कसरि चिन्ने सक्कली शालिग्राम?

कसरि चिन्ने सक्कली शालिग्राम?


सक्कली शालिग्रामको पहिचान गर्नु केवल धार्मिक आस्थाको विषय मात्र होइन, बरु यो एक गहिरो ज्ञान, विज्ञानको ऊपयोग गर्नु हो। शालिग्रामलाई विष्णुको जीवन्त रूप मानिन्छ, त्यसैले यसको शुद्धता र प्रामाणिकता पक्का गर्नु अत्यावश्यक छ। नक्कली शालिग्रामको बढ्दो प्रचलनले सक्कली शालिग्राम पहिचान गर्ने ज्ञानलाई अझै बढी महत्त्वपूर्ण बनाएको छ।


सक्कली शालिग्राम पहिचान गर्न सबैभन्दा पहिले रङ्ग हेर्नुपर्छ। उत्तम शालिग्राम पूर्ण कालो, चिल्लो र प्राकृतिक चमक भएको हुन्छ। यसको रङ्ग एकसमान हुन्छ, कुनै फिक्को वा असमान ठाउँ हुँदैन। मध्यम श्रेणीको शालिग्राममा कालोभन्दा हल्का खैरो मिश्रण हुन सक्छ, तर धेरै रङ्ग मिसिएको वा रङ्ग छुट्ने भएमा त्यो मिश्रित वा नक्कली हुन सक्छ।


चक्र चिह्न शालिग्रामको सबैभन्दा महत्त्वपूर्ण पहिचान हो। यो चक्र प्राकृतिक रूपमा बनेको हुन्छ, स्पष्ट, गहिरो र नियमित आकारको हुन्छ। यो जीवाश्मको प्रक्रियाबाट बनेको हुन्छ, त्यसैले यसमा कृत्रिम वा मेसिनले काटेको जस्तो निशान हुँदैन। यदि चक्र धेरै नियमित, परफेक्ट वा गहिराइ नभएको छ भने, यो कृत्रिम हुन सक्छ।


भौतिक गुणहरू पनि धेरै महत्त्वपूर्ण छन्। सक्कली शालिग्रामको सतह चिल्लो हुन्छ, प्राकृतिक पालिश भएको हुन्छ र कुनै कृत्रिम चिह्न वा खस्रोपन हुँदैन। यसको वजन आकारको तुलनामा धेरै भारी हुन्छ, ठोस र घना हुन्छ। यसको आकार प्राकृतिक रूपमा गोलाकार वा अण्डाकार हुन्छ, कुनै कृत्रिम काटछाँट वा चुच्चो धारिलो किनारा हुँदैन। तापमान परीक्षा पनि एक राम्रो तरिका हो। सक्कली शालिग्राम सधैं चिसो हुन्छ। हातमा समात्दा ठण्डा महसुस हुन्छ र तापमान बढ्दा पनि यो चिसै रहन्छ। यदि शालिग्रामले तातो महसुस गराउँछ वा तापमान परिवर्तनसँगै यसको तापमान परिवर्तन हुन्छ भने, यो नक्कली हुन सक्छ।


पानी परीक्षा एकदमै प्रामाणिक तरिका हो। सक्कली शालिग्राम पानीमा तुरुन्तै डुब्छ, तैरिंदैन। यदि शालिग्राम पानीमा तैर्छ वा ढिलो डुब्छ भने, यो प्लास्टिक वा रेजिनबाट बनेको हुन सक्छ। पानीमा राखेपछि यसको चमक बढ्छ, प्राकृतिक रूपमा चम्किलो देखिन्छ।


चुम्बक परीक्षा पनि उपयोगी छ। सक्कली शालिग्राममा फलामको अंश हुन्छ, त्यसैले चुम्बकले हल्का आकर्षण गर्छ। तर यो पूर्ण रूपमा चुम्बकीय हुँदैन। यदि चुम्बकले धेरै बलले आकर्षण गर्छ वा कुनै आकर्षण छैन भने, यो नक्कली हुन सक्छ। नक्कली शालिग्राम प्लास्टिक, रेजिन वा सामान्य ढुङ्गाबाट बनाइन्छ। तिनलाई कालो रङ्ग लगाइन्छ, कृत्रिम चक्र बनाइन्छ र पालिश गरेर चमकाइन्छ। यसको रङ्ग असमान हुन्छ, चमक कृत्रिम हुन्छ, वजन हल्का हुन्छ, र पानीमा तैरने पनि हुन सक्दछ। नक्कलीको सतह खस्रो हुन्छ र मेसिनले काटेको निशान हुन्छ।


