म भित्रको असीमित शक्ति “म”
तपाईंभित्र एउटा यस्तो शक्ति छ, जुन कुनै पनि शिक्षकभन्दा पुरानो, कुनै पनि
प्रविधिभन्दा अगाध र शक्तिशाली छ। यो शक्ति तपाईंलाई कुनै पाठ्यपुस्तकले सिकाएन,
कुनै विद्यालयमा पढाइएन र कुनै प्रवचनले पनि पूर्ण रूपमा बुझाउन
सकेन।
यो शक्ति रहस्यमय भएर होइन, बरु
यो अत्यन्तै व्यक्तिगत भएकाले हो। यो यति व्यक्तिगत छ कि कुनै पनि शब्दले यसको
पूर्ण अर्थलाई समेट्न सक्दैन। हरेक मानिसको भित्र एउटा यस्तो जन्मजात (innate)
शक्ति हुन्छ, जुन बाहिरी स्रोत, जस्तै शिक्षक, किताब वा प्रविधिबाट पाउन सकिँदैन।
प्राचीन ग्रन्थहरूले यसलाई आत्मशक्ति वा प्राणशक्ति भनेका छन्।
आधुनिक विज्ञानले यसलाई बायोएनर्जी सिस्टम वा चेतनाको क्षेत्र (consciousness field) का रूपमा व्याख्या गर्न थालेको छ। जीवनभर तपाईंले यसै शक्तिलाई
शिक्षक, कोच, गुरु वा
मार्गदर्शकहरूमार्फत बाहिर खोजिरहनुभयो। तर, सत्य यो हो कि
यो शक्ति हरेक पल तपाईंको श्वाससँगै तपाईंभित्रै बाँचिरहेको थियो।
तपाईं दिनमा औसत २३,००० पटक
श्वास लिनुहुन्छ। तर के तपाईंलाई थाहा छ, तपाईंको बारम्बारको
सङ्घर्षको मूल कारण र त्यसबाट मुक्ति दुवै यही श्वासमा लुकेको छ? तपाईं जीवनमा धेरै मेहनत गर्नुहुन्छ, आफ्नो सोच
बदल्ने प्रयास गर्नुहुन्छ र अनेकौं योजनाहरू बनाउनुहुन्छ। तर पनि परिणाम किन
बारम्बार उस्तै फर्किन्छ? किनभने तपाईंको हरेक श्वास
लिँदा र बाहिर फाल्दा तपाईंले आफ्नो पुरानो वास्तविकतालाई अचेत रूपमा
पुनः-कोडिङ गरिरहनुभएको हुन्छ। अब यसलाई बदल्ने बेला आएको छ।
हामीमध्ये धेरैले आफ्नो श्वासमा ध्यान दिँदैनौँ। अचेत रूपमा लिइएको श्वासले
हाम्रो शरीरमा तनाव, डर,
अराजकता र असन्तुलन बढाउँछ। यसको विपरीत, सचेत
श्वासले शरीरलाई शान्त पार्छ, ऊर्जाको
प्रवाहलाई व्यवस्थित गर्छ र चेतनालाई उच्च स्तरमा जागृत गराउँछ। तपाईंको भित्र
एउटा यस्तो “म” शक्ति छ, जुन कसैले सिकाएको छैन, कुनै किताबमा लेखिएको छैन। त्यो शक्ति हो—तपाईंको श्वास।
एक व्यक्तिले धेरै मेहनत गर्छ, सकारात्मक कुराहरू सोच्छ र योजनाहरू बनाउँछ। तर पनि बारम्बार उही कठिनाइमा
फस्छ। किनकि उसको मनमा तनाव छ र त्यो तनाव उसको श्वासमा प्रतिबिम्बित हुन्छ। यसरी,
उसले बिना जानकारी नै ब्रह्माण्डलाई "म सँग सधैं केही न केही
कुराको कमी छ" भन्ने सन्देश पठाइरहेको हुन्छ। त्यसैले, तपाईंको
जीवन बनाउने वा बिगार्ने दुवै काम तपाईंको श्वासमा निर्भर गर्छ।
तपाईंले लिने श्वास केवल हावाको आवागमन मात्र होइन, यो एक कोड हो—एक सङ्केत जसले तपाईंको
सम्पूर्ण अस्तित्व, तपाईंको वरपरको वातावरण र तपाईंसँग भएका
परिस्थिति तथा मानिसहरूलाई प्रभावित गर्छ। हरेक पटक श्वास भित्र तान्दा (inhalation)
तपाईंले ब्रह्माण्डबाट आफ्नो भित्री अवस्था अनुसारको ऊर्जा तानिरहनु
भएको हुन्छ। त्यसैगरी, हरेक पटक श्वास बाहिर फाल्दा (exhalation)
त्यही ऊर्जा आफ्नो अनुभूति र भित्रि चाहनाको फिङ्गर प्रिन्ट रुपि सूचनाको अन्तरघुलन गरि ब्रह्माण्डमा
पठाइरहनुभएको हुन्छ।
यसको अर्थ, तपाईंको श्वास
तपाईंको अनुभूति र भित्रि चाहनाको, सन्तुष्टि र असन्तुष्टिको,
लगाव र आशक्तिको समग्र हस्ताक्षर (signature) हो।
यदि तपाईंको श्वासमा डरको कम्पन छ भने, त्यसको
प्रतिक्रियास्वरूप डरनै फर्केर आउँछ। यदि तपाईंको श्वासमा शान्तिको कम्पन छ भने,
त्यसले शान्ति नै फर्काउँछ।
सरल अर्थमा बुझ्दा तपाईंको हरेक श्वास एउटा 'कोड' जस्तै हो। जसरी कम्प्युटरलाई कोडले
चलाइन्छ, त्यसरी नै तपाईंको श्वासले तपाईंको जीवनलाई
निर्देशित गर्छ। श्वास भित्र लिँदा तपाइ वाट प्राप्त ऊर्जा अनुरूपको ब्रह्माण्डबाट
