गाँजा र यौन

गाँजा र यौन


वैदिक अवधारणा अनुसार खानाको पाचन प्रक्रियामार्फत खानाको रस तत्त्वबाट रगत बन्छ । रगतबाट मासु (तन्तु, हड्डी र कार्टिलेज), मासुबाट बोसो, बोसोबाट हड्डीको मासी बन्छ । हड्डीको मासीले वीर्य निर्माण गर्छ । वीर्य तत्त्वले भौतिक शरीर, मुटु र बुद्धिको पोषण गर्दछ । भौतिक शरीर मात्र उपयोग गर्ने मानिसको बुद्धि र हृदय अविकसित रहन्छ । मन र हृदयको शुद्धताको चक्र पूरा हुन सक्दैन । शरीरको सम्पूर्ण ऊर्जाको सार वीर्य तत्त्व मुटु र दिमागसँग सम्बन्धित रहन्छ । यसले आन्तरिक रूपमा इन्डोकेनेबिनोइड सिस्टम लगायत मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वस्थ सुदृढ गर्न र बाह्य रूपमा शुक्रकीट र शुक्रकीटको सहयोगी वीर्यका रूपमा जीवन्त शक्ति निर्माणमा भूमिका खेल्दछ ।

 

बाह्य प्रयोजन (यौनजन्य क्रियाकलाप) का लागि उत्पादन भएको तर उपयोग नगरिएको झन्डै ९०% शुक्रकीट र शुक्रकीटको सहयोगी वीर्यलाई शरीरले विखण्डन गरी फेरि शरीरभित्र नै सोसी अङ्गहरूको मर्मत सम्हार, पुनर्ताजकीकरण र हिलिङ्ग शक्तिमा उपयोगमा ल्याउने गर्छ ।

 

संस्कृतमा बाजीको अर्थ घोडा हो । यौनशक्ति र यौन तागत प्रदर्शन गर्ने क्षमताको सन्दर्भमा एक मस्त घोडाको जस्तै यौन जोस र तागत निर्माण गर्नुलाई बाजीकरण भन्ने गरिन्छ । वैदिक अवधारणामा बाजीकरण विधिमार्फत लक्षित व्यक्तिको सम्भावित यौन क्षमता र तागत सम्पूर्ण रूपमा सक्रिय गर्न प्रयास गरिन्छ । वेदान्तमा मानव यौनशक्ति घोडाको जस्तै बनाउने भन्नुको पछाडि गहिरो वैज्ञानिक कारण देखिन्छ ।

 

एक वयस्क मानिसको अण्डकोषले प्रतिसेकेन्ड १ हजार ५ सयजति शुक्रकीट बना¬उँछ । सक्रिय यौनकालमा कुनै मानिसको दिनमा १ देखि ५ पटकसम्म वीर्य स्खलन सामान्य हुन सक्छ । हरेक पटक २ देखि ५ एमएल वीर्य निक्लने मानिसको प्रतिएमएल वीर्यमा २ करोडदेखि ३० करोड शुक्रकीट रहने गर्दछ । एक वयस्क घोडाको अण्डकोषले प्रतिसेकेन्ड ५२ हजारजति शुक्रकीट बनाउँछ । सामान्य रूपमै हरेक २ घण्टामा स्खलित हुन सक्ने एक वयस्क घोडाले दिनमा १ देखि ५ पटकसम्म वीर्य स्खलन गर्दा एक पटकमा २० देखि ८० एमएल वीर्य निकाल्ने हो भने उसको प्रतिएमएल वीर्यमा ८ अर्ब ४० करोडदेखि ६० अर्ब ८० करोड शुक्रकीट रहने गर्दछ । घोडा यौनशक्तिमा उत्कृष्ट देखिएकाले वेदान्तमा उत्कृष्ट यौनशक्तिको क्षमता निर्माण जनाउन बाजीकरण शब्द प्रयोग भएको छ ।

 

बाजीकरण विधिमार्फत जुन हदमा लक्षित व्यक्तिको यौन क्षमता र तागत सक्रिय गर्न सकिन्छ, त्यो हदको प्रभावकारिताको एक चौथाइसमेत आजको औषधि विज्ञानले विकास गरेको भियाग्रा लगायतका टनिकहरूले दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा आज फेरि संसारको ध्यान परम्परागत बाजीकरण विधितर्फ फर्किरहेको छ । बाजीकरण विधिमा जडिबुटीहरूबाट प्राप्त हुने सोमरसरूपी सारतत्त्व निर्माणमा गाँजामा हुने १०० भन्दा बढी औषधीय क्यानाबिनोइडहरूको समेत उच्च भूमिका हुने वैदिककालमै पहिचान भएकाले निकै धेरै मानिसमा गाँजाको औषधीय र तागत प्रदायक गुणले ध्यान खिच्न सकेको हो ।

