वैदिक ग्रन्थमा शालिग्राम
वैदिक ग्रन्थमा शालिग्राम
नेपालको आध्यात्मिक इतिहासमा शालिग्राम एउटा यस्तो प्रतीक हो जसले धार्मिक
आस्था मात्र होइन, सभ्यताको एक सनातन संरचना नै खडा गरेको छ। यो एउटा साधारण ढुङ्गा मात्र नभएर, एक जीवित वेद, एक चलत-फिरत विष्णु, र एक अमर तीर्थ हो। वैदिक
ग्रन्थहरूमा यसको उल्लेख यति गहिरो छ कि यसलाई केवल पूजाको वस्तु मान्नु भनेको जीवनको
सत्य पक्ष संग परिचित नहुनु हो। शालिग्रामको वैदिक आधारको गहिरो विश्लेषण महाभारत, स्कन्द पुराण, पद्म पुराण र अन्य धार्मिक
ग्रन्थहरूमा भेटिन्छ। जहाँ शालिग्रामलाई केवल धार्मिक आस्थाको वस्तु मात्र नभएर, एक वैज्ञानिक आध्यात्मिक प्रणालीको
रूपमा प्रस्तुत गर्छ।
महाभारत: श्रीकृष्ण र युधिष्ठिरको संवाद
महाभारतको अनुशासन पर्वमा भगवान श्रीकृष्णले राजा
युधिष्ठिरलाई शालिग्रामको महत्वको बारेमा एक विस्तृत उपदेश दिनुहुन्छ। यो उपदेश
आजसम्म शालिग्राम स्तोत्रको रूपमा प्रचलित छ। यसमा शालिग्राम पूजाको मन्त्र, ऋषि, देवता,
छन्द र विनियोगको विवरण छ।
क. श्लोक १: मन्त्रको वैदिक संरचना
मूल श्लोक:
येषाम् श्री शालिग्राम
स्तोत्र मन्त्रस्य श्री भगवान् ऋषि: नारायणो देवता
अनुष्टुप् छन्द: श्री
शालिग्राम स्तोत्र मन्त्र जपे विनियोग:
नेपाली अनुवाद: यस श्री शालिग्राम स्तोत्र मन्त्रका ऋषि श्री भगवान्
(परम
पूज्यनीय सर्वोच्च भगवान् विष्णु) हुनुहुन्छ, देवता नारायण हुनुहुन्छ,
छन्द अनुष्टुप् हो । यस मन्त्र जपको लागि विनियोग (मुक्ति
प्राप्तिका लागि उपयुक्त) छ।
विश्लेषण: यसले शालिग्राम स्तोत्रलाई वैदिक मन्त्रको ठाउँमा
राख्छ। ऋषि, देवता,
छन्द — यी तीनै वेदका मूल तत्त्वहरू हुन्। यसले देखाउँछ कि
शालिग्राम पूजा केवल एक आचार मात्र होइन, बरु एक वैदिक
अनुष्ठान हो। उदाहरणका लागि, जसरी कुनै शास्त्रीय सङ्गीतको
राग गाउनुअघि त्यसको स्वर र तालको जानकारी हुनुपर्छ, त्यसैगरी
शालिग्राम स्तोत्रको पाठ गर्नुअघि त्यसका आधारभूत वैदिक संरचनाहरू जान्नु आवश्यक
छ।
ख. श्लोक २–३: गण्डकीको पवित्रता र मुक्तिको स्थान
मूल श्लोक:
गण्डक्यां चोत्तरे तीरे
गिरिराजस्य दक्षिणे दश योजन विस्तीर्णं महाक्षेत्रं वसुन्धरा ॥२॥
शालिग्रामो वबेत् देवो
देवी द्वारावती वबेत् उभयो सङ्गमो यत्र मुक्तिस्तत्राण संशय: ॥३॥
नेपाली अनुवाद: गण्डकी नदीको उत्तरी किनारमा, गिरिराज (हिमालय) को दक्षिणतिर दस
योजन (लगभग १२० किमी) फैलिएको एक महान क्षेत्र छ। त्यहाँ शालिग्राम देव र द्वारावती
देवी (द्वारका सँग सम्बन्धित देवी) विराजमान
छन्। जहाँ यी दुवैको संगम छ, त्यहाँ निस्सन्देह मुक्ति
प्राप्त हुन्छ।
