मेरो भन्नु

मलाई बारम्बार मनमा लाग्ने गर्थ्यो आफूले जाने-बुझेको त्यस्तो कुनै कुरा होला जुन अरूहरूलाई पनि लाभदायक होस्। यसरी सोच्दा मैले आफूमा खासै कुनै उल्लेखनीय खुबी पाइरहेको थिइनँ। तर मेरी जीवनसाथी कल्पना रिजालले यो कुरा मान्न तयार थिइनन्। उनले मलाई बारम्बार सम्झाइन् – “जीवनमा तपाईंले हासिल गर्नुभएका अनुभव र उद्यमशीलताका कुरा मात्रै बाँड्न सक्नुहुन्छ भने पनि त्यो धेरैलाई लाभदायी हुनेछ। त्यस्तो काम आफ्नो मातृभूमिप्रति समर्पण गर्ने एउटा सुन्दर अवसर पनि बन्नेछ।”


उनको यो सुझाव मलाई एकदमै मर्मस्पर्शी लाग्यो। श्रीमतीज्यूको पटक-पटकको आग्रहपछि मैले आफूले लेखेका लेख, पढेका किताब, गरेका अनुसन्धान, र दैनिक कार्यसम्पादनका सिलसिलामा प्राप्त अनुभवहरूलाई समेटेर गाँजा खेती र गाँजामा आधारित उद्यमशीलताबारे यो किताब तयार पार्ने जम्मा गरेको हुँ। यस क्रममा आफ्नो खुशीलाई थाँती राखेर मलाई प्रशस्त समय दिने मेरी अर्धाङ्गिनी कल्पना र छोरा ली घिमिरेको सहयोगप्रति म हृदयदेखि नै कृतज्ञ छु।



यस पुस्तकले दिने जानकारीहरू मेरो नितान्त मौलिक ज्ञानभन्दा पनि विभिन्न स्रोत र सामग्रीको मूल्याङ्कन गर्दा मलाई उपयुक्त लागेका तथ्य र सन्दर्भहरूमा अधिक आधारित छन्। मेरो यस कार्यमा धेरै आत्मीय महानुभावहरूले निःस्वार्थ सहयोग गर्नुभएको छ। मप्रति उहाँहरूको सहयोग, सल्लाह, र सद्भावको सराहना मेरो सीमित शब्दभण्डारले पूरै व्यक्त गर्न सक्दैन। उहाँहरू सबैको जय होस्।


यो किताब तयार पार्नुका पछाडि मूलतः दुई प्रमुख ध्येय छन् – पहिलो, नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैर-अपराधीकरण (डिक्रिमिनलाइजेसन) गरियोस् भन्ने हो; दोस्रो, त्यस्तो उद्यम गर्न चाहनेहरूले व्यवसाय थाल्नुअघि यससम्बन्धी विश्वव्यापी परिस्थिति र वैज्ञानिक यथार्थबारे जानकारी पाउन सकून् भन्ने हो। यी दुवै उद्देश्य प्राप्तिमा यो पुस्तकले थोरै मात्रामा पनि उत्प्रेरकको भूमिका निर्वाह गर्न सके पनि म आफ्नो श्रम सार्थक भएको ठान्नेछु। पुस्तकका तथ्यहरू त्रुटिरहित बनाउने पूरा प्रयास गरेको छु, तापनि अध्ययनक्रममा निर्णयगत त्रुटि (error in judgment) को कारण गलत व्याख्या हुन सकिएकोमा अर्को संस्करणमा सुधार्ने प्रतिबद्धता जनाउँछु। पुस्तकमा भएका गल्ती औंल्याउनुभएमा म कृतज्ञ हुनेछु।


समय र परिवेशअनुसार तथ्यहरू परिवर्तन हुने भएकाले, यो पुस्तक लेखिएको र प्रकाशित हुने बीचमा पनि केही तथ्य र सन्दर्भहरू अद्यावधिक नहुन सक्छन्। उदाहरणार्थ, क्यानडामा गाँजा वैध हुँदै गर्दा गाँजासम्बन्धी अनुसन्धान संख्या दस हजारबाट बढेर अहिले बीस हजारभन्दा पुगिसकेको छ। गाँजाबाट बन्ने औषधीका प्रकार पनि समयसँगै थपिँदै छन्। पुस्तकमा पछिल्ला तथ्य दिन खोजिएको छ, तापनि पाठकहरूले नयाँ अद्यावधिकताप्रति सजग रहन आवश्यक छ।


यो पुस्तकको मूल उद्देश्य नेपालमा गाँजाको गैर-अपराधीकरण गर्नु र यसबाट बिरामी, किसान, उद्यमी, र सरकारले आर्थिक लाभ लिन सकुन् भन्ने हो। यसले गाँजाको दुरुपयोग वा कालोबजारीलाई बढावा दिने चाहँदैन, तर यसको उपयुक्त नियमनबाट समाजलाई फाइदा पुर्याउन खोजिएको छ। आम पाठकहरूले यसलाई यही संदर्भमा बुझ्नुहुने निवेदन छ।

- विद्यावारिधिः अथर्ववेदाचार्यः नारायण घिमिरे।