 

बाजीकरण आज किन पनि महत्त्वपूर्ण बनेको छ भने सन् १९७३ ताका सामान्य मानिसमा प्रतिएमएल वीर्यमा औसत ९ करोड ९० लाख शुक्राणु रहने गरेकोमा सन् २०११ सम्म आइपुग्दा यो प्रतिएमएल ४ करोड ७० लाखमा झरेको भेटिएको थियो । मानिसको प्रतिएमएल वीर्यमा १ करोड ५० लाखभन्दा पनि तल शुक्राणु झर्ने अवस्था नआउँदासम्म त्यस्तो पुरुष गर्भधारण गराउन पूर्ण सक्षम रहनेछ । हरेक ४० वर्षमा प्रतिएमएल वीर्य आधा घट्दै गएको दर हेर्दा अबको ७० वर्षसम्म मानव गर्भधारण चिन्ताजनक बन्ने देखिँदैन । तर त्यसपछि ?

 

खाद्य सुरक्षाको प्रिजर्भेटिवका रूपमा विषालु पदार्थ राखिने, उच्च प्रशोधित खाना खान रमाउने र विषाक्त औद्योगिक रसायनका कारण बिग्रिएको वातावरणमा जीवनयापन गर्ने मानिसको वीर्यमा शुक्रकीटको संख्या उल्लेखनीय रूपमा घट्ने गरेको देखिएकाले खानपान र जीवनशैली नसुधार्ने हो भने मानव जाति नपुङ्सकताको सिकार हुन धेरै समय कुर्नुपर्ने देखिन्न । त्यसको विकल्प वैदिक खानपान र दिनचर्यामा नगई धरै नहुने धेरैको यकिन छ ।

 

व्यक्तिका रूपमा हामी को हौं भन्ने कुरा हामीले खाने खाना, भोगाइले विकास गरेको मान्यता र हाम्रो दिमागमा फुर्ने विभिन्न विचारहरूको संयोजनमा निर्भर गर्छ । पाचन प्रक्रियाका विभिन्न चरणहरूमा शरीरले बाहिरी स्रोतबाट प्राप्त खाना र सूचना दुवै उपयोग गर्दै खानाबाट निस्केका सारतत्त्वहरूबाटै आवश्यकताअनुरूपका भिन्नभिन्न सारतत्त्व वा रशहरू निर्माण गर्ने गर्छ । यसलाई नै रसायन भन्ने गरिन्छ ।

 

वैदिक पद्धतिमा खानालाई औषधीय बनाएर मानव औरा, जीवन्त शक्ति र यौनशक्तिका सबै कारकहरूको व्यवस्थापन हुन्छ । उक्त व्यवस्थापनबाटै घोडाको जस्तो यौनशक्तिको सम्पूर्ण सम्भावनाको निर्माण तथा पुन:स्थापना गरी व्यवस्थित गर्न बाजीकरण रसायनहरूको उपयोग गरिन्छ । यथार्थमा बाजीकरण विधि औषधीय र तागतवर्धक जडिबुटीलगायत खाद्य पदार्थहरू शरीरलाई उपलब्ध गराएर नै त्यसबाट सारतत्त्व निकाल्न लगाएर उपयोग गर्न सक्षम बनाउन सघाउने विधि हो ।

 

बाजीकरण विधिमा पहिलो र दोस्रो पार्वती मुद्राको तथा तेस्रो शिव मुद्राको समग्र उपचारात्मक चरणहरू अन्योन्याश्रित रूपमा सञ्चालन गरिन्छ । जसअन्तर्गत पहिले शरीरको बिग्रिएको स्वास्थ्य अवस्था सुधार गरिन्छ । मूलत: बिग्रिएको स्वास्थ्यको पुनर्ताजकीकरणमार्फत पुन:स्थापनामा विशेष ध्यान पुर्‍याइन्छ । दोस्रोमा यौन गतिविधि सहज, भयरहित तथा पूर्ण सहभागितामूलक बनाउने गृहकार्य हुन्छ । तेस्रोमा स्त्री–पुरुष दुवैको यौन क्षमताको प्रभावकारिता बढाएर यौनिक रूपमा बैंसालु र पूर्ण उत्पादनशील पार्ने प्रयाशहरू अवलम्बन गरिन्छ ।

 

