वैदिक ऋचा सूत्र
वैदिक ऋचा सूत्र
वर्तमान समयमा, हामी सबैले यो कटु सत्य बुझिसकेका छौँ कि वेद, उपनिषद्, पुराण र वैदिक ग्रन्थहरूको वास्तविक सारलाई हामीले हाम्रो समाजको बुझाइको संकुचित दायराभित्र राखेर फरक तरिकाले व्याख्या गर्यौँ, जसले गर्दा यसको मौलिक सन्देश हरायो। यसै सन्दर्भमा, यहाँ केही कुराहरूलाई विस्तृत र भावनात्मक तरिकाले स्पष्ट पार्ने प्रयास गरिएको छ। हाम्रो प्राचीन ज्ञानका आधारशिलाहरूलाई वैज्ञानिक र मनोवैज्ञानिक दृष्टिकोणबाट बुझ्न सकियोस् भन्ने यसको मूल उद्देश्य हो।
हाम्रो समाजमा हामीले मन्दिरलाई केवल एउटा धार्मिक स्थलको रूपमा मात्र बुझ्छौँ, तर यसको वास्तविक अर्थ अझ गहिरो छ। मन्दिरले हाम्रो शरीरको हरेक अंग-प्रत्यंगको प्रतिनिधित्व गर्दछ। मन्दिरको वास्तुकला र संरचनाको गहन अध्ययनबाट हामी हाम्रो मस्तिष्क र शरीरको बीचमा रहेको गहिरो सम्बन्धलाई बुझ्न सक्छौँ, जुन ज्ञानलाई हामी समाजमा सम्प्रेषण गर्ने गर्दछौँ। मन्दिरमा हुने मूर्तिहरूको प्राण-प्रतिष्ठा मार्फत हामी यो सन्देश दिन्छौँ कि शरीर र मस्तिष्क मात्रले जीवन पूर्ण हुँदैन, यसमा आत्माको मिलन भएपछि मात्र जीवन जीवित र सार्थक बन्न सक्छ। यो एक आध्यात्मिक र वैज्ञानिक सत्य हो जसले जीवनको पूर्णताको बोध गराउँछ। त्यस्तै, प्राण-प्रतिष्ठा गरिएका मूर्तिहरू वा बिना प्राण-प्रतिष्ठा नै पूज्य मानिने शालिग्रामलाई हामी केवल भगवानको रूपमा मात्र नभई जीवनको चक्र, पृथ्वीको अस्तित्व र आत्मज्ञान प्राप्त गर्ने यथार्थलाई सम्झाउने दिव्य वस्तु वा प्रतीकको रूपमा लिन्छौँ। यी प्रतीकहरूले हामीलाई हाम्रो अस्तित्व र त्यसको उद्देश्यको बारेमा बारम्बार सम्झना गराउँछन्।
मन्त्र भनेको केवल उच्चारण गर्ने शब्दहरू मात्र होइन, यो एउटा यस्तो सिद्धान्त हो जसलाई पहिला बुझ्नुपर्छ र त्यसपछि व्यवहारमा ल्याउनुपर्छ। यसले हामीलाई व्यावहारिक ज्ञान दिन्छ। हाम्रो मस्तिष्कले प्राप्त गरेको मन्त्रको ज्ञानलाई जबसम्म हामी बुझ्दैनौ, आफ्नो दैनिक जीवनमा उपयोग हुने गरि पुन: परिभाषित गर्दैनौँ, तबसम्म त्यो ज्ञान निरर्थक र उत्पादनहीन बन्छ। त्यसैले, पूजा गर्नु भनेको मन्त्रको मूल सारलाई आत्मसाथ गर्नु हो। पूजा पछि गरिने विधिहरूको पनि आफ्नै वैज्ञानिक र प्रतीकात्मक अर्थ छ। जल ग्रहण गर्नु भनेको मन्त्रको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा कसरी प्रयोग गर्ने भन्ने तरिका सिक्नु हो। पञ्चगव्य (गाईको दूध, दही, घ्यू, गोमूत्र र गोबरको मिश्रण) लिनु भनेको त्यो ज्ञानलाई भौतिक रूपमा जीवनमा लागू गर्ने विधिको उपयोग गर्नु हो। पञ्चामृत (दूध, दही, घ्यू, मह र सख्खरको मिश्रण) लिनु भनेको त्यो ज्ञानको पहिलो पटक व्यावहारिक परीक्षण गरी त्यसको प्रभावकारिता भौतिक महसुस गर्नु हो। ज्ञान जीवनमा लागू गर्दा त्यसको भौतिक प्रभावकारिता कस्तो होला भनि प्रारम्भिक अनुभूती लिनु हो। प्रसाद ग्रहण गर्नु भनेको त्यस ज्ञानलाई व्यवहारमा अपनाउँदा आउने सबै प्रकारका बाधा-अड्चनहरूलाई स्वीकार गरी, सिथिल गरि मन्त्रका विधिहरूलाई नियमित रूपमा लागू गर्ने प्रभावकारी उपायहरूको खोजी पहिचान गर्नु हो। गर्ने प्रक्रिया हो। यसरी, प्रसादले हामीलाई निरन्तर सुधार र अभ्यासको लागि प्रेरित गर्दछ। त्यसै क्रममा लिइने अग्निको ताप भनेको यी सबै कुराको लागि चेतन रुपी ऊर्जाको जरुरत हुने र त्यसलाई भौतिक र मनोवैज्ञानिक ऊर्जाको समेत साथ चाहिने कुराको पुनः स्मरण गर्नु हो। अन्तमा, जल स्नान वा गंगा स्नान जस्ता क्रियाकलापहरूले हामीलाई आफूलाई त्यस ज्ञानमा पूर्ण रूपमा अभ्यस्त गराई त्यसलाई आफ्नो जीवनपद्धतिको अभिन्न अंग बनाउने प्रक्रियालाई संकेत गर्दछ।