शालिग्रामका धेरै प्रकार छन्, जसले विभिन्न अवतारहरूको प्रतिनिधित्व गर्छन्। मत्स्य शालिग्राम विष्णुको प्रथम अवतारको प्रतीक हो, जसमा मत्स्यको आकृति वा घुम्रेदार चक्र हुन्छ, जुन प्रलयकालमा ज्ञान र जीवनलाई बचाउने ऊर्जालाई जनाउँछ। कूर्म शालिग्राम दोस्रो अवतारको हो, जसमा घुम्रेको सर्पिल आकृति जस्तो गोल चक्र वा सेतो रेखा भएको हुन्छ, जुन कछुआको खोल जस्तो देखिन्छ र स्थिरता, धैर्य र आध्यात्मिक आधारको प्रतीक हो। वराह शालिग्राममा दुई विषम चक्र वा तीन रेखाहरू हुन्छन्, जुन वराहको नाक वा दाँतको आकृति जस्तो देखिन्छ र पृथ्वीलाई उद्धार गर्ने शक्ति, रक्षा र पुनर्स्थापनाको प्रतीक हो।


नरसिंह शालिग्राममा स्थूल चक्र, कपिल वर्ण (खैरो-पहेंलो) र तीन वा पाँच बिन्दुहरू हुन्छन्, जुन अधर्मी हिरण्यकशिपुलाई विनाश गर्ने तीव्र ऊर्जा, भय र ब्रह्मचर्यको प्रतीक हो। वामन शालिग्राम गोलाकार, नीलो वा श्याम वर्णको हुन्छ र मध्यभागमा स्पष्ट चक्र भएको हुन्छ, जुन वाम पुड्के ब्राह्मणको रूपमा धर्म र न्याय स्थापन गर्ने वामन अवतारको प्रतीक हो। परशुराम शालिग्राममा धारिलो लाग्ने रेखा वा घाउ जस्तो चिह्न हुन्छ, जुन परशुरामको तेग (Sword) वा परशुको आकृति जस्तो देखिन्छ र अत्याचारी क्षत्रियहरूलाई नष्ट गर्ने न्याय, शक्ति र धर्मको पुनर्स्थापनाको प्रतीक हो।


राम शालिग्राममा तीन चक्र वा तीन रेखाहरू हुन्छन्। एउटा स्पष्ट रेखा हुन सक्छ र यो आदर्श राजा, धर्मात्मा पुरुष र परिवारको एकताको प्रतीक हो। कृष्ण शालिग्राममा बृहत छिद्र, स्थूल चक्र, कृष्ण वर्ण र बिन्दुहरू भएको हुन्छ, जुन गीताको उपदेश, प्रेम, लीला र आध्यात्मिक आनन्दको प्रतीक हो। बुद्ध शालिग्राम पहेंलो, सुनौलो वा हल्का खैरो रङ्गको हुन्छ, चिल्लो र गोलाकार हुन्छ र सूक्ष्म चक्र वा नाभिमा घुम्रेदार आकृति भएको हुन्छ, जुन अहिंसा, ध्यान, शान्ति र आत्मज्ञानको प्रतीक हो।


कल्कि शालिग्राम अत्यन्त दुर्लभ हुन्छ, जसमा तीव्र चक्र, धारिलो लाग्ने  रेखा वा घुम्रेदार आकृति हुन्छ, जुन घोडाको गति वा तलवारको झलक जस्तो देखिन्छ र कलियुगको अन्त्यमा अधर्मको विनाश गरी धर्मको पुनर्स्थापना गर्ने भविष्यको ऊर्जाको प्रतीक हो।


शालिग्राम सक्कली  भए नभएको पहिचान गर्न घरमा पनि केही सरल परीक्षाहरू गर्न सकिन्छ। राम्रो प्रकाशमा शालिग्रामलाई हेर्नुहोस्, चक्र प्राकृतिक छ कि भनेर जाँच्नुहोस्। हातमा समातेर तापमान, वजन र चिल्लोपन महसुस गर्नुहोस्। सफा पानीमा राखेर डुब्ने गति र चमक हेर्नुहोस्। हल्का ठोक्दा यदि मधुर ध्वनि निस्कछ भने यो सक्कली हो, फरक आवाज आएमा नक्कली हुन सक्छ।


खरीद गर्दा विश्वसनीय स्रोतबाट मात्र लिनुहोस्। प्रतिष्ठित मन्दिर, जानकार पण्डित वा नेपालका प्रामाणिक विक्रेताबाट लिनु राम्रो हुन्छ। अनलाइन बजार, अज्ञात विक्रेता वा धेरै सस्तो मूल्यमा बेच्नेहरूबाट बच्नुहोस्। धार्मिक दृष्टिकोणले शालिग्रामको खरीद-बिक्री निषेध छ। त्यसैले यसलाई दान, भेट वा विरासतको रूपमा प्राप्त गर्नु उत्तम हो। सक्कली शालिग्राम प्राप्त गर्नका लागि कालीगण्डकी नदीमा जान सकिन्छ, स्थानीय मानिसहरूको सहयोग लिन सकिन्छ, वा धार्मिक यात्राको क्रममा खोज्न सकिन्छ। धार्मिक व्यक्तिहरूबाट दान पाउन सकिन्छ वा पारिवारिक विरासतको रूपमा प्राप्त गर्न सकिन्छ।