कफी, गाँजा र रक्सी

कफी, गाँजा र रक्सी कुन कति सुरक्षित ?

 

हरेक व्यक्तिको आफ्नो स्वास्थ्यस्थिति र शरीरको क्षमताअनुरूप कुनै पनि अम्मलले दिने विषाक्तता व्यक्तिपिच्छे फरक–फरक हुन सक्छ । हरेक अम्मलमा हुने रासायनिक पदार्थको हरेक व्यक्तिमा आफ्नै विशिष्ट प्रकृतिको रासायनिक विषाक्तता (टकसिसिटी) को जोखिम रहन्छ । व्यक्ति–व्यक्तिमा फरक रहेकाले विशिष्ट प्रकृतिको रासायनिक विषाक्तता भनिने अम्मली पदार्थको विषाक्तताको हदको आधारमा कुन लागूपदार्थको असर कसलाई कस्तो पर्छ भनेर यकिन गर्न हरेक व्यक्तिमै केन्द्रित रहेर अनुसन्धान, परीक्षण र विश्लेषण जरुरत पर्दछ । मानिसको जीवन पद्धतिसँगै जोडिन पुग्ने हरेक अम्मल तथा लागूपदार्थले प्रत्येक व्यक्तिमा पार्न सक्ने जोखिम–समय, खर्च र लत बस्ने कुरा आदिलाई सामान्यीकरण गर्न मिल्दैन । त्यसैले व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्था (जस्तै : गर्भवती, दूध चुसाउने आमा, तौल समूह आदि) का आधारमा अम्मली वा लागूपदार्थको सुरक्षित सेवनको अधिकतम मात्रा निर्धारण गर्ने गरिन्छ ।

 

प्राकृतिकभन्दा पनि मानव निर्मित औषधीहरू (सेन्थेटिक–ड्रग्स), उच्च प्रशोधित खानपान र अप्राकृतिक जीवन शैलीको दबदबा बढेको आजको दुनियाँमा औषधी र विषको फरक सम्बद्ध पदार्थको सुरक्षित सेवनको मात्राले निर्धारण गर्दछ । सुरक्षितभन्दा धेरै मात्रा ग्रहण गर्दा विष हुने कतिपय पदार्थ सुरक्षित मात्रामा सेवन गर्दा औषधीय गुणको हुने गर्दछ । अधिक सेवन गर्दा विषाक्त हुने हरेक पदार्थको एउटा निश्चित अधिकतम मात्रा (कहिलेकाहीँ न्यूनतम मात्रा) जसलाई लक्षित समूहका व्यक्तिले सेवन गर्दा त्यसको विषाक्तताले हानि पुर्‍याउने जोखिम रहँदैन, त्यसलाई नै सुरक्षित सेवनको मात्रा भनिन्छ ।

 

औषधीय तथा लागूपदार्थको वैज्ञानिक रूपमा निश्चित गरिएको अधिकतम (वा न्यूनतम) मात्रा जसको सेवनले विषाक्तताको जोखिम नगण्य रहने यकिन हुन्छ, त्यसलाई औषधी विज्ञानमा विषाक्तताको जोखिमविहीनताको मात्रा (टक्सिकोलोजिकल थ्रेसहोल्ड) भनिन्छ । प्राय: व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाका आधारमा यस्तो थ्रेसहोल्ड निर्धारण गरिन्छ । कुनै पनि अम्मल एक पटक सेवन गर्दा सेवनकर्ताले कति मात्रामा गरिरहेको छ र त्यसको वैज्ञानिक रूपमा प्रमाणित विषाक्तताको जोखिमविहीनताको मात्रा कति छ, त्यसको अनुपात (रेसियो) लाई उक्त अम्मलको जोखिमको हद (मार्जिन अफ एक्सपोजर) भनिन्छ । अम्मलको जोखिमको हदको अनुपात जति धेरै हुन्छ त्यति नै त्यसले समाजमा विकृति भित्त्याउने सम्भावना न्यून रहने वैज्ञानिक अवधारणा छ ।

 

रक्सी, सुर्ती र गाँजा लगायतका अम्मलहरूसमेत समावेश गरी तिनीहरूको सम्भावित जोखिमको हद (मार्जिन अफ एक्सपोजर) को वैज्ञानिक तरिका अपनाएर गरिएको अनुसन्धान नेचर साइन्स पत्रिकामा ३० जनवरी २०१५ मा प्रकाशित छ । त्यसमा गाँजाबारेका महत्त्वपूर्ण वैज्ञानिक प्रमाणित तथ्यहरू उल्लेख छन् ।

 