आजको आधुनिक विज्ञानमा नव प्रवर्तनिय ज्ञान प्राप्त गर्नको लागि सैधान्तिक ज्ञानको खोजि, त्यसको व्यवहारिक पक्षको अनुसन्धान, प्राप्त ज्ञानको परीक्षण, व्यावहारिक परीक्षण, सन्तोषजनक परीक्षण परिणामपछि त्यसको फाइन-ट्युनिंग, पाइलट र रेबिट जस्ता टेष्ट, त्यसलाई व्यवहारमा अपनाउनु र कार्यान्वयन चरणमा प्राप्त नयाँ सूचनाको आधारमा व्यवहारमा लागु गरेको नीति, विधि र प्रक्रियामा नियमित सुधार गर्ने जुन प्रक्रिया छ, ति सबै वैदिक परम्पराले मानव जातिमा स्थापना गराएको हो। यी सबै चरणहरूलाई लाइ आज हामि निश्चित वैज्ञानिक प्रक्रिया भन्ने गर्दछौ।
जबसम्म हामी यो तथ्यलाई बुझ्दैनौँ, तबसम्म वेद, वैदिक ग्रन्थ र पुराणहरूको चर्चाले हामीलाई गलत र अपूर्ण निष्कर्ष लिने व्यक्ति बनाउने छ। यसरी आएको गलत निष्कर्ष व्यवहारिक प्रभावकारिता हुने छैन। यसले समाजलाई भरोसा दिलाउन सक्ने छैन। जुन ज्ञानले तपाइको जीवनमा तपाइलाई आर्थिक, भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक जस्ता सम्पूर्ण पक्षमा काबिल गर्न सक्ने मूल्य दिन सक्ने छैन त्यस्तो ज्ञान सव्य स्वावलम्बन समाजले ग्रहण गर्ने समेत छैन। आज संसारकै उत्कृष्ट हाम्रो वैदिक परम्परा हाम्रै आँगनमा बिरानो हुनुको जड-कारण यही बनेको छ। यसमा अरूलाई दोष दिएर वा नयाँ पुस्ताले कुरै बुझ्दैनन् भनेर हामी पन्छिन मिल्दैन। आज हामीले यही सन्दर्भ बुझेर वेद र अध्यात्मको वास्तविक मर्म बुझ्नुपर्ने समय आएको छ, र यो निकै ढिलो भइसकेको छ।
वैदिक ग्रन्थहरूमा जातपात, वर्ण, हीनवर्ण, निच जात, शुद्र र स्त्री, स्त्रीणाम् जस्ता शब्दहरूको फरक-फरक सन्दर्भमा लाग्ने फरक-फरक अर्थलाई एउटै परमात्माको फरक-फरक अंश बोकेका समाजमा सबै समान व्यक्तिहरूबीच विभाजन गर्ने नियतले शास्त्रको दुरुपयोग भएको हामीले देख्दै आएका छौँ। हाम्रा कथाहरु वाचन गरिने क्रममा यस्ता अत्यन्त संबेदनशील शब्दहरूलाई गलत तरिकाले व्याख्या गरि प्रस्तुति हुने गरेका छ। जसले हाम्रो समाजमा सनातन मान्यताको जग स्थापना हुनु पर्ने उदेश्यमा असमानता र भेदभावको खाडल खनिरहेको छ। निकै दुखको कुरो हो कि हाम्रोमा त पाप, प्रज्ञापराध र अपराध नितान्त फरक अर्थ दिने हेतुले शास्त्रमा बोलिएका शब्दहरु हाम्रा व्याख्या र वाचनहरूमा समान अर्थ दिने गरी प्रस्तुति गर्ने गरिन्छ। सामान्य लाग्ने अत्यन्त बृहत मान्यताका यी कुराहरुको यथार्थ मान्यताको ज्ञान समाजमा सम्प्रेषण हुन नसक्दा हामी सनातन ग्रन्थहरूको गहिराइमा पुग्न सकिरहेका छैनौँ । यसले हाम्रो समाजलाई मानवीयताको पक्षमा कमजोर बनाउँदै लगिरहेको छ। तसर्थ, आउनुहोस आज हामी दुबिधा पूर्ण रुपमा हाम्रो समाजमा प्रयोग भाइ रहेका केहि सिमित बिषय बस्तुहरुमा केन्द्रित रहेर त्यसको अर्थ सार बुझ्ने कोशिस गरौ।
वर्ण: वैदिक ग्रन्थहरूमा 'वर्ण' शब्दले व्यक्तिको कुन परिवारमा जन्मेको भन्नेलाई होइन, बरु उसको स्वभाव र कर्म गुणको मापनलाइ जनाउने गर्दछ। एउटा सामाजिक व्यवस्था जसले समाजमा कामको विभाजनलाई सहज बनाउछ, त्यसको आधारमा व्यक्तिको पेशा वारेको संदेश दिन्छ। जस्तै, पेशाको आधारमा ज्ञानको क्षेत्रमा काम गर्ने ब्राह्मण, रक्षा गर्ने क्षत्रिय, व्यापार गर्ने वैश्य र सेवा गर्ने शुद्र । सबै वर्णका व्यक्तिहरू समाजको सन्तुलित विकासका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यो एउटा लचिलो व्यवस्था थियो, जहाँ मानिस आफ्नो कर्म र ज्ञानका आधारमा एक वर्णबाट अर्को वर्णमा जान सक्थ्यो। तर पछि गएर यसलाई जन्मका आधारमा निर्धारण गर्ने rigid caste system मा परिणत गरियो।
