उत्पति र गुणहरू

उत्पति गुणहरू


धेरै पुरानो समयका जीव, जनावर, वा बोटबिरुवाहरू जमिन वा पानीले थिचिएर ढुङ्गाजस्तो कडा भएर बसेका अवशेषलाई जीवाश्म (Fossil) भनिन्छ। यसरी जमिनमुनिबाट निकालिएको यस्तो कडा ढुङ्गामा परिणत भएको जीवाश्मलाई जीवावशेष पनि भनिन्छ। वैज्ञानिक कालअनुसार करिब २४० देखि ६५ मिलियन वर्ष पहिले सम्मको आविर्भाव (उत्पत्ति वा प्रकट भएको) पुरातन (अत्यन्त पुरानो) कृतयुग  (सबैभन्दा पहिलो सत्ययुगको) स्थावर कल्प (सृष्टि र मृत्युको चक्र नियमित चलिरहने कालखण्ड ) सुरु भए पछिको समयमा समुद्रमा  अस्तित्वमा आएको एक चाख लाग्दो समुद्री जीवलाई अमोनाइट (Ammonite) भनिन्छ। अमोनाइटहरु नटिलस (Nautilus), शंख (Sankha), स्क्विड (Squid) र अक्टोपस (Octopus) जस्ता जीवसँग मिल्दोजुल्दो थियो। यसको शरीर आकर्षक र घुमेको शङ्खजस्तो खोल (Shell) रूपमा हुन्थ्यो। यो खोल क्याल्सियमले (Calcium) बनेको हुन्थ्यो।

 

यस खोलभित्र विभिन्न कोठाहरू (Chambers) हुन्थे, जसको सहायताले अमोनाइटले पानी निल्ने ओकल्ने प्रक्रियामा पानीमा यात्रा गर्न सक्थ्यो। अमोनाइटहरू समुद्रका शक्तिशाली सिकारी (Predator) थिए। तिनीहरूको अगाडि धेरै टेन्टाकल (Tentacles) र चुच्चो आकारको मुख (Beak) हुन्थ्यो, जसले गर्दा तिनीहरूले साना समुद्री जीवहरूलाई खान्थे। ती अमोनाइटहरू पृथ्वीबाट डायनासोर (Dinosaur) सँगै पूरै हराए। आजको समयमा समुन्द्रको तल जमिनमा थिचिएर  तिनीहरूको अवशेष निर्मित ढुङ्गाले बनेका जीवाश्म (Fossil) जसमा हिमालयमा पाइने शालिग्राम समेत पर्दछ, पृथ्वीको पुरानो समुद्री जीवन र जीवको विकासको पद्धति बुझ्नका लागि महत्त्वपूर्ण प्रमाणको रूपमा विज्ञानले उपयोग गरिरहेको छ।




भूगर्भीय र धार्मिक दुवै दृष्टिले अत्यन्त महत्त्वपूर्ण नेपालको मुस्ताङ क्षेत्रको भू-वैज्ञानिक संरचना २४ करोड देखि ६.५ करोड वर्षअघि विशाल टेथिस सागरले (Tethys Sea) ढाकेको थियो। समयक्रममा भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरू (tectonic plates) को टक्करबाट हिमालय पर्वतमाला माथि उठेर (uplift) ठडियो।

 

जसका कारण नेपालको मुस्ताङ क्षेत्रको गर्भभित्र रहेका शालिग्रामजस्ता प्राचीन समुद्री जीवाश्महरू मुस्ताङ क्षेत्रको भू-वैज्ञानिक संरचनाको अभिन्न भाग बन्न पुगे। कालीगण्डकी नदी तट क्षेत्रको निरन्तर भू-क्षय (erosion) का कारण जीवाश्म रूपी शिलाहरू कालीगण्डकी नदीसँगै बग्न थाले। सोही बहावको क्रममा भएको घर्षणका कारण ती जीवाश्महरू चिल्ला र गोलाकार भई आज हामीले देख्ने शालिग्रामको रूपमा परिणत भएका हुन्। यद्यपि, हालैका वर्षहरूमा जलवायु परिवर्तन (climate change) र नदीको बहावमा आएको परिवर्तनले गर्दा यस्ता दुर्लभ शालिग्रामहरू कम पाइन थालेका छन्।


शालिग्रामको निर्माणको वैज्ञानिक प्रक्रिया, त्यसको आकार-प्रकार, भौतिक संरचना र अन्य पक्षलाई वेदले पृथ्वीको सृष्टि, सञ्चालन, जीवको उत्पत्ति, जन्म-मरणको चक्र, जीवनको आध्यात्मिक पक्षलाई समाजमा सम्प्रेषण गर्न यसलाई धार्मिक व्याख्यासँग जोडेर यसको भरपूर उपयोग गरेको देखिन्छ। हिन्दू र वैदिक परम्परामा शालिग्रामलाई भगवान विष्णुको स्वयं प्रकट भएको अवतार (स्वयम्भू) भनिन्छ। जसलाई भगवान विष्णुको रूपमा पूजा गर्न कुनै मानव निर्मित मन्दिरलाई जस्तो प्राण प्रतिष्ठा वा विशेष पूजा-संस्कारको आवश्यकता पर्दैन। पुराणहरूमा विशेषगरी दामोदर कुण्ड क्षेत्रबाट शालिग्राम गण्डकी नदीमा पुगेको कुरा उल्लेख छ।