गाँजामा टेट्राहाइड्रोक्यानबिनल (टीएचसी) भनिने एउटा तत्त्व हुन्छ, जसले मानिसलाई लट्ठ पार्ने, झुम्म बनाउने जस्ता असर पारि एक प्रकारको नशा दिने गर्दछ । मुखबाट लिइने गाँजामा रहेको टीएचसीको विषाक्तताको जोखिमविहीनताको मात्रा (टक्सिकोलोजिकल थ्रेसहोल्ड) प्रतिकेजी शरीरको तौलको हिसाबमा ०.०४ मिलिग्राम हुने गर्दछ ।

 

मुटुको धड्कन बढाउने समस्या निम्त्याउन जिम्मेवार सुर्तीमा पाइने निकोटिनको टक्सिकोलोजिकल थ्रेसहोल्ड ०.००८ छ । फोक्सो बिग्रेर खत बसी फोक्सोलाई दागी पारी कमजोर बनाउने लिभर सिरोसिस नामक रोग विकास गर्ने रक्सीमा हुने इथानोलको टक्सिकोलोजिकल थ्रेसहोल्ड ०.४ छ । त्यस्तै गाँजा, सुर्ती वा रक्सी दैनिक पिउने वा खाने बानी परेका अम्मलीहरूले गाँजाबाट टीएचसी १०–६० मिलिग्राम, सुर्तीबाट निकोटिन १.६५–१.८९ मिलिग्राम र रक्सीबाट इथानोल १३.६–५४.४ ग्राम आफ्नो रगतमा मिलाइरहेका हुन्छन् ।


प्राप्त तथ्यहरूको वैज्ञानिक विश्लेषणका आधारमा अम्मलका रूपमा दैनिक प्रयोग हुने गाँजा, सुर्ती वा रक्सी पिउने अम्मलीहरूको सम्भावित जोखिमको हद (मार्जिन अफ एक्सपोजर) रक्सी (दशभन्दा कम) अत्यन्त उच्च जोखिमपूर्ण, सुर्ती (दशभन्दा बढी तर १०० भन्दा कम) जोखिमपूर्ण तर टीएचसीयुक्त गाँजा (१० हजारभन्दा धेरै) कम जोखिमपूर्ण रहेको निष्कर्ष निस्किएको छ । साधारण भाषामा भन्नुपर्दा वैज्ञानिक अनुसन्धानहरूको नतिजाले रक्सी र चुरोट व्यक्तिको स्वास्थ्यको जोखिम र सामाजिक विकृतिका लागि जति जिम्मेवार छन्, त्यसका तुलनामा गाँजा कम जोखिमयुक्त पाइएको छ । यसै पनि सामाजिक स्वास्थ्य र अनुशासन कायम राख्न रक्सी, चुरोट र गाँजा सबैको सेवन नगर्नु उत्तम विकल्प हुँदै हो । यति हुँदाहुँदै पनि तुलनात्मक रूपमा हेर्ने हो भने गाँजाको धूमपान रक्सी पिउनुभन्दा १ सय १४ गुणा सुरक्षित रहेको अनुसन्धान नतिजाहरूले इङ्गित गरेका छन् ।


नेचरमा उक्त अनुसन्धानको नतिजा बाहिरिए सँगै सन् २०१५ मै डेली मेल, द इन्डिपेनडेन्ट र न्युजविकजस्ता प्रतिष्ठित अखबारहरूले गाँजाको धूमपान रक्सी पिउनुभन्दा १ सय १४ गुणा सुरक्षित रहेको समाचार सम्प्रेषण गरे, जसले संसारको ध्यान खिच्यो । गाँजालाई गैर–अपराधीकरण गर्न, यसलाई औषधी र मनोरञ्जनका रूपमा प्रयोग गरी आर्थिक उपार्जनका लागि प्रयोग गर्न संसारभर गरिएका प्रयाशहरू त्यसपछि झनै तीव्र भए । संयुक्त राष्ट्रसङ्घको नेक्रोटिक विभागले गाँजालाई हानिकारक उच्च जोखिमको ड्रगको सूचीबाट हटायो । क्यानडाजस्ता थुप्रै मुलुकमा औषधी र मनोरञ्जनमा समेत गाँजाको नियन्त्रित उत्पादन, प्रशोधन र व्यापार खुल्ला गरियो । गाँजा संसारभर कानुनी र गैर–कानुनी रूपमा उल्लेखनीय आम्दानी हुने व्यवसायमा स्थापित भयो । अहिले अमेरिकाले समेत क्यानडाकै बाटो पछ्याइरहेको छ।


विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ सल्लाहकार प्राध्यापक बेन हलले उतिबेलै भनेका थिए– गाँजामा हुने टीएचसीको अनुमानित प्राणघातक मात्रा १५ देखि ७० ग्रामको बीचमा पर्दछ । ग्राममा पिइने गाँजाले मिलीग्रामको मात्रामा मात्र टीएचसी शरीरमा उपलब्ध गराउने गर्दछ । तसर्थ अत्यन्त धेरै गाँजा पिउने अम्मलीले समेत एक दिनमा १५ देखि ७० ग्राम टीएचसी पुग्ने गरी गाँजाको धूमपान गर्न लगभग सम्भव हुँदैन। त्यसैले त संसारमा गाँजा सेवन गरेकै वा गाँजाको ओभरडोजबाट कुनै व्यक्तिको मृत्यु भएको भन्ने प्रमाणित घटना देखिँदैनन् ।


जब हामीलाई ठेस लाग्छ र हामी ‘ऐया’ भन्छौं, त्यतिबेला हामीलाई दु:ख लाग्छ । आँसु नै आउँछ सक्छ । तर केही क्षणमै शरीरले त्यसको आफैँ उपचार गर्छ । हाम्रो दर्द हराउँछ । अनि फेरि आराम हुन थाल्छ । हामी आफैँ हिँड्न थाल्छौं । यो कसरी हुन्छ ? हाम्रो शरीरमा इन्डोक्यानाबिनोइड भनिने एक प्राकृतिक रसायनहरूको समूह हुन्छ, जसले यो सब काम गर्छ । इन्डोक्यानाबिनोइड नै हाम्रो शरीरमा हुने एउटा यस्तो प्रणाली हो, जसले हाम्रो शरीरमा कुनै चोट लाग्दा वा दु:ख आइपर्दा दु:खेको सूचना दिन्छ, निको पार्छ र निको भएपछि आराम महसुस गराउँछ । किनभने इन्डोक्यानाबिनोइड लगायतका सम्पूर्ण पदार्थ हाम्रो शरीरले आफैँ बनाउँछ ।

 

गाँजामा हुने सारतत्त्व पनि यही इन्डोक्यानाबिनोइड भनिने प्राकृतिक रसायनहरूको समूह नै हो । शरीरको अक्षमता वा न्यून उत्पादनमा गाँजाको आनन्दमाइड र केनेबिनोइडमार्फत हामी ती तत्त्वहरू उपलब्ध गराउन सक्छौं । हामी आफ्नो मनोवैज्ञानिक दक्षता कायम गर्नसमेत ती तत्त्वहरूको सहायता लिन सक्छौं । तर त्यसका लागि गाँजाको नियन्त्रित र अनुशासित उपयोग भने जरुरी हुन्छ । आवश्यकभन्दा धेरै खाइयो भने गाँजामा हुने टीएचसीले हामीलाई अवश्य नै हानि गर्नेछ । औषधी मात्र होइन अक्सिजन, पानी वा खाना नै किन नहोस् निश्चित मात्राको सीमा नाघेर हसुरियो भने त्यसको नकारात्मक असर परिनै हाल्छ । गाँजा सेवन गर्दा त्यसले हाम्रो शरीरभित्रको एक समूहका मेटाबोलाइटहरूको कार्यमा प्रभाव पार्ने वा त्यसका गतिविधिलाई उत्प्रेरित गर्छ, जुन शरीरको अत्यन्तै महत्त्वपूर्ण इन्डोक्यानाबिनोइड प्रणालीको सञ्चालनसँग सम्बन्धित छ । यी वैज्ञानिक तथ्यहरू सार्वजनिक भएसँगै गाँजालाई गैर–अपराधीकरण गर्ने अभियानमा संसार अघि बढिरहेको छ ।


नयाँ वैज्ञानिक तथ्यहरूका अनुसार हामीले पिउने कफीले रगतमा हुने १ सय १५ फरक–फरक प्रकृतिका मेटाबोलाइट्को गतिविधिमा प्रभाव जमाएर परिवर्तन गर्न भूमिका खेलिदिने प्रमाणित भएको छ । हालसम्म प्रमाणित १ सय १५ मध्ये ८२ मेटाबोलाइट्स मात्र पहिचान भएको छ । साथै तिनीहरूले शरीरमा गर्ने ३४ विभिन्न जैविक प्रक्रियाहरूमा भूमिका खेलेको बुझ्न सकिएको छ । तर तिनको पूर्ण चित्र प्रस्ट हुन निकै समय लाग्ने देखिन्छ । बाँकी ३३ मेटाबोलाइट्सको नाम तय गर्न र तिनको शरीरमा हुने भूमिका बुझ्न बाँकी नै छ ।