शरीरको स्वास्थ्य सुधारअन्तर्गत आफ्नो स्वास्थ्य, वीर्य वा डिम्बको जीवन्त शक्ति अभिवृद्धि गर्न सघाउने सारतत्त्व प्रदायक औषधीय गुणको जडिबुटी तथा खाना खान दिइन्छ। तन्तु, बोसो, हड्डी आदि सुदृढ गराई शरीरको मांसपेशी बलिष्ठ पार्ने जीवनशैली र पोषणको उपाय सुझाइन्छ। शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्य अभिवृद्धि गर्ने जडिबुटी तथा खाना र जीवनशैली अवलम्बन गरिन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने पेय, खाना र जीवनशैली अपनाइन्छ । शक्तिवर्धक, यौन दक्षता तथा तागतवर्धक पौष्टिक खानपानमा ध्यान दिइन्छ ।

 

यौन गतिविधिहरूलाई सहज पार्ने उपायअन्तर्गत यौनकार्य र स्खलनमा रहेका समस्यामा निवारण खोज्न मद्दत गरिन्छ । जस्तै सुक्खापन, दुख्ने, पोल्ने आदि समस्या निवारण गरिन्छ । यौन इच्छा जगाउने विधि र खुराकको व्यवस्था गरिन्छ । यौन अङ्गको उत्तेजनात्मक क्षमतामा ह्रास (इरेक्टाइल डिसफङ्गसन), रस निर्माण नहुने, सक्रिय नबन्ने, काम वासना नजाग्ने समस्या समाधान गरिन्छ । सम्भोगका बेला देखिने थकावट, चिडचिडेपन, अनिच्छा, दिक्दारी र झिँजोपन आदि हटाउने उपाय खोजिन्छ । शीघ्र स्खलन रोक्ने क्षमता वृद्धि गर्नुका साथै एकै सहवासमा छोटो समयको अन्तरालमा एकभन्दा धरै पटक स्खलन हुने क्षमता विकास गराइन्छ ।

 

यौन क्षमताको प्रभावकारिता बढाएर यौनिक रूपमा आफूलाई पूर्ण उत्पादनशील पार्ने विधिअन्तर्गत गर्भधारण प्रक्रिया सबल र सुदृढ पार्ने कार्यहरू गरिन्छ । जस्तै : गर्भ रहने समय छोपी सम्भोग गर्नेबारे सिकाइन्छ । पुरुष अण्डकोषलाई शुद्धीकरण गर्दै धेरै मात्रामा उच्च गुणस्तरको वीर्य एवं शुक्राणु उत्पन्न गर्न सहयोग गरिन्छ । योनि रस र वीर्यको मिश्रण हुँदा वीर्यलाई सकारात्मक वातावरण पैदा हुने स्थिति बनाउनेदेखि लिएर वीर्यको पुच्छर तागतिलो बनाई गतिशीलता तीव्र पार्ने, यौन अङ्गका तन्तुहरू सबल पारी यौन कार्य हुँदा सक्रिय, प्रजनन मैत्री र जीवन्त बनाउनेसम्मका प्रक्रियाहरू यसअन्तर्गत हुन्छन् ।

 

आज यौनशक्तिमा ह्रास तथा यौन समस्या लिएर चिकित्सककहाँ धाउने व्यक्ति वा दम्पतीको संख्या दिनहुँ बढ्दो छ। यौन समस्याग्रस्त बिरामीका समस्याको समाधान खोज्ने क्रममा स्ट्यानफोर्ड युनिभर्सिटीले अमेरिकी सरकारले गरेको पारिवारिक वृद्धि सम्बन्धको राष्ट्रिय सर्वेक्षण तथ्यांकको विश्लेषण गर्दैगर्दा एक आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । जो मानिशहरू गाँजा सेवन गर्ने गर्थे, उनीहरूमा यौनशक्ति र सन्तुष्टिको हद तुलनात्मक रूपमा ज्यादा रहने गरेको पाइयो । यो तथ्यलाई यस्तै प्रकृतिका अन्य अनुसन्धानको आधिकारिक नतिजाले समेत पुष्टि गरेको छ ।

 

उक्त अनुसन्धानभन्दा पहिले नै साइकोलोजी टुडेले गरेको अनुसन्धानले यौनक्रिया गर्नुपूर्व गरिने गाँजाको धूमपानले अधिक संख्याका मानिशहरूमा आनन्दको हद वृद्धि गर्न मद्दत गरेको नतिजा सार्वजनिक गरेको थियो । केही थोरै मानिसमा भने गाँजाको धूमपानले कामेच्छा घटाएर निद्रा लगाएको पाइएको थियो ।

 

