गाँजाको उपयोग।
गाँजाको औषधीय उपयोग।
गाँजा एक बहुउपयोगी औषधीय वनस्पति हो । यसको बोटानिकल नाम
क्यानाबिस स्याटिवा हो । यसलाई ग्रास, पट, उइड आदि नाम पनि दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको
अनुसन्धानले गाँजालाई ९८ प्रतिशत औषधीजन्य वनस्पति हो भनेर प्रमाणित गरेको छ । गाँजालाई प्राचीनकालदेखि ‘विजया’ को नामले पनि चिनिन्थ्यो
। यसको अति महत्वपूर्ण गुणहरूले गर्दा यसलाई ‘कोहिनुर अफ हब्र्स’ पनि भन्ने गरिएको
छ । हिन्दु धर्ममा गाँजाको प्रयोग जति महत्वपूर्ण मानिन्थ्यो त्यति नै बौद्ध, इस्लाम,
युनानी, ताओ लगायतका
धर्ममा गाँजाबाट बन्ने औषधिबारे उल्लेख छन् ।
हालसम्म गाँजामा हाम्रो शरीरमा प्रभाव पार्ने ४ सयभन्दा
धेरै तत्व भेटिएका छन् । यिनै तत्व र तिनका औषधीजन्य अनि मनोरञ्जनात्मक अनुभूति
दिन सक्ने क्षमताका कारण गाँजाबाट ५ सयभन्दा धेरै रोगका औषधी र आनन्दका लागि लिइने
नशालु पदार्थ बनेका छन् । कतिपय अवस्थामा गाँजाका विभिन्न रसायनको परस्पर विरोधी
भूमिकासमेत भेटिएको छ । उदाहरणका लागि गाँजा सेवन गर्दा यसमा हुने सीबीडीले भोक
घटाउन सघाउँछ भने टीएचसीले भोक जगाउँछ । यसलाई ओखतीका रूपमा प्रयोग गर्दा
दुब्लाउनुपर्ने भए सीबीडी हालेर अनि मोटाउनुपर्ने भए टीएचसी राखेर सप्लिमेन्ट
बनाउने गरिन्छ ।
शरीर दुख्ने, टाउको दुख्ने, मल्टिपल सेरोसिसजस्ता डिस्अर्डर, अनिद्रा,
मेरुदण्डको चोट, मेरुदण्डको संक्रमण र हड्डीको जोर्नी वरिपरि सुन्निने गठिया रोगमा गाँजा अचूक
औषधी सावित भएको छ । दिमागसम्बन्धी समस्या, मुर्छा पर्ने छारेरोग, अल्सरजस्तो
आन्द्रामा हुने दर्द आदिले पेट पोल्ने र वृद्धावस्थामा पुग्दा शरीर भतभत पोल्ने
समस्यामा पनि यसले औषधीको काम गर्छ । दर्द हुँदा गरिने मालिस, आँखाको रोग ग्लाउकोमा हुँदा, एचआईभी÷एड्सका बिमारीको दर्द कम गर्न, भोक हराउने
कमजोरी र क्यान्सरजस्ता संक्रमणको उपचारमा गाँजाको प्रयोग अत्यधिक प्रभावकारी हुने
विज्ञानले प्रमाणित गरेको छ । त्यसैले उल्लेखित रोगका निदानमा संसारभर गाँजा र
गाँजाबाट निकालिएका पदार्थ उत्साहवद्र्धक रूपमा धमाधम प्रयोग भइरहेका छन् ।
गाँजामा दिमागको चेतनालाई परिवर्तन गर्ने खुबी रहेको मुख्य
नशालु तत्व साइकोएक्टिभ केमिकल ‘डेल्टा–९ टेट्राहाइड्रोक्यानाबिनोल’ हो । यसलाई
छोटकरीमा ‘टीएचसी’ भन्ने गरिएको छ । गाँजामा अर्को महत्वपूर्ण केमिकल सीबीडी पनि
पाइन्छ । सीबीडी नशालु र साइकोएक्टिभ प्रकृतिको रसायन होइन । गाँजाले मानिसको
दिमागलाई एकातर्फ छोटो समयका लागि लठ्ठाइदिने काम गर्छ भने र अर्कोतर्फ
अल्मेन्जरजस्ता रोगमा दिमागका तन्तुहरू छियाछिया हुँदै सानो सानो हुँदै जाने
क्रमलाई रोक्छ । गाँजाका धेरैभन्दा धेरै फाइदा भेटिएकैले अहिले संसारको ध्यान
