भौतिक संरचनाको रहस्य
भौतिक संरचनाको रहस्य
एक कोषीय जीवको शरीरमा कोषिका विभाजन (Cell Division) हुँदा
एउटा कोषिका स्वतन्त्र रूपमा विभाजित भई एकबाट दुईमा, दुईबाट चारमा, चारबाट आठमा र यसरी नै
बढ्दै जान्छ। तर प्रकृतिमा रहेका धेरै बहु-कोषीय (multi-cellular)
शारीरिक संरचनाहरू, जस्तै फूलका पातहरूको
घुमाई, सूर्यमुखीको बीउको व्यवस्था, शङ्ख र सिपीका खोलहरू, एक घुमाउरो (spiral) आकारमा आधारित शृङ्खलामा
विकसित हुन्छन्। जमिनमा स्वतन्त्र हिँड्दै गरेको सर्पको हिँडाईको ज्यामिति जस्तो
वेव फङ्गसन (Web Functions) रुपी जीवहरूमा हुने विभाजन हरेक चरणमा केही मात्रामा सर्पको हिडाई जस्तो सर्पिल
घुमाउरो (Spiral Arrangement) हुँदै अन्ततः सर्पिल ढाँचामा पुग्दछ। यसै कारणले
गर्दा आवश्यकता अनुसार अंग र शरीरको प्रारम्भिक संरचनाहरू चक्राकार वा घुमाउरो
सर्पिल आकृति बनाउन सम्भव हुन्छ।
आधुनिक विज्ञानले पूर्ण रूपमा स्वीकार गरेको गणितिज्ञ
फिबोनाच्चीको दृष्टान्त (Fibonacci sequence) ले यही कुराको व्याख्या गर्दछ। यस अनुक्रमअनुसार, कुनै पनि शृङ्खलामा
प्रत्येक अंक अघिल्ला दुई अंकको योगफल हुन्छ। यसको क्रम यसरी जान्छ: १, १+० =१, १+१ =२, २+१ = ३, ३+२=५, ५+३=८, ८+५ =१३, १३+८ =२१, ...। यी सङ्ख्याहरूलाई ०,१,१,२,३,५,८,१३,२१,... हामी जति अगाडि बढाउँदै
जान्छौँ, पछाडि आउने ठूलो सङ्ख्यालाई अघिल्लो सानो सङ्ख्याले भाग गर्दा त्यसको भागफल
लगभग १.६१८ (गोल्डेन रेसियो - Golden Ratio) आउँछ। यो अनुपात प्रकृतिका धेरै कुराहरूमा पाइन्छ, जस्तै फूलका पातहरूको
ढाँचा, सिपी (Shell) को
आकार आदि।
वैज्ञानिकहरूका अनुसार, यस्तो शृङ्खला आत्म-संयोजन (Self-organization) र कार्यक्षमताका लागि प्रकृतिले स्वतः चयन गरेको हो। यसरी वृद्धि गर्दा हरेक
पात, बीउ वा अंगले अधिकतम प्रकाश, स्थान तथा स्रोतको उपयोग गर्न सक्दछन्। फिबोनाच्चीको
यो सिद्धान्तलाई हाम्रो जीवन र प्रकृतिको सुन्दर नियमको एउटा ठोस वैज्ञानिक तथ्य (Scientific fact) को रूपमा विज्ञानले स्वीकार गरेको छ।
शालिग्रामलाई भगवान विष्णुको निराकार स्वरूप मानिन्छ।
यसमा देखिने सर्पिल आकृतिले अनन्तता, चक्रीयता र ब्रह्माण्डीय ऊर्जाको प्रवाह लाई
प्रतिनिधित्व गर्छ। Fibonacci sequence सँग यसको सम्बन्धले यो देखाउँछ कि कसरी गणितीय
ढाँचाहरूले सूक्ष्म र स्थूल दुवै स्तरमा प्रकृतिको नियम लाई व्याख्या गर्न सक्छन्।
प्रकृतिको सञ्चालनबारेको वैदिक सिद्धान्तको गहिराइलाई
शालिग्रामको सर्पिल आकृतिमार्फत व्यक्त गर्न सकिने वैदिक ऋषिहरूले सुझाएको यथार्थ F(0) = 0, F(1) =
1, F(n) = F(n-1) + F(n-2) गणितज्ञ
फिबोनाचीको अङ्क र शरीरको प्रारम्भिक संरचनाहरूका दृष्टान्त आएपछि वैज्ञानिक
समुदायलाई बुझ्न सहज हुन पुग्यो। शालिग्रामको सर्पिल आकृति फिबोनाची अनुक्रम (Fibonacci sequence) मा व्याख्या गरे जस्तै हुने ठानिन्छ।