अमेरिकी सरकारले गरेको पारिवारिक वृद्धिसम्बन्धी राष्ट्रिय सर्वेक्षणको तथ्यांक विश्लेषण गरी सन् २०१७ मा जर्नल अफ सेक्सुअल मेडिसिनले लेखे अनुसार उमेर पुगेका २८ हजार महिला र २३ हजार पुरुषहरूमा गरिएको अनुसन्धानबाट सर्वेक्षण गरिएको मितिको अघिल्लो चार हप्तामा दैनिक गाँजा सेवन गर्ने युवतीहरूले उनीहरू औसत ७.१ पटक यौन कार्यमा समावेश भएको बताए । जबकि कहिल्यै गाँजा सेवन नगर्ने युवतीहरूले उक्त समयमा औसत ६ पटक मात्र सम्भोग गरेको बताए । दैनिक गाँजा सेवन गर्ने पुरुषहरूले उक्त समयमा औसत ६.९ पटक सम्भोगरत रहेको बताए भने कहिल्यै गाँजा सेवन नगर्ने पुरुषहरूले औसत ५.६ पटक मात्र यौन कार्यमा संलग्न भएको जनाएका थिए ।

 

२०१९ मा ३ सय ७३ युवतीमा गरिएको सर्वेक्षणमा सम्भोग पहिले गाँजा सेवन गर्ने १ सय २७ युवतीले सम्भोगको क्रममा धेरै स्खलित र आनन्दित महसुस गरेको बताए । उक्त सर्वेक्षणको निष्कर्षमा सम्भोग पहिले गाँजा सेवन गरी सम्भोग गर्ने युवतीमा २.१३ गुणा ज्यादा स्खलित र आनन्दित सम्भोगको महसुस भएको पाइयो भने धूमपान वा खानामा राखेर दैनिक गाँजा सेवन गर्ने युवतीले २.१० गुणा स्खलित र आनन्दित महसुस गर्ने गरेको पाइएको थियो ।

 

२०२० मा ४ सय ५२ युवतीहरूमा गरिएको सर्वेक्षणमा सहभागी भएका गाँजा सेवन गरी यौनक्रियामा संलग्न हुने युवतीहरूले सम्भोगको समयमा धेरै यौन चाहना विकास भएको, धेरै स्खलित र आनन्दित बनेको बताए । २०१७ मा २ सय ८९ युवतीहरूमा गरिएको अर्को सर्वेक्षणको निष्कर्षले गाँजा सेवन गरी सम्भोग गर्दा बढी आनन्दमा सुधार भएको बताएका थिए । गाँजा सेवनका कारण ६० प्रतिशतले यौन चाहना अधिक बढेकाले आनन्द महसुस भएको बताएका थिए । सम्भोगका बेला योनिमा दर्द भएर यौन जीवन दर्दपूर्ण बनेको बताउने युवतीहरूमध्ये ७७% ले गाँजा सेवन गरी सम्भोग गर्दा दर्द कम भएको वा नभएको जनाएका थिए ।

 

मुख र्‍यालविहीन भएर सुक्खापनको सिकार हुने समस्यालाई अङ्ग्रेजीमा ‘कटन माउथ’ भन्ने गरिन्छ । धूमपानले मुखको सुक्खापन बढाउँछ । यथार्थमा गाँजामा हुने लाग्ने तत्त्व टीएचसीले मुखका र्‍याल पैदा गर्ने ग्रन्थिहरूलाई रोक्ने गर्छ । त्यस्तो समस्यालाई एक गिलास पानी पिएर निवारण गर्न सकिन्छ । मुखमा सुक्खा हुने (कटन माउथ) समस्या जस्तै योनि रसविहीन हुने समस्यालाई ‘कटन भजिना’ भन्ने गरिन्छ । योनि रशहरूले प्रशस्त लुब्रिकेन्टहरू पैदा गर्न नसक्दा त्यसले समागमका बेला योनिको भित्री भाग पोल्ने समस्या त हुन्छ नै सम्भोगरत जोडीको समागमको अनुभवसमेत निराशाजनक बनाइदिन्छ ।

 