यसतर्फ आकर्षित भएको हो ।
दिमागसँग जोडिएर शरीरभरि फैलिएको मानिसको स्नायु प्रणालीमा
शरीरको आन्तरिक वातावरणलाई स्वस्थ्य र सन्तुलित राख्ने क्यानाबिनोइड सिस्टम हुने
गर्छ । त्यसलाई समग्रमा इन्डो–क्यानाबिनोइड सिस्टम (ईडीसी) भनिन्छ । इडीसीको काम
मनस्थिति (मुड),
स्मरणशक्ति, दर्दको चेतना, भोकलगायत समग्र स्वास्थ्यको व्यवस्थापन गर्नु हो । ईडीसीमा क्यानाबिनोइड
(सीबी)–१ र क्यानाबिनोइड (सीबी)–२ नामक दुई रिसेप्टर भेटिएका छन् । सीबी–१ दिमाग, स्नायु प्रणाली, फोक्सो, कलेजो र मिर्गौलामा भेटिन्छ । सीबी–२ प्रतिरक्षा प्रणाली, पित्तथैली र आन्द्रामा पाइन्छन् ।
दर्द घटाउने, वाकवाकी
नियन्त्रण गर्ने, डिप्रेसनलगायत दिमागसँग
सम्बन्धित विकृति देखिँदा शरीर आफैँले एनान्डामाइड नामक ब्रेन केमिकल बनाएर सीबी–१
रिसेप्टरमार्फत उपचार गर्छ । त्यसलाई शरीरको सेल्फ हिलिङ प्रक्रिया भनिन्छ ।
गाँजामा पाइने टीएचसीको बनावट एनान्डामाइडसँग मिल्ने हुँदा टीएचसीले सीबी–१ रिसेप्टरलाई
सक्रिय पारी एनान्डामाइडकै काम गरिदिन्छ । अति भोक लाग्ने, भतभत पोल्ने, सुन्निने, मर्किने,
दुख्ने र रोगसँग जुध्ने प्रतिरोधात्मक शक्ति कमजोर हुँदा
शरीरले आफैं २–एजी नामक प्रोटिन उत्पादन गर्छ । त्यसले सीबी–२ रिसेप्टर सक्रिय
पारी सेल्फ हिलिङ प्रक्रिया पूरा गर्छ । गाँजामा पाइने सीबीडीले सीबी–२
रिसेप्टरलाई सक्रिय पारी २–एजीको काम गरिदिन्छ ।
हाम्रो शरीरको शारीरिक गतिविधि न्युरोट्रान्समिटर वा
रासायनिक म्यासेन्जरको सहयोगमा सञ्चालन र नियन्त्रण हुने गर्छ । मुख्यतः दिमाग र
आन्द्रामा बन्ने रासायनिक म्यासेन्जर सेरोटोनिन मानिसको मनस्थिति, वाकवाकी,
भोक, हड्डीको
स्वास्थ्य,
निद्रा, भावना, उत्तेजना आदि गतिविधि सञ्चालन र नियन्त्रणमा जिम्मेवार हुन्छ । सेरोटोनिनको
न्युरोनमा केनाबिनोइड रिसेप्टर पाइन्छ । हामीले खाने चिज, रातो मासु र नटमा पाइने एमिनोएसिड त्रिप्टोफानलाई शरीरले त्रिप्टोफान
हाइड्रोअक्सिलेजको सहयोगमा सेरोटोनिनमा परिवर्तन गर्छ।
सेरोटोनिन न्युरोनको केनाबिनोइड रिसेप्टरमा सेरोटोनिनको कमी
हुँदा मानिसमा एन्जाइटी, डिप्रेसन र
मुड–डिस्अर्डर आदि विकृति विकास हुन्छ । त्यसले हाम्रो दिनहुँको मनस्थिति र
भावनाहरूलाई प्रत्यक्ष नियन्त्रण गर्छ । गाँजामा पाइने रसायन सीबीडी जब केनाबिनोइड
रिसेप्टरमा पुग्छ, त्यसले त्रिप्टोफानकै
तरिकाबाट सेरोटोनिन केमिकल पैदा गरिदिन्छ । त्यसैले एन्टी–एन्जाइटी, एन्टी–डिप्रेसन र एन्टी–मुड डिस्अर्डरको औषधी बनाउँदा गाँजाको रसायन सीबीडी
प्रयोग हुने गर्छ ।
सेरोटोनिनजस्तै डोपामिन नामक अर्को महत्वपूर्ण
ब्रेन–केमिकलले खाना खाँदा, नशालु पदार्थ
लिँदा,
