Mg² ले माइटोकन्ड्रियल मेम्ब्रेन पोटेन्सियल (ΔΨm) स्थिर राख्न, ATP उत्पादन टिकाउन र PTP (permeability transition pore) खुल्ने सम्भावना घटाउन सहयोग गर्छयसले Reactive Oxygen Species कम गरी तन्तुका कोशिकाहरूको बाच्ने क्षमता बढाउँछ। (३) आयन–पम्प दक्षता / मेटाबोलिजम—Na/K-ATPase SERCA जस्ता पम्पहरूको कार्यक्षमता Mg-ATP बाट चल्ने भएकाले आयन–होमियोस्टेसिस, मांसपेशी शिथिलता र पुन:तैयारीमा मद्दत हुन्छ।

 

व्यवहारिक रूपमा, मौखिक म्याग्नेसियमले पेट बिगार्न सक्छ भने ट्रान्सडर्मल (छालाबाट सोसाइने) MgCl / “म्याग्नेसियम ओइल” ले म्याग्नेसियमको स्थानीय उपलब्धता बढाएर पखाला बिना लाभ दिन सक्छ भन्ने अनुभवात्मक रिपोर्टहरू छन्; यद्यपि प्रमाणको मजबुती विविध छ, त्यसैले चिकित्सा निगरानी उचित हुन्छ—विशेषगरी मिर्गौलामा समस्या भएका बिरामीमा।

 

म्याग्नेसियम र कुम्भक (श्वास–रोक) को संयुक्त उपयोग वा सहकार्य (synergy) मस्कुलर डिस्ट्रोफी को लागि प्रभावकारी हुन सक्ने देखिन्छ। कुम्भकको कोमल अभ्यासले थोरै समयका लागि CO बढाइ हल्का Hypoxia उत्पन्न गर्छ। CO बढ्दा Bohr effect ले अक्सिजन तन्तुमा सजिलै छुट्ने भएकाले मांसपेशीलाई O-डेलिभरी सुधारिन्छ। हल्का/नियन्त्रित hypoxia ले HIF-1α मार्ग सक्रिय गराएर माइक्रो–सर्कुलेसन, एन्टी–अक्सिडन्ट डिफेन्स र Autophagy/ Mitophagy (PINK1–Parkin मार्ग) बढाउँछ—यसले क्षतिग्रस्त माइटोकन्ड्रियालाई सफा गरी माइटोकन्ड्रियल–क्वालिटी–कण्ट्रोल सुधार्छ। नियतिशील श्वास – लिने - रोक्ने प्रक्रिया निसास्सिने जस्तो नभएर संयमित, चिकित्सकीय–ढङ्गको हुने कुम्भकले parasympathetic (vagal) टोन बढाएर Stress hormone (कर्टिसोल / नोरएड्रेनालिन) घटाउँछसूजन–संकेत (NF-κB) कम गर्न सघाउँछ, जसले मांसपेशी क्षयमा सामेल सूजनात्मक चक्र तोड्न मद्दत पुर्‍याउँछ।


यही बेला म्याग्नेसियमले झिल्ली–स्थिरता, Ca²नियमन र Mg-ATP मार्फत ऊर्जा–उपलब्धता बढाइ राखेकाले, कुम्भकले सफा गरिरहेका क्षतिग्रस्त माइटोकन्ड्रिया / तन्तुका कोशिकाहरूको ठाउँमा बाँकी कोशिकाले राम्रोसँग काम गर्न सक्छन्। सरल भाषामा कुम्भकले “कुन कोशिका राख्ने/हटाउने” गुणस्तर–नियन्त्रणलाई टोक्सिन–कम, ROS – कम वातावरणमा सक्रिय गर्छ। म्याग्नेसियमले त्यस प्रक्रियामा बाँचिरहेका कोशिकालाई ऊर्जा, झिल्ली-रक्षा र Ca²सन्तुलनको “हथियार” दिन्छ। त्यसको परिणाम मांसपेशीको थकान घट्नु, खिचाव / ऐंठन घट्नु, चाल–ढालमा सुधार र रोग–प्रगतिमा ढिलाइ देखिनु जस्ता सकारात्मक परिस्थिति त्यहाँ पैदा गर्न सक्दछ।