एस्ट्रोजन एक हर्मोन हो, जसको मात्रा आवश्यकताभन्दा तल झर्दा योनिमा प्राय: सुक्खापन बढेको देखिन्छ । एस्ट्रोजनले योनिका तन्तुहरूलाई लुब्रिकेटेड र स्वस्थ राख्न मद्दत गर्दछ । गाँजामा हुने सीबीडीले एस्ट्रोजिनको तह घट्न नदिने हुँदा कटन भजिनाको समस्यामा गाँजाको सीबीडी उपयोगी हुन्छ । सीबीडीको नियन्त्रित मात्रामा प्रयोग भई बनेको केही भजाइनल सपोजिटरी योनि सुक्खा हुने अवस्थाको उपचारका लागि हाल बजारमा आएको देखिन्छ । सीबीडीले मानिसको मुडमा परिवर्तन गर्ने भए तापनि यो टीएचसीजस्तो लाग्ने वा नसा दिने पदार्थ होइन । यसले योनिमा हुने दर्दसमेत कम गर्न सघाउँछ । यौन क्रियाकलापमा संलग्न हुँदै गर्दा सेवन गरिने गाँजाले युवायुवती दुवैको मुड र यौन गतिविधिमा सकारात्मक परिवर्तन गरिदिन्छ । तर त्यस्तो परिवर्तनको हद युवायुवतीले सेवन गर्ने गाँजाको मात्रा, जोडीको आपसी मित्रता, उनीहरूको मनस्थिति र यौनक्रियामा सहभागी हुन पाएको वातावरणको सुरक्षित वा असुरक्षित अवस्थाले निर्धारण गर्छ । गाँजाले मानिसमा चिन्ता कम गराउने काम गर्ने भएकाले सम्भोगको समयमा हुने चिन्ताका कारण लिङ्ग उत्तेजित नहुने पुरुषका लागि गाँजाको उचित मात्राको सेवन सहयोगी हुन सक्छ ।

 

अनुसन्धानबाट गाँजामा पाइने टीएचसीले नाइट्रिक अक्साइड पैदा गर्नसँग सम्बन्धित रहेको न्युरोट्रान्समिटरलाई उत्तेजित गरी रगतमा नाइट्रिक अक्साइड स्खलन गराउने यकिन भएको छ । नाइट्रिक अक्साइडले रक्तवाहिकाहरू ठूलो र नरम पार्दछ, जसले गर्दा मानिसले आराम महसुस गर्दछ । रक्तवाहिकाहरूभित्र रगतको सञ्चार वृद्धि गर्दा पुरुषमा उत्तेजना नहुने समस्या (इरेक्टाइल डिसफङ्गसन) घटाउने र महिलाको योनिको आनन्दको गाँठो (क्लाइटोरिस) र स्तनको मुन्टामा तीव्र रक्तसञ्चार गरी उत्तेजना (इमोसन) विकास गरिदिन्छ ।

 

टीएचसी र सीबीडी मिश्रित गाँजाले त्यही समयमा स्नायु प्रणालीको योनिको तर्फ खुलेको दर्दको अनुभूति दिलाउने स्नायुलाई दर्द महसुस हुनबाट रोक्दछ, जसले गर्दा दर्दको अनुभूति रोकिने र आनन्दको अनुभूति बढ्ने अवसर मिल्छ । एस्ट्रोजन हर्मोनका कारण युवतीमा एन्जाइटी र डिप्रेसनजस्तो चिन्ताग्रस्त रहने समस्या घट्छ । गाँजाको केनेबिनोइडले एस्ट्रोजनको मात्रा नियन्त्रण गरी चिन्तित हुन नदिने भूमिका खेल्छ । तर एकदमै सचेत हुनुपर्ने पक्ष के भने गाँजा सेवनले यौन इच्छा बढाउने र अधिक सन्तुष्टि दिने भए तापनि नियमित गाँजा सेवनबाट पुरुषको वीर्यमा शुक्रकिटको संख्या घट्ने र महिलामा गर्भधारण दर कम हुने गरेको पाइएको छ । सिजोफेर्निया भएको बिरामीका लागि गाँजा अत्यन्तै प्रत्युत्पादक सावित भएको छ ।

 

वैदिक वाङ्मयमा मनोवैज्ञानिक पक्ष र आध्यात्मिकताअन्तर्गत टीएचसीजन्य प्रभावलाई शिव मुद्रा र सीबीडीजन्य प्रभावलाई पार्वती मुद्राको रूपमा लिने गरिएको छ । गाँजाको कुनै निश्चित स्टेन (प्रजाति) अर्काको तुलनामा फरक प्रकृतिको यौन सन्तुष्टि दिलाउन अधिक सहयोगी हुन सक्छ । कुनै खास प्रजातिको गाँजाले अधिक आनन्दित अनुभूतिको सेरेब्रल मुडमा राख्ने गर्दछ भने त्यसलाई शिव मुद्रा भनिन्छ । कुनैले शारीरिक पूर्ण स्खलनको आनन्द दिलाउने फिजिकल सेन्सेसन अभिवृद्धि गर्न रचनात्मक भूमिका खेलिदिने गर्दछ भने त्यसलाई पार्वती मुद्रा भनिन्छ।

 