जाति: 'जाति' शब्दको मौलिक अर्थ 'जन्म' हो, तर यसले वंश वा कुललाई जनाउँछ, जुन वर्ण व्यवस्था भन्दा फरक थियो। समयक्रममा 'जाति' शब्दले पनि जन्मका आधारमा समाजलाई विभाजन गर्ने अर्थ बोक्न थाल्यो, जसको कारण हजारौँ उप-जातिहरू सिर्जना भए र यसले सामाजिक भेदभावलाई बढावा दियो।
हीनवर्ण र निच जात: वैदिक ग्रन्थहरूमा 'हीनवर्ण' र 'निच जात' जस्ता शब्दहरूको प्रयोग खासै पाइँदैन। यी शब्दहरू पछि समाजमा गलत व्याख्या र सामाजिक भेदभाव बढाउनका लागि प्रयोग भएका हुन्। यी शब्दहरूले मानिसलाई जन्मका आधारमा 'उच्च' र 'निच' को श्रेणीमा विभाजन गर्यो, जसले गर्दा समाजमा ठूलो असमानता आयो।
शुद्र: 'शुद्र' शब्दले वैदिक ग्रन्थमा कुनै पनि व्यक्तिलाई जन्मका आधारमा तल्लो दर्जामा राख्दैन। यसले 'सेवा गर्ने' वा 'श्रम गर्ने' वर्गलाई जनाउँछ। यो कुनै अपमानजनक शब्द होइन, बरु समाजको एउटा महत्त्वपूर्ण हिस्सा थियो।
स्त्री र स्त्रीणाम्: शक्ति अधिक रुपमा सुरक्षा संग सम्बन्धित हुन्छ। त्यसैले शास्त्रले आमा, पृथ्वी, नदि आदि जस्ता शक्ति रुपीलाइ स्त्री लिङ्ग मान्दछ। 'स्त्री' र 'स्त्रीणाम्' शब्दहरू स्त्री लिङ्गको सन्दर्भमा प्रयोग हुन्छन्। यी वैदिक ऋचाहरुमा 'स्त्री' र 'स्त्रीणाम्' शब्दहरू सुरक्षाको जिम्मा लिएको व्यक्ति जव पथ भ्रष्ट बन्छ तव त्यसले बर्वादी निम्त्याउने निश्चय गर्दै त्यसलाई अनिष्टको संकेत दिन्छ। जव अनिष्टको वाचक रुपमा स्त्री' र 'स्त्रीणाम्' शब्दहरू प्रयोग हुन्छ तव यसले नारी लाइ होइन सुरक्षा संयन्त्रमा जिम्मा लिएको व्यक्तिको कर्मको नियतलाइ संकेत गर्दछ। त्यसैले ऋचाहरुमा स्त्री' र 'स्त्रीणाम्' शब्दहरू 'हीनवर्ण' र 'निच शुद्र" जस्ता शब्दहरु संग संगै आएको भेटिन्छ। शब्दहरूको गलत व्याख्या गरेर नारिहरूलाई वैदिक ज्ञानबाट वञ्चित गरियो। वैदिक ग्रन्थहरूमा महिलाहरूको शिक्षा र आध्यात्मिक अधिकारलाई उत्तिकै महत्त्व दिइएको छ। गार्गी र मैत्रेयी जस्ता विदुषीहरूको उदाहरणले यो कुरा पुष्टि गर्छ। तर, पछि गएर यी शब्दहरूको अर्थलाई संकुचित गरी महिलालाई कमजोर र हीन दर्जामा राख्ने काम भयो।
सृष्टिको चक्रमा जब एउटा आत्मा भौतिक शरीर धारण गर्दछ, उसको यात्रा यहीँबाट सुरु हुन्छ। आत्मा-ज्ञानको गहिराइलाई बुझ्ने सन्दर्भमा, जन्मले होइन, कर्मले वर्ण निर्धारण हुन्छ भन्ने वैदिक सिद्धान्तलाई यहाँ गहन रूपमा बुझ्न सकिन्छ।
शूद्र: जन्मपश्चात् सबैभन्दा चलाख प्राणी (पशु) ले जति ज्ञान ग्रहण गर्न सक्छ, त्योभन्दा केही बढी ज्ञान हासिल गर्ने व्यक्तिलाई वैदिक परम्परामा शूद्र भनिन्छ। यस्तो व्यक्तिले भौतिक संसारका आधारभूत कुराहरू बुझ्छ, तर उसको चेतनाको स्तर अझै पनि प्राकृतिक वृत्तिका नजिकै हुन्छ। उसले सेवा र श्रमको माध्यमबाट आफ्नो जीवन चलाउँछ, र यो नै उसको आत्म-विकासको पहिलो खुड्किलो हो।
वैश्य: जब कुनै व्यक्ति प्रकृतिलाई गहन रूपमा हेरेर, बुझेर र त्यसबाट सिप तथा ज्ञान हासिल गरी आफूलाई पशुभन्दा उत्तम रूपमा स्थापित गर्न सफल हुन्छ, उसलाई वैश्य भनिन्छ। यस्ता व्यक्तिले आफ्नो ज्ञान र सिपलाई कृषि, व्यापार र अर्थतन्त्रका क्षेत्रमा लगाउँछन्। उनीहरूको चेतना भौतिक उन्नतिको साथसाथै समाजको आर्थिक स्थायित्वमा केन्द्रित हुन्छ।
क्षत्रिय: वैश्यको ज्ञान र सिपलाई जब कुनै व्यक्तिले उद्यम, प्रतिस्पर्धा र सुरक्षाको ज्ञानमा रूपान्तरण गर्दछ, उसलाई क्षत्रिय भनिन्छ। यस्ता व्यक्तिले आफूलाई व्यक्ति र प्रकृतिको रक्षाको लागि सक्षम बनाउँछन्। उनीहरूले केही हदसम्म आत्म-ज्ञानलाई पनि बुझेका हुन्छन् र समाजलाई सही दिशामा डोऱ्याउने नेतृत्व क्षमता राख्छन्। उनीहरूको धर्म समाजको सुरक्षा र न्याय स्थापना गर्नु हो।