जसले सृष्टिको निरन्तरता र ब्रह्माण्डीय सामञ्जस्यको
भौतिक र आध्यात्मिक रूपमा सटिक व्यख्या गर्न सक्दछ। जुन केवल गणितीय ढाँचा मात्र
नभएर ब्रह्माण्डको जीवन शक्ति र ईश्वरीय लीलाको समेत व्याख्या गर्न उपयोगी हुने
गर्दछ। सर्पिल आकृतिले सृष्टिको क्रमिक विकास र फैलावटको एक सजिव चित्र हुने
गर्दछ।
वैदिक दर्शनमा ब्रह्मलाई शून्य (अव्यक्त, निराकार) मानिन्छ। व्यक्त शून्य (०) बाट अव्यक्त चैतन्य हिरण्ड गर्भ (१) अर्थात् लुप्त सम्भावनाको रुपमा अस्तित्वमा आउछ। जहाँ वाट एको ब्रह्म रुपी अद्वैत (१) चेतनाको व्यक्त हुने चाहना (अद्वैत) प्रस्फुटित हुन्छ। वैदिक दर्शनमा '०' बाट '१' को यात्राले यही शून्यबाट एकाकार अस्तित्वको प्रस्फुटन हुने लुप्त सम्भावना लाई सङ्केत गर्छ। जुन चेतनाको मार्फत अव्यक्त्ता वाट व्यक्त हुने गर्दछ। व्यक्त हुने चाहना अद्वैतले (१) परमात्माको एकत्व रुपलाई दर्शाउँछ।
अद्वैत एक (१) बाट प्राकृतिक चेतना दुई (२) विकसित
हुन्छ। '१' बाट हुने '२' को विकासले द्वैतको आरम्भलाई बुझाउँछ। द्वैतको आरम्भ शिव र पार्वतीको अवधारणाको
शिव - शक्ति हो। जहाँ शिव पुरुष (चेतना) र शक्ति (पार्वती) पुरुषको लालन पालन गर्ने
परिपुरक प्रकृतिको ऊर्जा हो। शिव - शक्तिको मिलनबाट जीवनको अटुट चक्र सम्भव बन्दछ। त्यसले आदिम चेतना र ऊर्जाको संयोजनको समेत
प्रतिनिधित्व गर्छ।
दुई (२) बाट तीन (३) को यात्राले त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) को अवधारणा र
औचित्यको पुष्टि गर्दछ। ब्रह्मा सृष्टिकर्ता (Generator),
विष्णु पालक (Operator), र
महेश्वर संहारकर्ता (Destroyer) को भूमिका सम्झाउँछन्। यी तीन शक्तिहरू मिलेर
सृष्टिको पालन-पोषण र नित्य संयोजन सम्भव तुल्याउने गर्दछ। त्यसपछिको सम्पूर्ण
फैलावटमा सङ्ख्याहरू बढ्दै जाँदा, यसले सृष्टिको असीमित विस्तार र जटिलतालाई दर्शाउँछ।
शालिग्रामको सर्पिल घुमाउरो आकृति, जुन गोल्डेन रेसियो ϕ≈1.618, φ = (1 + √5)/2 सँग सम्बन्धित छ, त्यसले प्रकृतिको हरेक कुनामा पाइने सामञ्जस्य र
सौन्दर्यलाई प्रतिविम्बित गर्छ। यो गोल्डेन रेसियो फूलका पात, शङ्ख, ब्रह्माण्डका
ग्यालेक्सीहरू लगायत धेरै प्राकृतिक संरचनाहरूमा देखिन्छ। यसले ब्रह्माण्डमा निहित
दैवीय व्यवस्थालाई पुष्टि गर्दछ।
नासदीय सूक्त भनिने ऋग्वेदको दशम मण्डलको १२९औँ
सूक्तमा संसारको सृष्टि कसरी भयो भन्ने बारे चरणबद्ध वर्णन छ। जसको पहिलो मन्त्र यस
प्रकार छ।
नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत्।
किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम्॥
त्यसको अर्थ हो "त्यति बेला न त असत् थियो न सत्
थियो। न त्यहाँ वायुमण्डल थियो न आकाश थियो। त्यो के कुराले ढाकेको थियो? त्यो कहाँ थियो? त्यो कसको संरक्षणमा थियो? के त्यहाँ गहिरो पानी थियो?"