तपाईंले के प्रतिक्रियात्मक चेतना रुपी सुचना लिन चाहनु भएको हो त्यहि, त्यो तान्नुहुन्छ। श्वास बाहिर फाल्दा तपाईंले आफ्नो भित्रको ऊर्जा फिङ्गर
प्रिन्ट कोड बाहिर पठाउनुहुन्छ। तपाईंको मनमा डर छ भने, तपाईंको
श्वासले पनि डरको ऊर्जा बाहिर पठाउँछ। यसको परिणाम स्वरूप, ब्रह्माण्डले
तपाईंलाई नयाँ समस्या वा असफलताका थप गहिरो हुने गरि थप वा नयाँ विचार विकसित
गर्ने तपाइको संदेश अनुरुपकै 'डर' फर्काउँछ।
तर यदि तपाईंको श्वास शान्त छ भने, ब्रह्माण्डले त्यसको
प्रतिक्रियामा तपाईंलाई शान्ति र सफलता थप गहिरो हुने गरि थप वा नयाँ विचार विकसित
गर्ने उर्जा गुण फर्काउँछ।
यो कुनै आध्यात्मिक कथा मात्र होइन, विज्ञानले समेत यसलाई प्रमाणित गरिसकेको छ। तपाईंको श्वासले तपाईंको शरीर
र बाहिरी संसारलाई कसरी प्रभावित गर्छ, तपाईंको वास्तविकताको
निर्माण कसरी गर्छ। भन्ने कुरालाई विज्ञानले निम्न अनुसार प्रमाणित गरेको छ।
- HeartMath
Institute संस्थाको अनुसन्धानले देखाउँछ कि तपाईंको श्वास र
मुटुको धड्कनको ताल मिल्दा ८ फिटभन्दा ठूलो विद्युत्चुम्बकीय (electromagnetic)
क्षेत्र बन्छ। यसले तपाईंको वरपरको वातावरण र मानिसहरूलाई समेत
प्रभावित गर्छ।
- डा.
फ्रिट्ज-अल्बर्ट पप (जर्मन वैज्ञानिक) का अनुसार, शरीरको प्रत्येक कोषले प्रकाशकण (bio-photons)
उत्सर्जन गर्छ। जब तपाईं तनावमा हुनुहुन्छ, यो प्रकाश अव्यवस्थित (chaotic) हुन्छ। तर जब
श्वास गहिरो र स्थिर हुन्छ, यो प्रकाश सुव्यवस्थित (coherent)
बन्छ।
- न्युरोसाइन्स
(Neuroscience) अन्तर्गत सचेत श्वास (mindful
breathing) ले मस्तिष्कमा नयाँ स्नायु मार्गहरू (neural
pathways) खोल्छ, जसले गर्दा पुराना
नकारात्मक बानीहरू तोड्न भूमिका खेल्ने प्रमाणित भएको छ ।
जब शरीर बेचैन हुन्छ र श्वास छोटो तथा छिटो छिटो हुन्छ, तब हाम्रो शरीर तनाव उत्पन्न गर्ने
हर्मोनहरूले भरिन्छ। यसले गर्दा नसाहरूमा दबाब पर्छ, मुटुको
धड्कन असन्तुलित हुन्छ र कोषहरूले असंगठित प्रकाश उत्सर्जन गर्छन्।
तर, जब श्वास गहिरो र स्थिर हुन्छ, शरीरले सुव्यवस्थित, उज्यालो र शक्तिशाली प्रकाश उत्सर्जन
गर्छ। यसले तपाईंको शरीरलाई मात्र होइन, तपाईंको वरिपरिको
ऊर्जा क्षेत्रलाई पनि सन्तुलित बनाउँछ।
सरल अर्थमा तपाईंको श्वास शरीरको कार्यका लागि मात्र सीमित छैन। यसले तपाईंको
सम्पूर्ण ऊर्जा, मन र शरीरका
कोषहरूमा गहिरो प्रभाव पार्छ।
उदाहरणका लागि जब तपाईं तनावमा हुनुहुन्छ, तपाईंको शरीरले असंगठित प्रकाश उत्सर्जन गर्छ। तर जब तपाईं शान्त
हुनुहुन्छ, यसले सङ्गठित प्रकाश उत्सर्जन गर्छ। यसको अर्थ,
तपाईंको श्वासले शरीरका हरेक कोषलाई प्रभावित गर्छ। त्यसैले,
तपाईं भित्रको शान्ति, जुन तपाइको नै तपाईंको
सबैभन्दा ठूलो शक्ति हो, त्यसको नियमन गरिदिन्छ।
श्वासको महत्वलाई आधुनिक विज्ञानले भर्खरै मात्र प्रमाणित गर्न थाले पनि, हजारौँ वर्षदेखि विभिन्न प्राचीन
संस्कृतिहरूले यसको गहिरो अर्थ बुझेका थिए।
- नेपालका ऋषिमुनिहरूले
यसलाई प्राणायाम भनेर चिनाए। जहाँ प्राणको अर्थ जीवन ऊर्जा र आयामको अर्थ
दिशा दिनु हो। यो अभ्यासले श्वासलाई नियन्त्रण गरेर चेतनालाई सही दिशामा
लैजाने काम गर्छ।
- मिस्रका 'मिस्ट्री स्कुल'हरूले
'श्वासद्वारा प्रकाश शरीरको निर्माण' (Breathing
the Light Body into Existence) भन्ने अवधारणा सिकाउँथे,
जसको अर्थ श्वासको माध्यमबाट प्रकाशमय शरीरको रचना गर्नु हो।
- हिब्रूहरूले
श्वासलाई 'रुआख'
(Ruach) भने। जसको अर्थ आत्मासँग जोड्ने जीवन श्वास हो।
- ग्रीक संस्कृतिमा
श्वासलाई 'न्युमा'
(Pneuma) भनिन्थ्यो। जसले जीवनको श्वासलाई जनाउँछ।
यी सबै संस्कृतिहरूको साझा निष्कर्ष के हो भने श्वास केवल हावाको आदानप्रदान
मात्र होइन, यो दृश्य र अदृश्य
जगतबीचको एउटा पुल हो।