सम्भोग गर्दा, जुवा खेल्दा, हितैषीसँग भेट्दा, टाँसिँदा वा भलाकुसारी लगायत प्रिय गतिविधिमा संलग्न भइरहँदा आनन्दित, पुरस्कृत,
रोमाञ्चित, आत्मविभोर र धन्य
महसुस गराउँछ । हाम्रो शरीरले दिमाग, आन्द्रा,
मिर्गौला, एड्रिनल ग्लान्ड
आदि भागमा रहेका रिसेप्टरमा उत्पादन गर्ने ब्रेन केमिकल डोपामिनले प्रत्येक पलपलमा
धन्य र आनन्दित अनुभूत गराइरहेका हुन्छन् ।
भटमास, चिज, बदाम,
गेडागुडी, मासु, अन्डा,
दूध आदिमा पाइने फिनाइल–एलानिन नामक एमिनोएसिडले हाम्रो
शरीरको फिनाइलएलानिन हाइड्रोकसिलेज एन्जाइमको सहयोगमा टाइरोसिन, एल–डोपा,
ए–डोपा हुँदै डोपामिन बनाउँछ । शरीरले आफूलाई चाहिने
डोपामिन आफैँ बनाएर आन्तरिक रूपमा उपलब्ध गराउँछ । आफ्ना लागि आफैँले डोपामिन
बनाउँदै गर्दा निकै धेरै डोपामिन उत्पादन हुँदा साइकोएक्टिभ नशालुपनको विकास हुने
जोखिम पनि रहन्छ । उक्त जोखिम रोक्ने प्रयोजनका लागि शरीर आफैँले आवश्यकताभन्दा
ज्यादा डोपामिन बन्न नदिन जीएबीए न्युरोनको सहयोग लिने गर्छ । जीएबीए न्युरोनले थप
डोपामिन बन्ने प्रक्रियामा तत्काल हस्तक्षेप गरिदिन्छ ।
डोपामिन न्युरोनमा केनाबिनोइड रिसेप्टर हुँदैनन् । तर, जीएबीए न्युरोनमा भने जीएबीएका साथै केनाबिनोइड रिसेप्टरसमेत हुन्छन् । जब
मानिसले गाँजा सेवन गर्छ, गाँजाको रासायनिक
टीएचसीले जीएबीए न्युरोनको जीएबीए रिसेप्टरलाई छोटो अवधिका लागि निष्क्रिय
पारिदिन्छ । शरीरले आन्तरिक रूपमा डोपामिन बनाउने कार्य सुचारु हुँदै जाँदा अलि
धेरै नै गाँजा खाइएको अवस्थामा मानिस पूर्ण रूपमा झ्याप हुन पुग्छ । गाँजामा पाइने
केमिकल टीएचसीले डोपामिन न्युरोनलाई अप्रत्यक्ष रूपमा उत्तेजित पारी शरीरमा एल–डोपा
वा डोपामिन पैदा गराएर मानिसलाई आनन्दित र साइकोएक्टिभ बनाउने भए तापनि यसमा हुने
सीबीडीले भने डोपामिन न्युरोनलाई उत्तेजित गरी डोपामिन पैदा गराउन कुनै भूमिका
खेल्न सक्दैन । त्यसैले गाँजाको रसायन टीएचसी मात्र मानिसमा अल्पकालीन चेतना र
स्मरणशक्तिमा हानि गर्ने साइकोएक्टिभ अम्मलका रूपमा प्रयोजनमा आउने गर्छ।
वेद र आयुर्वेदमा गाँजा
अथर्ववेदले आध्यात्मिक र मनोवैज्ञानिक सबलताका लागि सहयोगी
हुने पाँच मुख्य वनस्पतिलाई ‘सोम’ का रूपमा ग्रहण गर्न सकिने बताएको छ । अथर्ववेद
संहिताको ११ औं खण्डको पापमोचन सूक्तको १५ औं मन्त्र छ:
पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः।
दर्भो भङ्गो यवः सहस्ते नो मुञ्चन्त्वहंसः॥
यसको अर्थ हो– पात, डाँक्लो,
फल, फूल र जरोरूपी
पाँच राज्य (अवयव) ले सम्पन्न औषधीहरूमा सोमलता सर्वश्रेष्ठ छ । दुवो, भाङ,
जौ आदि सबैसित हामीलाई पापबाट जोगाओ भनेर हामी प्रार्थना
गर्दछौं । अथर्ववेदको यो कथनले गाँजा रोगमुक्तिका लागि प्रार्थनीय वनस्पतिमध्येको
थियो भन्ने स्पष्टै थाहा हुन्छ ।