ब्राह्मण: क्षत्रिय कलामा समेत पारंगत भएर जब कुनै व्यक्ति आत्मा-ज्ञानको चरम सीमामा पुग्छ, जसले अरूलाई अध्यापन, सल्लाह र आध्यात्मिक मार्गदर्शन दिन सक्ने व्यक्तित्व विकास गर्दछ, उसलाई ब्राह्मण भनिन्छ। यस्ता व्यक्तिहरू ज्ञानको सागर हुन्छन् र उनीहरूको जीवनको एक मात्र लक्ष्य समाजलाई आध्यात्मिक मार्गमा डोऱ्याउनु हो।
तर यो आध्यात्मिक यात्रामा एउटा गम्भीर विडम्बना आउँछ। जब कोही व्यक्ति ब्राह्मणको कोखमा जन्मन्छ, भागवत गीताका श्लोकहरू कण्ठस्थ गर्छ, तर आफ्नो स्वार्थका लागि तिनको गलत व्याख्या गर्छ, र जन्मका आधारमा नै आफूलाई श्रेष्ठ ठान्छ, त्यस्तो व्यक्तिलाई हीन वर्णको, नीच जातको वा नीच शूद्र भनिन्छ। यस्तो व्यक्ति हेर्दा ब्राह्मणजस्तो देखिन्छ, बोल्दा पनि ज्ञानको कुरा गर्छ, तर उसको अन्तरमन लोभ, पाप र अहंकारले भरिएको हुन्छ। ज्ञानको नाममा उसले मानिसहरूको भावनासँग खेल्छ र भावनात्मक लुट मच्चाउँछ। हाम्रा कथाहरूमा यस्ता पाखण्डीहरूलाई नै ब्रह्म-राक्षस भनेर संकेत गरिएको छ। उनीहरूले ज्ञानको पवित्रतालाई कलंकित गर्छन्।
त्यसैगरी, जो व्यक्ति हेर्दा क्षत्रियजस्तो लाग्छ, सुरक्षाको भ्रम दिनमा खप्पिस हुन्छ, तर उसको अन्तरमन क्रोध, लोभ र अहंकारले ग्रस्त छ, त्यस्ता व्यक्तिले निर्दोष बालबालिकालाई समेत हानि पुऱ्याउँछन्। यस्ता व्यक्तिहरूले आफ्नो शक्तिको आडमा भौतिक र मानसिक अत्याचार गर्छन्, परिस्थितिको फाइदा उठाएर भावनात्मक ब्ल्याकमेल र लुटपाट मच्चाउँछन्।
हाम्रा कथाहरूमा यस्ता दुष्टहरूलाई कंश-राक्षस भनी चित्रण गरिएको छ। करुणा र चरित्र दुवै नभएका व्यक्तिलाई, चाहे त्यो पुरुष होस् वा स्त्री, 'स्त्रीणाम्' भनिन्छ। 'स्त्रीणाम्' र 'स्त्री' जस्ता शब्दले आइमाई वा नारी लाई संकेत गर्दैन। शास्त्रमा जसरी 'पुरुष' भन्नाले छोरो मान्छे मान्छे भनिएको होइन, वीज शक्ति वा चेतना भनिएको हो, त्यसैगरी 'स्त्री' र 'स्त्रीणाम्' भन्नाले आइमाई वा नारी मान्छे भनिएको होइन, वीज शक्ति वा चेतनाको नास गर्न सक्रिय शक्ति भनिएको हो, जुन व्यक्ति वा प्रकृतिको सुरक्षा संग अधिक सम्बन्धित हुने गर्दछ।
केही ग्रन्थहरूमा 'स्त्री' लाई प्रकृति वा माया को रूपमा लिइएको छ। प्रकृति आफैमा निष्क्रिय र तटस्थ भए पनि जब यसमा गुणहरू (सत्व, रज, तम) को विकार उत्पन्न हुन्छ, तब यसले संसारमा अनेकौं भोग र द्वन्द्व सिर्जना गर्दछ। यस सन्दर्भमा, 'स्त्री' शब्दले त्यो विकारयुक्त ऊर्जालाई संकेत गर्छ, जसले प्राकृतिक नियमको सन्तुलन बिगार्न सक्छ। उदाहरणका लागि, केही पौराणिक कथाहरूमा ऋषिहरूको तपस्या भङ्ग गर्न पठाइएका अप्सराहरूलाई यही विकारयुक्त ऊर्जाको प्रतीक मानिन्छ। यसको अर्थ उनीहरू महिला भएकाले खराब हुन् भन्ने होइन, बरु उनीहरूले उत्पन्न गरेको मोह र आकर्षणले तपस्याजस्तो प्राकृतिक प्रक्रियालाई विचलित गर्छ भन्ने हो।
मनुस्मृतिको एक श्लोकमा 'स्त्री' को मोहलाई मानवका लागि निकै हानिकारक (कष्टतमा) भनिएको छ।
मनुस्मृति ७.५० मा भनिएको छ:
"कामक्रोधौ तथा लोभो मानौ हर्षौ मदस्तथा।
यस्येदं न तु तं स्त्रीणां तु कामः सञ्जायते।।"
काम (वासना), क्रोध, लोभ, अहंकार, हर्ष र मद (घमण्ड) जस्ता विकारहरू जुन व्यक्तिमा हुँदैनन्, त्यस्ता व्यक्तिलाई स्त्री मोहले (मनको भित्री विकारले) पनि विचलित गर्न सक्दैन।