आजको आधुनिक विज्ञानले श्वासलाई जसरी व्याख्या गर्छ, त्यो हजारौँ वर्ष पुरानो ज्ञानसँग मेल
खान्छ। जब तपाईं तनावमा हुनुहुन्छ, तपाईंको शरीरले
अव्यवस्थित (chaotic) प्रकाश उत्सर्जन गर्छ। जब तपाईं शान्त हुनुहुन्छ,
तपाईंको शरीरले सुव्यवस्थित (coherent) प्रकाश
उत्सर्जन गर्छ। यसको अर्थ, तपाईंको हरेक श्वासले शरीरका सबै
कोषहरूमा प्रभाव पार्छ। त्यसैले, तपाईंभित्रको शान्ति नै
तपाईंको वास्तविक शक्ति हो। उदाहरणका लागि प्राचीन सभ्यताहरू जस्तै नेपाली ऋषिहरू,
मिस्रका रहस्यवादी र ग्रीक दार्शनिकहरू सबैले श्वासलाई जीवनको आधार
मान्थे।
नेपालमा 'प्राणायाम' शब्दले नै श्वास (प्राण) लाई नियन्त्रण (आयाम) गर्ने अभ्यासलाई बुझाउँछ। मिस्रमा
उनीहरूले 'श्वासद्वारा प्रकाश शरीर बनाउनु' भन्ने कुरामा विश्वास गर्थे। हिब्रूमा 'रुआख'
को अर्थ श्वास र आत्मा दुवैलाई जोड्ने माध्यम हुन्छ । यसबाट के
स्पष्ट हुन्छ भने, श्वास केवल भौतिक हावा होइन, यो तपाईंको आत्मासँग जोडिएको साथी हो।
अब एक मिनेटका लागि आँखा बन्द गर्नुहोस् । आफ्नो श्वासमा ध्यान केन्द्रित
गर्नुहोस । नाकबाट हावा पसेको, फोक्सोमा फैलिएको र बिस्तारै बाहिर निस्केको केवल
हेर्नुहोस्। अनुभूति गर्नुहोस। यस क्षणमा तपाईं
श्वास लिइरहनुभएको छैन। श्वास लिने काम
तपाइको शरीरले गरिरहेको छ। तपाईं तपाइको शरीरको श्वास लिने कामको साक्षी बन्नुभएको
छ। यहाँ एउटा चमत्कार भइरहेको छ। यो चमत्कारलाइ पहिचान गर्नुहोस।
यदि तपाईं आफ्नो श्वासलाई हेर्न सक्नुहुन्छ भने, तपाईं आफ्ना विचारहरूलाई पनि हेर्न सक्नुहुन्छ। विचारहरू
आउँछन्, जान्छन्। भावनाहरू आउँछन्, जान्छन्।
तर तपाईं? तपाईं एक अपरिवर्तित साक्षी रहनुहुन्छ। तपाईमा विचारहरू आउँने - जाने, भावनाहरू आउँने - जाने क्षणमा
तपाईं सोच - विचार गरिरहनुभएको छैन। सोच - विचार गर्ने काम तपाइको मस्तिष्कले गरिरहेको
छ। तपाईं, तपाइको मस्तिष्कको सोच - विचार गर्ने कामको साक्षी
बन्नुभएको छ। यहाँ अर्को चमत्कार भइरहेको छ। यो चमत्कारलाइ पहिचान गर्नुहोस।
त्यसको समेत अनुभूति गर्नुहोस् । तपाईंको स्वरूप मात्र एक अपरिवर्तित साक्षी
अर्थात अवलोकन कर्ताको रुपमा दुवै अबस्थामा तपाइले पाउनु हुन्छ। त्यो नै तपाइँ
अर्थात् "म" को वास्ताविक रुप हो । यही नै जागरण हो।
- वेदान्त
दर्शनले यसलाई
'साक्षी चेतना'
भन्छ।
- बौद्ध
धर्मले
'बुद्ध स्वभाव'
भन्छ।
- क्रिश्चियन
मिस्टिसिजमले यसलाई
'क्राइस्ट कन्ससनेस'
भन्छ।
नाम फरक भए पनि, सत्य एउटै छ। जब तपाईं साक्षी बन्नुहुन्छ, तब स्वतः प्रतिक्रिया (reaction) गर्ने बानी बन्द हुन्छ। सचेत प्रतिक्रिया (response) सुरु हुन्छ। त्यही क्षण तपाईं जीवनको पीडित होइन, निर्माता बन्न थाल्नुहुन्छ।
सरल अर्थमा, जब तपाईं
आफ्ना विचारहरूमा नअल्झी तिनलाई नियाल्न थाल्नुहुन्छ, तब 'साक्षी
चेतना'
जाग्छ। तपाईंले केवल श्वास लिनुहुन्न, बरु त्यसलाई नियाल्नुहुन्छ। यही नै तपाईंको वास्तविक शक्ति
हो। कल्पना गर्नुहोस्, तपाईं नदीको किनारामा बसिरहनुभएको छ। नदीको पानी निरन्तर बगिरेहेको छ। त्यो
पानी तपाईंको मनका विचारहरू हुन्। तपाईं त्यो नदी होइन, तपाईं त केवल नदीलाई हेर्ने एक साक्षी हुनुहुन्छ। जब तपाईं आफ्नो श्वास र विचारहरूलाई नियाल्न
थाल्नुहुन्छ, तब
तपाईं आफ्नो मनको दास रहनुहुन्न, तपाईं आफ्नो जीवनको मालिक र निर्माता बन्नुहुन्छ।
श्वास भित्र तान्ने र बाहिर फाल्ने बीचको त्यो करिब ०.३ सेकेन्डको क्वान्टम
ग्याप भनी चिनिने श्वासको अन्तर मानव जीवनको अर्को गहिरो रहस्य हो। श्वास भित्र
तान्ने र बाहिर फाल्ने बीचको त्यो सानो करिब ०.३ सेकेन्डको मौन अन्तर रुपि क्षणिक
ठहरावलाई धेरैले केवल खाली ठाउँ ठान्छन्। तर प्राचीन परम्पराहरूले भन्थे कि यही