यौन सन्तुष्टिअन्तर्गत फिजिकल सेन्सेसन अभिवृद्धिलाई धेरै महत्त्व दिने गाँजाका सेवनकर्ताहरू सामान्यतया सेटिभा प्रजातिको गाँजामा धेरै आकर्षित हुन्छन् । इन्डिका प्रजातिमा भन्दा टीएचसीको मात्रा कम हुने सेटिभा प्रजातिले मानिसमा मुड सचेत पार्न, सम्भोगको गति तीव्र पार्न र सम्भोग कार्य सम्पन्न हुँदै गर्दा भौतिक संवेदनाशीलता चरम बनाउन मद्दत गर्दछ ।

 

कामशास्त्रले सम्भोगलाई उच्च चेतनायुक्त देवत्व अनुभूत गर्ने पवित्र कार्य मानेको छ । किनभने सम्भोगको समयमा सबै इन्द्रियहरूले एकै साथ मिलेर तत्कालीन समयमा घट्दै गरेका गतिविधिहरूबारे समान अनुभूति चेतनाका रूपमा दिमागमा सम्प्रेषण गरिरहेका हुन्छन् । भएका सम्पूर्ण इन्द्रियहरूले समान अनुभूतिको सूचना सम्प्रेषण गरिरहँदा मानव चेतनाले प्राप्त सूचनामा कुनै शङ्का गर्ने वा प्रश्न उब्जाउने स्थिति रहँदैन । प्राप्त सम्पूर्ण सूचना सर्वस्वीकृत हुँदै गर्दा सूचनाको प्रकृतिसमेत अत्यधिक सकारात्मक रहन्छ । फलत: मस्तिष्कले स्वर्गीय आनन्द अनुभूत गर्ने अवसर र समय प्राप्त गर्दछ । त्यस्तो समय अल्पकालीन मोक्ष (ब्लिस) को अनुभूति दिने पार्वती मुद्रा हो ।

 

वैदिक अभिमत अनुसार हाम्रो शरीर पञ्चतत्त्वले बनेको हुन्छ । ती पञ्चतत्त्वबाटै पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण, मन र बुद्धि मिलेर शरीर रचना भएको हुन्छ । खाना खाने क्रममा आँखाले सौन्दर्य (अग्नि तत्त्व), जिब्रोले स्वाद (जल तत्त्व), नाकले वासना (पृथ्वी तत्त्व) र कानले खानको ध्वन्यात्मकता जस्तै : कुरुङ–कुरुङपन (आकाश तत्त्व) अनुभूत गरिरहेको हुन्छ । यी पञ्चतत्त्वको ग्रहणका लागि हाम्रो शरीरमा पाँचै खास–खास अङ्गहरू निर्दिष्ट छन् । सम्भोगका बेला आँखाले सौन्दर्य (अग्नि तत्त्व), जिब्रोले मन्द स्वाद (जल तत्त्व), नाकले मन्द वासना (पृथ्वी तत्त्व), कानले कर्ण प्रिय ध्वनि (आकाश तत्त्व) र छालाले आनन्दमय स्पर्शको अनुभूति (वायु तत्त्व) मार्फत भौतिक संवेदनाशीलता ग्रहण गरिरहेका हुन्छन् । सबै पञ्च तत्त्वहरूको ग्रहण एकैसाथ हुने भएकाले सम्भोगका बेला चरम आनन्द महसुस हुने गर्छ । यस्तो बेला सबै इन्द्रियहरू शारीरिक सुखद संवदेनको उच्च तह (ब्राभो डेल्टा) मा पुग्ने भएकाले चरम सुख सम्भव भएको हो ।

 

नेपालको रैथाने इन्डिका प्रजातिको गाँजामा धेरै टीएचसीको मात्रा हुने हुँदा यसले अनुभूतिमा रचनात्मकता तथा हेलुसुनेसन अर्थात् अधिक आनन्दित अनुभूतिको सेरेब्रल मुडमा लैजान्छ । यस्तो रचनात्मकताले विभिन्न आसन र प्रक्रियामार्फत सम्भोगका विविध प्रयोग र परीक्षण गर्ने मुड विकास गर्छ । नवीन विचार, शक्ति तथा ऊर्जा उपलब्ध गराउँदछ । आपसी सोख, चाहना, मान्यता र भौतिक अवस्थाअनुकूल कामक्रिडाका तौरतरिका विकास गर्न मद्दत गर्दछ ।

 