तिब्बती भाषामा गाँजालाई सोम–रस्ता भनिन्छ जुन वैदिक शब्द
‘सोम’ बाटै राखिएको अनुमान गरिन्छ । वैदिक ग्रन्थहरू अनुसार सोम एक विशाल, आध्यात्मिक शक्ति प्रदायक जैविक प्राकृतिक स्रोत (देवता) हुन् । ध्यान वा
सङ्कल्पमार्फत गरिने अनुसन्धानका क्रममा गहिरो चिन्तनमा लिन हुने विज्ञ, वैज्ञानिक (ऋषि) तथा सामान्य मानवहरूको लागि समेत नशालु अम्मल होस् वा अधिक
सेवन गर्दा हानिकारक हुन सक्ने विषाक्त पदार्थ होस्, ती सबैको जोखिमलाई निर्मलीकरण गरी सोमरस बनाएर तोकिएको मात्रामा सेवन गर्न
दिँदा लाभदायक हुने मान्यता छ । अथर्ववेदले मुख्य औषधीय वनस्पतिमध्ये एकका रूपमा
गाँजालाई उल्लेख मात्र गरेको छैन, यसका पातहरू र
कोपिलालाई शारीरिक, मानसिक र मनोवैज्ञानिक
तन्दुरुस्ती तथा पुनर्ताजकी प्राप्तिको मानव उपयोगका लागि अचुक ओखती (स्वर्गदूत)
का रूपमा समेत वर्णन गरेको छ ।
महत्वपूर्ण वैदिक अनुष्ठानहरूमा मनोवैज्ञानिक उपचार (भूत, देवीदेवता लाग्ने, ग्रह–दशा लाग्ने आदि) र
वातावरण शुद्धिका लागि विशेष प्रकारको यज्ञमा गाँजाको डाँठ होम गर्ने परम्परासमेत
रहिआएको छ । वेदका अनुसार गाँजा औषधीय वनस्पति मात्र नभई यसको नियन्त्रित तथा
अनुशासित प्रयोग मानव खुसी र आनन्दको स्रोतसमेत हो । दुःखबाट मुक्तिका लागि गाँजाको
प्रयोग हुने कुरा प्रयोगको तरिकासहित ऋग्वेद लगायत विभिन्न संहिता र महाभारतमा
समेत पाउन सकिन्छ ।
आयुर्वेदमा गाँजा ओखतीका रूपमा प्रयोग गर्दा सफा गरेर वा
शुद्धीकरणपश्चात् मात्र प्रयोग हुने गर्दथ्यो। यस्तो शुद्धीकरणका मूलतः तीन–चार
विधि हुन्थे । पहिलो, गाँजाको पातलाई सिरकको
खोल हुने मस्लिमक्लथ कपडाले बाँधेर पानीमा हरियो नआउन्जेल हातले मिचीमिची (पात
नबिग्रिने गरी) सफा गरिन्थ्यो । त्यसपछि घाम नभएको ओझेलमा राखी सुकाएर सुकेपछि
औषधीमा हाल्न तयार बन्दथ्यो । दोस्रो तारिकमा गाँजाको पातलाई पानीमा सफा गरिन्थ्यो
। हातले दबाएर पनि तारे पछि सिधै घाममा सुकाइन्थ्यो । सुकेपछि गाईको शुद्ध घिउमा
भुटिन्थ्यो । यसरी भुटिएको गाँजा त्यसपछि ओखतीमा हाल्न तयार हुन्थ्यो । तेस्रो
तारिकमा गाँजाको पातलाई लगभग तीन घण्टा गाईको दूधमा डुबाएर यसमा हुने स–साना बैजनी
पदार्थ हटाइन्थ्यो र त्यसपछि पानीले सफा गरिन्थ्यो । त्यसलाई सिधै घाममा सुकाएर
सुकेपछि गाईको शुद्ध घिउमा भुटिन्थ्यो । यसरी दूधले पखालेर घिउमा भुटिएको (सभेदाना
वा फोमेन्टेसन) गाँजा त्यसपछि ओखतीमा हाल्न तयार पदार्थ बन्दथ्यो। चौथो तरिकामा
खयरको बोक्रालाई ३०–४० मिनेट पानीमा उमालेर बनाइएको (डिकोक्सन) मा मनतातो अवस्थामा
गाँजाको पातलाई लगभग १२ मिनेट जति भिजाएर सिधै घाममा सुकाइन्थ्यो । सुकेपछि गाईको
शुद्ध घिउसँग मिसाएर पाउडर वा चूर्ण बनाइन्थ्यो । घिउसहितको सुकेको गाँजाको पाउडर