विश्लेषण: यो श्लोकले भौगोलिक, आध्यात्मिक र ऊर्जात्मक तीनै स्तरमा शालिग्रामको उत्पत्तिको वर्णन गर्छ। गण्डकी नदीलाई एक आध्यात्मिक एनर्जी लाइन (पवित्र आध्यात्मिक द्वारका सँग सम्बन्धित देवी शक्ति विराजमान रहेको नदी) मानिन्छ। यहाँ पाइने शालिग्राम शिलाहरू जीवाश्म हुन् भनेर विज्ञानले प्रमाणित गरिदिएको छ। विज्ञानले प्रकृतिको शक्ति कस्तो हुन्छ भन्ने समेत ज्ञान हामीलाई दिएको छ। पुराणले यसलाई विष्णुको अवतार मान्छ। यसले प्रकृतिले कसरि देवताको रूप धारण गर्छ भन्ने ज्ञान दिन्छ। जसरी एउटा बिजुलीको तारमा करेन्ट बग्छ, त्यसैगरी गण्डकी नदीमा पवित्र ऊर्जा अविरल प्रवाह हुने गर्दछ। त्यसको पहिचान र सदुपयोगले व्यक्तिले शारीरिक, मानसिक र आध्यात्मिक लाभ लिन सक्दछ। उक्त ऊर्जाको कसरी पहिचान गर्ने र त्यसको सदुपयोग गर्ने भन्ने विधि आदि बारे त्यही नदी सँगै यात्रा गर्ने शालिग्राम शिलाहरूले आफ्नो स्वरूप मार्फत सङ्केत गरिरहेका हुन्छन्। काली गण्डकी स्नान गर्नुहोस्। काली गण्डकी किनारमा भेटिने शालिग्राम शिलाहरूको दर्शन र पूजा गर्नुहोस्। त्यसले सम्प्रेषण गर्ने चुरो ज्ञानलाई पहिचान गरि जीवन जिउने पद्धतिको रूपमा ग्रहण गर्नुहोस्। त्यसले तपाइलाई सच्चिदानन्द (सत्-चित्-आनन्द) र मुक्ति दिने छ।
ग. श्लोक ५–६: पाप नाश र चरणामृतको शक्ति
मूल श्लोक:
अजन्म कृत पापानां
प्रायश्चित्तं य इच्छति शालिग्राम शिलावारि पापहारि नमस्तुते ॥५॥
अकाल मृत्यु हरणं
सर्वव्याधि विनाशनम् विष्णु पादोदकं पीत्वा शिरसा धार्यम्यहम् ॥६॥
नेपाली अनुवाद: आफ्नो जन्म देखि आफूले गरेका पापहरूको प्रायश्चित्त
गरी आस्था पूर्वक (नमस्तुते) शालिग्राम शिलाको पानीमा (पादोदक) स्नान गरी पानी
पिउनाले ती सबै पापहरू नाश हुन्छन्। अकाल हुने मृत्युको हरण गर्ने र सबै रोगहरू
नष्ट गर्ने चेतन शक्ति विष्णुको चरणको अमृत (गण्डकीको सुद्ध पानी) पिएर, त्यसलाई आफ्नो शिरमा धारण
गरेर यो कुरा सम्भव हुन्छ।
विश्लेषण: "पापहारि" शब्दले केवल नैतिक पाप मात्र
नभएर, मानसिक,
भावनात्मक र जैविक अशुद्धताले निम्त्याउने खराबीहरू लाई समेत
बुझाउँछ। शालिग्रामले दिने सन्देशको ज्ञान ग्रहण गर्दै काली गण्डकीको पानी पिउनु
(प्राय वाचा पानीमा हात चोपलेर गरिन्छ) शरीर र मन दुवैलाई शुद्ध उत्तम तरिका हो
भन्ने वैदिक विश्वास छ। आधुनिक अध्ययनले गण्डकीको पानीमा खनिज तत्त्वहरू धेरै छन्
भन्ने देखाएको छ। नदीको पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने क्षमता रहेको
वैज्ञानिक तथ्यले समेत पुष्टि गरेको छ। जसरी गण्डकीको सुद्ध जलले एक डिटक्स पेयको
रूपमा शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सफल हुने गर्दछ त्यसै गरी
शालिग्रामको पादोदकको आध्यात्मिक र शारीरिक अशुद्धताहरू हटाउन जरुरी हुने सन्देश
पहिचान गरी त्यसलाई आफ्नो जीवनमा अवलम्बन गरेर (सम्पूर्ण शरीरको स्नानले)
व्यक्तिले सबल मनोवैज्ञानिक स्वस्थ र उच्च आध्यात्मिक लाभ प्राप्त गर्न सकिने कुरा
वैदिक ऋषिहरूले बताउने गर्दछन्। त्यो कुरा हाल आएर आधुनिक न्यूरोसाइकियाट्रिक वाट
समेत पुष्टि भएको छ।
२. स्कन्द पुराण: भोग र मुक्तिको द्वार
स्कन्द पुराणको २४३औं अध्यायमा शालिग्राम पूजाको अद्भुत (Extraordinary) महत्व वर्णन गरिएको