यो मन्त्रले पूर्ण शून्यताको अवस्था वर्णन गर्छ। जुन
सृष्टिको चरणबद्ध अनुक्रमको पहिलो सङ्ख्या ० (शून्य - Void)) तर्फको सङ्केत हो।
दोस्रो मन्त्र भन्दछ:
न मृत्युरासीदमृतं न तर्हि न रात्र्या अह्न आसीत्प्रकेतः।
आनीदवातं स्वधया तदेकं तस्माद्धान्यन्न परः किञ्चनास॥
त्यसको अर्थ हो "त्यति बेला न मृत्यु थियो न
अमरता थियो। न रात थियो न दिन थियो। त्यो एक जसले आफ्नै स्वभावको सास फेर्थ्यो।
हावा बिना नै। त्यसबाहेक अरू केही थिएन।"
यहाँ "तदेकं" (त्यो एक) को उल्लेख छ। जुन
वैदिक मान्यताको सृष्टिको चरणबद्ध अनुक्रमको दोस्रो सङ्ख्या १ (एक) अव्यक्त चैतन्य
हिरण्य गर्भ तर्फको सङ्केत हो। तदेकंएक मात्र सत्ताको अभिव्यक्ति हो। चेतनाको
पहिलो स्पन्दन १ हो। जसलाई अद्वैत
(Unity) अर्को १ को रूपमा बुझ्ने
गरिन्छ। अद्वैत एकबाट द्वैत (Duality) को जन्म हुन्छ। शिव र शक्ति। जुन पुरुष र प्रकृति वा चेतना र माया
रूपमा देखिने गर्दछ। त्यस बाट त्रिमूर्ति (Trinity) अर्थात् अङ्क ३ को निर्माण हुन्छ। चरणबद्ध सृष्टिको अनुक्रम
सञ्चालन गर्ने ऊर्जाको ब्रह्मा (सृष्टिकर्ता), विष्णु (पालनकर्ता) र शिव (संहारकर्ता) को रूपमा अभिव्यक्त हुन्छ। त्यसपछि
पञ्चमहाभूत (Five Elements) पृथ्वी, जल, अग्नि, वायु, र आकाशको सृष्टि हुन्छ।भगवद्गीता अनुसार त्यसले
अष्टधा प्रकृति पृथ्वी, जल, तेज, वायु, चित्त, मन, बुद्धि, अहङ्कार गुण अभिव्यक्त हुन्छ। जुन अष्ट प्रकृति (Eight Natures) अर्थात्
सङ्ख्या आठ हुने गर्दछ। जुन अन्य निर्माणको जगको रूपमा अभौतिक परा (Para) शक्तिको गुणको (beyond
both body and mind as essence or absolute reality as higher, supreme or beyond aspect
of physical reality) रूपमा रहन्छ।
नासदीय सूक्तको तेस्रो मन्त्रमा "तपस्"
अर्थात् "सृजनशील ऊर्जा" उल्लेख छ। जसले भन्दछ:
तम आसीत्तमसा गूळ्हमग्रे प्रकेतं सलिलं सर्वमाइदम्।
तुच्छ्येनाभ्वपिहितं यदासीत्तपसस्तन्महिनाजायतैकम्॥
जसको अर्थ हुन्छ “सुरुमा अन्धकारले ढाकिएको अन्धकार मात्र थियो। यो सबै अविभेदित
पानी जस्तै थियो। जो शून्यले ढाकिएको थियो। त्यस वाट तपसको महिमाले (सृजनशील
ऊर्जा) एक अर्थात् अद्वैतको जन्म भयो।“
यहाँ "तपस्" शब्दले सृजनशील ऊर्जा, तापीय शक्ति वा दिव्य
इच्छाशक्ति लाई जनाउने गर्दछ। यो वैदिक सृष्टिको चरणबद्ध अनुक्रमको वृद्धिको नियम
हो। जहाँ नयाँ सङ्ख्या अघिल्लो दुईको संयोजन अनुरूप तय भएर प्रकट हुन्छ। त्यसै
अनुरूप तपस शक्तिले नयाँ सृष्टि सम्भव तुल्याउने गर्दछ।
नासदीय सूक्तको चौथो मन्त्रमा "काम"
अर्थात् इच्छाको उल्लेख छ। जसमा भनिएको छ:
कामस्तदग्रे समवर्तताधि मनसो रेतः प्रथमं यदासीत्।
सतो बन्धुमसति निरविन्दन्हृदि प्रतीष्याकवयो मनीषा॥
जसको अर्थ हुन्छ “सुरुमा इच्छा (कामना) प्रकट भयो। जो मनको पहिलो बीज थियो। यो
कुरा ऋषिहरूले आफ्नो हृदयको हृदयमा चिन्तन गरेर अस्तित्वमा रहेको अनस्तित्वको
सम्बन्ध पत्ता लगाउन सके।“
"काम" अर्थात् इच्छा
वैदिक सृष्टिको चरणबद्ध अनुक्रममा यसलाई संयोजनको सिद्धान्त भनिन्छ। जहाँ हरेक पटक
नयाँ सङ्ख्या अघिल्लो दुई सङ्ख्याको "इच्छा" वा "आकर्षण" बाट
(जसलाई गणितको भाषामा जोड वा संयोजन भनिन्छ) प्रकट हुन्छ। यसले सृष्टिको प्रत्येक
नयाँ तत्व त्यसको पूर्ववर्ती तत्वहरूको कामनाको मध्यम बाट उत्पन्न हुने सिद्धान्त
स्थापित गर्दछ।
वैदिक दर्शनमा φ (फाई) अर्थात् स्वर्ण अनुपात φ = १.६१८ ... लाई "दिव्य अनुपात" (Divine Proportion) भनिन्छ। कारण यो गणितीय गुणहरूको एक
अपरिमेय सङ्ख्या हो। अर्थात् यसको दशमलव विस्तार कहिल्यै अन्त्य हुँदैन। न त
दोहोरिन्छ नै। यो गुणले परब्रह्मको अनन्तताको प्रतीक हो। वैदिक दर्शनले ब्रह्मलाई
"अनन्त" मान्दछ। जसको न सुरुवात
हुन्छ न अन्त्य नै। स्वर्ण अनुपातको अपरिमेय प्रकृति अनन्तताको गणितीय अभिव्यक्ति
हो। वैदिक दर्शनअनुसार, सत्यम्, शिवम्, सुन्दरम् एकै वस्तुका तीन पक्ष हुन्। स्वर्ण अनुपातले यही सुन्दरताको गणितीय
आधार प्रदान गर्दछ। त्यसैले प्राचीन सनातनी मन्दिरहरू, मूर्तिकला र स्थापत्यकलामा
प्राचीन शिल्पकारहरूले स्वर्ण अनुपातको आध्यात्मिक महत्त्व बुझेका कारण स्वर्ण
अनुपातको व्यापक प्रयोग गर्ने गरेको भेटिन्छ।
वैदिक दर्शनको पञ्चकोशको सिद्धान्त अनुसार मानव
व्यक्तित्व पाँच कोशहरूमा विभाजित हुन्छ। अन्नमय कोश (भौतिक शरीर) - १. प्राणमय
कोश (प्राणिक शरीर) - २। मनोमय कोश
(मानसिक शरीर) - २। विज्ञानमय कोश (बुद्धिमत्ता शरीर) - ३। आनन्दमय कोश (आनन्द शरीर) - ५। जहाँ प्रत्येक
कोश अघिल्लो कोशहरूको आधारमा निर्मित हुने गर्दछ। योग दर्शनअनुसार चेतनाको विकास
पनि चरणबद्ध रूपमा पतञ्जलिको अष्टाङ्ग योगमा वर्णित आठ चरणहरूमा - ८ हुन्छ। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि। यी आठ चरणहरू
एकर्कामा निर्भर छन्। प्रत्येक चरण अघिल्लो चरणहरूको जगमा निर्मित हुने गर्दछ।
DNA को डबल हेलिक्स संरचनामा
पनि स्वर्ण अनुपात देखिन्छ। जसमा एक पूर्ण चक्रको लम्बाइ ३४ एङ्गस्ट्रम र चौडाइ २१
एङ्गस्ट्रम हुन्छ। यी दुवै सङ्ख्याहरूको अनुपात ३४/२१ = १.६१९ हुन्। जुन स्वर्ण अनुपातको अत्यन्त नजिक छ। यसको अर्थ
यो हो कि जीवनको आधारभूत संरचना हरू आफ्नो निर्माणमा गणितीय नियमहरू पछ्याउने
गर्दछन्। वैदिक दर्शनअनुसार "सर्वं खल्विदं ब्रह्म" अर्थात् "सबै