ओखतीमा हाल्न तयार चूर्ण बन्दथ्यो ।
परम्परागत रूपमा गाँजा उपयोग हुने औषधीमा हाल्न यसरी
गाँजालाई तयार गरिन्थ्यो । आज पारो (मर्करी) र कतिपय हेभी मेटल जस्तै फलाम लगायतको
भष्म आदि ओखतीमा हाल्नु स्वास्थ्यका दृष्टिले हानिकारकसमेत हुन सक्ने केही
प्रमाणहरू देखिइसकेका छन् । त्यसैले स्वास्थ्यका लागि प्रतिकूल नहुने निश्चित भएको
पदार्थबाटै औषधीहरू बनाइनुपर्छ भन्नेमा हाम्रो परम्परागत औषधि विज्ञान र आधुनिक
औषधि विज्ञान एकै ठाउँमा जोडिनुपर्छ । यसो भएमा मात्र हामी मानव कल्याणका लागि
स्वास्थ्यवर्धक औषधी र पूरक खाना निर्माण गर्ने कुशल क्षमता हासिल गर्न समर्थ हुनेछौं
।
विश्वमा पहिलोपल्ट शल्यक्रिया आयुर्वेदिक चिकित्सा पद्धतिले
अवलम्बन गरेको थियो । इसापूर्वक ६०० मा भारतवर्षमा क्रियाशील महर्षि सुश्रुत
शल्यचिकित्साका पिता हुन् । उनले संसारमै सबैभन्दा पहिले शल्यक्रिया सुरु गरेका
थिए । महर्षि सुश्रुतले आयुर्वेदिक शल्यक्रियामा ८ प्रक्रियाहरू रहने उल्लेख गरेका
छन् । उनका अनुसार छेद्य (विच्छेदन गर्नु, भेद्य (प्वाल पार्नु), लेख्य (अलग
गर्नु),
वेध्य (शरीरबाट हानिकारक झोल पदार्थ निकाल्नु), ऐष्य (मूल समस्या अवलोकन गर्नु), अहार्य (देखिएको हानिकारक वस्तु वा पदार्थ बाहिर निकाल्नु), विश्रव्य (जरुरी पर्ने ठाउँ मिलाएर खाली गर्नु) र सिव्य (शल्यक्रिया गर्दा
बनेको घाउ सिलाउनु वा टाँका मार्नु) मुख्य हुन् ।
महर्षि सुश्रुतले उनको जीवनकालमा सफलतापूर्वक सम्पन्न गरेका
कार्यहरूलाई सुश्रुत संहिताअन्तर्गत लिपिबद्ध गरिएको छ । ६० प्रकारका घाउहरूको
उपचार गर्ने तरिका, १ सय २० किसिमका घाउको
उपचारमा काम आउने उपकरणहरूको सम्पूर्ण वर्णन उल्लेख भएको सुश्रुत संहितामा ३ सय
प्रकारका रोगका उपचार प्रक्रिया उल्लेख छन् । सुश्रुत संहितामा शल्यक्रियाहरूलाई ८
श्रेणीमा वर्गीकरण गरिएको छ । १२ किसिमका भाँचिएका अङ्गहरू र ६ प्रकारका जोर्नीहरूमा
हुने चोटपटकको उपचार पद्धतिहरूबारे लेखिएको छ ।
सुश्रुतले आफ्नो जीवन कालमा आयुर्वेदिक पद्धतिअनुरूप नाकको
प्लास्टिक सर्जरी (राइनोप्लास्टी), कानको च्यातिएको
वा बिग्रिएको लोतीको सर्जरी (लोबुलोप्लास्टी), कान टम्मपारि मिलेको बनाउने अप्रेसन (ओटोप्लास्टी) लगायतका असंख्य विकृतिहरूको
सफल उपचार गरेका थिए । चिकित्सा प्रणालीमै पहिलो पटक दबेको अङ्ग बाहिर निकाली
मिहिन गरी मिलाउने (ट्र्याक्सन), अङ्गहरूको हेरफेर
गर्ने (मेनुपुलेसन), अङ्गहरू एक अर्कोमा
मिहिन गरी मिलाउने (एपोजिसन), स्थिरीकरण
(स्ट्याबिलाइजेसन) र फिजियोथेरापीका महान् सिद्धान्तहरू उल्लेख गर्दै व्यावहारिक
रूपमा लागू गर्नसमेत उनी सफल थिए । यी सबै उपलब्धिहरू आयुर्वेद इतिहासकै अत्यन्त
गौरवशाली पक्ष हुन् ।