यस श्लोकको एउटा व्याख्या अनुसार, यसले मानिसको मनमा उत्पन्न हुने काम, क्रोध, लोभ, मद (अहंकार) जस्ता नकारात्मक भावनाहरूलाई 'स्त्री' को रूपमा चित्रण गर्छ। यसले नारिहरूलाई अपमानित गर्न खोजेको होइन, बरु नारि वा पुरुष मानिसको मनमा उत्पन्न हुने विकारहरूलाई एक रूपकको रूपमा प्रस्तुत गरेको हो। त्यसैले, 'स्त्री' शब्दले यहाँ नारिलाई नभई नारि वा पुरुष मानिसको मनको भित्री विकारलाई बुझाउँछ।
यसको ठीक विपरीत, वैदिक ग्रन्थहरूमा 'देवी' शब्दलाई अत्यन्तै शक्तिशाली र सकारात्मक नारि शक्तिको अर्थमा पनि प्रयोग गरिएको छ। देवी भागवत, दुर्गा सप्तशती जस्ता ग्रन्थहरूमा नारि शक्तिलाई ज्ञान र सृष्टिको स्रोत मानिएको छ। दुर्गा, लक्ष्मी, सरस्वती जस्ता देवीहरूलाई नारि शक्ति रूपमा नै पूजा गरिन्छ। यहाँ 'देवी' शब्दले सृजनशील र सकारात्मक ऊर्जालाई जनाउँछ, जसले ब्रह्माण्डको सञ्चालन गर्छ।
संक्षेपमा भन्नुपर्दा, वैदिक ग्रन्थहरूको मौलिक अर्थलाई बुझ्न नसक्दा र स्वार्थी मनोवृत्तिले त्यसलाई गलत तरिकाले व्याख्या गर्दा हाम्रो समाजमा भेदभाव र असमानताले जरा गाड्यो। यसैकारण, हामीले वेद र अध्यात्मको वास्तविक मर्म बुझ्न सकेका छैनौँ। अब समय आएको छ कि हामीले यी गलत धारणाहरूलाई त्यागेर वैदिक ज्ञानको गहिराइलाई वैज्ञानिक र वस्तुनिष्ठ तरिकाले अध्ययन गरौँ। यसले मात्र हाम्रो समाजलाई सही दिशा दिन सक्छ। आउनुहोस्, हामी सबै मिलेर यो भ्रमको खाडल पुर्ने र हाम्रो प्राचीन ज्ञानको वास्तविक महत्वलाई पुनः स्थापित गर्ने प्रयास गरौँ।
वराह पुराणमा उल्लेखित मानिसले गर्न नहुने - ३२ पाप।
वराह पुराण, जसले विशेषगरी भगवान विष्णु, भगवान शिव र देवीशक्तिहरू (ब्रह्मी, वैष्णवी र रौद्री) को स्तुति गर्दछ, यसमा ३२ प्रमुख पापहरूको उल्लेख छ, जुन कहिल्यै पनि आफु वाट नहोस भनी व्यक्ति सचेत रहनु अनिवार्य छ।
- सवारी साधनमा चढेर देवालय भित्र प्रवेश गर्नु हुँदैन। मन्दिर प्रवेश गर्दा खुट्टा अनिवार्य रूपमा नाङ्गो हुनुपर्छ।
- देवताको सम्मानमा हुने विभिन्न पर्वहरू उपेक्षा गर्नु हुँदैन।
- देवालयको भुइँमा नाङ्गो शरीर बस्नु हुँदैन।पुरुषहरूले अष्टाङ्ग नमस्कार र नारिहरूले पञ्चाङ्ग नमस्कार गर्नु उचित हुन्छ।
- देवतालाई अनुचित तरिकाले प्रणाम गर्नु हुँदैन। उदाहरणका लागि दुई हातले प्रणाम नगरी केवल एक हातले प्रणाम गरि मात्र औपचारिक ता पुरा गर्न झुक्ने कार्य उत्तम होइन।
- देवताको सामु आत्म-प्रत्यक्षण गर्नु हुँदैन (अर्थात्—आफैं वरिपरि घुम्नु)। देवताको परिक्रमा गर्दा मन्दिरको बाहिरबाट मन्दिरलाइ आफ्नो दायाँ पारेर कम्तीमा तीन पटक परिक्रमा गर्नु पर्छ।
- अशुद्ध अवस्थामा जस्तै घरमा कसैको मृत्यु वा जन्म भएको अवस्थामा शुद्धि काल पुरा नभएसम्म, स्नान नगरेको अवस्था वा नारीले ऋतु कालमा मन्दिर प्रवेश गर्नु हुँदैन।
- देवतालाई खुट्टा देखाउँदै सुत्ने वा बस्ने वानी गर्नु हुँदैन।
- देवताको अगाडि टेको लगाएर जस्तै गोडा, कुहिनो वा घुँडालाई हातले समाएर बस्नु हुँदैन।
- देवताको अगाडि सुतेर बस्नु हुँदैन।
- देवताको अगाडि केही पनि (प्रसाद भए पनि) खानु हुँदैन ।
- देवालय वा देवताको अगाडि गोप्य कुरा गर्नु हुँदैन।
- देवताको अगाडि ठूलो आवाजमा बोल्नु हुँदैन।
- देवताको अगाडि अरूसँग (देवता सम्बन्धित कुराबाहेक) सामान्य गफगाफ गर्नु हुँदैन ।
- देवताको अगाडि रुनु वा कराउनु हुँदैन।
- देवताको अगाडि झगडा गर्नु हुँदैन।
- देवताको अगाडि कसैलाई गाली गर्नु हुँदैन।
- मन्दिरभित्र अरूलाई आशिर्वाद दिनु हुँदैन।
- मन्दिरभित्र कसैसँग जिस्किनु (फ्लर्ट गर्नु) हुँदैन।
- मन्दिरभित्र कठोर वा असभ्य शब्द प्रयोग गर्नु हुँदैन।
- मन्दिरभित्र पादनु हुँदैन।
- देवताको अगाडि जनावरको छालाबाट बनेको कम्बल ओढ्नु हुँदैन। समान पनि लानु हुँदैन।