१२ फेब्रुअरी २०१८ को जनरल अफ जेनेरल मेडिसिनमा प्रकाशित रिसर्च पेपरमा उल्लेख भए अनुसार मानिसको इन्डोक्यानाबिनोइड प्रणालीको इन्डोक्यानाबिनोइड रिसेप्टर मस्तिष्क प्रणाली, प्रतिरक्षा प्रणाली र इन्डोक्राइन प्रणालीमा प्रचुर मात्रामा जताततै रहने गर्छ । इन्डोक्यानाबिनोइड रिसेप्टरले शरीरले निर्माण गरेको इन्डोक्यानाबिनोइड र बाहिरबाट प्राप्त आनन्दमाइड समेतको क्यानाबिनोइडको सहायतामा मानिसलाई दर्द हुँदा, दुख लाग्दा वा चोट लाग्दा त्यसको स्वउपचारमार्फत आनन्दको अनुभूति दिलाउने गरेको हुन्छ ।


यदि हामीमध्ये कसैको दैनिक ४ देखि ८ कप कफी पिउने बानी छ भने हाम्रो शरीरमा हुने क्याफिनले इन्डोक्यानाबिनोइड, क्यानाबिनोइड र आनन्दमाइड जस्ता रसायनहरूको गतिविधिलाई शरीरभित्र दबाएर इन्डोक्यानाबिनोइड रिसेप्टरमा जोडिनबाट अवरोध पैदा गरिदिन्छ । यसले गर्दा हामी कम आनन्द महसुस गर्न पाउँछौं। हाम्रो मनोविज्ञान अधिक सतर्क, निद्राविहीन र बेचैन हालतमा धकेलिन्छ ।


क्याफिनले मस्तिष्कको एडेनोसिन रिसेप्टर्सलाई समेत प्रभावित पार्छ र न्युरोनहरूको सक्रियता बढाएर तपाईंलाई अत्यधिक सचेत बनाइदिन्छ । यो प्रकारको तनावमा रमाउने बानी परेको मानिसलाई निरन्तर त्यस्तै बानी खोज्ने लत बस्छ । फलत: हामी पटक–पटक कफी पिउने सौखिन बन्न पुग्छौं । धेरै कफी पिउने बानीले रगतमा कैफिनको मात्रा ३ हजार २०० मिलिग्रामदेखि १० हजार मिलिग्रामसम्म पुग्यो भने मानिसको मृत्यु हुनेसम्मको जोखिम रहन्छ ।

आजसम्मको वैज्ञानिक खोज र अनुसन्धानहरूको निष्कर्ष के भने कफीको क्याफिन र गाँजाको टीएचसी दुवै मानिसमा मनोवैज्ञानिक प्रभाव पार्ने वा मानिसको मुडमा फरकपन झोसिदिने (साइकोएक्टिभ) तत्त्व हुन् ।


गाँजाका बारेमा संसारमा २० हजारभन्दा धेरै अनुसन्धानहरू भैसकेका छन् । गाँजा सेवनबाट मानिसको स्वास्थ्य, मनोदशा, अनुभूति र व्यवहार कसरी परिवर्तन हुन्छ भन्नेबारे जति गहिरो गरी अध्ययन भएका छन्, त्यसको एकछेउ बराबर पनि कफी सेवनबारे अध्ययन भएको छैन । गाँजाले मानिसमा छोटो समयको मनोवैज्ञानिक लत बसाल्ने गर्छ । तर कफीले यसलाई पिउन छोड्ने क्रममा भौतिक प्रकृतिको उइदड्रल सिनड्रोम जस्तै : पखाला, चक्कर लाग्ने, दृष्टि धमिलो हुने, मुटुको धड्कन बढाउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कोपर्ने, चिन्तित बनाउने, अस्थिर बनाउने, निन्द्रा हराउने र चिड़चिड़ापन बढ्ने जस्ता लक्षण देखाउँछ । त्यसैले मानिसमा गाँजाको भन्दा कफीको लत छुटाउन बढी समस्या देखिने गरेको छ ।


गाँजाको धूमपानभन्दा चिया–कफीको विकल्पको पेय, खाद्यका रूपमा बटरको सट्टा पिनट बटर खाइने जस्तै : क्यान–बटर र अन्य पदार्थमा हालेर खाने उपाय शरीरलाई कम हानिकारक छ । गाँजाले ढिलो ट्रिप दिने हुँदा खाना सँगै खाँदा सुरक्षित मात्रा ननाघोस् भनी एकदमै ख्याल गर्नुपर्ने हुन्छ । कफी र गाँजाको शरीरमा फरक भूमिका हुने हुँदा मिसाएर खानु राम्रो मानिँदैन । कफी र गाँजाको तुलनामा निकै हानिकारक मानिएको रक्सीमा गाँजा मिसाएर खानु त झनै जोखिमपूर्ण हो । धूमपानभन्दा खाद्य पेयका रूपमा गाँजाको अनुशासित र सुरक्षित मात्राको सेवन मानव स्वास्थ्यका लागि उपयुक्त रहेको आजसम्मको वैज्ञानिक अनुसन्धानहरूको निष्कर्ष छ ।