गाँजाको केनेबिनोइडले नाकको सिँगान बन्ने नोस्ट्रिनाक नाइट्रिक अक्साइड निर्माण र स्खलनमा सहयोग पुर्‍याउँछ । नाक सफा गर्ने सिलसिलामा कपाल भाँती, अनुलोम विलोम र प्राणायाम गर्दा उक्त नाइट्रिक अक्साइड श्वास हुँदै फोक्सोमा पुग्दछ । यसले फोक्सोको एल्भियोलाई र रगतमा अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने रक्त वाहिनी सञ्जाललाई फुलाएर अक्सिजनको घुल्ने मात्रा बढाउन र रगतमार्फत धेरै अक्सिजन तन्तु–तन्तुहरूमा पुर्‍याउन सहयोग गर्छ ।

 

ॐ मन्त्रोच्चारणका क्रमममा श्वास नाकबाट तानिने र मुखबाट फालिने हुँदा अधिक नाइट्रिक अक्साइड भित्रिने, केही समय सास रोक्दा कार्बनडाइअक्साइड फाली अक्सिजन घुल्ने र रगतमार्फत शरीरभित्र भित्रिने समय बढ्छ । नाइट्रिक अक्साइडले रगतमा अक्सिजन घुलाउन, शरीरमा सञ्चार गर्न, नसा फुकाउन र कोर्टिसोल उत्पादन घटाई डर नियन्त्रणमा समेत सहयोग गर्छ ।

 

कसैले तपाईंको तारिफ गर्दा तपाईंको मनमा उब्जने ‘अहा’ को भावना तपाईंको इन्डोकेनेबिनोइड प्रणालीको सन्देशका कारण दिमागले निकाल्ने हर्मोन डोपामिनका कारण हो । श्रीमान्–श्रीमतीबीच एकले अर्काको इज्जत गर्ने, उसको अस्तित्वको आफ्नो जीवनमा मूल्य देख्ने, माया गर्ने, यौन र प्यारमा लाडिने अवस्थामा समेत मस्तिष्कले डोपामिन र सेरोटोनिन जस्ता आनन्ददायक स्रावहरू पैदा गर्दछ । तर यसको विपरीत श्रीमान्–श्रीमती बीचको यौनसम्बन्धमा मनोवैज्ञानिक दूरी बढ्दा कोर्टिसोल र भेसोप्रिसिन पैदा हुन गई दुवैले एकअर्कोबाट आफ्नो भविष्य असुरक्षित महसुस गर्ने, डर लाग्ने, दिक्दारी पैदा हुने र रिस उठ्ने जस्ता समस्या जन्मन्छ । लामो समय उक्त अवस्था कायम रहदा एकको अर्कोप्रति नकारात्मक धारणा विकास हुने हुँदा एकले अर्कोलाई मनैदेखि घृणा गर्ने आदत विकास हुन्छ । यदि हाम्रो शरीरमा आवश्यक मात्रामा इन्डोकेनेबिनोइड र आनन्दमाइडहरू बन्न सकेका छैनन् भने त्यस्तो बेला गाँजामार्फत प्राप्त हुने केनेबिनोइड, इन्डोकेनेबिनोइड र आनन्दमाइडजस्ता रसायनहरूको पूर्तिमा सहयोगी बन्छ ।

 

वेद, वेदान्त तथा श्रुति–स्मृतिहरूमा स्नायु प्रणाली, प्रजनन प्रणाली र प्रतिरक्षा प्रणालीको उत्पादनको सारलाई पार्वती मुद्राका रूपमा चर्चा गरिएको पाइन्छ भने इन्डोकेनेबिनोइड प्रणालीको भूमिकामा स्नायु प्रणाली, प्रजनन प्रणाली र प्रतिरक्षा प्रणालीले दिने समग्र नतिजाको सारलाई शिव मुद्राका रूपमा चर्चा गरिएको पाइन्छ।

 

अत्यन्त चर्चित समुद्र मन्थनको किंवदन्तीलाई सागर मन्थन वा क्षीर सागर मन्थनसमेत भनिन्छ । क्षीरको अर्थ दूध, पानी वा रुखको दूध जस्तो सेतो चोप भन्ने हुन्छ । हर्मोन तीन प्रकारका हुन्छन् । पानीमा घुल्ने पेप्टाइड हर्मोन । पेप्टाइड हर्मोनअन्तर्गतको पिटुटरी ग्रन्थिले निकाल्ने भासोप्रेसिनले रक्तचाप नियन्त्रण गर्छ भने पेंक्रियाजले बनाउने इन्सुलिनले ग्लुकोज पाचनमा सहयोग गर्छ । अर्को चिल्लोमा घुल्ने लिपिड तथा फस्पोलिपिडमा आधारित हार्मोन हुन्छ । प्राय: खानको चिल्लोबाट बन्ने लिपिड हर्मोनमा मूलत: लिनोलिक एसिड र आराचिडोइक एसिड मुख्य छन् ।

 