- मन्दिरभित्र अरूको निन्दा गर्नु हुँदैन।
- मन्दिरभित्र अरूको प्रशंसा गर्नु हुँदैन।
- देवतालाई आफ्नो क्षमता अनुसार पूजा नगरी बस्नु हुँदैन।
- देवतालाई अर्पण नगरिकन कुनै पनि खाना खानु हुँदैन।
- देवतालाई सकिन्छ भने ऋतु अनुसारको ताजा फलफूल वा अन्न अर्पण गर्नु उत्तम हुन्छ।
- देवतालाई आफैं आफुले खाएको जुठो खानाको बाँकी अर्पण गर्नु हुँदैन।
- देवतालाइ पृष्ठभाग (ढाड) फर्काएर बस्नु हुँदैन।
- मन्दिरभित्र अरूलाई प्रणाम गर्नु हुँदैन।
- आफ्नो गुरुको सम्मान र स्तुति गर्नु अपेक्षित मानिन्छ।
- आफ्नो प्रशंसा गर्नु हुँदैन।
- जुन सुकै संस्कृतिको होस् , आफुले मान्ने होस् वा नमान्ने होस्, कुनै पनि देवतालाई कुनै पनि रूपमा अपमान गर्नु हुँदैन।
गलत व्याख्या भएका केहि ऋचाहरुको वैदिक शास्त्र अनुसारको बास्तविक सार भाव:
मूल श्लोक:
शालग्रामो न स्पृष्टव्यो हीनवर्णैर्वसुन्धरे।
स्त्रीशूद्रकरसंस्पर्शो वज्रस्पर्शाधिको मतः ।। ४९ ।।
मोहाद्यः संस्पृशेच्छूद्रो योषिद्वापि कदाचन।
पच्यते नरके घोरे यावदाभूतसंप्लवम् ।। ५० ।।
(वराह पुराण १८६.४९-५०)
भावार्थ (वैदिक दर्शन अनुसार):
हे वसुन्धरे (पृथ्वी)! 'हीनवर्ण' अर्थात् आफ्नो ज्ञान, चेतना र कर्मको स्तरबाट पतन भएका व्यक्तिहरूले 'शालग्राम' लाई छुनु हुँदैन। यहाँ 'शालग्राम' को अर्थ केवल ढुङ्गाको प्रतीक मात्र होइन, बरु यो आत्माको सर्वोच्च र शुद्ध अवस्थाको प्रतीक हो।
'स्त्री' र 'शूद्र' शब्दले यहाँ महिला र सेवा गर्ने वर्गलाई होइन, बरु आत्माको त्यस्तो अवस्थालाई संकेत गर्छ जहाँ चेतनाले प्रकृति (माया) र शारीरिक इन्द्रियहरू (शूद्रवृत्ति) को प्रभावलाई पूर्ण रूपमा जित्न सकेको छैन। यस्तो अवस्थामा रहेको व्यक्तिले आत्मज्ञानको प्रतीक (शालग्राम) लाई स्पर्श गर्नु, 'वज्रस्पर्श' अर्थात् निकै कठोर र हानिकारक मानिन्छ, किनकि त्यसबाट उसलाई आध्यात्मिक लाभ मिल्नुको साटो अज्ञानताले थप दु:ख र पतनतर्फ धकेल्छ।
जसरी हामीले मन्त्रको सैद्धान्तिक ज्ञानलाई बुझेर मात्र पूजा गर्छौं, त्यसरी नै आत्मज्ञानको प्रतीकलाई त्यसको गहिराइ नबुझी स्पर्श गर्दा 'नरके घोरे' अर्थात् अज्ञानताको गहिरो अन्धकारमा पुगिन्छ, जहाँबाट बाहिर निस्कन निकै कठिन हुन्छ।
मूल श्लोक:
यदि भक्तिर्भवेत्तस्य स्त्रीणां वापि वसुन्धरे। दूरादेवास्पृशन्पूजां कारयेत्सुसमाहितः।।
चरणामृतपानेन सर्वपापक्षयो भवेत् ।। ५१ ।।
(वराह पुराण १८६.५१)
भावार्थ (वैदिक दर्शन अनुसार):
हे वसुन्धरे (पृथ्वी)! यदि व्यक्तिमा विषय बस्तुको ज्ञान नभएको ('स्त्री' वा 'शूद्र' व्यक्तित्व) अवस्था छ तर उनीहरु अव साँचो भक्ति तर्फ आकर्षित भएको अबस्था हो भने उनीहरूले स्वयं पूजा नगरी (विषय बस्तुको ज्ञान नहुँदा सम्म) टाढैबाट (विषय बस्तुको ज्ञान भएको व्यक्तिको व्यवस्था गरि) भक्तिपूर्वक पूजा गराउन सक्छन्।
यस श्लोकमा ‘स्त्रीणां' शब्दले आध्यात्मिक रूपमा अपरिपक्व अवस्थामा रहेको चेतनालाई सङ्केत गर्छ। यस्तो अवस्थामा रहेका व्यक्तिले सीधै आत्मज्ञानको प्रतीक (शालग्राम) लाई स्पर्श गर्नुको सट्टा आध्यात्मिक रूपमा परिपक्व व्यक्ति (जसलाई हामी 'ब्राह्मण' वा 'क्षेत्रीय' भन्छौँ, अर्थात् शुद्ध चेतना भएको व्यक्ति) मार्फत पूजा गराउन सक्छन्।
जसरी तपाईंले गाडी चलाउन नजान्दा चालकलाई पारिश्रमिक दिएर आफ्नो गाडी चलाउन लगाउन सक्नुहुन्छ, त्यसैगरी पूजाको विधि र त्यसको अध्यात्म नबुझेसम्म तपाईंले कुनै पण्डितलाई पारिश्रमिक दिएर आफ्नो पूजा गराउन सक्नुहुन्छ।