सुश्रुत ती महर्षि हुन् जसले कालो कमिलाको टोक्ने टाउको
प्रयोग गरी आन्द्राको सिलाइ गर्ने विधिको विकास गरेका थिए । उनले इतिहासमै
सबैभन्दा पहिले भ्रूहरूको संरचनाको क्रमिक विकासको अध्ययन गरी महत्वपूर्ण चिकित्सा
पद्धतिका सम्भावनाको उजागर गरे । उनी नै संसारको पहिलो चिकित्सक हुन्, जसले मानव शरीरको पूर्ण चिरफार गरी शरीर संरचनाका धेरैभन्दा धेरै थाहा नभएका
विषयहरूबारे चिकित्सा विज्ञानलाई जानकारी गराए। विभिन्न चरणमा १ हजार १ सय २०
बिमारीहरूको गहिरो निरीक्षण गरी नाडीमा मुटुको धड्कन नाप्ने पाल्पीटेसन प्रविधि र
मुटु,
फोक्सो र अन्य अङ्गको ध्वनि सुनेर रोगको यकिन गर्ने
औसकुलेसन प्रविधिको उनैले विकास गरेका थिए । भारतको विहार नजिक जन्मिएका भनी
विभिन्न ग्रन्थहरूमा लेखिए पनि महर्षि सुश्रुत नेपालको देवघाट क्षेत्र वरपर
जन्मिएको हुनुपर्छ भन्नेहरू पनि छन् । देवघाट वरपर जन्मिएर भारत वर्षको काशी
(हालको बनारसी) पुगी चिकित्सा पेसा अभ्यास गरेका यी महर्षिको उतै निधन भएको
बुझिन्छ ।
महर्षि सुश्रुतले आफूले गर्ने विभिन्न प्रकारका शल्यक्रिया
र प्लास्टिक सर्जरीका क्रममा बिरामीलाई सकेसम्म कम दर्द होस् भन्नका लागि उक्त
समयमा बिरामीले उपचार हुँदै गरेको थाहा पाओस् तर शल्यक्रिया आदिका कारण भएका दर्द
महसुस गर्न नपरोस् भनी दर्द नाशक (एनाल्जेसिक) हरू र बेहोस बनाउने (एनेस्थेटिस)
हरूसमेत विकास गरेका थिए । ती दर्द नाशक र बेहोस बनाउने औषधीहरूलाई उनले आफूले
सम्पन्न गरेका धेरै शल्यक्रियाहरूमा सफल प्रयोग गरेका थिए । सुश्रुतले उपयोगमा
ल्याएका एनेस्थेटिसमा मूलतः भात लगायतका अन्न, फलफूल र मौवाको जाँड वा वाइन थियो । सबैभन्दा प्रभावकारी एनाल्जेसिकमा हिमाली
भेगमा फल्ने शिव–बुटीसमेत भनिने प्रायः क्यानाबिस इन्डीका जातका हिन्द–कुश गाँजाको
बोटबाट बनेका गाँजाका विभिन्न पदार्थहरू हुन्थे । त्यसमा सिबिड़ी, टिएचसी युक्त तेल, रेजिन, चरेस,
भाँङ, गाँजाका पेय
पदार्थहरू,
धूमपान, पात, कोपिला तथा गाँजाका विभिन्न प्रशोधित पदार्थ मिश्रित खाद्य पदार्थ, मालिस गर्ने तेल, भाँङको लड्डु, सिबिड़ी तेल आदि हुने गर्दथ्यो ।
तपाईं हामीलाई आज पनि स्कुलहरूमा मानव शरीरमा रक्त सञ्चार, श्वासप्रश्वास, मूत्र, प्रजनन,
अन्तरक्रियात्मक (बाहिरी आवरण वा छाला), मेरुदण्ड,
मांसपेशी, स्नायु, इन्डो–क्राइँन, लिम्फेटिक र पाचन गरी
जम्मा ११ प्रणाली रहेको भनी सिकाइन्छ । जबकि शरीरले आफूले आफैंलाई उपचार गराउने १२
औं पद्धति महर्षि सुश्रुतले उनको समयमै आयुर्वेदिक औषधि विज्ञानमा लागू गरेका थिए
। आधुनिक चिकित्सा विज्ञानमा बल्ल अहिले आएर इन्डोक्यानाबिनोइड प्रणाली भनिने
शरीरको स्व–उपचार प्रणाली मानव शरीरको १२ औं पद्धतिका रूपमा अस्तित्वमा आएको छ ।