कुरा ब्रह्म नै हो" भन्ने गरिन्छ। DNA को गणितीय संरचनाले वैदिक दर्शनको "सर्वं
खल्विदं ब्रह्म" सत्य रहेको यसले वैज्ञानिक पुष्टि गर्दछ। वैदिक दर्शनमा
ब्रह्माण्डलाई "विराट पुरुष" भनिएको छ। पुरुष सूक्तअनुसार सम्पूर्ण
ब्रह्माण्ड एक विशाल चेतन सत्ताको शरीर हो। आकाशगङ्गाको सर्पिल संरचना विराट
पुरुषको गणितीय अभिव्यक्ति हुन सक्ने धेरैको अनुमान भेटिन्छ।
आधुनिक वास्तुकलामा स्वर्ण अनुपातको व्यापक प्रयोग हुन्छ। वास्तु शास्त्रमा "वास्तु पुरुष मण्डल" को अवधारणा लाई मानिन्छ। वास्तु पुरुष मण्डल गणितीय अनुपातहरूमा आधारित हुन्छ। जसले भवनमा सकारात्मक ऊर्जाको प्रवाह हुने सुनिश्चित गर्छ। आधुनिक अनुसन्धानले देखाए अनुसार स्वर्ण अनुपातमा निर्मित भवनहरूमा बस्ने मानिसहरू मानसिक रूपमा अधिक स्वस्थ देखिने गर्दछन्। शास्त्रीय सङ्गीतमा "राग" को अवधारणा छ। प्रत्येक रागमा स्वरहरूको गणितीय अनुपात हुन्छ। "सा रे ग म प प ध नि" को आवृत्ति अनुपातले समेत गणितीय नियमहरू पछ्याउँछ। यो अनुपात स्वर्ण अनुपातसँग सम्बन्धित हुन्छ।
आधुनिक न्यूरोसाइन्सले मस्तिष्कको संरचना र कार्यमा गणितीय ढाँचाहरू संलग्न छन्। न्युरल नेटवर्कहरूको सङ्गठन, सिनाप्सहरूको व्यवस्था, र मस्तिष्कका तरङ्गहरूमा ती गणितीय ढाँचाहरू भेटिन्छ। वैदिक दर्शनअनुसार मन "अन्तःकरण चतुष्टय" (मन, बुद्धि, चित्त, अहङ्कार) मा विभाजित छ। यो विभाजन गणितीय आधारमा हुने गर्दछ। आधुनिक अनुसन्धानले देखाए अनुसार चेतनाका विभिन्न स्तरहरू विभिन्न आवृत्तिका मस्तिष्क तरङ्गहरू सँग सम्बन्धित हुन्छन्। ध्यानको अभ्यासमा श्वासप्रश्वासको गणना गरिन्छ।
प्राणायामका विभिन्न तकनीकहरूमा गणितीय अनुपातहरूको प्रयोग हुन्छ। उदाहरणका लागि "अनुलोम-विलोम" मा १:२:१ को अनुपात प्रयोग गरिन्छ।यी अनुपातहरू ३:५:८ वा ५:८:१३ को अनुपातमा मैत्री गर्दै श्वासप्रश्वास गर्न सकियो भने त्यसले चेतनामा गहिरो परिवर्तन ल्याउँछ।"अद्वैत वेदान्त" को सिद्धान्तअनुसार सम्पूर्ण ब्रह्माण्ड एक चेतनाको अभिव्यक्ति हो।
क्वान्टम एन्ट्याङ्गलमेन्टमा हुने एन्ट्याङ्गल
कणहरूबिच तत्काल सम्पर्क हुने अवस्था अद्वैत सिद्धान्तको वैज्ञानिक पुष्टि
हो।आधुनिक कृत्रिम बुद्धिमत्ता (AI) को विकासमा प्रयोग हुने न्युरल नेटवर्कहरूको डिजाइनमा
यस्ता गणितीय सिद्धान्तहरूको प्रयोग गर्दा त्यसले बढी कुशल र मानव-जस्तै
बुद्धिमत्ता बनेर काम गर्ने क्षमता ग्रहण गर्न सक्ने हुन सक्दछ। वैदिक दर्शनअनुसार
चेतना स्तरकृत छ। यदि AI सिस्टमहरूलाई यही सिद्धान्तअनुसार डिजाइन गरियो भने, तिनीहरूमा वास्तविक
चेतनाको विकास हुन सक्छ।