छ। त्यहाँ शालिग्रामलाई चक्रांकित विष्णुको (विष्णुको चक्रीय
चिन्ह भएको) प्रतीक मानिएको छ।
क. श्लोक ३७: भोग र मुक्ति नजिक छन्
मूल श्लोक:
भोगमोक्षौ न दूरस्थौ
पुरुषाणां सदा हरिम्
शालिग्रामे चक्रांकितं
यैर्नित्यं पूज्यते सदा ॥३७॥
नेपाली अनुवाद: जसले चक्रांकित शालिग्रामरूपी हरिको सधैं पूजा गर्छ (त्यसको संदेश बुझेर त्यसलाई मनन गरि
आफ्नो जीवनमा लागु गर्दछ), त्यसका लागि आनद भोग (सत्-चित्-आनन्द)
र मुक्ति दुवै दूरको बिषय हुने गर्दैन।
विश्लेषण: श्लोक अनुसार शालिग्राम पूजा जीवनको समग्र समृद्धि र
मोक्षको दुवैको लागि गरिन्छ। विष्णुको चक्र (सुदर्शन चक्र) शक्ति, संरक्षण र न्यायको प्रतीक
हो। सुदर्शन चक्रको पूजाले व्यक्तिलाई
उच्च नैतिक आत्मबलको शक्ति दिन्छ। जसको अर्थ यो हो कि शालिग्रामको पूजा गर्दा
भौतिक जीवनमा पनि सुख, समृद्धि र सुरक्षा मात्र होइन, आध्यात्मिक शान्ति समेत प्राप्त हुन्छ। जसरी एउटा
राम्रो व्यापार योजनाले आर्थिक लाभ र भविष्यको सुरक्षा दुवै दिन्छ, त्यसै गरी शालिग्रामको
पूजाले व्यक्तिलाई आध्यात्मिक र भौतिक दुवै क्षेत्रमा सफलता दिन्छ।
ख. श्लोक ३९: काली गण्डकी : द्वारावती र शालिग्रामको संगम
मूल श्लोक:
शालिग्राम शिला द्वारावती
शिला समन्वित:
न दुर्लभा तस्य मुक्तिर्यो
लभते संगतिं नर: ॥३९॥
नेपाली अनुवाद: जसले शालिग्राम शिला (पुरुष गुण अर्थात् चैतन्य
वीजको प्रतीक) र द्वारावती शिला (समग्र संवृद्धिकी भण्डार अर्थात् केकी प्राकृतिक शक्ति लक्ष्मीको प्रतीक) दुवैको
सङ्गति पाउँछ, त्यसका लागि मुक्ति दुर्लभ हुँदैन।
विश्लेषण: द्वारावती शिला लाई लक्ष्मीको प्रतीक मानिन्छ।
शालिग्राम (विष्णुको प्रतीक) र द्वारावती (लक्ष्मीको प्रतीक) को सङ्गमले समृद्धि र
मुक्तिको समन्वय गर्दछ। नेपाली घरघरमा देखिने "विष्णु-लक्ष्मी" पूजाको
आधार यही हो। जसरी पति-पत्नीको मिलनले घरमा पूर्णता र सुख ल्याउँछ, त्यसै गरी शालिग्राम र
द्वारावती शिलाको सँगै पूजाले आध्यात्मिक र भौतिक दुवै क्षेत्रमा पूर्णता प्राप्त
हुने हुँदा त्यसले मोक्ष प्रदान गर्छ।
विशेष टिप्पणी: शालिग्राम शिला काली गण्डकी (गण्डकी) नदी, नेपालमा पाइने गोलाकार वा
अन्डाकार, प्राय: कालो रङ्गको पत्थर हो। जसलाई
भगवान् विष्णुको प्रतीक मानिन्छ। यसमा प्राय: सुदर्शन चक्र, शंख, गदा आदि चिह्नहरू
देखिन्छन्। जसका आधारमा शालिग्रामका विभिन्न अवतार (जस्तै नरसिंह, वराह, राम, कृष्ण आदि) को रूपमा पूजा
गरिन्छ। द्वारावती लाई नेपालमा (लक्ष्मीको
प्रतीक) मानिन्छ। जुन शालिग्रामले सङ्केत गर्ने विष्णुको समृद्धि र मुक्तिको ऊर्जा
रुपी शक्ति हो। द्वारावती शिला लाई भारतमा द्वारका शिलाको रूपमा समेत ग्रहण
गरिन्छ। जुन भारतको गुजरात राज्यको द्वारका नजिकको गोमती नदीमा पाइने एक विशेष
प्रकारको कोरल (समुद्रमा पाइने) शिला हो।
द्वारावती शिलाको