यसरी, जब शुद्ध चेतनाले पूजा सम्पन्न गर्छ र त्यो पूजाको प्रसादस्वरूप प्राप्त हुने 'चरणामृत' लाई अपरिपक्व चेतना भएका व्यक्तिले ग्रहण गर्छन्, तब उनीहरूको 'सर्वपाप' अर्थात् अज्ञानता, मोह र मानसिक विकारहरूको क्षय हुन्छ। यो श्लोकले बाहिरी कर्मकाण्डको सट्टा आन्तरिक शुद्धता र भक्तिको महत्त्वमा जोड दिन्छ। यसले आत्मज्ञानको यात्रामा सबैका लागि मार्ग खुला छ भन्ने कुरा पुष्टि गर्छ।
मूल श्लोक:
ब्राह्मणैः पंचपूज्यास्युश्चतस्रः क्षत्रियैस्तथा। वैश्यैस्तिस्रस्तथापूज्याएकापूज्याप्रयत्नतः। तस्यादर्शनमात्रेणशूद्रोमुक्तिमवाप्नुयात्।।
(पद्म पुराण, उत्तर-खण्ड, १३१.५-६)
भावार्थ (वैदिक दर्शन अनुसार):
यो श्लोकले आत्मिक विकासको फरक-फरक स्तरमा रहेका साधकहरूका लागि भिन्न-भिन्न मार्गहरूको व्याख्या गर्दछ।
'ब्राह्मण', 'क्षत्रिय' र 'वैश्य' ले क्रमबद्ध रूपमा पाँच, चार र तीन प्रकारका पूजा विधिहरू अपनाएर आत्मज्ञानको प्रतीक 'शालग्राम' को उपासना गर्न सक्छन्। यहाँ 'ब्राह्मण' ले शुद्ध चेतना र गहन ज्ञानको अवस्थालाई जनाउँछ, जसले विस्तृत र जटिल पूजा विधिहरू (पाँच प्रकारका पूजा) मार्फत परमात्मासँग जोडिन सक्छ। 'क्षत्रिय' (नेतृत्व र व्यवस्थापनको अवस्था) र 'वैश्य' (श्रम र अर्थोपार्जनको अवस्था) ले आफ्नो चेतनाको स्तर अनुसार क्रमशः कम पूजा विधिहरू अपनाउन सक्छन्।
चेतनाको प्रारम्भिक चरणमा रहेर मात्र भौतिक क्रियाकलापमा केन्द्रित रहेका व्यक्तिहरु (शूद्रो) को हकमा 'शालग्राम' को पूजा गर्नुको कुनै अर्थ छैन। यो यसकारण होइन कि उनीहरू हीन छन्, बरु चेतनाको प्रारम्भिक भौतिक क्रियाकलापमा केन्द्रित रहेकाहरु जव सम्म आफुलाई शालग्रामको पूजाको अर्थ बुझ्ने हदमा पुर्याऊदैनन् तव सम्म यस्तो पुजा उदेश्य प्राप्ति अपूर्ण हुन सक्छन्। उनीहरूको लागि फरक प्रकृतिको सरल मार्गको परिकल्पना गरिएको छ।
'तस्यादर्शनमात्रेण शूद्रो मुक्तिमवाप्नुयात्' अर्थात् 'अज्ञानी’ ले केवल शालग्रामको दर्शन मात्र गर्दा पनि 'मुक्ति' प्राप्त गर्न सक्छन्। यसको अर्थ के हो भने, जब एउटा साधारण चेतना (शूद्र) ले उच्च चेतनाको प्रतीक (शालग्राम) लाई हेर्छ, तब उसको मनमा आध्यात्मिक जिज्ञासा र समर्पणको बीउ रोपिन्छ। यही जिज्ञासा र दर्शनले उसलाई आन्तरिक रूपमा शुद्ध पार्दै मुक्ति (अज्ञानताबाट मुक्ति) को मार्गमा डोर्याउँछ। यो श्लोकले आत्मिक यात्रामा सबैलाई समान अवसर दिन्छ र प्रत्येक व्यक्तिको चेतनाको स्तर अनुसार उपयुक्त मार्ग सुझाउँछ।
मूल श्लोक:
न जातुचि स्त्रिया कार्य शालग्रामस्य पूजनम् ।
भर्तृहीनाथसुभगा स्वर्गलोकहितैषिणी ।। २३ ।।
मोहात्स्पृष्ट्वापि महिला जन्मशीलगुणान्विता ।
हित्वा पुण्यसमूहं सा सत्वरं नरकं व्रजेत् ।। २४ ।।
(पद्म-पुराण, पाताल-खण्ड, २०.२३–२४)
भावार्थ (वैदिक दर्शन अनुसार):
यी श्लोकहरूले 'माया', 'प्रकृति' वा सांसारिक मोह र इन्द्रियहरूको प्रभावमा रहेको चेतनाले (स्त्रिया) आत्मज्ञानको प्रतीक 'शालग्राम' को पूजा वा स्पर्श गर्नुको कुनै अर्थ छैन।
यहाँ ‘स्त्रिया' शब्दले कुनै नारिहरूलाई होइन, बरु 'माया', 'प्रकृति' वा सांसारिक मोह र इन्द्रियहरूको प्रभावमा रहेको चेतनालाई जनाउँछ। यसको अर्थ यो हो कि जुन चेतना अझै पनि भौतिक संसारका गुणहरूले (सत्व, रज, तम) प्रभावित छ, त्यसले सीधा आत्मज्ञानको चरम प्रतीक (शालग्राम) लाई बुझ्ने वा प्राप्त गर्ने प्रयास गर्नुको कुनै अर्थ हुँदैन।
'पुण्यसमूहं हित्वा नरकं व्रजेत्' को अर्थ हो, यदि मोह (अज्ञानता) बाट प्रेरित भएर यस्तो चेतनाले आत्मज्ञानको मार्गमा प्रवेश गर्न खोज्छ भने, त्यसले आफूले अहिलेसम्म कमाएको आध्यात्मिक प्रगति (पुण्य) पनि गुमाउँछ र अझ गहिरो अज्ञानता (नरक) को अवस्थामा पुग्छ।