मौन नै सृष्टिको ढोका हो। श्वासको बीचको यस 'ग्याप' मा चेतना र ब्रह्माण्डबीचको पर्दा पातलो
हुन्छ। यही समयमा तपाईंले आफ्नो शुद्धतम इच्छालाई ब्रह्माण्डमा प्रसारित गर्नु हुन्छ।
क्वान्टम फिजिक्सको सिद्धान्त अनुसार, कणहरूको अवस्था एक
पर्यवेक्षकको उपस्थिति बाट बदलिन्छ।
तपाईंले श्वासको त्यो ठहरावमा आफ्नो ध्यान केन्द्रित गर्दा, पर्यवेक्षकको रुपमा तपाईंको उपस्थितिले अव्यक्त वेव फङ्गसनको रुपमा हुने ब्रह्माण्ड
चेताना पार्टिकल रुपी व्यक्त अर्थात
पहिचान गर्ने स्वरुपको (नयाँ स्वरूप) ज्ञान
रुपको सन्देशमा रुपान्तरण हुने हुँदा त्यसले भर्गो ज्योति रुपी ज्ञान प्राप्ति व
आत्म ज्ञानको अवसरको सम्भावनाहरू को
ढोका खोलिदिन्छ।
यसलाई सरलिकृत गर्दा जब तपाईं श्वास भित्र लिनुहुन्छ र बाहिर फाल्नुहुन्छ, त्यसको बीचमा एउटा सानो विश्राम हुन्छ।
त्यो क्षण खाली लाग्न सक्छ, तर प्राचीन ज्ञानअनुसार, यही ठहराव नै सबै चमत्कार र सम्भावनाहरूको ढोका हो।
उदाहरणका लागि जब तपाईं आफ्नो नजिकको व्यक्तिलाई अँगालो हाल्नुहुन्छ, त्यो पलमा समय केही क्षणका लागि रोकिए
जस्तो लाग्छ। त्यो क्षणमा तपाईं भावनात्मक रूपमा गहिराइमा जोडिनुहुन्छ। श्वासको
बीचको त्यही 'ग्याप' पनि त्यस्तै
भावनात्मक र ऊर्जात्मक गहिराइको क्षण हो। यदि तपाईं यस ठहरावमा बस्न सिक्नुहुन्छ
भने, तपाईंको चेतना ब्रह्माण्डसँग प्रत्यक्ष रूपमा जोडिन्छ।
त्यसपछि तपाइले आफुमा उब्जने ब्रह्माण्डका
बिबिध घटक सम्बन्धका तथ्यहरुको अनुभव
मार्फत् विचारको रुपमा प्राप्त हुने सत्यको अनुभूति र अध्यात्मिक ज्ञानका
कारण तपाईंको जीवनमा परिवर्तनहरू आउन थाल्छन्।
प्राचीन सभ्यताहरूले कम्पन–केन्द्रित र चलायमान बिन्दुलाई ढुङ्गा र इँटाबाट
प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्दै, वास्तविक मानव–मन्दिरलाई विभिन्न भौतिक मन्दिरहरूको रूपमा निर्माण गरे,
ताकि त्यसको संरचनामार्फत समाजलाई शरीरको भौतिकी र एनाटोमी बुझाउन
सकियोस्। त्यस्तै, उनीहरूले त्यसको मुख्य स्थानमा मूर्ति
राखी मानव मस्तिष्कको भौतिक संरचना र एनाटोमीको ज्ञान दिन उपाय सुझाए।
उक्त मूर्तिको प्राणप्रतिष्ठा गरेपछि मात्र मूर्तिले वास्तविक शक्ति–पीठको रूप लिन सक्ने विधि निर्माण गरी, मन, चित्त र अहंकारमार्फत अवलोकनकर्ताआत्मा अर्थात् “म” तत्वको भौतिक शरीरसँगको अनुबन्धन स्पष्ट गर्ने उपाय प्रस्तुत गरे। ती सबैलाई समग्रमा मिलाएर, एक मन्दिर मार्फत मानिसको शरीरबारे पूर्ण ज्ञान दिने र त्यहाँ गरिने कर्मकाण्डमार्फत शरीरलाई भौतिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक रूपमा स्वस्थ राख्ने गहिरो ज्ञान व्यवहारिक रूपमा पुस्तौँ–पुस्तासम्म हस्तान्तरण गर्ने उपायका रूपमा मन्दिरको विकास भयो।
कालान्तरमा, त्यसको मूल प्रयोजन
बाहिर गएर केही व्यक्ति वा वर्ग विशेषको स्वार्थ सिद्धिका लागि समाजलाइ विभक्त
गर्ने र मानव मानव बिचमा सानो ठुलोको हिनता बोध विकास गर्ने वेदको भावना विपरीतका अपराधपूर्ण
कर्महरूको सञ्चालन समेत केहि मन्दिरहरुमा
हुने गरेको देखियो । धर्म व्यवस्था र वेदको भावना बिपरित भएका मन्दिरको दुरुपयोग सनातन
सव्याताको तेजोबधको गम्भिर कारक बन्यो।
सनातन संस्कृतिको दृष्टिमा शरीर मन्दिर हो। हड्डीहरू त्यसका स्तम्भ हुन्।
अङ्गहरू पवित्र कक्ष हुन्। सास पूजा हो। आत्मा मूर्तिको प्राण प्रतिष्ठा हो ।
साधना नै वास्तविक पूजा हो। यसरी, जब मानिसले आफ्नो शरीरलाई मन्दिरझैं पवित्र र सचेत रूपमा
व्यवहार गर्छ, तब ऊ
केवल शरीरमा सीमित हुँदैन ऊ सम्पूर्ण आत्म
साक्षात्कार तर्फ अग्रसर हुन्छ। हिन्दू / वैदिक परम्परामा शरीरलाई देवालय (मन्दिर)
सँग तुलना गरिन्छ। यसलाई विस्तारमा चर्चा गर्दा:
शरीर मन्दिरको रूपक हो । सनातन धर्ममा
भनिन्छ "देहो देवालयः प्रोक्तः जीवो देवः सनातनः।" अर्थात्, शरीरलाई देवालय (मन्दिर) मानिएको छ र आत्मा वा जीवलाई
त्यसमै प्रतिष्ठित देवता भनिएको छ। मन्दिर केवल ढुङ्गा वा ईँटाको संरचना होइन, त्यो त प्रतीक हो। वास्तविक मन्दिर त हाम्रो शरीर हो, जहाँ आत्मा स्वयं ईश्वरको ज्योति रूपमा विराजमान हुन्छ।
त्यस्तै : हड्डीहरू स्तम्भ (Pillars) हुन् । जसरी मन्दिरमा स्तम्भहरूले सम्पूर्ण संरचनालाई
थाम्छन्,
त्यसरी नै हाम्रो शरीरमा हड्डीहरूको अस्थिपञ्जर स्तम्भको
काम गर्छ। मेरुदण्ड (spinal cord) मुख्य स्तम्भ हो । यसलाई ध्रुव स्तम्भ भनिन्छ।
हात,
खुट्टा, करंग, खप्पर आदि सहायक स्तम्भहरू हुन् जसले शरीरलाई संरचना र
स्थायित्व दिन्छन्। अङ्गहरू कक्ष (Chambers) हुन्। मन्दिरका भित्री भागमा विभिन्न कोठा (गर्भगृह, मण्डप, प्राङ्गण) हुन्छन्। त्यस्तै, शरीरमा पनि विभिन्न अङ्गहरू छन्। हृदय (गर्भगृह जस्तै) जहाँ
जीवनको ज्योति प्रज्वलित हुन्छ। फोक्सो, कलेजो, मस्तिष्क, पेट आदि ति कक्षहरू
हुन्,
जसले शरीरमा उर्जा र चैतन्य प्रवाह गर्छन्। श्वास–प्राणले
धूप,
दीप र आरती को सङ्केत गर्दछ। मन्दिरमा धूप, दीप, घण्टी, आरतीले
वातावरणलाई पवित्र बनाइन्छ। त्यस्तै शरीरमा सास (प्राणवायु) नै त्यो धूप–दीप हो।
जब शुद्ध, सचेत
सास चल्छ,
शरीर पवित्र हुन्छ। प्राणायाम र ध्यानलाई मन्दिरमा हुने
पूजा–आरतीसँग तुलना गर्न सकिन्छ। मन, बुद्धि, चित्त र अहंकार लाई
पुरोहित रुप ठानिन्छ । मन्दिरमा पूजा गर्ने पुजारी हुन्छ। शरीरमा त्यो
पुजारी भनेको मन, बुद्धि, चित्त
र अहंकार हुन्। तर यी सबै केवल सहायक हुन् । वास्तविक अधिष्ठाता भने आत्मा हो।
आत्माले इश्वरको भूमिका खेल्दछ । जसले सम्पूर्ण शक्ति अर्थात् देवताहरूको संचालन र नियमन गर्न अवलोकन कर्ताको भूमिका
निभाउने गर्दछ।
मन्दिरको गर्भगृहमा मूर्ति हुन्छ, जसलाई प्राण–प्रतिष्ठा गरिन्छ। शरीरमा त्यो मूर्ति भनेको
आत्मा (जीव) हो, जुन
शाश्वत,
अविनाशी, चेतन ज्योति हो।
बिना आत्मा शरीर निर्जीव हुन्छ, जसरी बिना प्राण–प्रतिष्ठा मन्दिरमा मूर्ति केवल ढुङ्गा
हुन्छ। कर्मकाण्ड र साधना आदि मन्दिरमा गरिने पूजाआजा, भजन, आरती जस्तै, शरीरमा
गरिने योग, ध्यान, जप, तप र सत्कर्म नै असली पूजा हुन्। यी साधनाले शरीरलाई शुद्ध, मनलाई स्थिर र आत्मालाई प्रकाशित बनाउँछन्। शरीर पनि जब
केवल भोग,
तृष्णा र अहङ्कारमा फस्छ, तब वास्तविक शक्ति–पीठ बन्न सक्दैन ठिक त्यसै गरि जव मन्दिर
आफ्नो मूल उद्देश्य समाजलाई पवित्र सत्य ज्ञान दिन वाट चुक्दछ , त्यसको दुरुपयोग हुन्छ तव त्यो मन्दिर वा वास्तविक शक्ति–पीठको उर्जा युक्त रहिरहन सक्दैन।
तपाईंको शरीर नै साँचो मन्दिर हो ।
बाहिर बनेको मन्दिर तपाइको शरीरको भित्रि तत्व कसरि बनेको छ भनेर सहज जान्ने , बुझ्ने प्रयोजनको लागि विकशित गरि निर्माण गरिएको हो । आजको समस्या यो छ कि धेरै मानिसले यस मन्दिरमा
सचेत भएर कहिल्यै बस्दैनन्। हामी आफ्नो शरीरलाई केवल बोझ बोक्ने कोठा जस्तो
घिसारिरहेका हुन्छौँ। तर, जब
तपाईं सचेत रूपमा श्वास लिन थाल्नुहुन्छ, शरीरभित्र लुकेका
पुराना बोझहरू (ट्रमा, दबिएका भावनाहरू) बाहिर निस्कन
थाल्छन् र त्यसबाट मुक्ति मिल्छ।
आधुनिक विज्ञानले पनि आज यो कुरा स्वीकारेको छ कि पुस्ताँ देखिका ट्रमा
(मानसिक चोट) हाम्रो डीएनएमा कोड भएर (ईपीजेनेटिक्स) बसेको हुन्छ। आघात वा अनुभव (Epigenetics)
केवल हाम्रो जीवनमा मात्र सीमित हुँदैन, यो DNA
मा ढाँचाको रूपमा पुस्तौं देखि पुस्तामा सर्छ। सचेत अभ्यास (जस्तै सास र ध्यान) बाट पुराना पीडाका छापहरू मेटिँदै नयाँ
