भाङ : अद्भुत पोषण र औषधि
भाङ: अद्भुत पोषण र औषधिको स्रोत
हेम्पलाई भाङ होला भन्ने सामान्य अनुमान गरिए तापनि
संस्कृतमा गाँजालाई दिइएको झन्डै ५० नाममा भाङ पनि एक हो । गाँजा र भाङको तुलना
गर्दा सामान्यतया गाँजामा मानिसलाई लाग्ने लट्ठ्याउने वा हेलोसिनेसन गर्ने
सारतत्त्व टीएचसीको मात्रा धेरै हुन्छ । भाङका बीउहरू अथवा गेडाहरू त्यसमा विशेष
गरी हेम्पको गेडाहरू संसारमा मध्यमस्तरमा खपत हुने गर्छन् । खानाका लागि प्रयोग
हुने भाङका गेडाहरू पछिल्लो समयमा उत्कृष्ट स्वास्थ्यलाभ दिने औषधीय खाना अथवा
हिलिङ्ग फुड रहेको प्रमाणित भएको छ ।
भाङको दानामा अद्भुत पोषण र औषधीय मूल्यका सारतत्त्वहरू
पाइन्छन् । यसमा पाइने औषधीय मूल्यका तत्त्वहरूमा भिटामिन ए, बी,
डी र ई मुख्य मानिन्छन् । यसका अतिरिक्त औषधीय मूल्य र
ओजस्वी तत्त्वहरूमा शक्तिशाली एन्टिअक्सिडेन्टहरू र कलेजोले बनाउने इन्जाइमहरूको
प्रिकर्सर वा उक्त तत्त्व बनाउने क्षमता यसमा छ । हेम्प प्रजातिको भाङको गेडा
सबैभन्दा उत्कृष्ट औषधीय र ओजस्वी मूल्यका सारतत्त्वहरूको स्रोत हो । भाँगका
बीजहरू म्याग्नेसियम,
जिङ्क र फलामको राम्रो स्रोतका रूपमा समेत चिनिन्छन् ।
म्याग्नेसियम आफैँमा प्राकृतिक तनाव नियन्त्रक रहेकाले यसले चिन्ता र
डिप्रेसनविरुद्ध लड्न न्युरोनलाई मद्दत गर्दछ । जिङ्कले शरीरलाई दु:ख दिने
स्वतन्त्र रेडिकल आयोन र ज्यान दुख्ने, पोल्नेविरुद्ध
आफैँले आफ्नै औषधि गर्ने शरीरको क्षमता बढाउँछ । फलामले आफैं प्राकृतिक रूपमा
शरीरलाई स्वस्थ अक्सिजन उत्पादन गर्ने क्रममा र रगतमा अक्सिजन घुलन गराउन सहयोग
पुर्याउँछ ।
भाङको गेडाको पौष्टिक तत्त्व यसको खेती भएको ठाउँअनुसार
फरक–फरक हुने गर्छ । ३ देखि ५ एफएम मोटो हुने बाहिरी भुससहितको हेम्पको गेडामा औसत
३१% तेल,
२५% प्रोटिन, ३३% फाइबर, ५% खरानी र ६% पानी भेटिन्छ । बोक्रा फालेको गेडामा भने औसत ४७% तेल, ३७% प्रोटिन,
७% फाइबर, ७% खरानी र २% पानी
हुन्छ । पौष्टिक तत्त्वको हिसाबमा भाङको गेडालाई उच्च मात्रामा बिरुवामा आधारित
प्रोटिन दिने खुराक मानिन्छ । भेगन र शाकाहारीहरूका लागि यो एक प्राकृतिक प्रोटिन
पूरकका रूपमा संसारभर चर्चित छ । गेडाको तेल निकालेपछि प्रोटिन बजारमा जाने हुँदा हाल
धेरै मांसाहारीहरूले समेत हेम्पको प्रोटिनलाई कम चिल्लो र कम कार्बोहाइड्रेट
प्राप्त हुने प्रोटिनको विकल्पको स्रोतका रूपमा खाने गर्छन् ।
वनस्पति प्रोटिनहरू सामान्यत: अघुलनशील हुने गर्छन् ।
त्यसविपरीत भाङका गेडाहरूबाट निकालिने प्रोटिनका कन्सनट्रेटहरू पीएच ४.० देखि ६.०