यो श्लोकले नारिहरूलाई अपमान गरेको नभई, आत्मिक विकासको यात्रामा चेतनाको प्रत्येक अवस्थाका लागि फरक-फरक नियमहरू र मार्गहरू हुने कुरा बुझाएको छ। जब एक व्यक्ति 'स्त्रिया' अवस्था अर्थात् मोहमा रहेको हुन्छ, तब सीधा आत्मज्ञान खोज्दा त्यसले आध्यात्मिक हानि पुऱ्याउन सक्छ। यसले हरेक साधकलाई आफ्नो चेतनाको स्तरअनुसारको सही मार्ग पछ्याउन प्रेरित गर्छ।
मूल श्लोक:
विक्रेता क्रयकर्त्ता च नरके नीयते ध्रुवम् ।। ५५ ।।
(वराह-पुराण १८६.५५)
भावार्थ (वैदिक दर्शन अनुसार):
यो श्लोकले 'शालग्राम' लाई बेच्ने र किन्ने दुवै व्यक्तिहरूको निश्चित रूपमा 'नरक' मा वास हुने कुरा बताएको छ। यहाँ 'शालग्राम' को अर्थ केवल एउटा ढुङ्गा वा भौतिक वस्तु मात्र होइन, बरु यो आत्माको शुद्ध अवस्था र सर्वोच्च ज्ञानको प्रतीक हो।
'विक्रेता' (बेच्ने व्यक्ति): त्यो व्यक्ति जसले आध्यात्मिक ज्ञान वा आत्मालाई भौतिक लाभ वा धनका लागि बेच्न खोज्छ। यसको अर्थ हो, जसले ज्ञानको पवित्रतालाई पैसासँग साट्न खोज्छ।
'क्रयकर्त्ता' (किन्ने व्यक्ति): त्यो व्यक्ति जसले आध्यात्मिक ज्ञानलाई पैसा वा अन्य भौतिक वस्तुको माध्यमबाट किन्न सकिन्छ भन्ने भ्रममा पर्छ। यसको अर्थ हो, जसले आध्यात्मिक यात्रालाई धनको बलमा छोट्याउन खोज्छ।
'नरक' भन्नाले यहाँ भौतिक नर्कलाई नभई गहिरो आध्यात्मिक अज्ञानता र चेतनाको पतनलाई जनाउँछ। जब ज्ञानलाई व्यापारको वस्तु बनाइन्छ, तब त्यसले ज्ञानको वास्तविक मूल्य र पवित्रतालाई नष्ट गर्छ। यसले ज्ञान लिने र दिने दुवैलाई आध्यात्मिक रूपमा अशुद्ध बनाउँछ र दुवैलाई अन्धकारतर्फ धकेल्छ। त्यसैले, यो श्लोकले ज्ञानलाई भौतिक वस्तुको रूपमा किनबेच गर्नुको गम्भीर आध्यात्मिक परिणाम हुने कुरामा जोड दिन्छ।
मूल श्लोक:
शालग्रामशिलाययोमूल्यमुद्घाटयेन्नरः
विक्रेताचानुमंताचयःपरीक्षानुमोदकः १२
सर्वेतेनरकंयांतियावत्सूर्यश्चसंप्लवः
अतस्तद्वर्जयेद्देविचक्रक्रयणविक्रयम् १३
(पद्म-पुराण, पाताल-खण्ड, ७९.१२-१३)
भावार्थ (वैदिक दर्शन अनुसार):
यो श्लोकले 'शालग्राम' को खरिद-बिक्रीमा संलग्न व्यक्तिहरूलाई कडा चेतावनी दिएको छ। यहाँ 'शालग्राम' लाई केवल एक ढुङ्गाको रूपमा नभई, आत्माको सर्वोच्च ज्ञान र चेतनाको प्रतीकको रूपमा बुझ्न आवश्यक छ।
'विक्रेता' (बेच्ने व्यक्ति): जसले आध्यात्मिक ज्ञानलाई भौतिक मूल्यमा बेच्न खोज्छ।
'क्रयकर्त्ता' (किन्ने व्यक्ति): जसले आध्यात्मिक ज्ञानलाई पैसा वा वस्तुबाट किन्न सकिन्छ भन्ने भ्रम पाल्छ।
'मूल्यमुद्घाटयेन्नरः' (मूल्य निर्धारण गर्ने व्यक्ति): जसले ज्ञानको मापन भौतिक मापदण्डमा गर्न खोज्छ।
'परीक्षानुमोदकः' (परीक्षण वा अनुमोदन गर्ने व्यक्ति): जसले ज्ञानको पवित्रतालाई भौतिक लाभका आधारमा जाँच गर्छ।
यी सबै व्यक्तिहरूलाई 'नरकं यांति' अर्थात् आध्यात्मिक अन्धकारमा जाने कुरा बताइएको छ। यो 'नरक' भौतिक ठाउँ नभएर चेतनाको त्यो अवस्था हो, जहाँ आध्यात्मिक ज्ञानको अपमान र व्यापारले गर्दा व्यक्ति पूर्ण रूपमा अज्ञानता र मोहमा डुबेको हुन्छ। 'यावत्सूर्यश्च संप्लवः' अर्थात् 'जबसम्म सूर्य अस्तित्वमा रहन्छ', भन्नुको अर्थ हो कि यस प्रकारको कर्मको नकारात्मक प्रभाव दीर्घकालीन र गम्भीर हुन्छ।
अतः, यो श्लोकले 'चक्रक्रयणविक्रयम्' (चक्रको किनबेच) लाई त्याग्न आह्वान गर्छ। यसको मूल सन्देश हो कि ज्ञानलाई व्यापारको वस्तु बनाउनु हुँदैन। ज्ञानको खोजी र प्राप्ति शुद्ध मन र भक्तिबाट मात्र सम्भव हुन्छ, भौतिक लेनदेनबाट होइन।
यसले वैदिक ज्ञानको पवित्रता र यसलाई गलत तरिकाले प्रयोग गर्दा हुने गम्भीर परिणामको महत्त्व दर्शाउँछ।