सशक्त ढाँचा जन्मिन्छ। शरीरभित्र लुकेका पुराना बोझहरू (ट्रमा, दबिएका भावनाहरू) पुस्तौं पुस्तामा सर्ने ईपीजेनेटिक्सको ढाँचा
सास र ध्यान जस्ता सचेत अभ्यासहरू बाट तोड्न सकिन्छ।
सरल अर्थमा उल्लेख गर्दा तपाईँको शरीर केवल मासु र हड्डीले बनेको छै संरचना
होइन,
यो एक पवित्र वास्तविक मन्दिर हो। हामी यसलाई पवित्र स्थलका
रूपमा हेर्दैनौँ। बरु यसलाई जवरजस्ती तानेर हिँडिरहेका हुन्छौँ। उदाहरणका लागि
हामी हाम्रो काँधमा वर्षौँदेखिको जिम्मेवारीको बोझ जम्मा गरी बोकेर यो कहाँ सम्म
बोक्ने हो भन्ने समेत ज्ञान बिना चालिरहेको छौ। छातीमा टुटेका सम्बन्धको पीडा
लुकेको छ। पेट भविष्यको सुरक्षाको डरले हरदम चिसो बनिरहन्छ। मनमा लुकाइएका शब्दहरू
घाँटीमा अड्किएर बसेका छन्। मनका अतृप्ति कति वेला कहाँ कुन रूपमा पोखिने हो, त्यसले कस्तो जोखिम दिने हो त्यसले हरेक पललाई सताउने गरेको
छ। बितेको दिनका आफ्नो जीवनमा आफूले भोगेका असन्तुष्टि युक्त पल र दु:ख दर्दको पिडा र चिन्ता दैनिक झाल-झल्ती मनमा
आउँछ। चिन्ता मात्र लाग्छ। एञ्जाइटि हुन्छ।
जब तपाईँ सचेत श्वास लिनुहुन्छ, यी बोझहरू तपाईँको चेतना सामु प्रकट हुन्छन्। तब तपाईँले
तिनलाई छोडेर, त्यागेर हलुका हुन
सक्नुहुन्छ।
आफ्नो वास्तविक शक्तिलाई
जगाउने अभ्यास
बाल्यकालदेखि हामीलाई
"अरूलाई खुसी राख" भन्ने सिकाइयो, तर "आफ्नो मनको सुन" भन्ने कुरा कहिल्यै सिकाइएन। यसैले,
तपाईंले धेरै मेहनत अरू कसैको सपना पूरा गर्नका लागि गर्नुभयो। अब
समय आएको छ, आफ्नो आत्माको आवाज सुन्ने। जबसम्म तपाईं अरूका
आवाजहरूमा हराउनुहुन्छ, तबसम्म तपाईंले आफ्नो वास्तविक आवाज
सुन्न सक्नुहुन्न। यो अभ्यास तपाईंलाई आफ्नो भित्री आवाजसँग जोड्न मद्दत गर्छ।
अभ्यास गर्ने तरिका:
1. आफ्नो आँखा बन्द गर्नुहोस् र जहाँ हुनुहुन्छ, त्यहीँ आरामसँग बस्नुहोस्।
2. दाहिने हात आफ्नो मुटुमा राख्नुहोस्।
3. नाकबाट गहिरो श्वास भित्र तान्नुहोस् र मुखबाट बिस्तारै
बाहिर फाल्नुहोस्।
4. अब आफ्नो श्वासमा ध्यान दिनुहोस्।
अब यी तीन वाक्यहरूलाई
महसुस गर्नुहोस्:
1. म जागेको छु।
2. मेरो भित्र त्यो सबै छ जसको मलाई आवश्यकता छ।
3. मेरो उच्चतम स्वरूपले मलाई अहिले मार्गदर्शन गरिरहेको छ।
यी शब्दहरू केवल उच्चारण
मात्र होइनन्, यिनीहरूले तपाईंको
सम्पूर्ण शरीरमा कम्पन पैदा गर्छन्।
अव एउटा दृश्य-कल्पना गर्नुहोस्। आफ्नो मुटुको केन्द्रमा
एउटा सुन्दर सुनौलो प्रकाश जलिरहेको कल्पना गर्नुहोस्। यो प्रकाश तपाईंका हरेक
कोशिकामा फैलिरहेको छ। तपाईंको सबै थकान, डर र अन्योल पग्लिरहेका छन्। तपाईंले एउटा नयाँ हल्कापन र स्फूर्ति महसुस
गरिरहनुभएको छ।
अहिले तपाईंले जे अनुभव
गर्नुभयो, त्यो केवल कल्पना होइन। यो तपाईंभित्र
सुतिरहेको ऊर्जा जागेको सङ्केत हो। जब तपाईंको मुटु र दिमाग एकै लयमा काम गर्छन्,
तब तपाईंको चेतना शक्तिशाली हुन्छ। तपाईं अब 'पीडित'
होइन, 'निर्माता' बन्नुहुन्छ
र तपाईंको जीवनमा परिवर्तन आउन थाल्छ।
तपाईंले केही पनि
बन्नुपर्दैन। तपाईंले केवल यो याद गर्नुपर्छ कि "म पहिलेदेखि नै यही हुँ।" तपाईंको शरीर एउटा मन्दिर
हो। तपाईंको श्वास एउटा प्रार्थना हो। तपाईंको उपस्थिति एउटा उपहार हो।तपाईं
एकमात्र हुनुहुन्छ। तपाईं अपूर्ण होइन, तपाईं पूर्ण
हुनुहुन्छ।
"म जागेको
छु"—यो केवल शब्द होइन, यो
ब्रह्माण्डलाई पठाइएको एउटा शक्तिशाली सङ्केत हो। तपाईंको हरेक श्वास एउटा कोड हो,
जसले तपाईंको वास्तविकताको निर्माण गर्छ। जब तपाईं अचेत हुनुहुन्छ,
डर र अराजकता दोहोरिन्छन्। तर जब तपाईं सचेत श्वास लिनुहुन्छ,
तपाईं आफ्नो आन्तरिक शक्तिलाई सक्रिय गर्नुहुन्छ र आफ्नो जीवनको
निर्माता बन्नुहुन्छ।
तपाईं पदार्थ होइन, ऊर्जा हुनुहुन्छ। तपाईं पीडित होइन,