मा ७० प्रतिशतभन्दा धेरै घुलनशीलता भएको भेटिएबाट यो प्रोटिनलाई शरीरले सजिलै
पचाउन सक्ने प्रमाणित भएको छ । हेम्प प्रोटिनमा मानिसको शरीरले आफैँ शरीरभित्र
उत्पन्न गर्न नसक्ने मानिसलाई नभई नहुने सबै नौ प्रकारकै एसेन्सियल एमिनो एसिडहरू
पाइन्छ । हेम्प प्रोटिनमा अर्जिनिन र ग्लुटामिक एसिड धेरै मात्रामा पाइन्छ । साथै
यसमा मध्यम मात्रामा सल्फर पाइने एमिनो एसिडहरूसमेत पाइने हुँदा शरीरका लागि अमृत
समान मानिएको हो ।
अर्जिनिन एमिनो एसिडले शरीरभित्र नाइट्रिक अक्साइड उत्पन्न
गर्छ, जुन हाम्रो शरीरले आफैँ उत्पादन गर्न सक्दैन । अर्जिनिनद्वारा उत्पादित
नाइट्रिक अक्साइडले रक्त प्रवाह गर्ने नसा फुलाउन र रक्तचाप घटाउने काम गर्छ ।
रक्तचापको स्वस्थ नियन्त्रण गरी हृदयाघात (हार्ट–अटेक) को जोखिम रोक्न सहयोगी
हुन्छ । अर्जिनिनले नसाभित्र रगत जम्न रोक्ने र हृदयाघात पछाडिको समयमा छिटो निको
गराउने गर्दछ।
अर्जिनिनले शरीरमा एमोनिया डिटोक्सिफिकेसन गर्ने हुँदा यो
बाथ रोगमा फाइदाजनक हुने गर्छ । अर्जिनिनले गर्भको बच्चाको वृद्धिमा, मधुमेहमा रगतको इन्सुलिनको प्रतिरोध घटाउन मद्दत गरेको भेटिन्छ । ग्लुटामिक
एसिडले दिमागमा न्युरो ट्रान्स–मिसन वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
अर्जिनिन एमिनो एसिडको डर्मेटाइटिस र एक्जिमा जस्ता छालाका विभिन्न रोगहरूविरुद्ध
लड्न पनि जरुरत पर्दछ ।
शरीरलाई आफ्नो स्व–हिलिङ्ग क्षमतामा वृद्धि गर्न चाहिने
एन्टिअक्सिडन्टहरू जस्तै ग्लुटाथियोन र एन–एसिटिल सिस्टिन आफँैले निर्माण गर्न
शरीरलाई सल्फर हुने एमिनो एसिडहरू अनिवार्य हुन्छ । यसका अलावा सल्फरयुक्त एमिनो
एसिडहरू आफैँ शरीरका प्रभावकारी र सुरक्षित डिटोक्सिफाइंग एजेन्टहरू हुन्। शरीरमा विषाक्त धातुको असर हुँदा र रेडिकल
आयोनहरूले हानि पुर्याउने अवस्थाविरुद्ध लड्नसमेत सल्फर हुने एमिनो एसिडहरूको
प्रभावकारी भूमिका रहने गर्दछ ।
भाङको तेलमा झन्डै ९०% नै असन्तृप्त फ्याट्टी एसिडहरू
हुन्छन् । अन्य बिरुवाको स्रोतबाट प्राप्त हुने तेलको तुलनामा भाङको तेलमा अधिक
अनुपात पोली–अनस्याचुरेटेड फ्याट्टी एसिड रहेकाले अत्यन्त स्वस्थबद्र्धक हुने गर्छ
। लिनोलिक एसिड,
अल्फा‐लिनोलेनिक एसिड, ओलिक एसिड आदि अधिक हुने भाङको तेल हृदय रोग, मोटोपन,
मधुमेह आदिमा औषधी हुने गरेको छ । यसले शरीर दुख्न तथा
सुन्निनबाट रोक्नसमेत ठूलो भूमिका खेल्छ । किनकि यो तेलमा शरीरले आफैँ आफ्नो दर्द
निको पार्न शरीरभित्र बनाउने एइकोसानोइड्स नामक दर्द नाशक बनाउने प्रिकरसर
वाई–लिनोलेनिक एसिड वा जीएलए हुने गर्छ ।
भाङका गेडामा हुने अति महत्त्वपूर्ण फ्याट्टी एसिडहरू