पाठ्यक्रममा भने आम रूपमा अझै समेटिन बाँकी नै छ ।
हाम्रो शरीरको इन्डोक्यानाबिनोइड प्रणाली शरीरलाई नियमित
सञ्चालन गर्न स्नायु वा पाचन प्रणाली जत्तिकै महत्वपूर्ण र जटिल प्रणाली हो ।
विज्ञान आज पनि इन्डोक्यानाबिनोइड प्रणालीका धेरै महत्वपूर्ण कार्यहरू बुझ्ने
कोसिसमै छ । मानव शरीरमा यसले सञ्चालन गर्ने मुख्य गतिविधिमध्ये निद्रा, मनस्थिति,
भोक, स्मरण, कलेजो सञ्चालन, प्रजनन प्रणाली सञ्चालन, तनाव नियन्त्रण, छाला र स्नायु सञ्चालन
आदि मुख्य हुन् । यी सबै गतिविधिले शरीरको आन्तरिक वातावरणमा स्थिरता दिने काम
गर्दछ ।
उदाहरणका लागि जब हामी चोटपटक वा ज्वरोका कारण पीडा महसुस
गर्छौं त्यतिबेला आफ्नो शरीरले सन्तुलनको भावना वा होमोस्टेसिस गुमाउँदै गएको
महसुस गर्छौं। यो अवस्थामा शरीरको इन्डोक्यानाबिनोइड प्रणाली तुरुन्त सक्रिय बनी
शरीरलाई सामान्य सन्तुलनको अवस्थामा फर्काएर सञ्चालन हुने वातावरणमा फर्कन सहयोग
गर्छ । जबसम्म हाम्रो शरीर सामान्य सन्तुलनको अवस्थामा फर्कँदैन तबसम्म
इन्डोक्यानाबिनोइड प्रणालीका हरेक प्रणालीले जे कुराको अभावका कारण शरीरले सामान्य
महसुस गर्न नसकेको हो त्यसको पूर्ति गर्न जे जे कुरा जसरी जुन मात्रामा जरुरत छ
त्यसरी नै त्यसको व्यवस्थापन गर्न एकअर्कालाई सघाउँछ । शरीरका त्यस्ता हरेक
समस्याको समाधानमा सक्रिय रहन्छ ।
इन्डोक्यानाबिनोइड प्रणाली इन्डोक्यानाबिनोइड, यसका रिसेप्टर्सहरू र इन्जाइमहरू गरी मुख्य तीन महत्वपूर्ण भागहरू मिलेर बनेको
हुन्छ । हाम्रो शरीरले आफ्नो स्व–हिलिङ्गमा जरुरत हुने सबै क्यानाबिनोइडहरू आवश्यक
रूप र मात्रामा आफँले बनाउने गर्छ । ती क्यानाबिनोइडहरू शरीरको आन्तरिक कार्यहरू
सुचारु गर्न सहयोगी हुने वा सक्रिय रहने हुँदा तिनीहरूलाई शरीरले आफैले बनाउने
भन्ने इंगित गर्न इन्डोक्यानाबिनोइड नाम दिइएको हो। वैज्ञानिक खोजीकर्ता वैज्ञानिक
या अन्वेषकहरूले हालसम्म आनन्दमाइड (ए–ई–ए) र २ – आराचिड़ोनोएल–ग्लिरोल (२–एजी)
गरी दुई प्रमुख इन्डोक्यानाबिनोइडहरू पहिचान गर्न सकेका छन्। शरीरको समस्या समाधान
गरेपछि मानिसले आनन्द महसुस गर्ने हुँदा महर्षि सुश्रुतको सम्मानमा उनकै संस्कृत
भाषा ‘आनन्द’ वाट ए–ई–एलाई ‘आनन्दमाइड’ नामकरण गरिएको हो ।
शरीरमा सीबी–१ र सीबी–२ गरी दुई किसिमका इन्डोक्यानाबिनोइड
रिसेप्टर्सहरू हुने गर्छन् । सीबी–१ प्रायः केन्द्रीय स्नायु प्रणालीमा रहने गर्दछ
। सीबी–२ शरीरको हरेक प्रतिरक्षा कोशिकाहरूमा रहने गर्दछ । यसरी इन्डोक्यानाबिनोइड
रिसेप्टर्सहरू मानिसको शरीरमा सबैतिर फैलिएर रहेको हुन्छ । जब शरीरमा कुनै भइपरि
आइलाग्छ दिमागमा रहेको सीबी–१ रिसेप्टर्सले तुरुन्तै थाहा पाउँछ । तब सीबी–१
रिसेप्टर्सले प्रतिरक्षासँग जोडिएर रहेको सीबी–२ लाई खबर सम्प्रेषण र परिचालन गरी