निर्माता हुनुहुन्छ।
जब तपाईंले आफूभित्रको
यो शक्तिलाई जगाउनुहुन्छ, तब
संसार बदलिन्छ।
तपाईंले चाहेको जीवन र
तपाईंको वास्तविक पहिचान
तपाईंले चाहेको जीवन प्रायः तपाईंसँग हुँदैन। यसको कारण हो—तपाईं जुन
पहिचानलाई छोड्न डराउनुहुन्छ, त्यसैले
तपाईंलाई बाँधेर राखेको हुन्छ। यो नै वास्तविक जाल हो। किनकि तपाईं कुनै बाहिरी
परिस्थितिमा होइन, केवल आफ्नो पुरानो रूप (old
version) सँग वफादार भएर बसिरहनुभएको हुन्छ।
क्वान्टम फिल्डले तपाईंलाई रोकेको छैन, यो
त केवल तपाईंको आफ्नै प्रतिबिम्ब हो। यसले तपाईंको इच्छाअनुसार होइन, बरु तपाईंका कम्पनहरू (vibrations) अनुरूप
प्रतिक्रिया दिन्छ। तपाईंले वर्षौंदेखि खोजिरहनुभएको 'शिफ्ट'
एकै क्षणमा सम्भव छ। यसका लागि कुनै ठूलो अनुष्ठान वा पीडादायी
उपचार आवश्यक छैन। सत्य यति सरल छ कि हाम्रो अहंकारले यसलाई स्वीकार गर्न सक्दैन।
परिवर्तन कहिल्यै कडा मेहनतले आउँदैन, यो त तब आउँछ जब तपाईं आफैंभित्र पहिलेदेखि नै रहेको 'सत्य पहिचान'लाई स्वीकार गर्नुहुन्छ। जुन क्षण तपाईं
केही बन्ने प्रयास छाडेर केवल 'हुने' (being) मा प्रवेश गर्नुहुन्छ, त्यही क्षणमा यो फिल्डले
तुरुन्तै प्रतिक्रिया दिन्छ।
समाजले हामीलाई सधैं कडा मेहनत, सङ्घर्ष र उपलब्धिको कथा सुनायो—'पढ, नम्बर ल्याऊ, अनि मात्र सफल हुन्छौ।' आध्यात्मिक दुनियामा समेत धेरै अभ्यासहरू—अफर्मेसन, स्क्रिप्टिङ,
उपचार—यी सबैले एउटै सन्देश दिए: 'जबसम्म तिमी
टुट्दैनौ, तबसम्म केही प्राप्त हुँदैन।'
तर, वास्तविकता यो हो कि क्वान्टम फिल्ड मेहनत
वा आँसुले चल्दैन। यसले केवल एउटै कुरा सुन्छ—तपाईंको स्पष्ट फ्रिक्वेन्सी। त्यो
स्पष्टता तब आउँछ जब तपाईं शान्त, सरल र साँच्चै आफैंसँग
जोडिनुहुन्छ।
उदाहरणका लागि, रेडियोको
कल्पना गर्नुहोस्। जब तपाईं बारम्बार बटन घुमाउनुहुन्छ, आवाज
हराउँछ, आवाज आउँछ, गडबडी हुन्छ। तर जब
तपाईं हात स्थिर राखेर सही स्टेशनमा ट्युन गर्नुहुन्छ, तब
आवाज बिल्कुल स्पष्ट आउँछ। 'शिफ्ट'को
सूत्र पनि यही हो—तपाईंले बढी मेहनत गर्दा होइन, सही ट्युन
गर्दा मात्र जीवन सफा हुन्छ।
हामीलाई संसारले 'संघर्ष
गर,
मेहनत गर' भनी सिकाउँछ। तर भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको
छ—"कर्म गर, तर फलको प्राप्तिमा आशक्त हुने गरि चिन्तित नबन , किन कि फल प्राप्ति हुने - नहुने बिषय तिम्रो नियन्त्रण भित्रको बिषय होइन।" यो केवल
उपदेश होइन, यो एक 'कोड' हो। जब तपाईं केवल संरेखित (aligned) कर्म गर्नुहुन्छ र प्राप्तिमा आशक्ति हुने रोग त्याग्नुहुन्छ, तब फिल्डले तपाईंलाई सीधै र सफा प्रतिक्रिया दिन्छ।
जब हामी कुनै कुरालाई प्रकट (Menifest) गर्न खोज्छौँ, हामीले मनमा "मलाई यो चीज चाहिन्छ" भन्ने सन्देश
दिइरहेका हुन्छौँ। यो सन्देशले अचेत रूपमा "मसँग अहिले यो चीज छैन"
भन्ने भावलाई पुष्टि गर्छ। यही 'अभाव'
को भावले मनमा बेचैनी, हतार, शङ्का र डर उत्पन्न गराउँछ। जस्तै: तपाईं 'म धनी छु' भनेर पुष्टि
(affirmation) गर्न खोज्नु हुन्छ, तर तपाईंको भित्री मनमा 'म धनी छैन, मलाई पैसा चाहिन्छ' भन्ने विचार चलिरहेको हुन्छ। यसले दुई विपरीत ऊर्जा पैदा
गर्छ,
जसले मनमा बेचैनी ल्याउँछ। तपाईं 'म स्वस्थ छु' भनेर दृश्य-कल्पना (visualization) गर्नुहुन्छ, तर तपाईंको शरीरमा भएको रोगको डरले मनमा त्रास र बेचैनी
पैदा गरिरहेको हुन्छ।
त्यसैले, म्यानिफेस्टेसनको
अभ्यास गर्दा मनमा बेचैनी आउनुको मुख्य कारण हाम्रो ऊर्जा र विचारबीचको बेमेल (misalignment)
हो। हाम्रो बोलीले 'मसँग छ' भन्छ, तर हाम्रो भित्री कम्पनले 'मसँग छैन' भनिरहेको हुन्छ। यही दुई फरक सङ्केतले हामीलाई चाहेको
परिणामसम्म पुग्न दिँदैन। 'के यो
काम गर्छ?