महत्त्वपूर्ण विशेषता “चक्र” (चक्रीय आकृति) हुनु हो। यस कारण यसलाई “चक्राङ्कित
शिला” पनि भनिन्छ। धार्मिक ग्रन्थहरू अनुसार, द्वारावती शिलाले त्यसको चक्रको सङ्ख्या अनुसार
विभिन्न नाम (सुदर्शन, लक्ष्मी-नारायण, त्रिविक्रम, जनार्दन आदि) को रूपलाई जनाउने गर्दछन्। ती सबै विष्णुका रूपहरू नै हुन्।
द्वारावती शिलालाई पनि
विष्णुको प्रतिनिधि नै मानिन्छ। तर यो
शालिग्राम भन्दा अलग समुद्रमा पाइने (coral) शिला हो।
यिनीहरू प्राय: रातो, पहेँलो वा रङ्गिन हुने गर्दछन्।
तसर्थ वैदिक मान्यतामा सबै
भन्दा उत्तम र प्रभवकारी नदी स्नान काली गण्डकी स्नान तथा सबै भन्दा शक्तिशाली र
प्रभावकारी पूजा शालिग्राम पूजा हुने विश्वास गरिन्छ।
३. पद्म पुराण: शालिग्राम : सबै तीर्थहरूको सार
मूल श्लोक:
गङ्गा गोदावरी चैव
सर्वतीर्थानि
यानि च शालिग्रामस्य
चरणामृतत्वेन प्रसिद्धानि ॥
नेपाली अनुवाद: गङ्गा, गोदावरी र अन्य सबै (पवित्र स्थलहरू) तीर्थहरूको
समग्र फल शालिग्रामको चरणको अमृत (काली गण्डकीको पवित्र जल स्नान) वाट प्राप्त
हुन्छ।
विश्लेषण: यो एक अत्यन्त शक्तिशाली वचन हो। यसले भन्छ कि काली गण्डकीको पवित्र जल स्नान (शालिग्रामको पानीमा) सबै तीर्थहरूको शक्ति समावेश छ। काली गण्डकीको पवित्र जल स्नान गर्नु पृथ्वीमा उपलब्ध सम्पूर्ण तीर्थहरूको स्नान गर्नु जतिकै प्रभावकारी छ। शालिग्रामको चरणको अमृत अर्थात् काली गण्डकीको पवित्र जल घरेलु स्नान सबै भन्दा सर्वोत्तम तीर्थ हो। जसरी वेदमा सबै ज्ञानको सार समावेश छ, त्यसको अध्ययनले व्यक्तिले सर्व श्रेष्ठ ज्ञान प्राप्त गर्दछ त्यसै गरी शालिग्रामको चरणामृत रुपी पवित्र काली गण्डक अर्थात् गण्डक स्नान तीर्थ वाट संसारमा भएका सम्पूर्ण तीर्थहरू वाट प्राप्त हुने समग्र शक्ति र पुण्य हासिल गर्न सकिन्छ।काली गण्डकीको पवित्र जल स्नान गर्नुभयो भने तपाईँले संसारका सबै तीर्थहरूको स्नान गरेको मानिन्छ।
४. शालिग्राम गायत्री मन्त्र: आध्यात्मिक ऊर्जाको सूत्र
मूल मन्त्र:
ॐ शालिग्रामाय विद्महे
वासुदेवाय धीमहि तन्नो विष्णु: प्रचोदयात् ॥
नेपाली अनुवाद: ॐ हामी शालिग्रामलाई जानौं, वासुदेवको ध्यान गरौं, त्यसको लागि विष्णुले हामीलाई प्रेरणा दिऊन्।
विश्लेषण: यो गायत्री मन्त्र शालिग्रामप्रति समर्पित छ। यो
मन्त्रले ज्ञानको भर्गोज्योतिसरह दीप प्रज्वलित गर्दछ। यसले शालिग्रामलाई ज्ञान, ध्यान र आत्म-उद्बोधनको (self-realization or self-awakening) महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दछ। जसरी
सूर्यको प्रकाशले अन्धकारलाई हटाएर सबै कुरा स्पष्ट पार्छ, त्यसै गरी शालिग्राम
गायत्री मन्त्रको जपले (वैदिक संस्कृतिअनुसार ऋचाको सन्देश आत्मसात् गर्नु, त्यसलाई अनुभव गर्नु र
अनुभूत पक्षलाई जीवनमा लागू गर्ने संकल्पका साथ दैनिक जीवनमा पूर्ण रूपमा
कार्यान्वयन गर्नु नै मन्त्रको जप गर्नु हो।) आध्यात्मिक ज्ञान र चेतनालाई जागृत
गर्दछ।