आवश्यक निषेधात्मक र सुधारात्मक कार्य गराउँछ । इन्डोक्यानाबिनोइडहरूले जरुरत
अनुसार जब निषेधात्मक र सुधारात्मक कार्यहरू पूरा गर्छन् र शरीर सामान्य अवस्थामा
फर्कन्छ तब क्यानाबिनोइडहरूलाई फ्याटी–एसिड–एमाइड–हाइड्रोलेज र
मनोएसाइल–ग्लाइसिरोल– एसिड–लाइपेज जस्ता दुई प्रकारका मुख्य इन्जाइमहरूले
इन्डोक्यानाबिनोइड रिसेप्टर्सहरूबाट छुट्टाएर शरीरको नियमित गतिविधिमा दक्खल नहुने
गरी कार्य सञ्चालन हुन सघाउँछन् । शरीरमा पर्याप्त मात्रामा क्यानाबिनोइडहरू बन्न
र उपलब्ध हुन नसकेको आवस्थामा इन्डोक्यानाबिनोइड प्रणाली नै असन्तुलित बन्न पुग्छ
। शरीरमा रोग प्रतिरोधी क्षमता कायम गरेर दर्द आदि हुन नदिन सूचनाहरू आदानप्रदान
गर्ने ट्रान्समिटरहरूको गुणस्तर र क्षमता स्खलन हुने हुँदा रोग प्रतिरोधी क्षमतामा
उतार–चढाव निम्तन्छ । शरीरमा उपलब्ध रिसेप्टर्सहरूको मात्रामा समेत घटबढ हुन पुग्छ
। यो अवस्थामा शरीरले आफ्नो सन्तुलन कायम गर्ने प्राकृतिक क्षमता गुमाउँछ । यो
स्थितिको प्रायः देखिने सम्भावित परिणामहरूमा पीडा हुने, दुख्ने,
तनाव उत्पन्न हुने, नराम्रो सपना देख्ने, निद्रा नपर्ने, क्यान्सर,
पार्किन्सन्स, मल्टिपल सेरोसिस, पिटीएसडी, ग्लुकोमा,
आरथ्राइसिस, सिजोफेर्निया
लगायतका रोगको सिकार हुने समस्या पर्दछन् ।
जब शरीरमा पर्याप्त मात्रामा क्यानाबिनोइडहरू बन्न र उपलब्ध
हुन सक्दैन तब गाँजा र गाँजाजन्य पदार्थमा पाइने क्यानाबिनोइडहरूले
इन्डोक्यानाबिनोइडहरूको काम गरेको भेटिएको छ । गाँजा वा गाँजाजन्य पदार्थका
क्यानाबिनोइड्सहरूले न्युरोट्रान्समिटरहरूलाई सक्रिय बनाई इन्डोक्यानाबिनोइड
रिसेप्टरसँग बाँधिएर शरीरलाई आफूले आफ्नो उपचार गर्ने स्व–हिलिङ्ग पद्धतिमा
इन्डोक्यानाबिनोइडहरूले जस्तै गरी काम गर्न सहयोग गर्छन् । गाँजा महर्षि सुश्रुतको
छनोटमा पर्नुको मुख्य कारण नै यही थियो ।
भलै सुश्रुतको बुझाइ र आजको विज्ञानको बुझाइ हुबहु थिएन होला, तर मावन स्वास्थ्यका लागि गाँजाको उपयोगिता उहिल्यैदेखि अहिलेसम्मै उस्तै र उत्तिकै छ । शारीरिक, मानसिक र मनोवैज्ञानिक तन्दुरुस्ती तथा पुनर्ताजकीका लागि उपयोगी बिरुवा भएकैले गाँजा प्राचीनकालदेखि आज पर्यन्त नेपाली परम्परा र संस्कृतिको अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । नेपालमा सदियौंदेखि परम्परागत रूपमा गाँजाबाट बनाइएका आयुर्वेदिक औषधी प्रयोग हुँदै आएको थियो । सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे । सन् १९७० को दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भएपछि त्यस्तो औषधी उत्पादन हुन छाडे । आयुर्वेदिक अनुसन्धान पनि बन्द भयो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमै उल्लेख छ ।