यति सजिलै मिल्छ र?' भन्ने प्रश्नहरू आउँछन्। यही नै सङ्केत हो कि तपाईंको इच्छा
'कमी' को कम्पनबाट उठेको हो। तपाईं भन्नुहुन्छ, 'मलाई समृद्धि चाहिन्छ,' तर तपाईंको भित्री कम्पन भन्छ, 'अहिले मसँग छैन।' यो सोचले क्वान्टम फिल्डमा “म सँग छैन भन्ने चिन्ता रुपी” ऊर्जालाई भाषाको रुपमा सुन्छ। जब क्वान्टम
फिल्डमा 'मसँग
छैन'
कम्पन सक्रिय बन्दछ, तव त्यो फिल्डले पटक पटक
ब्रह्माण्ड चेतनाको कमी आभाव र त्यसले दिने उच्च रिसोनेंसको सुचना संग आफ्नो
तालमेल मिलाएर जहाँ आधिक चिन्ता र अभावका विषय सोच मार्फत हामीमा पुर्याउने गर्दछ।
यसैले डर, शङ्का र हतारको कम्पन ग्रसित हाम्रा अभ्यासहरूले त्यसलाई झन् उच्च हदमा
पुर्याई दिन्छ।
हामी प्रायः परिवर्तनलाई ठूलो, बाहिरी घटनाको रूपमा हेर्छौं, जस्तै नयाँ जागिर पाउनु वा ठूलो लक्ष्य हासिल गर्नु।
हामीलाई लाग्छ कि 'शिफ्ट' भनेको अरूलाई देखाउने वा प्रमाणित गर्ने कुरा हो। तर
वास्तविकतामा, यो
एउटा मौन र भित्री प्रक्रिया हो। यो कुनै कुरा प्राप्त गर्ने प्रयास होइन, बरु तपाईंले पहिलेदेखि नै आफूभित्र बोकेर हिँडेको आफ्नो
वास्तविक स्वरूपलाई शान्तपूर्वक स्वीकार गर्नु हो। उदाहरणका लागि, कोही मानिस आफू 'आत्मविश्वासले भरिएको' देखिनका लागि ठूलो स्वरमा बोल्ने, ठूलो काम गर्ने प्रयास गर्छ। तर, वास्तविक 'शिफ्ट' तब
हुन्छ जब उसले आफ्नो भित्री डरलाई लुकाउनुको सट्टा आफू वास्तवमै आत्मविश्वासले
भरिएको व्यक्ति हुँ भन्ने कुरालाई भित्रैदेखि स्वीकार गर्छ।
हामी प्रायः यो सोच्छौँ कि 'शिफ्ट'ले
हामीलाई एक नयाँ व्यक्ति बनाउँछ वा जीवनमा नयाँ कुराहरू ल्याउँछ। तर, यो रेडियोको उदाहरणबाट स्पष्ट हुन्छ कि 'शिफ्ट'ले कुनै नयाँ गीत सिर्जना गर्दैन, बरु हावामा पहिलेदेखि नै बजिरहेको गीतलाई सही रूपमा सुन्न
मात्र मद्दत गर्छ। त्यसैगरी, तपाईंको जीवनमा रहेको सम्भावना, आनन्द र सफलता पहिलेदेखि नै तपाईंभित्र र तपाईंको वरिपरि
उपस्थित छ। 'शिफ्ट'ले तपाईंलाई त्यो कुरालाई खोज्ने प्रयास गराउँदैन, बरु तपाईंको चेतनालाई यति स्पष्ट बनाइदिन्छ कि तपाईंले ती
कुराहरूलाई सहजै देख्न र अनुभव गर्न सक्नुहुन्छ।
यो भनाइले 'बन्ने' र 'हुने' बीचको फरकलाई दर्शाउँछ। 'बन्ने' प्रक्रियामा प्रयास, संघर्ष र तनाव हुन्छ, किनकि तपाईं आफूमा नभएको कुरा खोजिरहनुभएको हुन्छ। तर, 'हुने' भनेको आफू पहिलेदेखि नै जे हो, त्यसलाई स्वीकार गर्नु हो। जब तपाईं आफूलाई अपूर्ण ठान्न
छोडेर पूर्ण भएको महसुस गर्नुहुन्छ, तब जीवनमा सहजता आउँछ। 'शिफ्ट'को लागि तपाईंले कडा मेहनत गर्नुपर्दैन, केवल 'म पहिलेदेखि नै पर्याप्त छु, म पहिलेदेखि नै योग्य छु' भन्ने सत्यलाई सम्झनुपर्छ। यही मौन स्वीकार नै तपाईंको
जीवनमा सबैभन्दा ठूलो परिवर्तन ल्याउने शक्ति हो। म भित्रको असीमित शक्ति “म” संग परिचित रहेर त्यस संग
हार्मोनिमा रहेर सुखी खुसीको आनन्दित जीवन जिउने काइदा हो। तपस्याको साँचो मर्म
पहिल्याउनु हो ।