वैज्ञानिक रूपमा जीवाश्म निर्माणको करोडौँ वर्षको प्रक्रिया वैदिक दृष्टिकोणमा रहेको ब्रह्माण्ड निर्माणको क्रममा अव्यक्तबाट व्यक्त भौतिक तत्त्वले लिने चक्रीय गति (cosmic cycle) को आकारसँग मिल्दछ। जुन शंखको जस्तो घुमाउरो, वलयाकार, चक्राकार र भग्नाकार रूप मिश्रित सर्पको हिँडाईको ज्यामिति जस्तो वेव फङ्गसन (Web Functions) रुपी सर्पिल आकारको (spiral shape) हुने गर्दछ। सृष्टि निर्माणको क्रममा ऊर्जाको कम्पनका कारण हुने एक कोषिका दुइटामा विभक्त हुने, दुई चारमा विभक्त हुने, चारबाट आठ बन्ने गर्दछ। बहुसेल भएको जीवको विकास भने प्रकृतिले स्वतः चयन गरेको गोल्डेन रेसियो लगभग १.६१८ को शृङ्खला अनुरुप हुने गर्दछ। गोल्डेन रेसियो अनुरुप जीवको देह विकसित हुने क्रममा बन्ने चक्राकार अवतारलाई विष्णुको सुदर्शन चक्र (Sudarshan Chakra) भन्ने गरिन्छ। सर्पिल आकारको देखिने विष्णुको सुदर्शन चक्र अमोनाइटको सर्पिल आकारको खोलसँग मिल्दोजुल्दो देखिने हुँदा जीवको जीवनको वृद्धिको प्रक्रिया समाजमा लैजान विष्णुको भूमिकाको जीवनमा कायम सृष्टिको एकता, त्यसबाट सुरु हुने अनन्तता र समयको चक्रलाई बिम्बित गर्न वैदिक परम्पराले शालिग्रामको उपयोग गरेको छ।


वैदिक परम्पराले वेदका गहन विषयलाई समाजमा सहज र सामञ्जस्यपूर्ण रूपमा पुर्‍याउन परम्परागत रूपमै शालिग्रामको उपयोग गरेको थियो। त्यो उपाय कालान्तरसम्म यति प्रभावकारी रहन गयो कि विज्ञानले आफ्नो परीक्षणको दायरा निकै फराकिलो पार्न सकेको आजको दिनमा आइपुग्दा विज्ञानको 'तथ्यमा आधारित रहेर विषय र प्रक्रियाको यकिन गर्ने' साथै धर्मको 'आस्थाको आधारमा विज्ञानको परीक्षणको क्षमता बाहिरको विषयलाई तर्कसङ्गत बुझेर मनन गर्ने' विधि दुवैलाई एकै ठाउँमा ल्याएर फ्युजन गर्न शालिग्राममा आधारित वैदिक कथन सबैको सृष्टिको सत्य सूचना बुझ्ने सहज तरिका बन्न सम्भव भयो।


वैदिक परम्पराले प्रकृतिलाई ईश्वरीय सृष्टिको रूपमा हेर्छ। जसलाई विज्ञानमा प्रकृति नियमको सिद्धान्त वा प्राकृतिक शक्ति भनिएको छ। त्यहाँ शालिग्रामजस्ता प्राकृतिक रूपमा बनेका वस्तुहरू वेदको ज्ञान सम्प्रेषण गर्न सहज हुने पवित्र भौतिक वस्तु मान्दछ। विज्ञानले आफ्नो क्षमता सुदृढीकरण गर्दै जाँदा विज्ञानमा बुझिएको ऊर्जाको रूपान्तरणको शक्तिलाई अध्यात्ममा दैवी निर्माणको रूपमा व्याख्या भएको अनुभूति गर्दै गएको छ। यसकारण प्रकृति र ईश्वर दुवै एकै हुन्, शालिग्रामजस्ता जीवाश्म देवताको आफ्नो कर्म गर्ने पद्धति व्याख्या गर्न अत्यन्त सहयोगी हुने कुरा बुझ्न सहज गरिदिएको छ। यसरी, शालिग्रामले भूगर्भीय इतिहास, सृष्टिको परिचालन विधि र प्राचीन आध्यात्मिक वैदिक ज्ञानका बीचको गहिरो सम्बन्ध पुष्टि गर्न लामो समयदेखि भूमिका खेलेको देखिन्छ।