ओमेगा–६ र ओमेगा–३ हुन् । ओमेगा–६ र ओमेगा–३ फ्याट्टी एसिडहरू मुटु र मस्तिष्क
स्वास्थ्य राख्नका लागि अनिवार्य रहेको प्रमाणित भएको छ । त्योबाहेक ओमेगा
फ्याट्टी एसिडहरू एडीएचडीको प्रबन्ध गर्न, शरीरमा उच्च
कोलेस्ट्रोल हुँदा त्योविरुद्ध लड्न, बाथ रोगमा, सुन्नेको दुखेको घटाउनसमेत सहयोगी हुने प्रमाणित भएको छ । ओमेगा एसिडहरू आफैँ
शरीरभित्र गुणस्तरीय प्रोटिनहरू उत्पादनमा मद्दत पुर्याउँछन् । भाङका दाना माछा
नखाने वा माछाको एलर्जी हुनेहरूका लागि अत्यन्त राम्रो ओमेगा एसिडहरू प्राप्त
गर्ने खाना हो ।
यसो भन्दै गर्दा हेम्प ओइल र सीबीडी ओइल फरक–फरक कुरा भएको बुझ्न जरुरी छ । सामान्य रूपमा बताउँदा क्यानाबिस स्याटिभा जातको भाङको बिरुवालाई हेम्प भनिन्छ । हेम्पको डाँठ, पात र फूलहरूबाट निकालिएको तेल सीबीडी तेल हो । हेम्पको गेडाबाट निकालिएको तेललाई भने हेम्पको तेल वा भाङको गेडाको तेल अथवा हेम्प ओइल भनिएको हो ।
हेम्प ओइल निकाल्न हेम्पका गेडालाई तोरी पेलेजस्तो पेलेर
तेललाई कसैले सिधै प्याकेजिङ्ग गर्छन् भने कसैले उक्त तेललाई थप प्रशोधन गरेर
प्याकेजिङ्ग गर्छन् । सीबीडी तेल निकाल्न कार्बनडाइअक्साइड वा इथानोल वा
ओलिव/जैतुनको तेल आदि प्रयोग गरी विभिन्न आधुनिक सोल्भेन्ट एक्सट्र्याक्सन विधिहरू
प्रयोग गरिन्छ । सोल्भेन्ट एक्सट्र्याक्सन प्रविधिमा हालसम्म सबैभन्दा उत्तम
कार्बनडाइअक्साइड सुपर क्रिटिकल एक्सट्र्याक्सन रहेको ठानिन्छ ।
भाङका गेडाहरू भुटेपछि कुरुमकुरुम गर्ने बन्छन् । बेग्लै
स्वाद र वासना आउँछ । राम्ररी भुटिएको भाङको गेडा बाहिरको बोक्रा नफाली खान सकिन्छ
। भुट्दा त्यसमा रहन सक्ने हानिकारक जीवाणुसमेत नष्ट हुन्छ । भाङका गेडा आफैँ सुपर
फुड हुने भएकाले प्रतिदिन ३० ग्रामभन्दा धेरै नखान सल्लाह दिइन्छ । आफ्नो खाने
बानीअनुरूप शरीरलाई अभ्यस्त बनाउन र यसको पूर्ण फाइदा उठाउन दैनिक शुरूमा १५ ग्राम
वा सोभन्दा कमबाट शुरू गरी २–४ हप्तामा दैनिक बढीमा ३० ग्रामसम्म भुटेको भाङका
गेडा खान सकिन्छ ।
नेपालमा भने भाङको गेडा अचार बनाएर खाने चलन छ । विदेशतिर
बोक्रा फाली टोस्ट गरी वा भुटेर टुक्र्याई पाउडर बनाएको हेम्प सिड प्राय: जुस, आइसक्रिम,
विभिन्न खानाका टपिङ्ग, सुप, तरकारी आदिमा मिसाएर खाने गरिन्छ। भुटेको भाङको दानालाई टमाटर, टिमुर,
नुन वा इच्छा अनुसार जे उपलब्ध छ, त्यो मिलाएर सिलौटोमा पिसेर चटनी बनाएर खानासँग खाने गरिन्छ । भाङको दाना
भुटेर सुक्खा छोप बनाएर खाने प्रचलन पनि छ । भाङ खाने यी पछिल्ला तरिका अझ
वैज्ञानिक र आयुर्वेदिक दृष्टिमा समेत उत्कृष्ट छन्।