लिनोलिक एसिडले भत्किएको बिग्रिएको तन्तुहरूको जीर्णोद्धार गर्ने फस्पोलिपिड र आराचिडोइक एसिड बनाउँदछ । यसले खराब कोलेस्ट्रोल हटाएर मुटुलाई स्वस्थ राख्ने काम गर्ने गर्दछ । आराचिडोइक एसिडले तन्तुहरूको बीचमा चिप्लो र्‍याल बनाएर पानीको मात्रा हटाई तन्तुहरू बलियो पार्न कसिलो बनाउने रसायन लिउकोटिरिन बनाउने गर्दछ।

 

चिल्लोमा आधारित हर्मोनमा स्टेरोइड हर्मोनसमेत पर्दछ । यिनीहरू खानाको कार्बोहाइड्रेटबाट प्राप्त सारतत्त्वबाट निर्मित हर्मोन हुन्, जसमा वीर्य, शुक्रकीट र जीवन्त ऊर्जा निर्माण गर्ने टेसटोसटेरोन पर्दछ । चिल्लोबाट सिधै बन्ने हर्मोन इकोसेनोइडले रक्तवाहिका नलीहरू फुलाएर दर्द तथा ज्वरो घटाई निद्रा लगाउने, आनन्द दिने गर्दछ । शङ्कास्पद सङ्क्रमणको स्थितिमा भने रक्तनलीहरू खुम्चाएर दर्दको सूचनामार्फत रोग प्रतिरोधी संयन्त्रलाई सचेत पारी सम्भावित खतराको खबर सम्प्रेषण गरिदिन्छ ।

 

डिकार्बोक्सिलेज इन्जाइमको सहयोगमा फिनाइलएलानिन, टाइरोसिन र ट्रिपटोफेन जस्ता सुगन्धित एमिनो एसिडहरूबाट बन्ने हर्मोनलाई मानोएमाइन हर्मोन नामकरण गरिएको छ । जस्तै : पिनल गल्यांडले (तेस्रो नेत्र) ट्रिपटोफेनबाट बनाउने मेलाटोनिन हर्मोनका कारण मानिसमा निद्रा लाग्ने र ब्युँझिने समयतालिका निर्धारण गरिदिन्छ । फिनाइलएलानिन एमिनो एसिड प्रोटिन निर्माण गर्ने आधारभूत तत्त्व हो । फिनाइलएलानिनबाट मानिसको मुड नियन्त्रण गर्ने तथा मिलानिन हर्मोन बनाउन सहयोग गर्ने टाइरोसिन बन्छ । मानिसलाई ‘आहा’ को अनुभूति दिने डोपामिन, मुटुको धड्कन बढाई रक्तसञ्चार बढाउन सघाउने नोरिइपिनेफरिन (नोरएड्रिनालिन) तथा इपिनेफरिन (एड्रेनालाइन) समेत फिनाइलएलानिनबाट बन्छ । फिनाइलएलानिन तथा टाइरोसिन दुवैबाट छाला तथा कपालको रङ्ग बनाउन सहयोग गर्ने हर्मोन मिलानिन बन्दछ ।

 

समग्रमा पानीमा घुल्ने पेप्टाइड हर्मोन, तेलमा घुल्ने चिल्लोमा घुल्ने लिपिड हर्मोन पार्वती मुद्राको सारतत्त्व हुन् । त्यस्तै पानीमा घुल्ने तर चिल्लोमा घुल्न स्टेरोइड हर्मोनको सहयोग चाहिने सुगन्धित एमिनो एसिडहरूबाट निर्मित मानोएमाइन हर्मोन शिव मुद्राका सारतत्त्व हुन् । शिव मुद्राको सारतत्त्व रूपी हर्मोनहरू इन्डो–केनेबिनोइड, केनेबिनोइड र आनन्दमाइड रूपी गाँजाका सारतत्त्वको उपज ठानिन्छ । पार्वती मुद्राका सारतत्त्वरूपी हर्मोनहरू पञ्चामृतको सारतत्त्वको उपज मानिन्छ । तसर्थ वैदिक संस्कृतिमा गाँजा र पञ्चामृत अत्यावश्यक वस्तु हुन् । खाद्य वैज्ञानिक दृष्टिमा वैदिक सूत्रीकरण (फर्मुलेसन) को पञ्चामृतले आमादूधकै प्रतिनिधित्व गर्ने हैसियत राख्दछ । घरेलु रूपमा गाँजाको सारतत्त्व निकाल्नमा पनि सबैभन्दा राम्रो पञ्चामृतको मूल तत्त्व मानिने दूध र घिउ नै उपयोग हुने गर्दछ।